+
+

मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १५:०५

१२ असार, हेटौँडा। जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकाका १६ जना बिरामी भएका हुन् ।

कैलाश–९ नामटारमा जङ्गली च्याउ खाँदा चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

‘बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो’, उनले भनिन्, ‘असार ३ गते च्याउ खानुभएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।’

प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जङ्गली च्याउ खाँदा बलबहादुर प्रजासहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताइन् ।

राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जङ्गलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्थायी प्रहरी पोष्ट गिङुका अनुसार सोमबार जङ्गलबाट ल्याइएको च्याउ खाँदा राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । एक्काइस २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया प्रजा, तीन वर्षीय समिक प्रजा र पूर्ण प्रजा बिरामी भएका हुन् । उनीहरूको पनि भरतपुरमा उपचार भइरहेको छ ।

प्रनाउ भण्डारीका अनुसार मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जङ्गली गोब्रे च्याउ खाई बिरामी भएका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएको उनले जानकारी दिइन् ।

‘वर्षायाममा जङ्गलमा च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको मृत्यु भएको छ । बिरामी आठ जना घर फर्किनुभएको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ’, प्रहरी नायब उपरीक्षक भण्डारीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?