+
+

पूर्णबहादुर खड्काले पाउलान् देउवाको साथ ?

विगतमा देउवालाई पुर्‍याएको सहयोगको आधारमा  खड्का संस्थापन समूहको निर्विकल्प सभापति आकांक्षी हुनुपर्ने हो, तर कांग्रेसभित्रको परिस्थिति उनले सोचेजस्तो सहज देखिँदैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ असार १२ गते २०:०६

१२ असार, काठमाडौं। अनुकुलता होस् या प्रतिकूलता पूर्णबहादुर खड्का सधैं शेरबहादुर देउवासँगै थिए । नेपाली कांग्रेसका सभापति देउवालाई काँध थाप्ने क्रममा उपसभापति खड्काले माला पनि लगाउन पाएका छन्, मूल्य पनि चुकाएका छन् ।

यो बीचमा खड्काले पार्टीको मूल नेतृत्व बाहेकका सबै मुख्य पदमा भूमिका निर्वाह गरिसके । उपसभापतिको भूमिकामा रहेका उनले महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य बनेर पार्टीमा काम गरिसकेका छन् ।

यी सबै अनुभवको विवरण हेर्दा खड्काका लागि १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने आकांक्षा अस्वाभाविक देखिँदैन । उनले सभापति देउवाको उत्तराधिकारी भएर अब तयारी गर्ने आकलन पनि हुने गरेको थियो ।

पार्टी विभाजन हुनुअघि/पछि सभापतिलाई निरन्तर साथ दिँदै आएका खड्का देउवाको समर्थनमा उम्मेदवार बन्न सक्लान् ? उनले विगतमा देउवालाई पुर्‍याएको सहयोगको आधारमा संस्थापन समूहबाट उनी निर्विकल्प सभापतिको उम्मेदवार हुनुपर्ने हो ।तर परिस्थिति उनले सोचेजस्तो सहज देखिँदैन । देउवाको समर्थनमा खड्का सभापतिको प्रत्यासी हुन पाउनेमा निकै ठूलो संशय कांग्रेस पंक्तिभित्र देखिन थालेको छ ।

खड्काले राख्ने चाहना स्वभाविक भएको भन्दै त्यसै अनुसार आशा गर्न सुझाउने पनि उत्तिकै छन् । कांग्रेस नेता रामहरि खतिवडा १५ औं महाधिवेशनमा सभापतिमा खड्कालाई देउवाले समर्थन गर्ने आशा राख्छन् ।

खतिवडा भन्छन्, ‘अहिले नै भन्नु अलि हतार होला । सभापति बाहेकका मुख्य मुख्य पदमा उहाँले जिम्मेवारी लिइसक्नु भएको छ । सभापति उम्मेदवार उहाँका लागि अब स्वभाविक हो । सभापति देउवाले अघि नसार्ने भन्ने होला र ?’

संस्थापन पक्षका केही नेताहरुका अनुसार देउवाको टीमको नेतृत्व गरेर सभापतिको उम्मेदवार खडका हुने सम्भावना क्षिण छ । देउवा टीमको नेतृत्व गरेर आफूलाई उठाउँदैनन् भन्ने खड्काले संकेत पाइसकेको संस्थापन पक्षका उपल्लो तहका एक नेताले दाबी गरे ।

उनका अनुसार संगठनको बल खड्कासँग नभएकाले देउवा उनलाई अघि सार्न तयार हुँदैनन्। ‘सभापतिले मुख खोल्नुभएको छैन। शेरबहादुर दाइका गतिविधि हेर्दा पूर्णबहादुरलाई आफ्नो समूहको उम्मेदवार बनाउलान् जस्तो म देख्दिनँ,’ कार्यसम्पादन समितिका एक सदस्य भन्छन्, ‘सभापति पूर्णबहादुरसँग भन्दा अहिले डा.शेखरसँग नजिक भएजस्तो देखिन्छ ।’

ती नेताका अनुसार पूर्णबहादुरलाई देउवाले आफ्नो समूहबाट अघि बढाउन नचाहनुमा संगठनमा कमजोर र आफूले भने अनुसार नगर्ने आशंका उनलाई छ ।

देउवा समूहमा रहेका खड्काले समूहभित्र उपसमूह बनाउन लागेनन् । पूर्व नेता खुमबहादुर खड्का नजिकका नेता कार्यकर्ताहरु उनीसँग जोडिए पनि त्यो तागतलाई आफूसँग राख्न सकेनन् । ती नेताहरु पनि आफूसँगै राख्न सकेनन् ।

पूर्व नेता खड्का निकट रहेकाहरु पुष्पा भुसाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल लगायतलाई आफ्नो पकडमा राख्न सकेनन् । उनीहरु पनि देउवासँग नजिकिए । नेताहरुको अनुसार उनको पक्षमा मुखरित हुने केन्द्रीय सदस्य वा भ्रातृ संस्थाका प्रमुख पार्टीमा यतिबेला कोही देखिन्नन् । १४ औं महाधिवेशनमा खड्काले गृह प्रदेशबाट संस्थापनलाई शक्तिशाली बनाए । तर, त्यो शक्ति उनले भने अनुसार परिचालित हुने अवस्था भने नरहेको कर्णाली प्रदेशका नेताहरु बताउँछन् ।

कर्णालीमा संस्थापन पक्षका नेताहरुमा जीवनबहादुर शाही, राजीवविक्रम शाह, जानकी सिंह, कान्तिका सेजुवाल लगायत छन् । संस्थापन पक्षमा रहेका उनीहरुले खड्कालाई साथ दिने/नदिनेमा नेताहरु आशंका राख्दछन् ।

‘कर्णालीको सिंगो कार्यसमिति उहाँकै भएजस्तो देखिन्छ । तर, पूर्ण बहादुर दाइको आग्रह वा आदेश मान्ने छैनन् । शेरबहादुर वा आरजुलाई सोध्नेहरु छन्,’ कर्णाली प्रदेशका नेताले भने । खड्काको सक्रियताले संस्थापन पक्षले सुर्खेत, हुम्ला, डोल्पा, मुगु, जुम्ला, सल्यान, जाजरकोट, रूकुम पश्चिम जिल्ला सभापति जित्न सफल भएको थियो । कालीकोट र दैलेख जिल्ला सभापति मात्र संस्थापनइतरले जित्यो ।

१३ औं महाधिवेशनमा उक्त प्रदेशमा कमजोर रहेको देउवा पक्षले हुम्लामा मात्रै सभापति जितेको थियो । कर्णालीमा संस्थापन पक्षलाई बलियो बनाएर खड्काले त्यो शक्ति देउवाका लागि खर्च गरेका थिए । खड्का आन्तरिक संगठनभित्र शक्ति आर्जनको पक्षमा कमजोर रहेको केन्द्रीय सदस्य श्याम घिमिरे बताउँछन् । ‘पार्टीभित्र स्वार्थ समूह हुन्छन् । स्वार्थ समूह निर्माण गर्ने कुरामा उहाँले ध्यान दिनुभएन,’ घिमिरे भन्छन् ।

देउवाका विश्वासपात्र खड्का २०७५ बैशाखमा मनोनित महामन्त्री बने । १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. शशांक कोइराला भन्दा पार्टी सञ्चालनमा उनी हाबी देखिए । संस्थापन पक्षका विमलेन्द्र निधि १४ औं महाधिवेशनमा सभापतिको प्रत्याशी हुँदा उनले उपसभापतिमा जिते ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्रीमा डा. प्रकाशशरण महत पराजित हुँदा संस्थापनमा उनको शक्ति थप बढने अवस्था बन्यो । पार्टी वरियतामा देउवा पछिको स्थान उनकै छ । उपसभापतिमा निर्वाचित धनराज गुरुङका भन्दा पार्टीभित्र र बाहिर उनको क्रियाशीलतता प्रभावशाली देखिँदै आएको छ ।

पार्टीभित्र कडा स्वभावका नेताका रुपमा खड्कालाई चित्रण गरिन्छ । आफूले साथ पाउने लालसामा नेता कार्यकर्तासँग विनम्र हुने उनको प्रवृत्ति नहरेको पार्टी नेताहरु बताउँछन् । ‘तितो सत्य भन्ने व्यक्ति सबैको प्रिय हुन सक्दैन । उहाँले पार्टी कार्यकर्तालाई गलत कार्यमा कहिले आड भरोसा दिनुभएन । त्यसले गर्दा समूह उप समूह बनाउन सक्नुभएन,’ संस्थापन पक्षका नेता भन्छन् । खड्काको दुर्बल पक्षमा जिल्ला भ्रमणमा कम पुग्नु पनि रहेको नेताहरु बताउँछन् ।

कांग्रेस सत्तामा हुँदा खड्काले शक्तिशाली भनिएका मन्त्रालय सम्हाले । गृह, रक्षा र सञ्चारमन्त्री बनेका उनी कुनै अनियमितामा मुछिएनन् । ‘आर्थिक रुपमा इमान्दार व्यक्ति उहाँ हो,’ खड्काको सवल पक्षबारे केन्द्रीय सदस्य घिमिरे भन्छन्, ‘खरो सत्य बोल्न सक्ने व्यक्ति हो । कुटनीतिक चातुर्य पनि देखिन्छ ।’

खड्कालाई भावी सभापतिका रुपमा देउवाले देख्न नचाहेको पछिल्ला घटनाक्रमले समेत संकेत गरेको नेताहरु दाबी गर्छन् । खड्का नेतृत्वमा रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पूर्णता पाउन नसक्नुमा देउवा नै कारक रहेको ती नेता बताउँछन् । उक्त प्रतिष्ठानमा निर्देशक बाहेक अन्य सदस्य मनोनित हुनसकेका छैनन् ।

प्रतिष्ठानलाई पूर्णता प्रदान गर्न सभापतिको परामर्श विना सम्भव हुँदैन । सभापतिले खड्कालाई वेवास्ता गरेको अर्को सन्दर्भ लुम्बिनी सम्मेलनलाई उदाहरण पार्टी भित्र दिने गरिएको छ । लुम्बिनी सम्मेलनमा आफ्नो वरियता भन्दा माथि डा.शेखर कोइराला राखेकाले उनी सहभागी नभएको नेताहरु बताउँदै आएका छन् ।

कांग्रेस नेताहरुका अनुुसार खड्काका लागि दुईवटा बाटो छन् । पहिलो, हरसम्भव देउवाको समर्थनको उम्मेवार बन्ने । दोस्रो, देउवाले समर्थन नगरे अर्को समीकरण बनाउने । खड्कालाई सजिलो बाटो पहिलो हुनेछ । तर, त्यसका लागि उनी समूहभित्र सर्वस्वीकार्य हुन भने कठिन छ । कदाचित् देउवाको समर्थनको उम्मेदवार हुन नसक्ने अवस्थामा खड्काले दुई महामन्त्रीलाई साथ लिएर नयाँ समीकरण बनाउने सोंचमा उनी रहेको संस्थापन पक्षका कतिपय नेता दाबी गर्छन् ।

देउवाको समर्थनमा सभापति उम्मेदवार नहुने अवस्था बन्यो भने पनि उनी पछि नहट्ने कतिपय नेतालाई जानकारी गराइसकेका छन् । उपसभापति खड्कासँग भएको संवादबारे एक नेता भन्छन्, ‘कि सभापतिमा उठ्नुपर्‍यो कि राजनीतिबाट सन्यास लिनुपर्‍यो भन्नुहुन्छ । उपसभापतिमा दोहोरिन्नँ, केन्द्रीय सदस्यमा उठ्दिनँ भन्नुभयो ।’

सभापतिमा उम्मेदवार बन्ने संकेत गरिसकेका खड्का र दुई महामन्त्री गगन थापा अनि विश्वप्रकाश शर्माबीच नजिकपन बढेको पार्टीभित्र टिप्पणी हुने गरेको छ । १४ औं महाधिवेशन अघि महामन्त्री रहेका खड्का र पार्टी प्रवक्ता रहेका शर्माबीचको निकटता त्यतिबेला नै चर्चामा रहेको थियो । खड्का र शर्माको निकटता रहेको प्रसंग देउवा प्रधानमन्त्री भएलगत्तै भएको एउटा प्रकरणले पनि पुष्टि गर्दछ । ‘मलाई देउवा मनपर्छ किनभने,’ भिडियो प्रचारको खड्का र शर्माले विरोध जनाएका थिए ।

खड्काले अर्का महामन्त्री गगन थापासँग पनि सम्बन्धलाई सुमधुर बनाएको चर्चा कांग्रेसमा हुने गरेको छ । गत महासमिति बैठकमा प्रतिवेदन तयार गर्दा एक अर्काको सर सल्लाहमा प्रतिवेदन तयार गरिएको थियो । ‘देउवाले पूर्णबहादुरलाई सभापतिको उम्मेदवार नबनाएको अवस्थामा दुई महामन्त्रीको साथ रहने सम्भावना पनि छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्य दाबी गर्छन्, ‘महाधिवेशन आउन समय धेरै बाँकी छ । त्यस बेलासम्म समीकरणहरु उस्तै रहँदैनन् । खड्काको नेतृत्वमा अर्को समूह बन्ने र त्यसमा दुई महामन्त्री र रमेश लेखक जोडिए आश्चर्य नमान्नुहोला ।’ त्यसका लागि खड्काको चाहना अनुसार दुई महामन्त्री तयार भए भने मात्रै त्यो समीकरण सम्भव हुने उनले बताए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?