+
+

प्रवासी नेपालीलाई मताधिकार : निर्वाचन आयोगको गृहकार्य कहाँ पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १३:१७

१४ असार, काठमाडौं । विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ताको गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो चरणमा मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु गर्ने आयोगको सोच छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो जानकारी दिएका हुन् । थपलियाले त्यस सम्बन्धी कार्यविधि अहिले स्वीकृतिको चरणमा पुगेको जानकारी दिए ।

यो काम आयोग एक्लैले गर्न नसक्ने बताउँदै प्रमुख आयुक्त थपलियाले सरकार र परराष्ट्र मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । ‘यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ । नभए हामी एक्लैले गर्नसक्ने अवस्था छैन,’ थपलियाले भने ।

आयोगका अनुसार नेपालीहरुले जति प्रयत्न गरे पनि पीआर वा ग्रिनकार्ड पाउन नसक्ने देशलाई मतदाता नामावली संकलनको पहिलो प्राथमिकतामा राखिएकाले मलेसिया र खाडी मुलुकबाट त्यो काम सुरु गर्न लागिएको हो ।

‘हामीले अलिकति सोचेको कुरा के हो भने फेरि पनि विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुप¥यो, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स भनेको त्यहीँ रहेछ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन, त्यसलाई पहिलो प्राथमिकता दिऔं,’ थपलियाले भने, ‘उताको सेवा सुविधा, यताको माया भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ । यतैप्रति हामी बढी आकर्षित छौँ ।’

विदेशमा रहेका नेपालीलाई अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्ने उनको भनाइ छ ।

आयोगले गरेको यो गृहकार्य ठिक छ कि छैन भन्ने विषयमा छलफल गर्न पनि उनले कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकताको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने विषयलाई मूलमन्त्र बनाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?