+
+

कीर्तिपुरमा कुकुरको आँखा निकाल्ने गरी कुटपिट, उजुरी लिन प्रहरीको आनाकानी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १७:३६

काठमाडौं । सडक कुकुर भोक र रोगले मात्र मरिरहेका छैनन्, मान्छेको दुर्व्यवहारले पनि उनीहरुलाई बाँच्न दिएको छैन । सामान्य निहुँमा पनि मान्छेहरु कुकुरमाथि यसरी खनिने गरेका छन्, मानौं यिनीहरु जघन्य अपराधी हुन् ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ५, पांगामा एक सामुदायिक कुकुरलाई मान्छेले समातेर यति निर्ममतापूर्वक कुटपिट गरेका छन् कि आँखा नै फुत्त बाहिर निस्किएको छ । आँखाको प्वालबाट निरन्तर रगत निस्किरहेको छ । टाउको रक्ताम्य छ । कुकुरको अवस्था एकदमै नाजुक अवस्थामा छ ।

कीर्तिपुरका स्थानीय सुरेश महर्जनले यो सामुदायिक कुकुरलाई यति निर्दयी ढंगले कुटेका हुन् । घाइते कुकुरलाई स्नेहा केयर्सले उद्धार गरी उपचार गरिरहेको छ । पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘अपराधीले कुकुरलाई यति धेरै कुटपिट गरेका छन् कि बचाउनै मुस्किल छ ।’

कुकुरलाई लठ्ठी र ढुंगाले हिर्काइएको उनले बताइन् । ‘सामान्य मान्छेले हेर्न समेत नसक्ने गरी अंगभंग बनाइदिएको छ,’ उनले भनिन् ।

सो कुकुरलाई अंगभंग बनाएपछि महर्जनले ‘चल्ला खाइदिएकाले बदला लिएको’ बताएका छन् ।

यसविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको श्रेष्ठले बताइन् । ‘त्यो टोलभरिको मान्छे हामीलाई घेर्न आएका छन्,’ श्रेष्ठ भन्छिन्, ‘प्रहरीले पनि उजुरी लिन आनाकानी गरिरहेको छ ।’

पशुमाथि हुने क्रूरता दिन प्रतिदिन बढ्दै गइरहेको छ । केही साताअघि इलामको देउमाई नगरपालिकाका तीन-चार जना युवकले एउटा कुकुरको बच्चालाई कुटेर जिउँदै खाल्डोमा पुरेको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।

उक्त घटनामा पशु कल्याण संघ काठमाडौंले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीले कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई पक्राउ समेत गरेको थियो ।

पशुमाथि क्रर व्यवहार गर्नेलाई के हुन्छ सजाय ?

नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरीमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिलको कार्यालयमा पनि उजुरी दिन मिल्छ ।

कुकुरको हत्या मात्र होइन, उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बूढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ,’ अधिवक्ता श्रेष्ठ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?