
काठमाडौं । रोहतो मेन्थोलेटम नेपालको पाँचौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
काठमाडौं मेरियट होटलमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने दुई वटा संस्थासँग सहकार्य गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा विगत पाँच वर्षदेखि अविरल रूपमा कम्पनीलाई महत्त्वपूर्ण योगदान पुर्याउने सरोकारवालालाई सम्मान गरिएको जनाइएको छ ।
यसैगरी कम्पनीका संस्थापक निर्देशक स्व. प्रदीप मण्डलको योगदानको कदर गर्दै ‘रोहतो सम्मान’ प्रदान गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार भानुभक्त मेमोरियल विद्यालय र नेपाल जडिबुटी व्यवसायी संघसँग सहकार्यक गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार सो विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रछात्रालाई कम्पनीले छात्रवृत्ति प्रदान गर्नेछ ।
यो छात्रवृत्ति कार्यक्रम कम्पनीको वातावरण, समाज र स्वास्थ्य कार्यक्रम अन्तर्गतको एक महत्त्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ ।
संघसँग भएको सम्झौता अनुसार नेपालमा औषधिजन्य जडीबुटी र प्राकृतिक स्रोतलाई छाला र आँखाको हेरचाह गर्ने उत्पादनका रूपमा विकास गर्न पहिचान गरी सो प्रवर्द्धन गर्ने विषय समावेश रहेको कम्पनीले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दमोदर भण्डारीको प्रमुख अतिथ्य रहेको कार्यक्रममा रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेड जापानका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत कुनियो यामादा, सो कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।
रोहतो मेन्थोलेटम नेपाल प्रालि एक प्रतिष्ठित जापानी औषधि तथा सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनीको सहायक कम्पनी हो । जुन कम्पनीले सन् २०१९ मा आफ्नो कारोबार सुरु गरेको थियो ।
प्रतिक्रिया 4