+
+

गैंडाको चोरी शिकार रोक्न दक्षिण अफ्रिकामा नयाँ अभियान-खागमा विशालु चिप जडान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १०:५८

१२ असार, काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग)मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ ।

इन्टरनेशनल राइनोसोरस फाउन्डेसनको एक अनुमान अनुसार दक्षिण अफ्रिकामा करिब १५ हजार गैंडाहरु छन् ।

विश्वमै सबैभन्दा धेरै गैंडा पाइने दक्षिण अफ्रिकामा सबैभन्दा धेरै चोरी शिकारी पनि हुने गर्दछ ।

गत फेब्रुअरीमा दक्षिण अफ्रिकाको पर्यावरण मन्त्रालयले गैंडाको चोरी शिकार रोक्ने प्रयासका बाबजुद सन् २०२३ मा ४९९ गैंडा मारिएको जनाएको थियो । यो सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।

चोरी शिकार गर्नेहरुले गैंडा मारेर त्यसको खाग काटेर लैजान्छन् । खागको सबैभन्दा धेरै माग एसियाली देशहरुमा हुने र महँगो मूल्यमा किनबेच हुने जानकारहरु बताउँछन् । गैंडाको खागबाट परम्परागत औषधिहरु बन्ने बताइन्छ ।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले अब त्यस्ता खागहरु उपयोग नै गर्न नमिल्ने गरी त्यसभित्र रेडियो एक्टिभ चिप राख्ने अभियान चलाएका छन् । विषयुक्त चिपले गैंडाहरुलाई दुखाइ पनि नहुने र हानि पनि नगर्ने वैज्ञानिकहरुको भनाइ छ ।

विटवाटरसेण्ड विश्वविद्यालयको रेडिएसन एण्ड हेल्थ फिजिक्स विभागका प्रमुख जेम्स लारकिन भन्छन्, ‘गैंडाको खागमा दुईवटा साना रेडियो एक्टिभ चिप लगाइन्छ । चिप लगाउँदा गैंडालाई दुख्दैन र नकारात्मक असर पनि पर्दैन ।’

सोही विश्वविद्यालयको विज्ञान संकायकी डिन नित्या चेट्टी भन्छिन्, ‘रेडियो एक्टिभ चिप जडान गरिएका खाग कहीँ पनि प्रयोग गर्न मिल्दैन । किनभने यो मानिसहरुका लागि विषालु हुन्छ ।’

गैंडाको स्वास्थ्यको ख्याल

‘राइसोटप’ नाम दिइएको यो अभियान अन्तर्गत पहिलो चरणमा २० वटा गैंडामा रेडियो एक्टिभ चिप जडान गरिएको छ ।

यो चिप यति शक्तिशाली हुन्छ कि अन्तर्राष्ट्रिय नाकाहरुमा जडान गरिएका न्युक्लियर डिटेक्टर मेसिनले पत्ता लगाउँछ । दक्षिण अफ्रिकासहितका देशहरुले आतंकवाद नियन्त्रणका लागि अन्तर्राष्ट्रिय नाकाहरुमा न्युक्लियर डिटेक्टर जडान गरेका छन् ।

यो अभियानमा संलग्न संरक्षणकर्मीहरुका अनुसार गैंडाको खागमा राखिएको रेडियो एक्टिभ पदार्थले पाँच वर्षसम्म काम गर्दछ । यसबीचमा गैंडाको रगत परीक्षण लगायतका नियमित स्वास्थ्य जाँच पनि गरिने छ ।

दक्षिण अफ्रिकाको उत्तरपूर्वमा पर्ने वाटरबर्ग क्षेत्रमा जनावरहरुका लागि लिम्पोपो नामको स्याहार तथा संरक्षण केन्द्र छ । लिम्पोपोकी संस्थापक एरी वान डेभेन्टर भन्छिन्, ‘चोरी शिकार नियन्त्रणका लागि विगतमा गरिएका कयौं प्रयासहरु असफल भइरहेका छन् । चिप लगाउने अभियान अहिलेसम्मकै राम्रो आइडिया हो । अब यो अभियानले चोरी शिकार र तस्करी रोकिन्छ कि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?