+
+

बजेटमाथिको छलफलमा बालेन अनुपस्थित, बैठक स्थगित

बालेनले नेताका नामका कार्यक्रमले बैठक स्थगित गर्नुपरेको बताए पनि कार्यपालिका सदस्यहरूले भने संशोधनमाथि मेयरले छलफल नै गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार १४ गते १३:३९

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सहभागी नभएपछि आजको बैठक स्थगित भएको छ ।

‘आज बिहान बोलाएको छलफलमा मेयर आउनु भएन । पर्याप्त तयारी नपुगेको भन्दै छलफलमा सहभागी नभएपछि स्थगित भयो,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनले कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा राखेको साझा संशोधन प्रस्तावको छलफलमा तयारी नभएकोले नआएको भन्ने बुझिएको बताए ।

वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘उहाँले तिमिहरू के गर्न सक्छौ गर भन्ने शैलीमा छलफल गर्न हलमा नै ओर्लिनुभएन । हामीले राखेको केही प्रस्ताव नै नमान्ने भन्ने त हुँदैन नी । उहाँले ल्याएको नीति कार्यक्रम ढुंगामा लेखिएको हो र छलफल गरेर सल्टाउँ भन्दा उल्टै प्रतिशोध साँधेको जस्तो गर्नुभयो, त्यही भएर आज स्थगित भएको हो,’ उनले भने । बालेनले प्रश्न फेस गर्न डराएर स्टाटस लेखेको समेत महर्जनले बताएका छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म कुदासमेत मेयर बालेन नआएको महर्जनले जानकारी दिए ।

नेताको नामका कार्यक्रमले विवाद : बालेन

आफैं अनुपस्थित भएर नगर सभा स्थगित भएपछि बालेनले सामाजिक सञ्जालमा नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन् । ‘एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौैं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेँ ।

सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेका नेताहरूको योगदान देख्नुभयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानुभयो,’ उनले लेखेका छन् ।

गणपुरक संख्या पुगेन : सचिवालय

मेयर बालेनको सचिवालयले आज बिहान ८ बजे बोलाएको नगर सभामा गणपुरक संख्या नपुगेर स्थगित भएको जनाएको छ । ‘उहाँहरूले नेताको नाममा करोडौंको कार्यक्रम माग गरेर संशोधन प्रस्ताव राख्नुभयो,’ सचिवालयले भनेको छ ।

एक सचिवालय सदस्यका अनुसार मेयरले नेताहरूको कार्यक्रममा संघ र प्रदेशले विनियोजन गरेको बजेटमा महालेखाले समेत प्रश्न उठाएको भन्दै राख्न नसक्ने बताएपछि कार्यपालिका सदस्य हलमा नछिरेका हुन् । नगर सभाको हलमा गणपुर नदेखिएपछि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको छ ।

३२ जेठमा ल्याएको नीति तथा कार्यक्रमको छलफल अहिलेसम्म निचोडमा पुग्न सकेको छैन । नीति कार्यक्रम नगर सभामा प्रस्तुत भएको १५ दिन पुग्दा पनि टुंगो नलागेको हो ।

२ असारमा नगर सभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेन ।

१५औं अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि ३ दलका निर्वाचित ३ वडाध्यक्षहरूले साझा संशोधन प्रस्ताव राखेका थिए ।

२ असारमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधनको प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए । त्यसका लागि केही घण्टा नगर सभा बैठक सार्न आग्रह गर्दा बालेन मानेका थिएनन् । उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए ।

१० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए । तर उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे ।

उक्त प्रस्तावमा अधिकांश नगर सभा सदस्य देखिए । मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको नगर सभामा कुरा उठेको थियो ।

काठमाडौं महानगरमा नेकपा माओवादी केन्द्रकी एकमात्र प्रतिनिधि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले कार्यपालिकामा छलफल नगरी ल्याएको नीति कार्यक्रमबारे प्रश्न गरेकी थिइन् । ‘जनप्रतिनिधिले बनाउने हो कि कर्मचारीले बनाउने नीति कार्यक्रम हो ?’ उनले ३ वडाध्यक्षले प्रस्तुत गरेको संशोधन प्रस्तावको पनि समर्थन गरिन् ।

नीति कार्यक्रम पास नगरी बजेट

नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको थियो ।

मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे तर नगर सभा सदस्यहरूले ३ वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताए ।

जवाफमा बालेनले यथासम्भव संशोधन प्रस्ताव समेट्ने जनाए पनि लिखित प्रस्तावलाई मौखिक जसरी यथासम्भव नहुने भन्दै विरोध भयो । त्यसपछि मेयर बालेन, उपप्रमुख सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृतले छलफल गरेपछि बालेनले नीति कार्यक्रम पास नगरी बजेट ल्याउने बताए ।

प्रवक्ता नविन मानन्धरले नीति कार्यक्रममा पछि छलफल गरेर बजेट र कार्यक्रम एकैचोटी पास गर्न सक्ने सुनाएपछि सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?