+
+

संसदमा गोकुल बास्कोटाको प्रश्न : किसानले दूधको पैसा पाउन सडकमा गाईबस्तु छाड्नुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १८:४६

१३ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वर्षौंदेखि किसानलाई दूधको पैसा नदिएर ज्यादती गरेको बताएका छन् ।

किसानले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बेचेको करिब ५ अर्ब रुपैयाँ पाउन बाँकी रहेको भन्दै उनले पैसा पाउन के गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् ।

‘किसानले के गर्ने फा्रन्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लेराएर सडकमा छोड्नुपर्ने हो कि, के गर्‍यो भने न्याय पाउँछन् ?’ उनले प्रश्न गरे ।

किसानहरुले भिख मागेको नभई पसिनाको मूल्य खोजेको भन्दै सांसद बास्कोटाले थपे, ‘यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

सरकार र मन्त्री पटक पटक फेरिँदा पनि किसानको समस्या ज्यूँका त्यूँ रहेको भन्दै उनले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्ने प्रश्न गरेका छन् । ‘जनताको सरकार होइन, जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ?’ उनले सोधेका छन् ।

एउटै वडामा दूधबापत किसानले ६ करोड रुपैयाँ भन्दा बढी लिन बाँकी रहेको भन्दै सांसद बास्कोटाले प्रधानमन्त्री, अर्थमन्त्री र कृषिमन्त्रीसँग जवाफ मागेका छन् । ‘यसमा सरकारको दृष्टिकोण के हो प्रधानमन्त्रीको कुरा के हो अर्थमन्त्रीको कुरा के हो कृषिमन्त्रीको कुरा हो ?’

अहिले किसानसँग मल, बीउ किन्न र घरायसी खर्च धान्ने रकम पनि नभएको तर सरकार रमिता हेरिरहेको उनले बताए । ‘यस्तो रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन ? म सरकारलाई सोध्न चाहन्छु’, सांसद बास्कोटाले भने ।

दुग्ध विकास संस्थानमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ११५२ मेट्रिक टन धुलो दूध र ८५० मेट्रिक टन मखन मौज्दात रहेको आँकडा सुनाउँदै उनले त्यसलाई बिक्री गर्न सकेमा किसानको पैसा भुक्तानी गर्न सकिने बताए ।

त्यसका लागि संस्थानमा व्यवस्थापकीय सुधारमा सरकारले ध्यान दिनुपर्ने सांसद बास्कोटाको भनाइ छ ।

‘दुग्ध विकास संस्थानको समस्या के हो त्यसको क्षमता विकासको कुरा के हो, स्टोरेजको कुरा, वितरण प्रणालीको कुरा के हो, कर्मचारी नियुक्ति र अधिक दरबन्दीको कुरा के हो ?’, उनले सोधे ।

डीडीसीमा मौज्दात रहेको दुग्धजन्य पदार्थ नेपाली सेना र नेपाल प्रहरीलाई बिक्री गर्न सकिने, चकलेट उद्योगमा दिन सकिने सम्भावना पनि हेर्नुपर्ने सांसद बाँस्कोटाले बताए ।

नेपालमै उत्पादित दूधले नेपालमा पुग्छ भने दुग्धजन्य पदार्थ आयातमा रोक लगाउनुपर्ने भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

किसानको दूधको पैसा दिन निजी क्षेत्र पनि गैरजिम्मेवार हुन नमिल्ने उनले बताए । ‘उसले पनि हलो हड्काएर गोरु पड्काउन पाउँदैन नाफा चाहने त्यसमा लगानी गर्ने निजी क्षेत्र पनि बेखबर बस्न मिल्दैन’, सांसद बास्कोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?