+
+

एसईई नतिजाले तपाईंका छोराछोरीमा चिन्ता बढ्यो कि ?

कपिल शर्मा कपिल शर्मा
२०८१ असार १३ गते १६:४२

‘नानी खाना खान आउ न भन्या, तीन चोटि बोलाइसकें … !’

‘ह्या मलाई खानै मन छैन के, कर नगर्नुस् न!’

अरू दिन भन्दा आज अलिक उदास छिन् नीता। कुरा गर्दा अलिक झर्किएको आवाज छ। बोल्न पनि मन छैन भन्छिन्।

आज एसईईको नतिजा आएको दिन, नतिजा पनि राम्रै आएको छ, र पनि … कता कता उनी आफ्नो नतिजासँग सन्तुष्ट छैनन् जस्तो छ।

के तपाईंका बच्चाहरूले पनि एसईईको नतिजा आएपछि यस्तै किसिमका असामान्य व्यवहारहरू देखाइरहेका छन्!

यस्तो खालको अवस्थालाई शैक्षिक तनाव वा चिन्ता भनिन्छ। शैक्षिक तनाव व्यक्ति, परिवार र समाजको बढी अपेक्षाबाट सुरू हुन सक्छ।

आफैंले आफैंप्रति अलिकति बढी आशा राख्नु, परिवारले पनि विद्यार्थीको क्षमताभन्दा धेरै नै अपेक्षा राख्नु र समाजले पनि धेरै आशा राखेको कारण तनाव सिर्जना हुन्छ।

एक त विद्यार्थीमा एसईई पछि के गर्ने, के गर्ने भन्ने तनाव हुन्छ। त्यसमाथि व्यक्ति, परिवार र समाजले धेरै आशा राख्दा भारीमाथि झन् भारी थपिन सक्छ।

‘अलिकति मिहिनेत गरेको भए अझै राम्रो जीपीए आउँथ्यो। पहिला त राम्रो थियो, एसईईमा मात्रै के भयो ? अलिकति मिहिनेत गरेको भए हुन्थ्यो!’

यस्ता कुराहरू आइरहेका हुन्छन्। नतिजा आइसकेपछि पहिलेको भार पनि यहाँ ल्याएर हालिदिने काम भइरहेको छ।

यस्तो हुँदा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पर्छ। विगतलाई कोट्याउँदै वर्तमानमा दोषी देखाउँदा त्यसले बच्चाको मानसिक स्वास्थ्यमा नराम्रो छाप छोड्न सक्छ।

समाजले अन्य व्यक्तिसँग तुलना गर्दा पनि नतिजाको समयमा किशोरकिशोरीका लागि गाह्रो भइरहेको हुन्छ। अर्को पूर्ण छ भन्दैमा आफू पूर्ण नहुन सक्छ। सबैको परिवेश फरक हुन्छ। सबैको हुर्काइ फरक हुन्छ। यसरी सबैलाई एउटै डालोमा राखेर तुलना गर्नुहुँदैन। त्यसले बच्चाहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ।

बच्चाको अप्ठ्यारो कसरी थाहा पाउने ?

एसईईको नतिजा आइसकेपछि बच्चामा विविध रूपमा मानसिक समस्याका लक्षणहरू देखिन सक्छन्। यही समस्या कसैलाई टाउको दुखाइको रूपमा देखिन सक्छ। कसैलाई पाचन प्रणालीको रूपमा समस्या देखिन सक्छ वा निद्रा नलाग्नेको रूपमा देखिन सक्छ। यदि यस्तो समस्या देखिएमा मनको तनावले शरीरमा गाह्रो पर्न थाल्यो है भनेर बुझ्नुपर्छ।

यसबाहेक किशोर किशोरीहरू एक्लै बसिरहेका हुन सक्छन्। पहिलो परिवार र साथीभाइसँग घुलमिल हुन्थे तर नतिजा आइसकेपछि एक्लै बस्न थालेका छन्। अलिकति बढी झर्किने, ठूलो स्वर गर्ने, रूने कराउने जस्ता नयाँ व्यवहारहरू गर्न थाले, जुन नतिजा आउनु भन्दा अगाडि सामान्यतया गर्दैनथे। यदि यस्ता समस्या देखिएमा परिवार, साथीभाइ वा आफन्त बेलैमा सहज हुन जरूरी छ।

परिवारले गर्न नहुने कुरा

परिवारले पहिलो कुरा अरूसँग तुलना गर्नुहुँदैन। अरू व्यक्तिको नतिजासँग तुलना गर्नु भन्दा पनि ऊ कस्तो प्रक्रियाबाट गएको थियो, कस्तो सीप थियो भन्ने कुरा आफ्नो बालबालिकालाई सिकाउनुपर्छ।

नतिजालाई पनि बढी महत्त्व नदिऔं। अहिलेको युगमा सीप महत्त्वपूर्ण छ। उसको जीवन यो नतिजाले मात्रै निर्धारित गर्ने पनि होइन। यति नगरेर हो, गरेको भए भइहाल्थ्यो नि भन्ने जस्ता ‘हाई प्रेसर’ वातावरण सिर्जना नगरौं। पहिलाको कुरालाई लिएर अहिले थप बोझ नथपौं। त्यो गर्नु सरासर गल्ली हो।

अनि अर्को कुरा, यदि आफ्नो नतिजालाई लिएर किशोरकिशोरीको मनमा अनेक भावनाहरू आएका छन् भने त्यो भावनालाई सीधै डिसमिस गर्ने काम नगरौं।

अब तिमीले यस्तो महसुस गर्नुहुँदैन, तनाव नलेऊ भन्नु भन्दा हो, यो बेला तिमीलाई गाह्रो हुन सक्छ, तुलना आउन सक्छ, तनाव हुन सक्छ भनेर भावनालाई सम्बोधन गर्ने प्रयास गरौं। उनीहरूको भावना अनुभूति गर्ने मौका हामीले दिनुपर्ने हुन्छ।

मनोविज्ञानको आधारमा हेर्दा पनि यो अवस्था पहिचान र अन्योलको हो। म के बन्छु बन्छु ? परिवार र समाजले स्वीकार्छ कि स्वीकार्दैन ? त्यस्ता खाले भावनाको विकास भइरहेको हुन्छ। यस्तो अवस्थामा तिम्रो यस्तै ताल हो भने केही बन्दैनौं, केही गर्ने सक्दैनौं भन्ने खालका कुरा बढी गरियो भने झन् अर्को संकट थपिन्छ। पहिले नै उनीहरूलाई पहिचानको संकट त छँदैछ। त्यसमाथि झन् अर्को कुराले उनीहरूको मानसिकतालाई विक्षिप्त बनाउन सक्छ।

अब गर्नुपर्ने कुरा

पहिलो कुरा सञ्चारलाई खुला राख्नुपर्छ। किशोरकिशोरीहरूलाई धेरै कुरा भन्नु छ तर डर वा भयले भन्न सकिरहेका छैनन्। हामीलाई भन्दा बढी पीडा उनीहरूलाई छ। त्यो कुरा सञ्चारमा ल्याउनुपर्छ। तिम्रो मनमा के लागिरहेको छ ? अब के सोचिरहेका छौ ? नतिजासँग तिमी सन्तुष्ट छौ ? तिमीलाई सब ठीक छ ? उनीहरूको कुरा सुन्नुपर्छ। यदि रि–टोटलिङ लगायतको प्राक्टिकल सहयोग चाहियो भने पनि दिनुपर्छ।

अर्को कुरा विद्यार्थीको सामाजिक सञ्जालको एक्सपोजरलाई घटाइदिनुपर्छ भने आफ्नो पनि घटाउनुपर्छ। सामाजिक सञ्जालमा अरूको नतिजाबारे आइरहँदा बालबालिकालाई अनावश्यक तनाव हुन सक्छ। एसईईको नतिजा जिन्दगीको नतिजा होइन। यो एउटा परीक्षाको नतिजा मात्रै हो। जीवनको यो एउटा मात्रै परीक्षा होइन। यस्ता परीक्षा जीवनमा सयौं हुने गर्छन्।

दोष नलगाई कुराकानी गरौं, बरू उनीहरूको अन्योलता सुनौं। मूल्यांकन र समानीकरण नगरौं, यो एक परीक्षाको एक नतिजा मात्र हो भनी बुझाऊँ। सक्रिय रूपमा सुनौं, उनीहरूको भावनालाई सम्बोधन गरौं, सुनौं र बुझौं।

एउटा मनोविद्को नाताले फेरि पनि भन्छु, कुनै एउटा परीक्षाले तपाईंको जीवन, व्यक्तित्व, मूल्य र मान्यता निर्धारण गर्दैन।

यस्तो अवस्थामा परिवार, साथीभाइ वा सहयोगीहरूलाई म एउटा कुरा अनुरोध गर्न चाहन्छु, किशोरकिशोरीलाई सुनाउन नखोजौं, सुन्न खोजौं। धेरै बुझाउन नखोजौं, बुझ्न खोजौं। उनीहरूमा एक किसिमको अन्योलता छ। त्यो अन्योलता सुनिदिने सारथिको खाँचो छ। हामीले सुन्ने कोसिस गरौं।

(लेखक मनोविद् हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?