+
+
इनास अमेरिकाका अध्यक्ष राहुल केसीसँग संवाद :

‘नेपाली कलासंस्कृतिलाई विश्वब्यापी तुल्याउन प्रतिबद्ध छौं’

अमेरिकामा आउनसाथ आजको भोलि नै समुन्द्रमा गएर फोटो हालेको जस्तो जीवन हुँदैन । यहाँको जीवन एकदम कठिन छ । संघर्ष त आइसकेपछि जिरोबाट गर्नुपर्छ । नेपालमा जीवनलाई हन्ड्रेडमा पुर्‍याइसकेको मान्छे जब अमेरिकामा आउँछ, यसको सुरुवात त शून्यबाट हुन्छ । यो मानसिकता बोकेर आउनूस आउँदाखेरी । दुःख परेकालाई इनासले सघाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ६:०५

काठमाडौं । सामाजिक र चरित्रप्रधान कथावस्तुका लागि परिचित छन् अभिनेता राहुल केसी । २०६१ सालको फिल्म ‘सडकछाप’बाट अभिनय करिअर थालेका उनले ‘बनवास’, ‘किसान’, ‘नागरिक’जस्ता चर्चित फिल्ममा अभिनय गरे । ९ फिल्ममा काम गरेका उनलाई दर्शकले विद्रोही, भुइँमान्छेदेखि रोमान्टिक चरित्रमा देखेका छन् ।

५० भन्दा बढी म्युजिक भिडियोमा देखिएका उनको डिस्कोग्राफीको सूचीमा केही हिट ट्रयाक सामेल छन् । राजनराज शिवाकोटीको ‘मायालु आउने जाने बाटोमा’देखि म्युजिक भिडियोमा डेब्यु गरेका उनले बिमल डाँगीको ‘वनको काँडाले’, अन्जु पन्तको ‘अनि गजलकार भएँ म’मा अभिनय समेत गरेका छन् । उनी फिल्म सम्पादक र कालीगण्डकी सिनेम्याक्स नामक प्रोडक्सन हाउसका संचालक समेत रहिसकेका छन् ।

११ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राहुल यतिबेला अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को अमेरिका राष्ट्रिय समितिका अध्यक्ष समेत हुन् । नेपाली कलाकारको अन्तर्राष्ट्रिय छाता संस्था इनास ७३ देशमा फैलिएको छ । अमेरिकामा मात्र २०० भन्दा कलाकार संगठित छन् । केसीले यतिबेला इनासको नेतृत्व गर्दै अमेरिकामा नेपाली कलासंस्कृतिको प्रवर्धनदेखि कलाकारको वृत्ति विकासमा काम गरिरहेका छन् । अध्यक्ष केसीले अनलाइनखबरकर्मी विष्णु शर्मासँग यी आयाममा कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको संवादको सम्पादित अंश :

अहिले इनास अमेरिकाले के काम गरिरहेको छ ?

हाम्रो मातहतका शाखाले सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । नयाँपुस्तालाई नेपाली मौलिक चाडपर्वबारे जानकारी दिन दसैंतिहार, देउसीभैलो लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । अमेरिकास्थित गैरआवासीय नेपाली संघ, जातीय संघसंस्थाले गर्ने कार्यक्रममा इनासले सांस्कृतिक कार्यक्रम पनि संचालन गरिरहेको छ ।

अमेरिकामा इनासजस्ता संस्थाको आवश्यकता किन ?

अहिले अमेरिकामा नेपालीको बसाइसराइ तीव्रगतिमा छ । यसक्रममा हामी गाउँदेखि सहर हुँदै सहरबाट विदेशमा पुगेका छौं । जहाँ पुगेपनि हामी नेपाली कलासंस्कृतिलाई सँगै बोकेर आएका छौं । त्यसलाई हामीले निरन्तरता दिन जरुरी छ । हाम्रो पुस्ताले निरन्तरता दिएपनि अर्को पुस्ताले बिर्सने सम्भावना बढी रहन्छ । नेपाली कलासंस्कृति, भाषा, भेषभुषा, हामी को हौं भन्ने कुरालाई निरन्तरता दिन पनि इनासजस्तो संस्थाले विश्वब्यापी बनाउन सघाउनुपर्छ । नेपालको उत्पादन, भाषा, संस्कृतिलाई निरन्तरता दिन पनि इनासको जरुरी छ ।

अमेरिकामा रहेका कलाकारलाई इनासले कलाकारितासँग कसरी जोड्नेतर्फ काम गरिरहेको छ ?

अहिले पनि हामी संस्थालाई विस्तारकै क्रममा छौं । एउटै विधाका मात्र कलाकारलाई नसमेटेर सबै किसिमका कलाकार समेट्न सक्ने संस्थाको रुपमा यसलाई विकास गर्न खोजेका छौं । हाम्रो मुख्य उद्देश्य भनेकै, पुराना स्रष्टालाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन भन्ने हो । यसर्थ, इनास अमेरिका राष्ट्रिय सम्मानको सुरुवात भैसकेको छ । यसमा हामीले नेपालबाट अमेरिका आएर विभिन्न विधाजस्तै साहित्य, खेलकुद, पत्रकारिता, चलचित्र, नृत्य, संगीत, सामाजिक क्षेत्रमा होस्, यी क्षेत्रमा उत्कृष्ट योगदान दिनुहुने मध्येलाई हामीले राष्ट्रिय सम्मान प्रदान गर्छौं । नयाँ प्रतिभाले पनि उपलब्धी हासिल गरेको खण्डमा पनि उहाँहरुलाई प्रतिभा सम्मान गर्छौं । पछिल्लोपटक ‘भ्वाइस अफ अमेरिका’मा पुग्नुभएकी परिजिता बाँस्तोलालाई सम्मान गरेका थियौं । अमेरिकामा रहेर निरन्तर काम गर्नुभएका सम्राट दाहाललाई पनि हामीले सम्मान गरेका थियौं । सम्मान र प्रोत्साहनको यो कार्यलाई सँगै अघि लगेका छौं ।

नेपाली समुदायभन्दा माथि उठेर इनासले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर केही कार्य गर्न सक्ने सम्भावना कस्तो छ ?

यसको सुरुवात पनि भैसकेको छ । अगाडिका दिनमा हामी एकताबद्ध हुन पनि कठिन थियो । अरुसँग पहुँच पुर्‍याउन पनि कठिन थियो । अहिले हामी नेपाली पनि अमेरिकाको विभिन्न क्षेत्रमा अघि बढिसकेका छौं । यहाँको राजनीतिमा पनि अघि बढेका छौं । उदाहरणको लागि, ह्यारी भण्डारीजी मेरिल्याण्ड राज्यको सांसद हुनुहुन्छ । मेरिल्याण्ड मात्र नभएर एसियन कम्युनिटीको पनि उहाँ प्रमुख हुनुहुन्छ । उक्त संस्थामा एसियाका विभिन्न संस्था सदस्य छन् । यो नेटवर्कमा विभिन्न कलाकारको आदानप्रदान भैरहेको हुन्छ । इनास अमेरिकाको सल्लाहकार डा. श्याम कार्कीज्यू, उहाँ आफैपनि विभिन्न मुलुकसँग जोडिएको संस्थासँग आबद्ध हुनुहुन्छ । यसकारण हाम्रो पहुँच अन्य मुलुकसँग पनि जोडिएको छ । हामीले संयुक्तरुपमा कार्यक्रम गर्न सक्ने अवस्था पनि छ । अहिले हामी हाम्रा कलाकारलाई अन्य राष्ट्रका कलाकारसँग जोडेर सँगसँगै कार्यक्रम गर्न सक्ने अवस्थामा हामी छौं ।

कलाकारले कसरी अन्तर्राष्ट्रिय मंचमा दूतको भूमिका निर्वाह गर्न सक्छन् ?

निश्चय नै, हरेक कलाकार राजदूत हुनुपर्छ । राष्ट्रलाई चिनाउने भनेकै कला र खेलकुदको माध्यम हो । अमेरिकामा आयोजित टी-ट्वान्टी क्रिकेटले मुलुकलाई चिनाउन जसरी सफल भयो, यसैगरि हामीले कलाको माध्यमबाट पनि देशलाई सबैतिर चिनाउन सक्छौं । नियुक्ति गरिएको राजदूतले एक ठाउँमा गएर सानो भाषण मात्र गर्नुहुन्छ होला, एउटा कलाकारले हरेक ठाउँमा गएर कलामार्फत आफ्नो देशलाई चिनाउनलाई काम गर्न सक्दछ । यसको लागि मुलुकले विदेशमा यस्तो काम गरिरहेका संस्थासँग सहकार्य गरेर अघि बढ्दा सिंगो राष्ट्रको लागि पनि राम्रो काम हुन्छ जस्तो लाग्छ मलाई ।

अमेरिकामा रहेका कलाकारको चुनौति के-के देख्नुहुन्छ तपाईं ?

कोही रहरले होला, कोही बाध्यताले होला । विभिन्न कारणवश हामी विभिन्न देशमा छौं । व्यक्तिगतरुपमा भन्दा, म सन् २०१२ मा अमेरिकामा आएँ । सोहीवर्ष युरोपबाट इनासको स्थापना भएको थियो । सन् २०१४ मा अमेरिकामा स्थापना गरियो र त्यसको संस्थापकको रुपमा भर्जिनियाको उपाध्यक्षमा रुपमा मैले काम सुरु गरेँ । अहिले १० वर्षसम्म सोहीवर्षसम्म आबद्ध हुँदै अहिले केन्द्रको राष्ट्रिय समितिको अध्यक्षको रुपमा छु । हामीले कला क्षेत्रमा नाम कमाउनुभएका जो अमेरिकामा हुनुहुन्छ, उहाँलाई जोड्ने प्रयास गरिरहेका छौं । संघसंस्थामा कार्य गर्न आफ्नै बाध्यता हुन्छन् ।

म के भन्न चाहन्छु भने- जसले नेपालमा आफ्नो ठाउँ बनाएर अमेरिका आउनुभयो, यसरी आउन कलाकारिताले धेरै सहयोग गर्‍यो । विदेशमा आएर नेपाली कलासंस्कृतिलाई अघि बढाउन सहयोग गर्छु भनेर भिसा लगाएर, ग्रीनकार्ड लिएर परिवारसहित सेटल हुनुभएको छ । यस्तोमा यहाँहरुको अभिभारा के रहेको छ भन्दा, थोरै समय पनि फेसबुकमा लेखेर हुनसक्छ, कार्यक्रममा साथ दिएर हुनसक्छ यहाँहरुको सघाउने अभिभारा छ । यसको लागि इनाससँग जोडिनूस । यहाँहरु पूर्णकालिन समय काम गर्नुपर्छ भन्ने छैन । हामीले पनि त्यसरी गरिरहेका छैनौं । फुर्सदको समयमा नेपाली कला क्षेत्रलाई उपस्थिती जनाइदिनुभयो भने पुराना स्रष्टालाई टेवा र नयाँ आउनेलाई योगदान हुनेछ भन्न चाहन्छु ।

यतिबेला नेपालका अधिकांश कलाकारमा विदेशको मोह देखिन्छ । यस्तोमा, इनासको अपिल के हुन्छ ?

यसमा इनासको आफ्नो दायरा छ । यसमा मेरो नीजि विचार के छ भन्दा- यतिबेला हरेक कुरा ग्लोबल भैसक्यो । कोही जाऊ-नजाऊ भन्न मिल्दैन । मान्छेको स्वतन्त्रताको कुरा हो । जसरी नेपालमा व्यवस्थितरुपमा साथीहरु बस्नुभएको छ, ती साथीहरुमा विदेशको मात्र मोह हुनुपनि गलत बुझाई भएर हुनसक्छ । अमेरिकामा आउनसाथ आजको भोलि नै समुन्द्रमा गएर फोटो हालेको जस्तो जीवन हुँदैन । यहाँको जीवन एकदम कठिन छ । कोहीले जुन उद्देश्य बोकेर आउँछ, उसले यहाँ आउने वित्तिकै त्यो पाउँदैन । संघर्ष त आइसकेपछि जिरोबाट गर्नुपर्छ । नेपालमा जीवनलाई हन्ड्रेडमा पुर्‍याइसकेको मान्छे जब अमेरिकामा आउँछ, यसको सुरुवात त शून्यबाट हुन्छ । यो मानसिकता बोकेर आउनूस आउँदाखेरी । दुःख परेकालाई इनासले सघाउँछ ।

अमेरिकामै बत्तीमुनिको अँध्यारो भएर बसेका कलाकारलाई जोड्न इनासले के भूमिका खेल्न सक्छ ?

इनासले स्थापित नेपालीलाई निश्चय नै सम्मान गर्छौं, उहाँहरुले आफूले जानेको अनुभव नयाँ पुस्तालाई कसरी दिनसक्छ, हामी यो कुराको सेतु बन्न चाहन्छौं । यसतर्फ इनासले अवश्य पनि भूमिका खेल्नेछ ।

अमेरिकास्थित नेपाली नियोग र अन्य नेपाली संघसंस्थासँग मिलेर कलाकार, संस्कृतिको प्रवद्र्धनमा कसरी काम गर्ने योजना छ इनासको ?

हामी नेपालबाट नै बढी राजनीतिमुखी भएका छौं कि भन्ने लाग्छ । यहाँ पनि नेपाली नियोगले त्यति प्राथमिकता दिएको पाइँदैन । विदेशमा भएर नेपालकै राजनीति बढी गर्न खोज्ने, विभिन्न भातृ संगठनलाई बढी ग्राह्यता दिने र बाहिर बसेर पनि राजनीति गर्ने आसेपासेले बढी फाइदा लिने खालको भैरहेको छ । यो चाहिँ नहुनुपर्छ भन्ने मलाई बढी लाग्दछ । सहि कलाकारलाई अमेरिकास्थित नेपाली दूतावासले पनि पहिचान गर्नुपर्दछ । यसका लागि पहल भैरहेको छ । अहिलेको कार्यसमितिले यसको पहल सुरु गरिसकेको छ । निश्चय नै हामी यसतर्फ अघि बढ्छौं ।

हाम्रो संस्थामा कम राजनीति छ । नेतृत्वमा ल्याउँदा निरन्तर काम गर्नेहरुलाई ल्याउँछौं । म आफै पनि भर्जिनियाको उपाध्यक्ष भएर महासचिव हुँदै अध्यक्ष भएँ । मेरो बाँकी कार्यकालमा संस्थाभित्रको अन्तर्राष्ट्रिय समन्वयलाई बलियो ढंगले अघि बढाउन काम सुरु भएको छ । यसका लागि म भर्खरै युरोप भ्रमणमा पुगेर आएँ । इनासका साथीहरुसँग भेटेर अन्तर्राष्ट्रिय सहकार्यबारे छलफल भैसकेको छ ।

छुटेका साथीहरुलाई समेट्ने र इनासलाई पहिचान दिने काममा हामी अघि बढिरहेका छौं । सन् २०२५ मा राष्ट्रिय सम्मानको लागि जुट्न सुरु गरिसकेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?