+
+

टी-२० विश्वकप पहिलो सेमिफाइनल : इतिहास रच्न अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते २२:१७

१२ असार, काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहीबार बिहान ६ : १५ मा ब्रायन लारा रंगशाला ट्रिनिडाडमा सुरु हुनेछ ।

यस खेलको विजेता टोली पहिलो पटक फाइनलमा पुग्नेछ । अफगानिस्तानले पहिलो र दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनलमा खेल्न लागेका हुन् । दक्षिण अफ्रिका यसअघि सन् २००९ र २०१४ को टी-२० विश्वकपको सेमिफाइनलबाट बाहिरिएको थियो । दक्षिण अफ्रिका यस पटक ग्रुप–२ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका जारी विश्वकपमा लगातार ७ जितका साथ अपराजित छ । दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो । सुपर-८ को ग्रुप २ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै १० वर्षपछि सेमिफाइनलमा स्थान बनाएको हो । उता अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराउँदै आफ्नो इतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । अफगानिस्तान सुपर-८ को ग्रुप १ को उपविजेताको रुपमा सेमिफाइनल खेलेको हो ।

दक्षिण अफ्रिका स्पिनविरुद्ध संघर्ष गर्दै आएको छ । नेपालका स्पिनर कुलश भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाले ११५ रन मात्रै बनाउन सकेको थियो । अफगानिस्तान उक्त कमजोरीको फाइदा उठाउन चाहन्छ । अफगानिस्तानका कप्तान राशिद खान र नुर अहमदको जोडी घातक बन्न सक्छन् ।

हेनरिक क्लासेन दक्षिण अफ्रिका टोलीमा स्पिन सबैभन्दा राम्रो खेल्ने ब्याटर हुन् । ओपनर क्विन्टन डि कक, डेविड मिलर र एडेन माक्ररम मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । ओपनर रिजा हेन्ड्रिक्सले लगातार खराब प्रदर्शन गरेका छन् । उनको स्थानमा घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका रयान रिकेल्टनलाई सरप्राइज प्याकेजको रुपमा प्रयोग गर्नसक्छ ।

दक्षिण अफ्रिका बलिङ आक्रामण मुख्य हतियार हुन् । कागिसो रबाडा, एनरिच नोर्किया र मार्को यानसन तीव्र गतिका हतियार हुन् । स्पिनरमा तबरेज शाम्सी र केशव महाराज छन् । अफगानिस्तानको स्पिन सामु रन जोड्न दक्षिण अफ्रिका ब्याटरलाई मुख्य चुनौती हुनेछ ।

यता अफगानिस्तानको ब्याटिङ ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानमा निर्भर छ । यस विश्वकपमा यी दुई जोडीले तीन पटक शतकीय साझेदारी गरेका छन् । सर्वाधिक रन बनाउने सूचिमा गुरबाज २८१ रनका साथ शीर्ष र जद्रान २२९ रनका साथ तेस्रो स्थानमा छन् ।

अफगानी तीव्र गतिका बलर फजलहक फारुकी १६ विकेटका साथ शीर्ष स्थानमा छन् । उनलाई अर्को एण्डबाट राम्रो साथ दिएका नविन उल हकले १३ विकेट लिएका छन् । अफगानिस्तान र दक्षिण अफ्रिका दुबै बलिङ आक्रामणमा निर्भर छन् ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच टी-२० आईमा दुई खेल भएका छन् । दुबै खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । पछिल्लो पटक सन् २०१६ को टी२० विश्वकपमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको थियो ।
अर्को सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच बिहीबार बेलुका ८ : १५ मा खेल हुनेछ । यदि वर्षाको कारण खेल रोकिएमा दुबै सेमिफाइनल खेलको रिजर्भ डे राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?