+
+

सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै एक सातापछि रोकियो ‘आचार्य’ को प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १३:२८

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को रिलिज रोकिएको छ । फिल्मले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिजको एक सातापछि प्रदर्शन रोकेको हो ।

१३ वर्षअघि रिलिज भइसकेको फिल्म गत शुक्रबारबाट पुन: प्रदर्शन गरिएको थियो । तर पाँच वर्षपछि पुन: रिलिज गर्दा सेन्सर पास गर्नुपर्ने प्रावधान छ । ‘आचार्य’ ले उक्त प्रक्रिया पूरा नगरेकाले सञ्चार तथा सूचना प्रविधिको मन्त्रालयको निर्देशन अनुसार बोर्डले अनुगमन गरी शुक्रबारबाट प्रदर्शन रोकेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले अनलाइनखबरलाई जानकारी दिए ।

‘पाँच वर्षपछि फिल्मको सेन्सर एक्पायर हुने प्रावधान छ । फिल्म आचार्यले पुन: प्रदर्शन गर्न सेन्सर गरेको रहेनछ । मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले हामीलाई सोधेको थियो,’ उनले भने, ‘सोही अनुसार हाम्रो अनुगमन समितिले अनुगमन गर्दा फिल्म चलिरहेको देखियो । अनि आजबाट प्रदर्शन स्थगित गरिएको हो ।’

‘आचार्य’ को निर्माता रोशन राईले भने आफूहरुले फिल्म पुन: सेन्सर गर्न खोजे पनि नमिलेको बताए । ‘पाँच वर्ष कटेपछि चार महिनाभित्र सेन्सर रिन्यु गर्नुपर्ने रहेछ । हाम्रो फिल्म (आचार्य) १३ वर्षअघि नै रिलिज भएको हो । त्यसैले जरिवाना तिरेर सेन्सर गर्छौं भन्दा पनि प्रावधानमा नमिल्ने रहेछ,’ उनले भने, ‘भक्तराज आचार्यज्यूप्रति श्रद्धाञ्जली स्वरुप चलाउने निर्णय गरिसकेका थियौं । डिस्ट्रिब्युटरकै सल्लाहमा हामीले  चलायौं । तर फिल्म क्षेत्रकै केही व्यक्तिले उजुरी दिनुभएपछि चलचित्र विकास बोर्डले फिल्म प्रदर्शन रोक्यो । अहिले देशभरका हलबाट हाम्रो फिल्म हटेको छ ।’

प्रशान्त रसाइली निर्देशित फिल्मले भक्तराज आचार्यको जीवन संघर्षको कथा प्रस्तुत गर्छ । फिल्मले सत्यराज आचार्यले बुवा भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई केही दृश्य समेत थप गरेर पुन: प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?