+

पेरिस ओलम्पिक्स सहभागिताबारे छलफल

२०८१ असार  १३ गते ८:०६ २०८१ असार १३ गते ८:०६
पेरिस ओलम्पिक्स सहभागिताबारे छलफल

१३ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अर्को महिना फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक्समा नेपालको सहभागिता र तयारीको विषयमा बुधबार राष्ट्रिय खलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् ।

जुलाई २६ देखि अगष्ट ११ सम्म हुने पेरिस ओलम्पिक्समा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । पेरिस ओलम्पिक्स नजिकँदै गर्दा नेपालको सहभागिता र जिम्मेवारीको विषयमा मन्त्री श्रेष्ठले राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागिताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन् ।

यस्तै उनले एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको संख्या जिम्मेवारीसहित राष्ट्रिय खेलकुद परिषद्‌मार्फत् मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन् । विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले ७ मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा,पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेको र ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए ।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको जनाएको छ । जसले गर्दा पहिलो पटक ओलम्पिकमा छनोट भएका प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने सम्भावना उच्च छ ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र मंगलबार मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने भएको छ ।

राखेप सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार छनोट प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको जानकारी गराए । पेरिसमा हुने ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि आउने आर्थिक वर्षको बजेटमा ९० लाख बजेट विनियोजन भएको छ ।

सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए ।

पेरिस ओलम्पिक्समा नेपालबाट छनोट चरण पार गरेका टेबलटेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने निश्चित भइसकेको छ ।

नेपाल ओलम्पिक कमिटी पेरिस ओलम्पिक्स युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ राष्ट्रिय खलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय