+
+

माधव नेपाल भर्सेस घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते २२:२३

१३ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आकार २९९ बनाउने निर्णय गरेको छ । गत माघ दोस्रो साता सम्पन्न केन्द्रीय परिषद् बैठकले केन्द्रीय कमिटीको आकार १९९ मा सीमित गर्नुपर्ने निर्णय गरेको थियो ।

तर सचिवालय बैठकले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या थप्ने निर्णय गरेको हो । बैठकबाट सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद राख्ने अनि आवश्यकताको आधारमा वरिष्ठ नेता थप्न सकिने निर्णय भएको छ ।

यसको अर्थ फेरि पनि एकीकृत समाजवादीमा जम्बो पदाधिकारी र केन्द्रीय कमिटी बन्ने भएको छ । जबकी चुस्त कमिटी निर्माण गरिनुपर्ने आवाज पार्टीभित्रै उठेपछि पदाधिकारी र केन्द्रीय सदस्य घटाउनेबारे लामै छलफल चलेको थियो ।

तर पार्टीभित्र भएको छलफलको आशय विपरीत पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरिनुमा नेताहरुको स्वार्थले काम गरेको देखिन्छ । ‘महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनु भनेको पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको वातावरण कमजोर बन्दै जानु हो’, एक नेता भन्छन् ।

नयाँ नेतृत्व चयनबारे पार्टीभित्र दुई लाईन संघर्ष बलियो हुँदै गएकाले पदाधिकारी र केन्द्रीय सदस्य बढाउनुपरेको उनी बताउँछन् । ‘अहिलेका पदाधिकारी र नेताहरु मध्ये धेरैलाई आफ्नो समूहमा व्यवस्थापन गर्न धेरै पद चाहियो’, ती नेता भन्छन्, ‘दुवै समूहको स्वार्थ मिलेकाले कमिटीको आकार बढाउने निर्णयमा नेताहरु सहमत हुनुभयो ।’

घटनाक्रम र गतिविधिले पनि नेतृत्व लिने होडकै कारण अन्तिम समयमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय भएको पुष्टि हुन्छ । पर्सि, १६ असारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने महाधिवेशनबाट अध्यक्षमै रहने तयारी माधव नेपालले गरिरहेका छन् । त्यसका निम्ति आफू निकटस्थहरुको दिनहुँजसो भेला राखिरहेका छन् ।

तर माधवलाई जसरी पनि रोक्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल लागेका छन् । पार्टी गठनको सुरुदेखि नै उनले अध्यक्ष नेपालसँग फरक मत राख्दै आएका थिए । सैद्धान्तिक–वैचारिक रुपमा फरक मत राख्ने खनालले आफू पक्षधरहरुको पंक्ति संगठनात्मक रुपमा पनि तयार पारेका थिए । तिनै संगठनात्मक शक्तिका साथ खनाल मैदानमा उत्रिएका छन् ।

घनश्यामको प्रवेश

पाँच दशक पुराना प्रतिस्पर्धी झलनाथ खनालको चुनौती माधव नेपालका निम्ति अपेक्षित नै थियो । सम्मानित नेता खनालले अडान लिएपछि मध्य असारमै महाधिवेशन गर्न तयार हुनुले संभावित चुनौतीबारे नेपाल जानकार रहेकै पुष्टि हुन्छ ।

तर महाधिवेशन नजिकिदै गर्दा भने नेपालले सोचे भन्दा भिन्न परिस्थिति सिर्जना हुन पुगेको देखिन्छ । किनकि झलनाथ खनालले आफू पछाडि हटेर आफ्नो सम्पूर्ण शक्ति घनश्याम भूसाललाई पार्टी अध्यक्ष बनाउन खर्चने प्रष्ट पारेका छन् ।

भलै महासचिव भूसाललाई आगामी महाधिवेशनबाट अध्यक्षको उम्मेदवार बनाउने सार्वजनिक घोषणा गरेका छैनन् ।

तर पूर्वप्रधानमन्त्री खनाल निकटस्थहरु खुलेरै घनश्याम भूसाललाई अध्यक्ष बनाउन लागिसकेका छन् । ‘माधव नेपालविरुद्ध अब घनश्याम भूसाल मैदान उत्रने लगभग पक्का भयो । अब यो परिस्थिति टर्ने भनेको घनश्याम भूसालको नाममा सर्वसहमति हुँदा मात्र हो’, खनाल निकट रहेकै एक नेता भन्छन् ।

अर्थात् एकीकृत समाजवादीको यो महाधिवेशनमा माधव नेपाल भर्सेस घनश्याम भूसाल हुने प्रष्ट भएको छ ।

कतिपयले यस्तो अवस्थालाई स्वभाविक मानेका छन् । विशेषगरी वैचारिक सवालमा खनाल र भूसाल एउटै कित्तामा थिए भने माधव नेपालले फरक धारको नेतृत्व गर्थे ।

२०६३ सालको जनआन्दोलनपछि जनवादी आन्दोलन पूरा भएकाले समाजवाद लक्ष्य हुनुपर्ने निष्कर्षमै पनि खनाल र भूसाल एकठाउँ थिए । माधव नेपाल भने भर्खरैसम्म जबजकै वकालत गरिरहेका थिए । भलै यो महाधिवेशनबाट उनी समेत समाजवादी कार्यक्रमकै पक्षमा उभिएका छन् ।

तर वैचारिक अडान छोडेर जाँदा पनि अध्यक्ष नेपालले नेतृत्वमा दोहोरिन चुनौतीको सामना गर्नुपर्ने भएको छ । यदि अहिलेकै परिस्थिति कायम रह्यो र मतदानसम्म महाधिवेशन पुग्यो भने त्यो अवस्था माधव नेपालका निम्ति सजिलो देखिँदैन ।

किनकि भूसाल समकालीन राजनीतिमा दोस्रो पुस्ताका नेताहरुको प्रतिनिधित्व गर्ने पात्र मात्र नभएर वैचारिक रुपमा बलियो परिचय बनाएका नेता हुन् । त्यसमाथि झलनाथ खनालको साथले भूसालको उम्मेदवारी बलियो हुने देखिन्छ ।

अर्का विश्लेषक झलक सुवेदी, पार्टी नेतृत्वमै माधव नेपालविरुद्ध घनश्याम भूसालको उम्मेदवारी परे त्यसको महत्वपूर्ण अर्थ रहने बताउँछन् । ‘२०२६ साल आसपासबाट राजनीति गर्नेहरुले मुलुकको नेतृत्व गरिरहेका छन् । घनश्याम भूसाल प्रतिस्पर्धामा देखिनु भनेको २०३६ सालबाट राजनीति थाल्नेहरुको हस्तक्षेप हुनु हो’, उनी भन्छन् ।

हुन त दुई वर्ष अगाडि २०७८ मंसिरमै एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीविरुद्ध भीम रावलले प्रतिस्पर्धा गरेर दोस्रो पुस्ताको चुनौती सुरु गरेका थिए । तर त्यो महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नेगरी चुनौती दिन सक्ने अवस्थामा रावल थिएनन् । ओलीको लगभग एकलौटी चल्ने एमालेमा रावलको उम्मेदवारीले महाधिवेशनलाई मतदानसम्म लगेको थियो ।

एमालेको त्यो महाधिवेशनमा घनश्याम भूसाल पनि रावलसँगै ओलीविरुद्ध भिडिरहेका थिए । पार्टी फुटेर एकीकृत समाजवादी बन्दा १० बुँदे सहमति गरी एमालेमै बसेका भूसाल पार्टी उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

तर रावल, भूसाल सहित ओलीको चाहना विपरीत उम्मेदवारी दिएका कोही पनि नेताले चुनाव जितेनन् । बरु उल्टै २०७९ मंसिरको चुनावमा ओलीको निशानामा परे ।

अछामबाट भीम रावल र रुपन्देहीबाट घनश्याम भूसाल प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएपनि ओलीले टिकट दिएनन् । टिकट नपाएपछि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका भूसाललाई एकीकृत समाजवादीसहित सत्तारुढ पाँच दलीय गठबन्धनले समर्थन गर्‍यो । यद्यपि भूसालले एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग चुनाव हारे ।

चुनाव लगत्तै भूसाल एकीकृत समाजवादीमा गए ।

२९ पुस २०७९ मा एकीकृत समाजवादी प्रवेश गरेका भूसाल तीन महिनापछि महासचिव भए । उनी महासचिव बन्ने गरी नै एकीकृत समाजवादी गएका थिए । आमचुनावमा राष्ट्रिय दल बन्न नसकेपछि पुरानै पार्टी एमाले फर्कने लहर चलिरहँदा भूसालको पार्टी प्रवेश एकीकृत समाजवादीका निम्ति ठूलै उपलब्धि बनेको थियो । अहिले तिनै भूसालले नेतृत्वको दाबी गरेका छन् ।

भूसाल निकट नेताहरु भने नेतृत्वमा उनको दाबीलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । ‘घनश्याम भूसालको दाबीले नयाँ पुस्ताको मात्र प्रतिनिधित्व गर्दैन, पार्टीमा नीति र नेतृत्वको एकरुपता समेत ल्याउँछ’, उनी निकट एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?