+
+

गणितमा १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:४५
नतिजा सार्वजनिक गर्दै परीक्षा बोर्डका पदाधिकारी ।

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० को नतिजा अनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ ।

बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणितमा विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।

अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।

त्यस्तैगरी अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ३५२ जना र वातावरणमा ३ हजार ५११ जनाले एनजी ल्याएको तथ्याङ्क छ ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गरिएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?