+
+

तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १४:०६

१३ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई पुरस्कृत गरेको छ ।

औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मन्त्रालयले ती तीन स्टार्टअप कम्पनीलाई बिहीबार पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा झापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन बी कन्सर्न प्रालि र रुपन्देही देवदह–१० को आवास फर्निचर इन्डस्ट्रिज प्रालि छन् ।

मन्त्रालयका अनुसार नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० निर्माण गरी सोही बमोजिम नवप्रवर्तनकारी कार्यमा संलग्न उद्यमीलाई ३० दिनको समय दिई सूचना प्रकाशन गरिएको थियो ।

त्यसपछि प्राप्त ६ वटा प्रस्ताव मूल्यांकन गर्न मापदण्ड बमोजिम औद्योगिक पूर्वाधार महाशाखा प्रमुखको संयोजकत्वमा मूल्यांकन समितिले प्राप्त कागजातका आधारमा पूर्वमूल्यांकन गरेको मन्त्रालयले जनाएको छ ।

नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना, उद्योग सञ्चालन, व्यवस्थापन र बजारीकरणको नवीनतम रणनीति, उद्योग स्थापना गरेको क्षेत्र, रोजगारी प्रदान गरेको संख्या, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ता जस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको मन्त्रालयको भनाइ छ ।

प्रस्तावहरूको पूर्वमूल्यांकनपछि ६ वटै प्रस्तावकको उद्योगमा अनुगमनकर्ताले स्थलगत अनुगमन गरेको मूल्यांकनबाट प्राप्त र पूर्वमूल्यांकनबाट प्राप्त अंकलाई औसतमा निकाली अन्तिम अंकभार दिएर तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

पुरस्कृतमध्ये हाई हिमालय अर्गानिक प्रालि २०७९ भदौमा २८ मा दर्ता भएको हो । यसले कृषिमा प्रयोग गरिने प्रांगारिक मल र अर्गानिक किटनाशक औषधि र बाली संरक्षक उत्पादन गरिरहेको छ । यसले कच्चा पदार्थ र मेसिन सबै स्थानीय सामान प्रयोग गरेको छ । यहाँ सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगका संयोजक प्रदीप घिमिरे हुन् ।

त्यस्तै २०६८ सालमा लतिपुर कुपन्डोलमा स्थापना भएको माउन्टेन बी कन्सर्न प्रालिले २१ घारबाट मौरीपालन सुरु गरेको थियो । हाल योसँग १ हजार ४ सय घार छन् । कम्पनीले प्रत्यक्ष ३७ र अप्रत्यक्ष ८ सय जनालाई रोजगारी दिएको छ । वार्षिक ६ हजारभन्दा बढी मौरीसहित घार र १ लाख ४० हजार किलो मह उत्पादन गर्ने यसले माहुरीको चाकाबाट साबुन, लिपबाम लगायत उत्पादन गरिरहेको छ ।

त्यसैगरी २०७७ सालमा रुपन्देही देवदह–१० मा स्थापना भएको आवास फर्निचर इन्डस्ट्रिजले सबै प्रकारका फर्निचर उत्पादन र बिक्री तथा फर्निचरलाई आवश्यक प्लास्टिकको डोरी पनि आफैं उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?