+
+

नजिकिंदैछ सुरुङमार्ग र फ्लाइओभरबाट यात्रा गर्ने दिन (फोटो-भिडियो)

नागढुंगामा बन्दैछ वैभवशाली सडक पूर्वाधार

आर्यन धिमाल/कमल प्रसाईं आर्यन धिमाल/कमल प्रसाईं
२०८१ असार १३ गते २०:१२

१३ असार, काठमाडौं । कलंकी-नागढुंगा खण्डको यात्रा गर्दा थानकोट चेकपोस्ट नजिकै किसिपिडीमा सडकमै बनिरहेको एउटा भव्य संरचनाले धेरैको ध्यान तान्छ । नेपालमा सडक पूर्वाधारमा सुरुङमार्ग र फ्लाइओभर निर्माणको चर्चा भएको धेरै वर्ष बितिसके, बन्दै गरेका यी संरचनाले भने अब  फ्लाइओभर र सुरुङमार्ग भएर यात्रा गर्ने दिन धेरै टाढा नभएको प्रष्टै देखाउँछ ।

अहिले बलम्बु नजिकै मूल सडकको बीचको लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) धमाधम निर्माण हुँदैछ । यो भव्य संरचना निर्माणाधीन नागढुंगा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्ने फ्लाइओभरको फ्रेम हो । भविष्यमा काठमाडौंको मुख्य नाका नागढुंगा सुरुङमार्ग भएर काठमाडौंबाट बाहिरिने र सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने सवारीले मूल सडकमा आइपुग्न पहुँचमार्ग र यो फ्लाइओभर प्रयोग गर्नेछन् ।

परामर्शदातृ कम्पनी निप्पोन कोइका इन्जिनियर रमेश कोइरालाका अनुसार यो निर्माणाधीन फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प (उकालो सडक) बन्नेछ भने पहुँचमार्गतर्फ २१० मिटरको र्‍याम्प तयार हुनेछ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना खडा गरिनेछ ।

यो फ्लाइओभरलाई काठमाडौंबाट सुरुङमार्ग हुँदै बाहिरिने सवारीले मात्रै प्रयोग गर्न पाउनेछन् । सुरुङमार्ग भएर काठमाडौं भित्रिएका सवारीहरुले र्‍याम्प र फ्लाइओभर सुरु हुनुभन्दा अघि ‘ग्रेड सेपरेसन’ गरेर छुट्याएको अर्को लेन प्रयोग गरेर पुलमुनिबाट कलंकीतर्फ आउन पाउनेछन् । ‘यहाँ सवारी व्यवस्थापनकै लागि ट्राफिक प्रहरी राख्नुपर्ने हुँदैन,’ परामर्शदाता इन्जिनियर कोइराला भन्छन्,‘सबै सवारीले तोकिएका बाटोका गुड्न पाउँछन्, जाममा बस्नुपर्दैन ।’

हेर्नुस् ड्रोन भिडियो

अहिले फ्लाइओभरका लागि पिल्लरमाथि स्टिल फ्रेम राखेर पुल ढलानको काम गर्न अन्तिम तयारी भइरहेको छ । यो फ्लाइओभरको निर्माण अब ६ महिनाभित्र सकिने अनुमान छ ।

फ्लाइओभर निर्माण हुँदै गर्दा २.८७ किलोमिटर पहुँचमार्ग निर्माणको काम पनि अन्तिम चरणमा छ । सुरुङमार्ग बनाउन नथाल्दासम्म यो खण्डमा सडकमार्ग थिएन । जग्गा अधिग्रहण गरेर सरकारले सुरुङको मुखदेखि मूल सडकसम्म ११ मिटर फराकिलो पहुँचमार्ग तयार गरेपनि अहिलेसम्म कालोपत्रे गर्ने काम सकिएको छैन । तर, सडकको दायाँ बायाँ ‘सेफ्टी ब्यारियर’ राख्ने काम सकिइसकेको छ ।

करिब २२ अर्ब लागतमा तयार हुँदै गरेको यो परियोजना ४ कात्तिक २०७६मा तत्कालीन प्रधामनन्त्री केपी शर्माओलीले शिलान्यास गरेका थिए । जग्गा विवाद र पूर्वातयारी सम्बद्ध काम नसकिएपछि शिलान्यासको १४ महिनापछि पुस २०७७मा आयोजना निर्माणको काम सुरु भएको थियो ।

नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठ आयोजनाको काम धमाधम भइरहेको बताउँछन् । आयोजनामा अहिले दैनिक ६०० सयभन्दा बढी कामदार एकसाथ काम गर्दैछन् ।

तर, केही सामाजिक मुद्दामा कारण आयोजनालाई काम गर्न असजिलो भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजनाको दुबै सिस्नेखोला र बलम्बुतर्फको पहुँच सडकमा परेका केही जग्गाबारे मुआब्जाको विवाद थाति छन् ।

त्यसबाहेक बलम्बुतर्फको सुरुङको मुख माथिको डाँडा घरहरु चर्किएपछि उब्जिएको विवाद पनि हल गर्न बाँकी रहेको श्रेष्ठले बताए । ‘शनिबारसम्म उहाँहरुले माग पूरा नभए काम रोक्ने चेतावनी दिनुभएको छ,’ उनले भने,‘तर स्थानीयहरुले हामीलाई सधैं सहयोग गर्नु भएको छ, हामी सुसम्बन्ध कायम गरेर काम गर्दैछौं ।’

यो आयोजनाको मुख्य संरचना नागढुंगा–सिस्नेखोला सुरुङमार्फ खन्ने काम ६ वैशाख २०८१ मै सकिएको हो । ब्रेक–थ्रु पछि कूल लम्बाइ २ हजार ६ सय ८८ मिटर लामो सुरुङमार्ग अहिले लाइनिङ (भित्तामा कंक्रिट राखेर बलियो बनाउने काम)को काम भइरहेको छ ।

मूल सुरुङभित्र करिब २ हजार १५० मिटर (८० प्रतिशत) लाइनिङको काम सकिसकेको छ । आयोजनाको २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु (उद्धार) सुरुङको भने एक वर्ष अगाडि नै ब्रेक–थ्रु भएर फिनिसिङको काम भइरहेको छ ।

‘लाइनिङको काम सकेपछि सुरुङभित्रको सडक कालोपत्रे गर्ने काम सुरु हुन्छ, त्यसपछि बिजुली बत्ती र सञ्चार उपकारण र त्यसको प्रणाली जोड्ने काम हुन्छ,’ आयोजना प्रमुख श्रेष्ठले भने ।

सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससमेत कुल १२ वटा थप संरचना बन्दैछन् । ‘संरचनाहरू निर्माणको काम एक वर्षभित्र सक्छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्,‘ निर्माण सकिएपछि बाँकी व्यवस्थापकीय कामहरु सकेर यहाँबाट गाडी गुडाउन थप ६ महिना लाग्छ ।’

अहिलेसम्म करिब ७७ प्रतिशत काम सकिएको आयोजनाको सबै काम कात्तिक २०८२सम्म निर्माण सकाउने लक्ष्य छ । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीलाई यसैअनुसार थप म्याद दिएर काम हुँदैछ ।

सन् २०१४ मा अध्ययन भएको यो आयोजना बनाउन जापान सरकारले नेपाललाई १६ अर्ब ३६ करोड ६० लाख जापानी येन सहुलियतपूर्ण ऋण दिएको छ । यो परियोजनाको निर्माण सकिएपछि नागढुंगा क्षेत्रमा अहिले हुने गरेको सवारी जाम घट्ने अपेक्षा छ ।

यस्तै सामान्य अवस्थामा काठमाडौं आउ-जाउ गर्दा लाग्ने समय अवधि पनि कम हुने अपेक्षा छ । नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख श्रेष्ठ सबै पक्षबाट आवश्यक सहयोग भएमा बलम्बुको फ्लाइओभर र नागढुंगामा सुरुङमार्ग भएर यात्रा गर्ने दिन धेरै पर नरहेको बताउँछन् ।

‘सडक पूर्वाधार सुरुङमार्ग र फ्लाइओभरमा यो हाम्रो सिकाइ हो,’ उनले भने,‘यो परियोजनाले नेपाली सडक पूर्वाधारको वैभवलाई उँचो बनाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?