+
+
लागूऔषध प्रयोग विरुद्धको दिवसः :

नेपालमा कति छन् लागूऔषध प्रयोगकर्ता ?

सावित्रा दाहाल सावित्रा दाहाल
२०८१ असार १२ गते १९:५४

केही दिनअघि जिल्ला प्रशासन कार्यालय, झापा पुगेकी थिएँ । प्रमुख जिल्ला अधिकारीको कोठामा पुग्दा देखेको एउटा दृश्यले एकदमै मन छोयो ।

एक जना आमा आफ्नो छोरालाई प्रहरी हिरासतबाट नछाडिदिन भन्दै विन्ती गरिरहेकी थिइन् । ‘बाहिर गयो भने बहिनी र मलाई मार्छ, खुकुरी लिएर काट्छु भन्दै हिंड्छ’ उनले भनेकी थिइन्, ‘छिमेकीले थाहा पाएर यसलाई प्रहरीको जिम्मा लगाएको हो, यो यतै भए मात्र शान्तिले बस्न पाउँछौं ।’

मेचीनगर निवासी ती वृद्ध आमाले सानैमा श्रीमान् खसेपछि एक्लै दुःखले हुर्काएको छोरो लागूऔषधको कुलतमा फसेपछि आफ्नो जीवन सुरक्षाका लागि गरेको यो अनुरोध जो-कोहीलाई एकपटक घोत्लिन बाध्य बनाउने खालको थियो ।

बिर्तामोडमा पनि लागूऔषध दुव्र्यसनीको उस्तै घटना भएको थियो । एक व्यक्तिले घरका सबै सामान र पैसा कुलतमा सिध्याए । उनलाई रोक्न उनकी श्रीमतीले हरसम्भव प्रयास गरिन् । अन्तिममा उनी आफैं पनि कुलतमा फसिन् ।

बुबाआमा दुवै कुलतमा फसेपछि कक्षा १० मा पढ्ने अत्यन्तै तेजिलो विद्यार्थी उनीहरूको छोरोले आफू स्कूल जान छोडेर ट्युसन पढाएर आमालाई सुधार गृहमा राखेको छ । यी झापाका दुई प्रतिनिधि घटना मात्र हुन् । लागूऔषध सेवनका कारण यस्ता सामाजिक समस्या बढ्दो क्रममा छन् ।

सावित्रा दाहाल

बुधवार विश्वभर लागूऔषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा मैले ती घटनाहरू सम्झिएँ । ‘प्रमाण स्पष्ट छ, रोकथाममा लगानी गर’ भन्ने नारा सहित यो दिवस मनाइँदैछ । यस वर्ष अभियानको उद्देश्य लागूऔषध प्रयोग गर्ने व्यक्तिहरूसँग सम्मानजनक व्यवहार गर्नुपर्ने विषयको महत्वबारे जनचेतना बढाउनु हो ।

सजायका विकल्पहरू उपलब्ध गराउनु’, रोकथामलाई प्राथमिकता दिनु’ र करुणापूर्वक व्यवहार गर्नुपर्छ भन्ने बुझाउनु अभियानको उद्देश्य हो । अहिले लागूऔषध समस्याले बहुआयामिक चुनौती थपेको छ । यसले विश्वभरका लाखौं मानिसको जीवन बर्बाद पारेको छ ।

नेपालमा मुख्य गरी सीमा क्षेत्रबाट लागूऔषध भित्रिने गरेका छन् भने अहिले परम्परागत भन्दा पनि औषधिजन्य लागूऔषधको प्रयोग बढ्दो छ ।

लागूऔषध के हो ?

लागूपदार्थ भनेको मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ ।

कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागूऔषध हो भने सूर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो । विश्व स्वास्थ्य संगठनका अनुसार लागूपदार्थ भनेको स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भन्ने बुझिन्छ ।

मानव सभ्यताको सुरूवातसँगै कुनै न कुनै रूपमा लागूऔषधको प्रयोग हुँदै आए पनि १६औं शताब्दीको सुरुबाट युरोपियन मुलुकहरूमा ‘अफिम’ नामक वनस्पति र त्यसबाट उत्पादित वस्तुहरू औषधिको रूपमा व्यापक रूपमा दुरुपयोग हुन थालेको इतिहास छ ।

विस्तारै यसको प्रयोग विश्वव्यापी हुँदै गएको पाइन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने प्राग् ऐतिहासिककालदेखि प्राकृतिक रूपमा जमिनमा उम्रिएका भाङ, धतुरो, गाँजाहरू साधुसन्तहरूले सेवन गर्ने र कृषकहरूले घरपालुवा जनावरहरूको उपचारको लागि औषधिको रूपमा प्रयोग हुँदै आएको भेटिन्छ ।

तर १९६० को दशकको सुरुदेखि हिप्पी संस्कृतिको आगमनका साथै नेपालमा लागूऔषध दुर्व्‍यवसनको समस्या जटिल हुँदै गएको पाइन्छ । त्यसबेला घुम्न आएका विदेशीहरूले नेपालमा जथाभावी पाइने गाँजा असाध्यै मन पराउँथे भन्ने गरिन्छ ।

लागूऔषध र बालबालिका

बालबालिकाको उमेर सँगसँगै शारीरिक र मानसिक अवस्थामा समेत वृद्धि हुँदै जान्छ, उसको बढ्दो उमेर सँगसँगै बढ्दै गइरहेको मानसिक अवस्थामा उसले उपयुक्त वातावरण पायो भने सकारात्मक बाटोतिर जान्छ । उसले पढाइका अतिरिक्त अन्य वृत्ति–विकासमा लागि पर्दछ तर उसले उपयुक्त वातावरण पाएन भने कुलतमा फस्दछ र दुर्व्यसनको शिकार बन्दछ ।

प्रायः उनीहरू सुरुमा गाँजा खान्छन्, गाँजाले नभएपछि ट्याब्लेट खान्छन् र त्यसपछि ब्राउन सुगर खान थाल्छन् । कुनै कारणवश प्रयोग गर्न थालिएको लागूपदार्थको सेवन विना बाँच्नै नसक्ने अवस्था सिर्जना हुन्छ । जसलाई लागूपदार्थ दुर्व्‍यसनको अवस्था भनिन्छ ।

गृहमन्त्रालयद्वारा गरिएको नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागूऔषध प्रयोगकर्ताहरूमध्ये ६७.७ प्रतिशत साथीसंगीबाट, १४.१ प्रतिशत डुलन्ते बिक्रेताबाट, औषधि पसलबाट ८.४ प्रतिशत र इन्टरनेटको माध्यम २.५ प्रतिशत, अन्य पसलबाट ७.२ यसको प्राप्ति गर्दछन् ।

विशेषगरी २० वर्षसम्मका बालबालिकाहरू साथीभाइको लहलहैमा लागेर उत्सुकता मेटाउन लागूऔषध प्रयोग गर्दछन् । प्रयोग गर्ने अधिकांश बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर भरियाको रूपमा प्रयोग गर्ने र उनीहरू लागूऔषधको शिकार बनेको देखिन्छ भने केही बालबालिकाले घरमा माया, ममता नपाएर भौंतारिंदै हिंड्दा लागूऔषधको गम्भीर कुलतमा फसेको देखिन्छ ।

नेपालको परिवेशमा आमाबुबा दुवै अभिभावक नभएका बालबालिकाहरू यस्तो जोखिममा बढी रहेको देखिन्छ । नेपालको कुल जनसंख्याको करिब ३० प्रतिशत बालबालिका रहेका छन् जसमध्ये कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ मध्ये बालबालिकाको संख्या १५ लाख ७४ हजार ३९ रहेको छ ।

तीमध्ये १२ लाख १५ हजार ६८८ अर्थात् ७७.२ प्रतिशत दुवै जनासँग बसेका बालबालिका छन् ।

यसैगरी आमासँग मात्र बस्ने बालबालिकाको संख्या १ लाख ३३ हजार ९२७ (१६.६%), बुबासँग मात्र बस्नेको संख्या २४ हजार ९५० (१,.६%), बुबा र अर्की आमासँग बस्ने बालबालिकाको संख्या ७ हजार ५२८ (०.५%), आमा र सौतेनी बाबुसँग बस्ने बालबालिकाको संख्या १ हजार ५७४(०.१%), अन्य आफन्तसँग बस्ने बालबालिकाको संख्या ५७ हजार १९२ (३.६%) र अन्य बालबालिकाको रोजगारदातासँग अन्य र थाहा नभएको भन्ने केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

यसैगरी झापामा पनि कुल जनसंख्या ९ लाख ९८ हजार ५४ रहेको छ । जसमध्ये ३ लाख ५ हजार ३८० जना (३२.६%) बालबालिका रहेका छन् । तीमध्ये २ लाख १८ हजार ८४ अर्थात् ७१.२ प्रतिशत बालबालिका आमाबुबा दुवै जनासँग बसेका छन् ।

यसैगरी आमासँग मात्र बस्ने बालबालिकाको संख्या ६४ हजार १२ (२१%), बुबासँग मात्र बस्नेको संख्या ६ हजार ७२ (२%), आफ्नो बुबा र अर्की आमासँग बस्ने बालबालिकाको संख्या १ हजार ५८२ (०.५%), आमा र सौतेनी बाबुसँग बस्ने बालबालिकाको संख्या १ हजार ६२१ (०.६ %), अन्य आफन्तसँग बस्ने बालबालिकाको संख्या १४ हजार ९ (४.६%) र अन्य बालबालिकाको रोजगारदातासँग अन्य र थाहा नभएको भनी उल्लेख गरेको छ ।

आमाबाबु दुवैसँग बसेका बालबालिकाको तुलनामा दुवै अभिभावक नभएका बालबालिकाहरू कुनै न कुनै प्रकारको जोखिममा रहेका छन् ।

 नेपालमा कति छन् लागूऔषध प्रयोगकर्ता ?

नेपालमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या हाल ३ लाख नाघिसकेको अनुमान गरिन्छ । यद्यपि, प्रयोगकर्ताको ठूलो संख्या यो तथ्यांकको घेराभित्र परेको छैन भन्ने लागूऔषध विरुद्ध काम गर्नेहरू बताउँछन् ।

अहिले सामाजिक र संगठित प्रकारका अधिकांश अपराधमा पनि लागूऔषध जोडिने गरेको छ । काठमाडौं उपत्यका, पोखरा, धरान लगायत शहरी क्षेत्र र खासगरी नेपाल–भारत सीमावर्ती शहरहरूमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ ।

खासगरी जोखिम समूहका युवायुवतीमा लागूऔषधको दुरुपयोग तथा दुव्र्यसनको प्रवृत्ति बढिरहेको पाइन्छ यसको साथै बालबालिकालाई लागूऔषधको ओसारपसारमा पनि प्रयोग गरेको पाइन्छ ।

अपराधमुक्त समाज निर्माणको अभिभारा बोकेको नेपाल प्रहरीको नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ को तथ्याङ्कलाई हेर्दा लागूऔषध प्रयोगकर्ताको संख्या देशभरिमा १ लाख ३४ हजार भन्दा बढी रहेको छ । तर यो संख्या समुद्र माथि देखिएको हिउँको टुप्पो जस्तो मात्र हो ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागूऔषध दुव्र्यसनका कारणहरूमा साथीभाइको दबाब, मनोरञ्जनका लागि, उत्सुकता मेटाउन, मानसिक तनावका कारण, पारिवारिक समस्या र बेमेल, डिप्रेसन, पढाइमा समस्या परेर, बेरोजगारी, आर्थिक प्रलोभनमा परेर लागूऔषध प्रयोगकर्ता बन्दछन् ।

एकपटक लागूऔषध प्रयोग गरेर छुटेका प्रयोगकर्ता पनि साथीभाइको दबाब र पुनर्स्थापना भएर घर फर्कंदा समाजको अपहेलना र दुव्र्यवहारका कारण माया, ममता र सम्मान नपाएकै कारण पुनः दुर्व्यसनी बन्न पुग्दछ ।

‘हामीले कुलतमा फसेको कक्षा ११ मा पढ्दै गरेको भाइ सुधार गृहमा राखेर सुधार गरेर उसलाई लिएर विद्यालय गयौं विद्यालयले भर्ना गर्न मानेन, उसले म सुध्रन्छु र भविष्य बनाउछु भन्दा पनि पाएन’, लागूऔषध पुनस्र्थापना केन्द्र झापा जिल्ला अध्यक्ष समेत रहेका पुनर्जन्म समूह नेपालका अध्यक्ष राजु गिरी भन्छन् ।

जब मानिस लागूपदार्थ प्रयोगकर्ता हुन्छ, त्यसपछि ऊ दुव्र्यसनीमा परिणत हुन्छ, नशा सेवन नगरी बाँच्नै नसक्ने अवस्थामा पुग्दछ । उसले आफू र लागूऔषध बाहेक केही देख्दैन । उसलाई माया, ममता, सहयोग जस्ता मानवीय भावना आउँदैन ।

उसका सकारात्मक भावना र मानवता क्रमशः ह्रास हुँदै जान्छ र ऊ नकारात्मक, क्रूर र अमानवीय बन्दछ । नशा सेवनका लागि पैसाको जोहो गर्न हत्या, हिंसा, चोरी–डकैती जस्ता आपराधिक गतिविधिमा संलग्न हुनुको साथै जस्तोसुकै मूूल्य चुकाउन पनि ऊ पछि पर्दैन ।

लागूऔषधको अनियन्त्रित प्रयोग र दुव्र्यसनले स्वयं व्यक्तिलाई त मानसिक रूपमा क्षति गर्छ नै यसको दुष्प्रभावबाट सिङ्गो राष्ट्रको समग्र आर्थिक, सामाजिक, नैतिक, सांस्कृतिक एवं आमजनस्वास्थ्यका क्षेत्रमा तात्कालीन र दीर्घकालीन नकारात्मक असर पार्दछ । यसका कारण आमजनसमुदायमा त्रास र आतंकको स्थिति सिर्जना हुनुका साथै पारिवारिक, सामाजिक विखण्डनलाई निम्त्याउँछ ।

शारीरिक असरः-एचआईभी/एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने ।

मानसिक असरः– एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सृजना, आत्महत्या गर्न प्रेरित हुने ।

पारिवारिक तथा सामाजिक असरः– पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि ।

नियन्त्रणका उपाय

लागूऔषधको बढ्दो कारोबार र भयावह वर्तमान अवस्थालाई रोक्न प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन । यसका लागि राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, युवा, विद्यार्थी र सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाको साझा प्रयास ऐक्यबद्धता जरूरी छ ।

यसैगरी सीमा नाकामा कडाइ र जिल्ला नाकाहरूको सुरक्षा संयन्त्र बलियो बनाउनुपर्छ । लागूऔषध नियन्त्रण गर्न समुदायलाई जागरुक बनाउँदै समुदायको नेतृत्वमा आम नागरिकलाई लागूऔषध विरुद्ध सशक्त कदम चाल्न सक्षम बनाउनुपर्छ । युवाहरूलाई सशक्त बनाउँदै विना बर्दीको प्रहरीको रूपमा लागूऔषध विरुद्धको अभियान सञ्चालनका लागि सहकार्य गर्नुपर्छ ।

अन्त्यमा, कुलतबाट निस्किएका लागूऔषध प्रयोगकर्तालाई सम्मानजनक व्यवहार गरेर समाजमा पुनस्र्थापना गराऔं, ताकि उनीहरू फेरि त्यस्तो काममा नलागुन् । कलिलो उमेरमा साथीभाइको लहलहैमा लागेर प्रयोगकर्ता भएको व्यक्ति सुध्रिएर समाजमा केही गर्छु भन्छ भने उचित वातावरण मिलाउने दायित्व राज्य र समाजको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?