+
+

यी हुन् सेवानिवृत्त जीवन बिताउने एसियाका उत्कृष्ट गन्तव्य, नेपाल सातौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते ८:५४

काठमाडौं । सुरक्षा, सांस्कृतिक सम्पन्नता तथा किफायती जीवनयापनका कारण अवकाशपछिको जिन्दगी व्यतित गर्नका लागि एसियाली मुलुकहरु उत्कृष्ट गन्तव्य हुनसक्छन् । २ हजार डलर भन्दा कम मासिक खर्चमा यहाँ उच्च गुणस्तरीय जीवन जिउन सकिन्छ ।

शैक्षिक वेबसाइट तथा प्लाटफर्म न्यू ट्रेडर यूले अवकास पछिको जीवन बिताउनका लागि एसियाका सबैभन्दा उत्कृष्ट तथा सुरक्षित १० वटा गन्तव्यहरुको सूचि सार्वजनिक गरेको छ । उक्त सूचिको शीर्ष १० भित्र नेपाल पनि अटेको छ ।

यी हुन् सूचिमा समावेश भएका शीर्ष १० देशहरु–

१. मलेसिया : अवकास पछिको जीवनयापनका लागि एसियाको सबैभन्दा सुरक्षित तथा कम खर्चिलो स्थानको रुपमा मलेसियाले पहिलो स्थान कब्जा गर्दै आएको छ । जीवनयापनको लागि न्यून लागत तथा सस्तो मूल्यका आवास विकल्पहरुका कारण सेवानिवृत्त मानिसहरुले जर्ज टाउन तथा क्वालालम्पुर जस्ता लोकप्रिय ठाउँहरुमा समेत आफ्नो बजेट थप विस्तार गर्न सक्दछन् ।

मलेसियाको उत्कृष्ट स्वास्थ्य सेवा प्रणाली अर्को महत्वपूर्ण आकर्षण हो, जहाँ पश्चिमा देशहरुको तुलनामा निकै कम लागतमा गुणस्तरीय सेवा प्राप्त हुन्छ । देशको चलायमान आप्रवासी समुदाय र मित्रवत् स्थानीय समुदायका कारण सेवानिवृत्त बाह्य मानिसहरुलाई समाजमा अन्तरघुलन हुन सहज हुन्छ र आफ्नै घरजस्तो अनुभूति हुन्छ ।

२. थाइल्याण्ड : जीवनयापनको न्यून लागतका कारण सेवानिवृत्त मानिसहरु थाइल्याण्डमा उच्च गुणस्तरीय जीवनयापन गर्न सक्दछन् । चियांगमाइ, हुवाहिन तथा बैंकक जस्ता सहरहरुमा प्राचीन मन्दिरदेखि आधुनिक मलसम्मका विभिन्न सांस्कृतिक अनुभव तथा आकर्षणहरु उपलब्ध हुन्छन् । स्वादिष्ट खानेकुरा, आश्चर्यजनक सामुद्रिक तटहरु तथा शान्त जीवनशैलीले युक्त थाइल्याण्ड अवकासप्राप्त मानिसहरुको रोजाइको गन्तव्य बन्न सक्दछ ।

३. भियतनाम : सेवा निवृत्त मानिसहरुको जीवनयापनका लागि एसियाका उत्कृष्ट गन्तव्यको सूचिमा तेश्रो स्थानमा भियतनाम परेको छ । उत्तरमा लहलह झुलेका धानका फाँटदेखि दक्षिणमा सुन्दर सामुद्रिक तट भएको आश्चर्यचकित पार्ने प्राकृतिक अवस्थिति भियतनामको परिचय हो । समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक छटा, परम्परागत संस्कार तथा गाउँहरु र किफायती तथा कम लागतको जीवनयापनका कारण भियतनाम अवकासपछिको जीवन बिताउने उपयुक्त थलोको रुपमा रहेको छ ।

४. बाली, इण्डोनेसिया : ‘उष्णप्रदेशीय स्वर्ग’को उपनामले चिनिने इण्डोनेसियाको बाली प्राकृतिक सुन्दरता, सांस्कृतिक समृद्धि तथा किफायती जीवनशैलीको सम्मिश्रण हो । आश्चर्यचकित पार्ने समुद्री तट, हराभरा परिदृश्य तथा सुन्दर धान खेतले युक्त बाली अनुपम अनुभूतिहरुको केन्द्र हो । जीवनयापनको लागत किफायती हुनुका साथै आवासको विकल्प फराकिलो भएका कारण सेवानिवृत्तहरुले सीमित बजेटमा पनि उच्च गुणस्तरीय जीवन बिताउन सक्दछन् ।

५. कम्बोडिया : यो सूचीमा पाँचौ स्थानमा रहेको कम्बोडिया जीवनयापनको न्यून लागत तथा सजिलो भिजा प्रक्रियाका कारण पछिल्लो समयमा लोकप्रिय अवकास गन्तव्य बनिरहेको छ । न्होम्पेन तथा सिएम रिप जस्ता सहरहरुमा प्राचीनदेखि आधुनिक अनुभव तथा सुविधाहरु उपलब्ध छन् ।

६. फिलिपिन्स : निकै सुन्दर सामुद्रिक तटहरु, मित्रवत स्थानीय बासिन्दाहरु, अंग्रेजी भाषाको सर्वत्र प्रयोग तथा किफायती जीवनयापनको लागतले गर्दा फिलिपिन्स सेवा निवृत्त जीवन बिताउने लोकप्रिय गन्तव्य बन्दै गएको छ । फिलिपिन्सका सेबु तथा डुमागुटे सहरहरु सेवा निवृत्त जीवन बिताउन जाने विदेशीहरुका लागि सबैभन्दा उपयुक्त स्थानको रुपमा स्थापित हुँदै गएका छन् ।

७. नेपाल : सेवा निवृत्त मानिसहरुका लागि जीवन बिताउने एसियाका उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाल सातौँ स्थानमा परेको छ । प्राकृतिक वातावरणमा शान्त तथा किफायती जीवनयापनको खोजीमा रहेका सेवा निवृत्त मानिसहरुका लागि नेपाल लुकेको मोती नै हो । हिमालय पर्वत, हराभरा उपत्यकाहरुसँगै नेपालले आधुनिक जीवनको दौडधुपबाट पर एउटा शान्त आवास प्रदान गर्दछ ।

न्यून लागतको जीवनयापन तथा शान्त जीवनशैलीका कारण सेवानिवृत्त मानिसहरुले यहाँ ठीक्कको बजेटमा पनि उच्च गुणस्तरीय जीवनयापन गर्न सक्दछन् । समृद्ध सांस्कृतिक सम्पदासँगै हाइकिङ तथा ट्रेकिङ जस्ता साहसिक गतिविधिहरुको अवसरले पनि यहाँ समय बिताउन आउनेहरुलाई नयाँ अनुभव प्रदान गर्दछन् ।

८. ओमान : सूचीमा ८ औँ स्थानमा रहेको मध्यपूर्वी देश ओमान सुरक्षित तथा स्थायित्वयुक्त गन्तव्य हो जहाँ सेवा निवृत्तहरुले मध्यपूर्वको सुन्दरता र आतिथ्यको अनुभव गर्न पाउँछन् । आश्चर्यचकित पार्ने पहाडहरु, भिमकाय मरुभूमिहरु, अति पवित्र सामुद्रिक तटले युक्त ओमान अझै थप कुरा पत्ता लाग्न बाँकी रहेको प्राकृतिक आश्चर्यभूमि नै हो । मित्रवत स्थानीय संस्कृति, परम्परागत ओमानी आतिथ्यता, किफायती जीवनयापन खर्च र बढ्दो आप्रवासी समुदायको उपस्थितिले गर्दा ओमान सेवा निवृत्तहरुका लागि सहज बन्दै गएको छ ।

९. साइप्रस : भौगोलिक रुपमा युरोपको भाग भए पनि एसियासँगको निकटता र सांस्कृतिक सम्बन्धका कारण यो देश एसियाली अवकास गन्तव्यको रुपमा गणना गरिन्छ । यो टापुका सुन्दर सामुद्रिक तट, भूमध्यसागरीय जलवायु तथा किफायती जीवनयापन, आवासका अधिक विकल्पहरुका साथै युरोप र मध्यपूर्व बीचको रणनीतिक अवस्थिति यसका प्रमुख आकर्षणको रुपमा रहेका छन् ।

१०. जोर्डन : मध्यपूर्वको समृद्ध इतिहास र संस्कृतिको अनुभव गर्दै सेवा निवृत्त जीवन बिताउनका लागि जोर्डन एसियाको शीर्ष १० उत्कृष्ट गन्तव्यको सूचिमा १० औँ नम्बरमा पर्न सफल भएको छ । प्राचीन सहर पेट्रादेखि मृतसागर जस्ता प्राकृतिक आश्चर्यले गर्दा जोर्डन अद्वितीय अनुभवको उत्कृष्ट गन्तव्य हो । साथै मित्रवत् स्थानीय समुदाय, किफायती जीवन यापनको खर्चले गर्दा सुरक्षित र समृद्ध जीवन बिताउन चाहने सेवानिवृत्तहरुका लागि जोर्डन उपयुक्त स्थान बनेको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?