+
+
७३औं मदन जयन्ती :

नेपालको परराष्ट्र मामिलामा मदन भण्डारी

मदन भण्डारीलाई नेकपा एमालेको नेता र उहाँका धारणालाई सामान्य राजनीतिक अभिव्यक्तिका रूपमा मात्रै बुझेर बेवास्ता गर्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्धको अभ्यासमा हामीले निकै महत्वपूर्ण आधारहरू गुमाउने निश्चित छ ।

मिलन धरेल मिलन धरेल
२०८१ असार १४ गते ११:५३

नेपाली कम्युनिस्ट आन्दोलनका सैद्धान्तिक सूत्रधार एवं जननेता मदन भण्डारीको ७३औं जयन्तीको अवसरमा मदन भण्डारीलाई सम्झिने अनेकौं कोण र प्रसंगहरू हुनसक्छन् ।

मदन भण्डारीका धेरै सहकर्मीहरू नेपाली राजनीतिको नेतृत्वदायी भूमिकामा रहेका छन् भने उहाँसँगै काम गर्ने, भेट्ने र छलफल गर्ने अवसर पाएकाहरू नेपाली राजनीति, मानवअधिकार र सामाजिक आन्दोलनका विश्लेषक, अगुवा र अभियन्ताका रूपमा सक्रीय रहनुभएको छ ।

आमरूपमा मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण, संयुक्त जनआन्दोलनका व्यावहारिक प्रयोगकर्ता, कुशल वक्ता र राजनीतिक परिदृश्यमा युगद्रष्टाको रूपमा चित्रण गरिने गरेको पाइन्छ । मदन भण्डारीले नेपाली राजनीतिको गहिराइमा लामो संघर्षको इतिहास बोके पनि सार्वजनिक खुला जीवन र खुला राजनीतिमा नेपाली जनता र विश्वले छोटो समय मात्र उहाँसँग साक्षात्कार र अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्‍यो ।

जसका कारण आज पनि जननेता मदन भण्डारीका कतिपय भनाइ, दृष्टिकोण, सिद्धान्त र थेसिसहरूको व्याख्या हुन बाँकी नै रहेको छ । जननेता भण्डारीको व्यक्तित्वको विषयमा कुशल वक्ता र मास इनफ्ल्युन्सियल पहिचानका बारेमा मात्र चर्चा भइरहँदा, आजका युवाले खोजेको युवा नेतृत्वको रूपमा मदन भण्डारी, जो ३९ वर्षकै उमेरमा नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी र तत्कालीन राष्ट्रिय नेतृत्व गर्ने प्रमुख प्रतिपक्ष दलको महासचिव भइसक्नुभएको थियो ।

त्यस्तै उहाँ साहित्यकारका रूपमा, पार्टीभित्रको प्रखर वैचारिक संघर्ष गर्ने, सन्तुलित र समावेशी राजनीतिक संगठन सञ्चालकका रूपमा उहाँको व्यक्तित्वको चर्चा हुन र सो सम्बन्धमा व्याख्या हुन बाँकी नै रहेको छ । यस्तै व्याख्या हुन नसकेको क्षेत्र परराष्ट्र मामला र अन्तर्राष्ट्रिय सम्बन्धमा मदन भण्डारीको दृष्टिकोण र अभ्यास के हुन सक्थ्यो भन्ने विषयमा यहाँ सानो चर्चा गर्न खोजिएको छ ।

मिलन धरेल

जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अत्यन्तै छोटो र देशभित्रको राजनीतिक व्यवस्थाको सबलीकरणमा नै बढी संलग्न हुनुपरेका कारण पनि अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मामलाका विषयमा उहाँका धारणाहरूको व्यापक विस्तार गर्न पाउनुभएन । यद्यपि उहाँले संसद्मा राख्नुभएका धारणा, संविधान निर्माणका क्रममा व्यक्त गर्नुभएका विचार र अन्तर्वार्ताहरूमा व्यक्त गर्नुभएको अभिव्यक्तिले जननेताको परराष्ट्र मामला र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा रहेका दृष्टिकोणहरूलाई प्रखर गर्दछ ।

तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक मामलाका विषयमा मूलतः चारवटा प्रश्नहरू प्रमुख थिएः पहिलो कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय आबद्धता र सम्बन्ध, दोस्रो नेपाल–भारत सम्बन्ध, तेस्रो चीन, नेपाल र भारतबीचको त्रिपक्षीय सम्बन्ध र चौथो पश्चिमा उदारवादी मुलुकहरूले नेपाली कम्युनिस्टहरूप्रति राख्ने दृष्टिकोण । यी विषयहरूमा भने जननेताको धारणा सरल र स्पष्ट रूपमा अभिव्यक्त भएको हामी पाउन सक्छौं ।

कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय आबद्धता

नेपालमा २०४६ को परिवर्तन र विश्व व्यवस्थामा शीतयुद्धको अन्त्य हुँदै कम्युनिस्ट शासनको अन्तर्राष्ट्रिय शक्तिकेन्द्र मानिएको सोभियत संघको विघटन उस्तै समयमा भएको थियो ।

त्यस अवधिसम्म अधिकांश देशमा रहेका कम्युनिस्ट पार्टी र शासकहरू आफूलाई सोभियत संघको छत्रछायाँमा उभ्याउँदा गौरव मान्थे, कुनै समय नेपालको कम्युनिस्ट आन्दोलनको विभाजन पनि चिनियाँ कम्युनिस्ट पार्टीको धारणा ठिक कि सोभियत कम्युनिस्टको ठिक भन्ने विषयमा विभाजित भएको थियो ।

तर नेपालमा भने मदन भण्डारीको अगुवाइमा कम्युनिस्ट पार्टीहरू वाममोर्चाका नाममा एकठाउँमा मात्र थिएनन् बरु पञ्चायत विरुद्ध प्रगतिशील धारको वाममोर्चा र उदारवादी धारको नेपाली कांग्रेस संयुक्त जनआन्दोलन चलाइरहेका थिए । यसको सूत्रधार जननेता मदन भण्डारी नै थिए । मदन भण्डारी सच्चा मार्क्सवादी हुनुहुन्थ्यो, त्यसैले मार्क्सवादको सृजनात्मक प्रयोगमा जोड दिनुभयो र अन्तर्राष्ट्रिय रूपमा गरिने कम्युनिस्ट पार्टीको ट्रान्सप्लान्टेसन (प्रत्यारोपण) लाई स्वीकार गर्नुभएन ।

राष्ट्रिय परिवेश, परिस्थिति र जनताको अनुमोदनबाट अघि बढेको कम्युनिस्ट कार्यनीति र पार्टी नै दिगो र बलियो हुन्छ भन्ने मान्यतामा अडिग मदन भण्डारी कम्युनिस्ट पार्टीको साझा उद्देश्य भनेको शोषणको अन्त्य र अन्यायबाट मुक्ति (देशभित्र र विश्व व्यवस्था दुवैमा) को विषयमा पनि त्यत्तिकै स्पष्ट र अडिग हुनुहुन्थ्यो ।

कम्युनिस्ट शासन व्यवस्था फेल हुनुका पछाडि ती ठाउँहरूमा अवलम्बन गरिएको संगठन प्रणाली र कार्यनीतिमा नै केही त्रुटि थियो भन्ने विषयमा उहाँको स्पष्टता कलकत्तामा सम्पन्न भएको समसामयिक विश्व व्यवस्थामा मार्क्सवादको सान्दर्भिकता विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नुभएको कार्यपत्र र बहुचर्चित न्युजविकको अन्तर्वार्ताबाट नै स्पष्ट हुन्छ ।

सबैतिर कम्युनिस्ट व्यवस्था असफल हुँदा पनि तपाईं चाहिं सफल हुन्छौं भन्नेमा किन विश्वस्त हुनुहन्छ भन्ने न्युजविकको प्रश्नमा मदन भण्डारीले भन्नुभएको थियो— ‘कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य भनेको समाजलाई शोषण, भ्रष्टाचार र अन्यायबाट मुक्त गर्नु हो । यसको कार्यनीतिमा केही त्रुटि भयो भन्दैमा कम्युनिज्म असफल भयो भन्न सकिंदैन । हाम्रो सन्दर्भमा हामीले लोकतन्त्रको स्थापना गर्दै जनताको मतबाट शक्ति र सत्ताको सञ्चालन गर्ने कार्यनीति लिएका छौं ।’

सोही अन्तर्वार्तामा कम्युनिस्ट पार्टीको प्रत्यारोपण अन्यत्रबाट हुँदैन भन्ने विषयलाई स्पष्ट पार्दै मदन भण्डारी किम इल सुंग, चिनियाँ क्रान्तिलाई प्रशंसा गर्नुुहुन्छ, कम्युनिस्ट व्यवस्थाको स्थापना र सञ्चालनमा उहाँहरूको योगदानलाई सम्मान गर्नुहुन्छ । तर नेपालको परिवेश फरक छ र हामी नेपालको परिवेशमा शान्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक विधिबाट कम्युनिस्ट व्यवस्था ल्याउन चाहन्छौं, जबकि उहाँहरूले सशस्त्र संघर्षको प्रयोग गर्नुभयो ।

यस्तै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पनि चीन र उत्तर कोरियाले वैदेशिक हस्तक्षेप, प्रभुत्ववादको विरुद्ध संघर्ष गर्नु परिरहेको छ भने हामी पनि अन्तर्राष्ट्रियस्तरमा वैदेशिक प्रभुत्ववाद, हस्तक्षेप र साम्राज्यवादको विरोध गरिरहेका छौं भनेर विश्व साम्राज्यवाद, वैदेशिक हस्तक्षेप र हैकमवादको विरोध साझा सवाल भएको पनि मदन भण्डारीले स्पष्ट गर्नुभएको छ ।

जननेता मदन भण्डारी अन्तर्राष्ट्रिय रूपमा नै कम्युनिस्ट शासनहरूको केन्द्र स्थापना गर्ने र आबद्धता हुने वा बनाउने विषयको विपक्षमा भएको कुरा उहाँको विचारबाट स्पष्ट नै हुन्छ । तर विश्व साम्राज्यवाद, हैकमवाद र वैदेशिक हस्तक्षेप विरुद्ध एकै ठाउँमा उभिन सकिने विषयमा नेपाल कम्युनिस्ट पार्टी स्पष्ट रहेको पनि प्रष्ट गर्नुभएको छ ।

वर्तमान परिवेशमा विश्व व्यवस्थामा शक्ति राष्ट्रहरूबीचको राजनीतिक सञ्जालीकरण र आबद्धता बढाउने प्रतिस्पर्धा चलिरहेको सम्बन्धमा नेपाल जस्तो भूराजनीतिक दृष्टिले महत्वपूर्ण र संवेदनशील मुलुकमा प्रतिस्पर्धी शक्ति राष्ट्रहरूको आँखा लाग्नु स्वाभाविक छ ।

तर यसैलाई आफ्नो सत्ता स्वार्थको प्राप्तिको अवसर बनाउने प्रयत्न विगतमा जसरी भयो, पछिल्लो समयमा एमसीसी, एसपीपी वा अन्य गठबन्धनका नाममा जसरी प्रयत्नहरू भए, वा अहिले पनि जुन किसिमको असंलग्नताको नीतिविरुद्ध बहस र विचारहरू अभिव्यक्त भइरहेका छन्, शायद जननेता मदन भण्डारी हामीबीच हुनुभएको भए यस किसिमका सोच, दृष्टिकोण र प्रयत्नको दरिलो प्रतिवाद हुनेथियो ।

किनकि विश्व व्यवस्थामा राजनीतिक आबद्धताको सन्दर्भमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादका पक्षधरहरू र वर्तमान राजनीतिकर्मीहरूले उहाँले लिनुभएको दलीय र शासकीय असंलग्नताको अडानलाई व्यावहारिक र बलियो रूपमा कार्यान्वयन गर्न जरूरी छ । यसले नै अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो देश र हाम्रो प्रगतिशील आन्दोलन, कम्युनिस्ट पार्टीलाई सफल र बलियो बनाउँदछ ।

नेपाल–भारत सम्बन्धका विषयमा

नेपाली राजनीतिमा भारत फ्याक्टरलाई जबरजस्त रूपमा निर्णायक फ्याक्टरका रूपमा उभ्याउने प्रयत्न गरिन्छ । नेपाली राजनीतिमा भारतीयहरूको प्रभाव र दबाब कायम रहोस् भन्न चाहनेहरूले भारत प्रभावको डर देखाएर होस् वा भारतीय प्रभावका पूर्व घटनाहरूलाई दृष्टान्तका रूपमा पेश गरेर होस्, सदैव नेपालको राजनीतिमा भारतीय प्रभावलाई आमन्त्रण गरिरहेका हुन्छन् ।

तिनै समूहले नेपालका राष्ट्रवादी, देशभक्त र कम्युनिस्ट शक्तिलाई भारतविरोधी वा भारतीय अनिच्छित समूहको रूपमा चित्रित गर्दछन् भने अर्कोतर्फ राष्ट्रवादी, देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई अनावश्यक रूपमा छिमेक विरुद्ध भड्काउँछन् पनि । यस सन्दर्भमा जननेता मदन भण्डारीले नेपालको राष्ट्रियता, सम्प्रभुत्ता र जनहितलाई केन्द्रमा राखेर समानताका आधारमा नेपाल–भारत सम्बन्धको मान्यतालाई स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ ।

न्युजविकलाई दिनुभएको चर्चित अन्तर्वार्ता होस् वा तत्कालीन सन्डे डिस्प्याचलाई दिनुभएको अन्तर्वार्ता होस् वा संसद्मा वा आमसभामा उहाँका अभिव्यक्तिहरू हुन् । हरेक सन्दर्भमा जननेताले स्पष्ट र सरल भाषामा भन्नुभएको छ कि ‘नेपाल भारतको सम्बन्धमा विगतदेखिकै केही समस्याहरू रहेका छन् । विगतका सन्धि–सम्झौताहरूमा नेपालप्रति विभेद र हेप्ने काम भएको छ, हामी त्यस्ता सन्धि र ती व्यवस्थाहरूको खारेजी चाहन्छौं । दुई देशबीचका विषयमा रहेका विषयहरू समानताका आधारमा आपसी संवाद, समझदारीबाट समाधान गर्नेछौं । फेरिएको परिवेशको आधारमा नेपाल र भारतबीच परिवर्तनकारी नयाँ सम्बन्धको स्थापना हुन जरूरी छ ।’

जननेता मदन भण्डारीले नेपाल भारत सम्बन्धको विषयमा मुख्य रूपमा तीन कुरामा जोड दिनुभएको छ : विगतको असमान व्यवहार र सन्धिहरूको खारेजी, नयाँ व्यवस्थामा परिवर्तनकारी नयाँ सम्बन्धको शुरुआत, निरन्तर संवाद र समझदारी ।

जननेता भण्डारीले जोड दिनुभएको तीनवटा विषय वर्तमानमा नेपाल भारत सम्बन्धको विषयमा पनि त्यत्तिकै सान्दर्भिक र उपयोगी रहेको छ । कतिपय अवस्थामा लोकतान्त्रिक व्यवस्थाका नेपाली शासकहरू भारतसँग त्रास र आशमा संवादमा बस्ने, आपसी समानता भन्दा पनि लघुताभाषका साथ संवाद गर्ने र निरन्तर संवाद भन्दा पनि बहिष्करण र विरोधको उग्र कुरा गर्ने गर्दछन् ।

यी व्यवहार छिमेक सम्बन्ध र मित्रताको दृष्टिकोणले लाभदायी र उपयोगी कदापि छैनन् । हाम्रा सीमाका विषय, व्यापारका विषय, पारवहनका विषय, नागरिक सुरक्षाका विषय, आर्थिक अवसरका विषयमा भारतसँग स्पष्ट र खुला रूपमा समान हैसियतमा निरन्तर संवाद गर्नु नै हाम्रो रािष्ट्रय हित, परराष्ट्र सम्बन्धका स्थापित मान्यता र एक सम्प्रभु राष्ट्रका सम्प्रभु शासकको लागि उपयोगी हुन्छ । मदन भण्डारी आज हाम्रो माझमा रहनुभएको भए पनि शायद उहाँले हामीलाई यही मार्गदर्शन गर्नुहुन्थ्यो ।

चीन, नेपाल र भारत बीचको त्रिपक्षीय सम्बन्ध

नेपालको भूराजनीतिक संवेदनशीलता र महत्वका दृष्टिले यस विशेष अवस्थितिको फाइदा लिन चाहने वा यसप्रति चिन्ता व्यक्त गर्ने दुवै खालका प्रवृत्तिहरूबाट समय–समयमा चीन, नेपाल र भारतबीचको त्रिपक्षीय सम्बन्धलाई अनावश्यक रूपमा गिजोल्ने काम भएको पाइन्छ । विशेषगरी वामपन्थीहरूको सरकार बन्दा नेपाल चीन परस्त भयो भन्ने र कांग्रेसको सरकार बन्दा भारततिर लाग्यो भन्ने भाष्य सृजना गरेर त्रिपक्षीय सम्बन्धलाई स्थापित गर्न दिइएको छैन ।

‘कम्युनिस्टहरू शक्तिमा आउने बित्तिकै सहायता रोक्नुपर्छ भन्ने कुनै कारण नै छैन । तर हामी हाम्रो देशको स्वतन्त्रता, स्वायत्तता, मर्यादा र सार्वभौमिकताको सम्झौतामा भने वैदेशिक सहायताको अनुरोध गर्दैनौं । किनभने यी चिजहरू हामीलाई वैदेशिक सहायता भन्दा बढी महत्वपूर्ण छन् ।’

पृथ्वीनारायण शाहका समयदेखि चलिआएको मान्यता दुई ढुंगाबीचको तरुलको भाष्यको स्थानमा नेपालले दुई ठूला भूभाग र अवसरबीच महत्वपूर्ण सेतुको काम गर्न सक्छ भन्ने मान्यतालाई स्थान दिन सकिएको छैन । त्रिपक्षीय सम्बन्धमा त्रासको व्यापारलाई प्रश्रय दिएर नेपालको स्वहितको दृष्टिकोणलाई केन्द्रमा आउन नदिन धेरै बहस सृजना गर्ने गरिएको छ ।

जननेता मदन भण्डारी यस विषयमा स्पष्ट भएको हामी पाउन सक्छौं । न्युजविककै अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ– ‘हामी न त प्रो भारतीय हौं न त प्रो चिनियाँ । हामी पञ्चशीलको सिद्धान्तमा आधारित रहेर हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँछौं ।’

मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवादको कार्यनीति र सिद्धान्तमा स्पष्ट रूपमा हाम्रो परराष्ट्र सम्बन्धको मुख्य आधार राष्ट्रिय हित, आर्थिक अवसर र जनताको विकासलाई लिइएको छ । तसर्थ चीन र भारत दुवै हाम्रा लागि यी विषयमा महत्वपूर्ण सहयोगी छिमेकी हुन् । हामीलाई न त भारतीय नजरले हेर्न मिल्छ न त चिनियाँ कोणबाट हेर्न मिल्छ ।

अन्तर्राष्ट्रिय समुदायमा नेपालले दक्षिणएशियाको साझा संगमस्थलको रूपमा आफ्नो पहिचान दिन सक्छ । अघिल्लो सार्क शिखर सम्मेलनमा भारत पाकिस्तानलाई मञ्चमा हात मिलाउन लगाउन सक्ने, लगत्तै भारतीय प्रधानमन्त्रीलाई पाकिस्तानी प्रधानमन्त्रीको जन्मदिनमा उपहार सहित जाने परिवेश सृजना गर्न सक्ने नेपालको शासकमा उपयुक्त सुझबुझ र सही दृष्टिकोण भएमा राष्ट्रिय हित र अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छ भन्ने प्रमाणित तथ्यहरू रहेका छन् ।

जननेता मदन भण्डारीका दृष्टिकोण, सिद्धान्त र मान्यतालाई वास्तविक रूपमा व्यवहारमा उतार्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्धको अभ्यासमा चीन, नेपाल र भारत त्रिपक्षीय सम्बन्धको मध्यबिन्दु नेपालले दुवै उदाउँदा आर्थिक, राजनीतिक शक्तिहरूसँगको सहकार्यबाट नेपाली जनताको पक्षमा विकासका अवसर, आर्थिक समृद्धि र राष्ट्रिय हितको जगेर्ना गर्न सक्दछ । यसका लागि जननेताले भन्नुभए जस्तै हामी न त प्रो भारतीय न त प्रो चिनियाँ, दुवै बन्नु उपयुक्त हुँदैन ।

नेपाली कम्युनिस्टहरूप्रति पश्चिमा दृष्टिकोणका विषयमा

शीतयुद्धको अन्त्य, सोभियत संघको विघटन, अन्तर्राष्ट्रिय बजार व्यवस्थामा चीनको प्रवेशसँगै नेपालमा कम्युनिस्ट शक्ति एक मुख्य राजनीतिक शक्तिको रूपमा जननेता मदन भण्डारीको नेतृत्वमा स्थापित भइरहेको थियो ।

२०४७ को संविधानपछि सम्पन्न पहिलो आम निर्वाचनमा नै जनताको २८ प्रतिशत मत प्राप्त गरी संसद्को दोस्रो ठूलो दल बनेको नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीलाई तत्कालीन अमेरिकी पत्रिका न्युजविकले नेपालमा कार्ल मार्क्स जीवित छ भनी उल्लेख गरेको थियो ।

यस परिवेशमा कम्युनिस्ट शक्तिहरूप्रति, कम्युनिस्ट शासकहरूप्रति पश्चिमा उदारवादी शक्ति राष्ट्रहरू अनुदार थिए, उनीहरू कम्युनिस्टहरूसँग एक हिसाबले त्रसित पनि थिए । कम्युनिस्ट शासन व्यवस्थाले लोकतन्त्रलाई निषेध गर्छ भन्ने भ्रमपूर्ण मान्यता अँगालेका पश्चिमा उदारवादी देशहरूले नेपालमा कम्युनिस्ट पार्टी सत्तामा आएमा अन्तर्राष्ट्रिय सहायता रोक्न सक्छ भन्ने शंका सबैमा थियो ।

यही प्रसंगमा न्युजविकले जननेता मदन भण्डारीलाई के तपाइँ कम्युनिस्ट पार्टी सत्तामा आएमा अन्तर्राष्ट्रिय समुदायको सहायता कटौती हुन्छ भन्ने विषयमा चिन्तित हुनुहन्छ भनी प्रश्न गरेको थियो । यो प्रश्नको उत्तर तत्कालीन पश्चिमा राष्ट्रहरूको दृष्टिकोण र आशंकाप्रति जननेताको जवाफ स्पष्ट र सैद्धान्तिक मान्न सकिन्छ ।

न्युजविकको प्रश्नको उत्तरमा जननेता भण्डारीले भन्नुभएको थियो– ‘कम्युनिस्टहरू शक्तिमा आउने बित्तिकै सहायता रोक्नुपर्छ भन्ने कुनै कारण नै छैन । तर हामी हाम्रो देशको स्वतन्त्रता, स्वायत्तता, मर्यादा र सार्वभौमिकताको सम्झौतामा भने वैदेशिक सहायताको अनुरोध गर्दैनौं । किनभने यी चिजहरू हामीलाई वैदेशिक सहायता भन्दा बढी महत्वपूर्ण छन् ।’

अर्को एक सन्दर्भमा सन्डे डिस्प्याचमा दिनुभएको अन्तर्वार्तामा उहाँले भन्नुभएको छ– ‘कुनै पनि राष्ट्रसँगको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित भएर हुनुपर्छ भन्ने हाम्रो स्थापित मान्यता हो र हामीले संविधान आयोगलाई दिएको सुझावमा पनि त्यो कुरा उल्लेख गरेका छौं । हामीले अर्को देशसँग हुने यस्ता खालका सन्धिहरू पनि संसद्बाट अनुमोदन गर्नुपर्ने व्यवस्था उल्लेख गरेका छौं । हामी भर्खरै भएको दुई देशका प्रधानमन्त्रीको भेटपछि (नेपाल र भारतका प्रधानमन्त्री) जारी विज्ञप्तिलाई समालोेचनात्मक रूपमा अध्ययन गरेका छौं । त्यहाँ हाम्रो देशको सार्वभौमसत्तासँग सम्बन्धित केही यस्ता कुराहरू समावेश भएका छन् जसको विषयमा हामिले आपत्ति जनाइसकेका छौं ।’

जननेताको भनाइहरूबाट स्पष्ट छ कम्युनिस्टहरूप्रति अनुदार दृष्टि राख्ने पश्चिमा उदारवादी मुलुकहरूलाई अन्तर्राष्ट्रिय सम्बन्धको नवीन मान्यताहरूको सन्देश दिनुभएको छ : पहिलो कुनै पनि दुई राष्ट्रको सम्बन्ध त्यो देशको शासन सत्तामा कुन विचारधाराको दल वा समूह छ भन्नेबाट निर्धारित हुनुहुँदैन, दोस्रो वैदेशिक सहायताको पूर्वशर्त सम्बन्धी प्रापक देशको सार्वभौमिकता, हित, मर्यादा, स्वतन्त्रता हुनुपर्दछ, र तेस्रो दुई देशबीचको पारस्परिक सम्बन्ध र सन्धि–सम्झौताहरू केवल शासकहरू बीचको मित्रता वा शत्रुताको मात्र होइन जनताको पनि सरोकारको विषय हो, तसर्थ जनप्रतिनिधिमूलक संस्था संसद्बाट त्यस्ता विषयहरूको अनुमोदन हुनुपर्दछ । अन्तर्राष्ट्रिय सम्बन्धको लोकतन्त्रीकरणका लागि यी तीनै मान्यताहरू मूल आधार हुन् भन्न सकिन्छ ।

हामीकहाँ वैदेशिक सहायताका कारण देखिएका विकृति, राजनीतिक अराजकता र राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका विषयमा उठेका वर्तमान प्रश्नहरू जननेता भण्डारीले गर्नुभएको उक्त मार्गदर्शनहरूको सही ढंगले पालन हुन नसकेकै कारणले भएको हो भन्दा अतिशयोक्ति नहोला ।

जननेता मदन भण्डारी र उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलीय जनवादका दृष्टिकोणहरूलाई नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध अभ्यास र प्रशिक्षणका अंगको रूपमा स्वीकार गर्दै अघि बढ्ने हो भने नेपालको परराष्ट्र ममला, अन्तर्राष्ट्रिय सम्बन्धले राष्ट्रिय हित, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय व्यवस्थाको लोकतन्त्रीकरण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुग्न सक्छ ।

तर मदन भण्डारीलाई केवल नेकपा एमालेको नेता र उहाँका धारणाहरूलाई राजनीतिक अभिव्यक्तिका रूपमा मात्र बुझेर पक्षधरता लिने, विरोध वा बेवास्ता गर्ने हो भने अन्तर्राष्ट्रिय सम्बन्धको अभ्यासमा हामीले निकै महत्वपूर्ण आधारहरू गुमाउने निश्चित नै छ । अन्त्यमा जननेता मदन भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?