+
+

चोकर्सबाट च्याम्पियनको पथमा दक्षिण अफ्रिका

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ असार १३ गते २०:१६

१३ असार, काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै इतिहासमै पहिलो पटक फाइनलमा पुग्यो ।

दक्षिण अफ्रिकाले आफ्नो उत्कृष्ट बलिङमा समूह चरण र सुपर–८ मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । सुपर ८ को गु्रप–१ बाट अष्ट्रेलिया अप्रत्याशित रुपमा बाहिरिनु दक्षिण अफ्रिकालाई थप सहज बन्यो ।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोज्यो । तर राज भने दक्षिण अफ्रिकाका बलरले गरे ।

अफगानिस्तान सफल हुनुमा ओपनर इब्राहिम जद्रान र रहमानउल्लाह गुरबाजको साझेदारी महत्वपूर्ण मानिन्छ । यी दुई ओपनरले तीन पटक यस विश्वकपमा शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाविरुद्ध ११८ र न्युजिल्यान्डविरुद्ध १०३ रनको शतकीय साझेदारी जितका आधार हुन् ।

मार्को यानसनको गुड लेन्थको अफ साइड बलमा गुरबाज पहिलो ओभरको अन्तिम बलमा फस्टस्लिपमा रिजा हेन्ड्रिक्सबाट शून्यमा क्याच आउट भए । त्यो नै खेलको टर्निङ प्वाइन्ट थियो । दक्षिण अफ्रिका तीव्र गतिको बलिङसामु अफगानी ब्याटरको कुनै उत्तर नै थिएन ।

तेस्रो ओभरमा यानसनले गुलबदिन नइबलाई ९ रनमा बोल्ड गरे । कागिसो रबाडाले आफ्नो स्पेलको पहिलो बलमै जद्रानलाई २ रनमा बोल्ड गरेपछि अफगानस्तान सम्हाल्लिन सकेन ।

गुड लेन्थ र अफ साइड केन्द्रित बलको रणनीतिमा दक्षिण अफ्रिका पूर्ण सफल बन्यो । पावर प्लेमा यानसन र कागिसो रबाडाले दिएको सुरुवातलाई एनरिच नोर्किया र तबरेज साम्सीले निरन्तरता दिएपछि अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो ।

आजमतुल्लाह ओमरजाईले सर्वाधिक १० रन जोडे । त्यो भन्दा बढी १३ रन एक्स्ट्रा पाएको थियो । यानसन र साम्सीले ३–३ तथा नोर्किया र रबाडाले २–२ विकेट लिए ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौं बलमा क्विन्टन डि ककलाई ५ रनमा गुमाएको थियो । तर त्यसपछि एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले जितसम्म पुर्‍याए ।

ओमरजाइको नवौं ओभरको चौथो फ्रिहिट बलमा स्क्वायर लेगमा छक्का र अर्को बलमा चौका हान्दै रिजाले विजयी रन बटुले । त्यो विजयी रन मात्रै थिएन, दक्षिण अफ्रिकाका लागि ऐतिहासिक क्षण थियो । यो क्षण चुम्न दक्षिण अफ्रिकाले ३२ वर्ष पर्खनुपर्‍यो ।

दक्षिण अफ्रिका फाइनल पुग्न तीन दशक कुर्नुपर्ने टोली होइन । यसअघि दक्षिण अफ्रिकाले विश्वकपमा समूह चरण र लिगमा राम्रो गरेपनि नकआउट खेलमा जहिल्यै हार्न पुग्थ्यो । हार कहिले खराब खेलेर हुन्थ्यो, केही भाग्यले साथ नदिँदा ।

त्यसैले दक्षिण अफ्रिकालाई क्रिकेटको चोकर्स उपनाम दिइएको छ । त्यो चोकर्सको दाग एडेन माक्ररमको टोलीले मेटाउन खोजेको छ । सन् १९९२ मा डेब्यू विश्वकपमै दक्षिण अफ्रिका सेमिफाइनलमा इंग्ल्यान्डसँग १९ रनले हार्न पुग्यो ।

२५३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई जित्न १३ बलमा २२ रन चाहिँदा वर्षाको कारण खेल रोकिएको थियो । १० मिनेटपछि खेल सुरु हुँदा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस नियमको आधारमा १ बलमा २१ रन जित्न आवश्यक पर्दै हारेको थियो ।

सन् १९९९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग २१४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ४ बलमा एक रन बनाउन नसक्दा खेल टाइ भएको थियो । अष्ट्रेलिया सुपर सिक्सको अंक तालिकामा माथि हुँदा फाइनल खेलेको थियो ।

सन् १९९८ मा दक्षिण अफ्रिकाले फाइनलमा वेष्टइण्डिजलाई ४ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यो नै दक्षिण अफ्रिका सिनियर टोलीले जितेको एकमात्रै आईसीसीको ट्रफी होे । च्याम्पियन्स ट्रफीमा २०००, २००२ को सेमिफाइनलमा भारत र २००६ मा वेष्ट इण्डिजसँग हारेको थियो ।

दक्षिण अफ्रिकाले २००७ को एकदिवसीय विश्वकप सेमिफाइनलमा स्थान बनायो । दक्षिण अफ्रिका सेमिफाइनलमा अष्टेलियासँग १४९ रनमा अल आउट भएको थियो ।

लगत्तै २००९ को टी–२० विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रिका पाकिस्तानले दिएको १५० रनको लक्ष्य पछ्याउनेक्रममा ७ रनले पराजित भएको थियो । डेल स्टेन, मार्क बाउचर, एबी मोर्केल, जेपी डुमिनी, एवी डिभिलिर्स, हर्सल गिब्स, ज्याक्स कालिस र ग्रीम स्मिथ जस्ता खेलाडी थिए ।

२०१४ को टी–२० विश्वकप सेमिफाइनलमा भारतसँग ६ विकेटले हारेको थियो । २०१५ को एकदिवसीय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग ४ विकेटले हार्दै बाहिरिएको थियो । तीन वर्षपछि डि भिलियर्सले अप्रत्यासित सन्न्यास लिनुमा त्यो पनि एउटा कारण मानिन्छ ।

गतवर्ष एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले प्रतियोगिताकै उत्कृष्ट ब्याटिङ गर्‍यो । लिगमा श्रीलंकासँग ४२८, इंग्ल्यान्डविरुद्ध ३९९, बंगलादेशसँग ३८२ रन बनाएको थियो । लिगमा अष्ट्रेलियाविरुद्ध ३११ रन बनाउँदै १३४ रनको जित हात पारेको थियो । तर सेमिफाइनलमा अष्ट्रेलियासँग २१२ रन बनाउँदै ३ विकेटले हार्न पुगेको थियो ।

मजबुत बलिङले सफलता

टी–२० क्रिकेट जित्न ब्याटिङ होइन बलिङ बढी राम्रो चाहिन्छ । यस विश्वकपमा दक्षिण अफ्रिका र अफगानिस्तान त्यसका राम्रा उदाहरण हुन् । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ७७ रनमा अल आउट गरेको थियो । नेदरल्यान्ड्सले दिएको १०४ रनको लक्ष्य पछ्याउनेक्रममा १२–४ को अवस्थाबाट खेल ४ विकेटले जितेको थियो ।

बंगलादेशविरुद्ध मात्रै ११३ रन बनाए पनि उत्कृष्ट बलिङका साथ ४ रनले विजयी भएको थियो । नेपालसँग २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपाललाई अन्तिम दुई बलमा जित्नलाई २ रन चाहिएको अवस्थाबाट कुनै रन नदिई जितेको थियो । सुपर ८ मा इंग्ल्यान्डलाई १८ बलमा २५ रन चाहिएको र हातमा ६ विकेट भएको अवस्थाबाट ७ रनले जितेको थियो । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा वेष्टइण्डिजलाई १३५ रनमै रोकेको थियो ।

दक्षिण अफ्रिकी बलरमा गति, बाउन्स, स्वीङ र भेरिएसन छ । यस पटक अनुशासित लाइन एण्ड लेन्थमा ध्यान दिएका छन् ।

यानसन र रबाडाले सुरुवात गरेका छन् । नोर्किया, महाराज र साम्सीले मध्यक्रममा बलिङ आक्रामण गरेका छन् । डेथ ओभरमा यानसन, रबाडा र नोर्किया रहँदै आएका छन् । स्पिन र तीव्र गतिको बलिङ सन्तुलित र उत्कृष्ट छ ।

विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले ८ खेलमा सबै ८ खेल जितेको छ । यो भन्दा राम्रो प्रदर्शन कहिल्यै भएको थिएन । बिहीबार बेलुका दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेताले शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

क्वीन्टन डि कक, एडेन माक्ररम, डेविड मिलर र हेनरिक क्लासेन जस्ता ब्याटर च्याम्पियन बन्न आवश्यक छ । माक्ररम दक्षिण अफ्रिका च्याम्पियन कप्तान हुन् । उनले सन् २०१४ मा दक्षिण अफ्रिकालाई यू–१९ विश्वकपको उपाधि जिताएका थिए । सिनियरमा पनि विश्वकप जिताउने पहिलो कप्तान बन्नबाट म्याक्ररम एक जित टाढा छन् ।

‘आज अलिकति खुसी लाग्यो । फाइनल हाम्रो लागि एक कदम टाढा हो । यो अवसर हामीले कहिल्यै पाएका थिएनौं । डराउनुपर्ने केही छैन’, कप्तान माक्ररमले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?