+

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

२०८१ असार  १३ गते ७:०० २०८१ असार १३ गते ७:००
प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

दम्पतीले सन्तानको योजना बनाएर कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् । तर एक वर्षसम्म यो क्रम जारी रहँदा पनि गर्भ रहेन भने त्यस्तो स्थितिलाई निःसन्तानपन भनिन्छ ।

पछिल्ला दिनमा निःसन्तानपनको समस्या बढ्दै गएको छ । समाजमा अझै पनि निःसन्तानपनको समस्या महिलामा मात्रै हुन्छ भन्ने भ्रम छ । तर पुरुषमा पनि महिलाजत्तिकै समान कमजोरीहरू हुन्छन् । महिला र पुरुषको दुवै साझा कारणबाट निःसन्तानपनको समस्या भइरहेको हुन्छ ।

महिलाको हकमा भन्ने हो भने डिम्ब निष्कासन हुन नसक्नु वा त्यसको वृद्धि विकास हुन नसक्नु एउटा कारण हो । डिम्बवाहिनी नलीमा अवरोध, पाठेघरमा पटक-पटक संक्रमण, वंशाणुगत समस्या र ढिलो विवाह जस्ता थुप्रै कारण छन् ।

पुरुषको हकमा शुक्रकीटको संख्यामा कमी हुनु, कमसल गुणस्तरको हुनु जस्ता कारणले निःसन्तानपनको समस्या ल्याउँछ । प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तानसुख प्राप्त गरेका छन् । उमेर बढ्दै गएपछि प्राकृतिक रुपमा बच्चा जन्माउन गाह्रो हुन्छ भनिन्छ ।

आईभीएफबाट चाहि सहज हुने हो ?

प्रकृतिले महिलालाई जन्मिनेबित्तिकै निश्चित अण्डा दिएको हुन्छ, जुन उमेर बढ्दै गएपछि अण्डाको गुणस्तर र संख्यामा कमी आउँछ । उमेर बढ्दै गएपछि महिनावारी चक्रपिच्छे स्वस्थ अण्डा खर्चिंदै जान्छ ।

३५ वर्षपछि अण्डाको गुणस्तर तथा संख्यामा कम हुने क्रम थप छिटो हुन्छ । ३८ वर्षपछि त्यो क्रम अझ तीव्र गतिमा जान्छ र ४० मा पुग्दा अत्याधिक कम र कमजोर हुन्छ । नतिजा, गर्भ बस्न कठिन मात्र होइन, सन्तान र आमामा जटिलता देखिने सम्भावना उत्तिकै बढ्छ ।

आईभीएफ मार्फत गर्भधारण गर्दा ३५ वर्षमुनिका महिलाको हकमा ८० प्रतिशत सफलता प्राप्त हुन्छ भने महिलाको उमेर ३५ देखि ४० वर्षको बीचको उमेरमा बच्चा जन्माउने सम्भावना ६० प्रतिशतसम्म हुन्छ । त्यस्तै ४० वर्षभन्दा माथि उमेर पुगेमा १८ देखि २० प्रतिशत मात्रै सफलता प्राप्त हुने सम्भावना हुन्छ । ४५ वर्षपछि भने सफल हुने सम्भावना पाँच प्रतिशत मात्र रहन्छ ।

५० वर्षपछि महिलाको शरीरमा धेरै समस्या उत्पन्न हुन थाल्छन्, मधुमेह, उच्च रक्तचाप जस्तो समस्याले सताउन सक्छ । त्यसैले पनि गर्भधारण नहुने भइहाले पनि आमा र बच्चाको स्वास्थ्यमा समस्या आउने हुनसक्छ । त्यसैले धेरै सम्भावना हुने बेलामा नै गर्भधारणको योजना बनाउनुपर्छ ।

तस्वीर/ भिडियो : आर्यन धिमाल/अनलाइनखबर

प्राकृतिक र आईभीएफ गर्भधारण प्रक्रिया

आईभीएफ र प्राकृतिक गर्भधारण दुवैको प्रक्रियामा पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचन गराइन्छ  । प्राकृतिक प्रक्रियामा शारीरिक सम्बन्ध भएपछि शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा हुने गर्छ । जबकि आईभीएफ अर्थात् इन–भिट्रो फर्टिलाइजेसनमा कृत्रिम तरिकाले निषेचन गरिन्छ । निषेचन प्रक्रिया एक विशेष किसिमको प्रयोगशालामा हुने गर्छ । जसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटको निषेचन गरेर भ्रूणको विकास गरिन्छ ।

प्राकृतिक गर्भाधानमा डिम्बवाहिनी नलीमा निषेचन भएको भ्रूण प्राकृतिक रुपमा पाठेघरमा गएर बस्छ । अर्कोतर्फ, प्रयोगशालामा तयार पारेको निषेचित डिम्बलाई कृत्रिम रूपमा विशेष खालको पाइप (क्याथेटर) बाट पाठेघरमा राख्ने गरिन्छ । त्यसपछि निषेचित डिम्बबाट भ्रूणको वृद्धि विकास हुन्छ भने शिशु जन्माउने प्रक्रिया प्राकृतिक प्रक्रिया जस्तै हुन्छ ।

यी दुई अवस्थामा के हुन्छ फरक ?

प्राकृतिक रुपमा गर्भवती भएको महिला भन्दा आईभीएफ मार्फत गर्भवती भएको महिलामा गर्भावस्थामा देखापर्ने मधुमेह र उच्च रक्तचाप हुने सम्भावना अलि बढी हुन्छ ।

आईभीएफ मार्फत गर्भधारण भएको छ भने बच्चाको तौल सामान्य भन्दा कम हुने सम्भावना पनि बढी हुन्छ । तर आईभीएफपछि राम्ररी चिकित्सकको फलोअपमा बस्यो भने डेलिभरीमा खासै समस्या देखा पर्दैन ।

ईभीएफपछि पूर्णरुपमा बेडरेस्ट गर्नुपर्छ ?

आईभीएफपछि पूर्णरुपमा बेडरेस्ट गर्नुपर्छ ? धेरै जटिलता पनि देखा पर्छन् होला नि ? भनेर धेरैले सोध्ने प्रश्न हो । तर आईभीएफ मार्फत गर्भधारण गरे पनि गर्भवती भएपछि महिलाको शरीरले त्यो बच्चालाई प्राकृतिक रुपमा नै अपनाउँछ ।

पाठेघरलाई यो बच्चा आईभीएफ मार्फत बनेको हो भन्ने कुरा थाहा हुँदैन । पाठेघरले बच्चालाई त्यसरी नै राख्छ जसरी प्राकृतिक रुपमा बच्चा बस्छ । त्यसैले जति हेरचाह प्राकृतिक रुपमा गर्भवती हुँदा चाहिन्छ त्यति नै हेरचाह आईभीएफमा पनि गर्नुपर्छ  । अलिकति बढी सचेत भने हुनैपर्छ तर पूर्णरुपमा बेडरेस्ट भने गर्नु पर्दैन ।

पहिलो बच्चा आईभीएफ मार्फत जन्मिएको छ भने दोस्रोमा पनि आईभीएफ नै गर्नुपर्छ ?

पहिले आईभीएफ गर्नुको कारण के थियो त्यसको आधारमा दोस्रो बच्चामा आईभीएफ गर्न हुन्छ कि हुँदैन भन्ने कुरा तय हुन्छ । श्रीमान् श्रीमतीमा कुनै पनि समस्या छैन भने गर्भधारण भइरहेको छैन भने पहिलो बच्चा आईभीएफबाट जन्माइयो र बच्चा स्वास्थ्य पनि जन्मियो भने दोस्रो बच्चा जन्माउन आईभीएफ गर्न नपर्ने पनि हुनसक्छ । तर डिम्बवाहिनी नलीमा अवरोध भएको कारण आईभीएफ गर्नु परेको हो भने दोस्रो सन्तान जन्माउन पनि आईभीएफ नै गर्नुपर्ने हुन्छ । साथै अण्डाको संख्या कम छ भने पनि आईभीएफ गर्नुपर्ने हुनसक्छ ।

निःसन्तानपनको सबै समस्यामा आईभीएफ नै गर्नुपर्छ भन्ने हुँदैन

कुनै पनि दम्पतीले एक वर्षसम्म नियमित यौन सम्बन्ध राख्दा पनि गर्भ रहेन भने त्यो निःसन्तानपनको समस्या हो । तर ३५ वर्ष उमेर कटिसकेका महिलामा भने ६ महिनासम्म नियमित यौन सम्बन्ध राख्दा गर्भ रहेन भने त्यो पनि निःसन्तानपन हुनसक्छ । त्यसका कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । कतिपय अवस्थामा आईभीएफ नै गर्नुपर्ने हुनसक्छ भने कतिपयमा अन्य उपचारले पनि हुन्छ ।

कसैलाई आईयूआई प्रविधि मार्फत उपचार गर्नुपर्ने हुन्छ । पुरुषको शुक्रकीटको गुणस्तर र संख्या कम भएका व्यक्तिलाई आईयूआई गरिन्छ । यस्तो अवस्थामा पुरुषको शुक्रकीटलाई सफा गरेर गुणस्तरीय बनाएर महिलाको पाठेघरमा राख्नुपर्छ ।

केही प्रतिशतलाई मात्र आईभीएफ उपचार आवश्यक पर्छ । त्यसैले सबैभन्दा पहिले गर्भ नरहने कारण के हो भनेर पत्ता लगाउनुपर्छ । त्यो कारण अनुसार उपचार गर्दा पनि गर्भ रहेन भने मात्र आईभीएफ गरिन्छ । तर ३५ वर्ष भन्दा बढी उमेरका महिलाको अण्डाको मात्रा कम छ पाठेघर अवस्था पनि कमजोर छ भने आईभीएफ गर्नुपर्ने हुन्छ ।

आईभीएफलाई पहिलो रोजाइका रुपमा भने राख्न हुँदैन, अन्य कुनै उपायले उपचार सम्भव नभए मात्र आईभीएफलाई रोज्नुपर्छ ।

(डा. दीप्ति दास वात्सल्य नेचुरल आईभीएफको क्लिनिक मेडीसिटी हस्पिटल, ललितपुर नख्खुमा कार्यरत छिन् । उक्त क्लिनिक वात्सल्यले हालसालै सञ्चालनमा ल्याएको हो ।)

आईभीएफ डा. दीप्ति दास प्रजनन्
डा. दीप्ति दास
लेखक
डा. दीप्ति दास
प्रसूति तथा स्त्रीरोग एवं प्रजनन् विशेषज्ञ

डा. दीप्ति दास वात्सल्य नेचुरल आईभीएफको क्लिनिक मेडीसिटी हस्पिटल, ललितपुर नख्खुमा कार्यरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय