+
+

एसईईमा कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १४:५६

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन् ।

कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थी पनि कक्षा ११ पढ्न पाउने छैनन् ।

कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषयका रुपमा पढाउँदै आएको छ ।

नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको हो ।

अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए ।

अनिवार्य गणितपछि अनिवार्य विषयकै रुपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् । अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३३२ जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, अनिवार्य अन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ जना अनुत्तीर्ण भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७१९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै सामाजिक अध्ययनमा ७३ हजार ८७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५३२ जना विद्यार्थीले ननग्रेड पाएका छन् ।

अनुपातका रुपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ । गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रुपमा छनोट गरेर पढ्न पाउँछन् ।

नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४१६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८४० जना विद्यार्थी सहभागी थिए ।

त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ । यो विषयमा कूल विद्यार्थीमध्ये १ लाख ६० हजार २६९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

ऐच्छिक वातावरण विषयमा ३ हजार ५११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १३० जना विद्यार्थी सहभागी थिए ।

दुई विषयसम्म एनजी ल्याउने विद्यार्थीको लागि १८ र १९ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले आगामी चैतमा हुने परीक्षामा एनजी ल्याउने विषयको मात्र परीक्षा दिन पाउनेछन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गरिएको छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बोर्डले गरेको छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?