+
+

बाइडेन-ट्रम्प बहस : नेपालीको चासो अध्यागमन नीतिमा

अमेरिकामा रहेका आप्रवासी समुदायको खास चासो अध्यागमन नीतिमा छ । अनलाइनखबरले भेटेका मेरिल्याण्ड राज्यका अधिकांश नेपालीले अध्यागमन नीतिमा चासो व्यक्त गरे ।

विष्णु शर्मा विष्णु शर्मा
२०८१ असार १४ गते ७:४८

१४ असार, मेरिल्याण्ड (अमेरिका) । बिहानैदेखि अमेरिकी अखबार आज हुने जो बाइडेन र डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित टेलिभिजन बहसको समाचारले भरिभराउ छन् । पूर्व र वर्तमान राष्ट्रपति एटलान्टामा तयार पारिएको सीएनएनको सेटमा बहस गरिरहेका छन् ।

द न्यूयोर्क टाइम्स अखबारले यो बहसलाई ‘रिम्याच’ अर्थात पुनर्प्रतियोगिताको संज्ञा दिएको छ । केही नयाँ नियमसहित हुन लागेको यो बहस ९० मिनेटसम्म चल्ने जनाइएको छ । दर्शकको सहभागिता बिना हुन लागेको यो बहसमा राष्ट्रपतीय उम्मेदवारका दुबै आकांक्षीलाई निर्धारित समयसम्म बोल्न दिइनेछ र समय पुरा भए माइक अफ गरिनेछ ।

अमेरिकी अखबारले यसपटकको राष्ट्रपतीय बहसमा अध्यागमन, गर्भपतन र अर्थतन्त्रका मुद्दाले प्राथमिकता पाउने विश्लेषण गरेका छन् ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए ।

बाइडेन डेमोक्रेट र ट्रम्प रिपब्लिकन उम्मेदवार हुन् । चुनावअघि उम्मेदवारहरुका एजेण्डा र धारणा सबैले थाहा पाउन् भन्ने उद्देश्यले उनीहरुसँग प्रत्यक्ष बहस गर्ने चलन छ । त्यसलाई विश्वभरबाट चासोका साथ हेरिन्छ ।

अमेरिकामा रहेका आप्रवासी समुदायको खास चासो अध्यागमन नीतिमा छ । अनलाइनखबरले भेटेका मेरिल्याण्ड राज्यका अधिकांश नेपालीको चासो अध्यागमन नीतिलाई लिएर हुने देखिन्छ ।

बहसको प्रसारणको समयमा प्रायः नेपालले रेष्टुरेन्ट र घरमै कार्यक्रम हुने योजना बनाएका छन् । तीमध्ये एक हुन् डेमोक्र्याटिक पार्टीको तर्फबाट मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी । अनलाइनखबरसँग कुरा गर्दै भण्डारीले मुख्यतयाः नेपालीको चासो अध्यागमन नीतिलाई लिएर हुने बताए ।

ह्यारी भण्डारी

ट्रम्प र बाइडेनले अध्यागमन नीतिलाई ‘पल्टिकल फुटबल’ बनाएको उनको टिप्पणी छ । ‘दुबै प्रशासनले यसलाई पल्टिकल फुटबल बनाएजस्तो देखिन्छ । यो हाम्रा लागि कन्सर्नको विषय हो’ भण्डारी भन्छन्, ‘अध्यागमनको विषय डेमोक्र्याट र रिपब्लिकनको मुद्दाभन्दा बढी अमेरिकी इस्यु हुनुपर्छ ।’

बहसको माध्यमबाट दुबै उम्मेदवारलाई अध्यागमन लगायतका विषयमा धारणा राख्ने अवसर उपलब्ध हुने बताउँदै उनले अमेरिकामा तहगतरुपमा नेपालीका समस्या विद्यमान रहेको बताए । ‘७–८ वर्षसम्मै नेपाली विद्यार्थीले अभिभावक भेट्न नपाएको स्थिति छ । एउटै डाइनिङ टेबुलमा नबसी उनीहरु हुर्किएका छन् । मेरो अफिसमा आउने केसमा धेरै कन्सर्न यसतर्फ देखिन्छ’ उनी भन्छन् ।

खासगरी, असाइलमको मुद्दामा एक दशकसम्मै इन्टरभ्यू नदिइकन बस्नुपर्दाको पीडा, विद्यार्थी भिसामा आउनेको आफ्नै चुनौति र भूकम्पपछिको टीपीएसको विषयमा नेपालीको चासो रहेको उनको भनाइ छ । ‘टीपीएसलाई पनि ग्रीनकार्डको प्रक्रियामा लैजानुपर्छ भनेर हामीले उपल्लो तहमा डेलिगेसन गैरहेका छौं । सोही अनुसार हरेक वर्ष टीपीएस नवीकरण पनि भैरहेको छ’ उनले भने ।

नेपालीसहित दक्षिण एसियाली समुदायले राजनीतिक मुद्दामा चासो नलिएको र एड्भोकेसीको भूमिका पनि कमजोर रहेको विश्लेषण उनको छ । ‘जसको कारण पारिवारिक विखण्डन र टीपीएसको मुद्दा यसपटकको चुनावमा मूल चासो हुनसक्छ’ भण्डारीको विश्लेषण छ ।

उनले नेपाली विद्यार्थीलाई सामाजिक सुरक्षाको व्यवस्था पनि गर्नुपर्नेदेखि घृणा अपराधबाट जोगाउनुपर्ने दायित्व रहेको समेत बताए ।

‘जुन राष्ट्रपति आएपनि तत्कालै नीति बदलिने होइन । अध्यागमन विषय राजनीतिक फुटबल बन्नु हुँदैन भन्नेमा हामी सचेत छौं’ भन्छन्, ‘किनभने यसले सबैलाई असर गर्या छ । आप्रवासी भनेको अमेरिकाको मेरुदण्ड हो । हामीले यसमा योगदान दिएका छौं । अब यसतर्फ जानुपर्छ ।’ अध्यागमन नीतिमा डेमोक्र्याट पार्टीले भित्र र बाह्यरुपमा अडान लिनुपर्ने उनको तर्क छ ।

अध्यागमन मामिलामा विद्यावारिधी गरेका मेरिल्याण्ड राज्यका सांसद भण्डारीका अनुसार अमेरिकामा नेपालीभाषीको संख्या ७ लाख पुगेको छ भने नेपालीको संख्या मात्र ५ लाख छ ।

बाल्टिमोर एसोएसियन अफ नेपालीज इन अमेरिका (बाना)का अध्यक्ष सुबोधविलास पन्त पनि नेपालीको मुख्य चासो अध्यागमन नीतिमै हुने बताउँछन् । ‘अवैधानिकरुपमा बसोबास गरेका धेरै नेपाली साथी अमेरिकामा हुनुहुन्छ । प्रक्रियागतरुपमै काम सुस्त छ । विद्यार्थी भिसामा आएकाको पनि समस्या छ । आशा गरिएअनुसार परिणाम आएको छैन,’ पन्त भन्छन् ।

नेपाली समुदायले बाइडेनबाट ठूलो आशा लिएको उनको तर्क छ । १२ वर्षदेखि अमेरिकामा रहेका उनले जुन राष्ट्रपति आए पनि त्यसले नेपाली समुदायमा तात्विक भिन्नता नल्याउने बताउँछन् ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?