+

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

२०८१ असार  १२ गते १६:४४ २०८१ असार १२ गते १६:४४
के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार विश्वभर करिब १३ प्रतिशत महिला सुत्केरी भएको एक वर्षभित्रै ‘पोस्पार्टम साइक्याट्रिस्ट डिसअर्डर’  देखिन्छ  । यो ‘डिसअर्डर’ हुने दर विकसित मुलुकमा उच्च छ । त्यहाँ २० प्रतिशत भन्दा बढी महिला ‘पोस्पार्टम साइकियाट्रिस्ट डिसअर्डर’को सिकार हुन्छिन् ।

एक अध्ययनअनुसार एसियाली देशका करिब ६५ प्रतिशत महिला यसबाट पीडित छन् । संख्या बढ्नुको एउटा कारण हो, डिप्रेसनलाई कुनै समस्या मानिंदैन । नेपाल पनि यसबाट अछुतो छैन ।

नेपालजस्तो मुलुकमा त झन् यस्तो मानो समस्यालाई कुनै समस्या नै मानिंदैन । जसकारण यसको पहिचान हुन पाउँदैन । लामो समयसम्म महिला यो समस्याबाट गुज्रिन्छिन् । जसको असर महिलाको स्वास्थ्य र बच्चाको लालन पालनमा समेत पर्छ ।

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ एक मानसिक समस्या हो, जुन बच्चा जन्मेको तीन महिनामा देखिन सक्छ । जसले महिलाको सोच्ने, महसुस गर्ने र उनीहरूको व्यवहार गर्ने तरिकालाई नकारात्मक रूपमा असर गर्छ ।

यो डिसअर्डरलाई  धेरै प्रकारमा विभाजित गरिएको छ ।

पोस्टपार्टम ब्लु : प्रसवपछि महिलामा देखिने मानोसमस्याको सुरुवाती स्तरलाई पोस्टपार्टम ब्लुज भनिन्छ । प्रसवपछि ५० देखि ६० प्रतिशत महिला यसबाट पीडित हुन्छन् ।  यो समस्या देखिएको महिलामा मुड स्विङ, डर लाग्ने, निद्रा नलाग्ने, नकारात्मक भावना आउने, उदासी, रुन मन लाग्ने र बच्चालाई सम्हाल्न सक्छु कि सक्दिन भन्ने चिन्ताले सताउन सक्छ ।

प्रसवोत्तर एन्जाइटी : यो पनि  पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’को एक सामान्य प्रकार हो । यो समस्यामा प्रायः चिन्ता, डर र तनाव जस्ता लक्षण हुन्छन् । यसको कारण कहिलेकाहीं पत्ता नलाग्न सक्छ ।

पोस्टपार्टम डिप्रेसन : यो डिप्रेसन महिलालाई गर्भावस्था पछि १० देखि २० प्रतिशतमा देखिन सक्छ। जुन बच्चा जन्मिएको ५ देखि ६ महिनामा देखिन सक्छ। यस्तोमा थकान लाग्ने, निद्रा नलाग्ने, खान मन नलाग्ने र झिजो लाग्ने र आत्माहत्या गर्न मन लाग्ने जस्ता लक्षण देखिन्छ। जुन अर्को गर्भावस्थामा पनि पुन हुनसक्छ। त्यसैले, यो समस्याको छिटो भन्दा छिटो उपचार गर्नुपर्छ।

पोस्टपार्टम प्यानिक डिसअर्डर : यो प्रसवपछि लगभग १० प्रतिशत महिलामा हुन्छ । प्यानिक डिसअर्डरमा सामान्यतया छातीमा गडबडी, भय र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

पोस्टपार्टम साइकोसिस : यो पोस्टपार्टम डिप्रेसनको सबैभन्दा गम्भीर प्रकार हो, तर अपेक्षाकृत एक प्रतिशतमा देखिन्छ । यो समस्या वंशाणुगत पनि हुनसक्छ। यो जन्मेको दुईदेखि चार दिनमा मात्र विकसित हुन्छ । सुरुमा अनिद्रा र चिडचिडापन जस्ता लक्षण निम्त्याउँछ । यद्यपि, पछि यसले भ्रम र प्यानिक अट्याक आउने तथा अन्य मनोवैज्ञानिक लक्षण पनि निम्त्याउन सक्छ । र आत्माहत्याको विचार आउने देखि बच्चाको ज्यान लिन समेत मन लाग्ने हुन्छ।

कारण

यो डिप्रेसनको खास कारण अहिलेसम्म थाहा नभए पनि हर्मोनल, जौविक र वातावरणीय कारक मानिन्छ ।

– प्रोजेस्टेरोन र एस्ट्रोजेन जस्ता हर्मोन सामान्यतया गर्भावस्थामा बढ्ने र प्रसवपछि स्वाट्टै घट्नु।

– छोराको चाहना छ तर छोरी भएमा पनि महिला तनाव र पारिवारिक दबाब पर्न सक्छिन् । तर बदलिंदो समाजिक परिवेशले विस्तारै यो सोच परिवर्तन हुँदैछ ।

– घरमा बच्चालाई हेर्ने र अन्य घरको जिम्मेवारीले पनि शारीरिक रुपमा कमजोर हुनसक्छिन् ।

– सन्तान जन्माएपछि भइरहेको कार्यालय छोड्नुपर्ने वा करिअरको हिसाबले पछि परेको अनुभव हुन थाल्यो र दिमागले अनावश्यकरुपमा चिन्ता लिनु ।

– सुत्केरीपछि पनि शरीरमा केही परिवर्तन हुन्छन् । जस्तै- शरीरको तौल बढ्ने, स्ट्रेच मार्क देखिने र शरीरका केही भागमा दुखाइले प्रसवपछि डिप्रेसन हुनसक्छ ।

– कहिलेकाहीं समयपूर्व गर्भावस्थाले पनि महिलामा डिप्रेसन निम्त्याउन सक्छ । यस्तो अवस्थामा प्रसवपछि पनि केही समय डिप्रेसनमा रहन्छन् ।

– यदि प्रसवको समयमा धेरै मानसिक र शारीरिक समस्याको सामना गर्नु परेको अवस्थामा पनि प्रसवपछि केही समयका लागि डिप्रेसन हुनसक्छ ।

जस्तै- बच्चा पटक-पटक खेर गएको वा बच्चाको अवस्था त्यति अनुकूल नभएको अवस्थामा पनि महिला डिप्रेसनको सिकार हुन पुग्छिन् ।

– बच्चामा जटिलता देखिएको छ भने पनि महिला उसको वर्तमान र भविष्यलाई लिएर चिन्तित हुन्छिन् र डिप्रेसनमा पुग्न सक्छिन् ।

– परिवारमा कोही पहिले नै डिप्रेसन वा पोस्टपार्टम डिप्रेसनबाट ग्रस्त छन् भने पनि यसको समस्या हुनसक्छ ।

– दाम्पत्य जीवनमा बेमेल, श्रीमान र परिवारका अन्य सदस्यबाट भावनात्मक सहयोगको कमी भएमा पनि सुत्केरीपछि महिलालाई डिप्रेसन हुनसक्छ ।

साथै अपहेलित हुनु, अनिच्छित गर्भधारण, शल्यक्रिया गर्दा वा पछि जटिलता आउनु, कमजोर आर्थिक स्थितिका कारण पनि सुत्केरीपछि महिलालाई डिप्रेसनले सताउन सक्छ ।

कहिले अस्पताल जाने ?

प्रसवपछि महिलाहरू केही अवधिसम्म मानसिक तनावको अनुभव गर्न सक्छन् । तर यसको मतलब यो होइन कि उनी पोस्टपार्टम डिप्रेसनबाट पीडित छन् ।

लामो समयसम्मै माथि उल्लेखित समस्या र  लक्षण देखिएको छ र व्यवहार सामान्य भएको देखिंदैन भने जतिसक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

डिप्रेसन स्क्रिनिङ परीक्षण गरेर पोस्टमार्टम डिप्रेसन भए नभएको पत्ता लगाउन सकिन्छ ।

उपचार

यदि लक्षण सुरुवाती अवस्थामा छ भने औषधिको आवश्यकता पर्दैन । यो अवस्थामा भावनात्मकरुपमा परिवार र श्रीमानको साथले ठिक हुन्छ।

अवस्थामा गम्भीर हुँदै गएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।

यस बाहेक एन्टिडिप्रेसेन्ट औषधि, टकथेरापी तथा परामर्शबाट उपचार गरिन्छ । पोस्टपार्टम साइकोसिस छ भने सुरुमा बच्चा र आमालाई छुटै राख्न पर्छ। लक्षण बढ्दै गयो भने परामर्श र अन्य विधि अपनाउनु पर्ने हुन्छ।

सुत्केरीपछि शारीरिक र मानसिक परिवर्तनबाट गुज्रिरहेका महिलालाई आफ्नो परिवारबाट धेरै सहयोग चाहिन्छ । यस्तोमा उनलाई असल आमा बन्न दबाब नदिई  भावनात्मक साथ दिनुपर्छ ।

डा. उपमा कार्की पोस्टपार्टम डिप्रेसन स्वास्थ्य
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय