+
+

केपी ओली भन्छन् : मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १२:५३
तस्वीर : रासस

१४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लाग्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।’

दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत गर्दै ओलीले त्यस्ता प्रयास सधैं सफल नहुने बताएका छन् । कतिपय घटना–दुर्घटनाका सत्यतथ्यलाई शक्तिले लुकाउने गरेको भन्दै ओलीले भनेका छन्, ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरूलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैं सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै ।’

२०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा जीप दुर्घटनामा परी एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

दुर्घटनामा एकमात्र प्रत्यक्षदर्शी जीप चालक अमर लामा भने सकुशल थिए । तर उनको पनि युद्धकालमा काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड रहस्यकै गर्भमा छ ।

एमालेले मदन–आश्रितको षडयन्त्रपूर्वक हत्या भएको दाबी गर्दै आएको छ । तर हत्यारा पत्ता लाग्न सकेको छैन ।

दासढुंगा घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको थियो । मदन पत्नी विद्या भण्डारी राष्ट्रपति समेत बनिन् । तर मदन–आश्रितको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेताहरूको आलोचना हुने गरेको छ ।

एमाले अध्यक्ष ओलीले भने हत्यारा पत्ता लगाउन सत्ता र शक्ति बाधक बनेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै–कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् ।’

दरबार हत्याकाण्डको सबै दोष तत्कालीन युवराज दीपेन्द्रमाथि लगाइएको भन्दै ओलीले त्यसको रहस्य पनि कुनै दिन खुल्ने विश्वास व्यक्त गरेका छन् ।

दरबार हत्याकाण्ड जस्तै दासढुंगा दुर्घटना पनि रहस्यकै गर्भमा रहेको बताउँदै ओलीले तत्कालीन सरकारले दुर्घटना भनेको र छानबिन आयोग समेत गठन गर्न नमानेको बताएका छन् । पार्टीको तर्फबाट आफ्नै नेतृत्वमा छानबिन प्रतिवेदन तयार पारी तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिए पनि सार्वजनिक नगरेको आरोप ओलीले लगाएका छन् ।

‘हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौं । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन’ ओलीले रासस सँग भनेका छन्, ‘पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?