+
+
सपनास्मरण :

मेरो एउटा साथी

रमेश सायन रमेश सायन
२०८१ असार १४ गते १४:३७

पोखरा पुग्ने बित्तिकै बिरामी भएँ । बिरामी हुँदै गनेस पौडेलको ‘पैताला’ तेस्रो पटक पढें । किताब सक्ने बित्तिकै लेखकलाई भेट्न मन लाग्यो । दाजु, म पोखरामा छु, भेटौं !’ भन्दै फोन गरें ।

‘घरै आऊ, घरबाट निस्कने मेरो बानी छैन’, लेखकले भने । लेखकहरूको बानी फेरबदल भइरहन्छ । ‘मेरो प्रिय लेखकलाई नयाँ बानीले समातेछ !’ भनिठानें ।

म लेखक भेट्न गइनँ । बिरामी थिएँ । छिट्टै निदाएँ । सपनामा साथी लिन आयो र साथीसँग डुल्न हिंडें । यसकारण यो सपनास्मरण हो ।

मेरो साथी धेरै धनी भएछ । रातो नयाँ कार किनेछ । साथी धनी हुँदा अलिअलि पीर पर्छ । आफूले केही गर्न नसकेकोमा चिन्ता लाग्छ । सपनामा मैले साथीको डाहा गरें ।

होटल आर्जनको गेटमा साथीले कार रोक्यो । कालो पाइन्ट र सेतो टि–सर्ट लगाएको थियो, आँखामा कालो चश्मा थियो । होटलको गेटभित्र छिर्‍यो । गाडीतिर फर्केर रिमोट थिच्यो ।

गाडीको हेडलाइट झिलिक्क बल्यो । ढोका बन्द भयो । चाबी पाइन्टको बेल्टघरमा झुन्ड्यायो । अक्सर नवधनाढ्यले कारको चाबी यसरी नै झुन्ड्याउँछन् ।

अरूले सुन्दा लाज मान्नुपर्ने संगतिया भाषामा साथीले भन्यो, “…….हिंड, घुम्न !”

(खाली ठाउँ आफैं भर्नु)

“जान्न, म बिरामी छु !” मैले भनें ।

“मसँग हिंडेपछि ठिक हुन्छस्, हिंड्”, साथीले भन्यो ।

त्यसपछि मेरो हात तानेर घिसार्‍यो । मलाई कारभित्र हुत्यायो र ढोका बन्द गरिदियो ।

कार स्टार्ट गर्न खोज्यो तर स्टार्ट भएन ।

“कहाँबाट थोत्रो कार उठाइस् बे !” मैले गिज्याउँदै भनें ।

“साला, फस्टहेन्ड हो । एक हप्ता भयो क्यास तिरेर किनेको”, उसले भन्यो ।

केही प्रयासपछि कार स्टार्ट भयो । एक्सिलेटर दबायो र बेपत्ता दौडायो । सडकमा लाइट बलेको थियो तर मान्छे थिएनन् । भीआईपीको सवारीको बेला सडक खाली भए जस्तो सुनसान थियो ।

लेकसाइड, हलन चोक हुँदै जिरो किलोबाट कार उकालो लाग्यो । कारको स्पीड ११० किलोमिटर प्रतिघण्टा थियो । मलाई लाग्यो, कार एकैछिनमा कुनै पोल, डिभाइडर वा कुनै मोडमा ठोक्किनेछ । म मर्नेछु ।

मलाई मर्न डर लाग्यो । मैले रुँदै भनें, “मलाई छाडिदे । मलाई धेरै बाँच्नुछ ।”

“बाँचेर के गर्छस् ?” उसले सोध्यो ।

अचानक कक्षामा मास्टरले अप्ठेरो प्रश्न सोधे झैं म अकमकाएँ ।

साँच्चै म बाँचेर के गर्छु !

केही छिनपछि मैले भनें, “एउटा किताब लेख्नुछ, धेरै पढ्नुछ । हिमालतिर जानुछ । बुढो हुँदासम्म बाँचे भने, मर्न हिमालतिर जाउँला बरु अहिले छाडिदे ।”

“हिंड् मुस्ताङ ! उतै छ हिमाल, उतै मरौंला नि, हुन्न ?” उसले फकाउँदै भन्यो ।

“भाग् साला, छाडिदे मलाई”, मैले भनें । मैले आत्तिंदै भनें ।

“तैंले चाहिं मरेर के गरिस् ?” मैले सोधें । बदला लिन प्रश्न सोधें ।

“धनी भएँ, कार किनें, तँलाई लिन आएँ”, सरल तरिकाले गर्वका साथ भन्यो ।

मलाई झन् डर लाग्यो । “मलाई मर्ने इच्छा छैन । मलाई छाडिदे”, मैले रुँदै भनें ।

“लाष्ट कायर भइछस् ! …… कायरहरू त बाँचेर पनि काम छैन ।” संगतिया भाषामा गाली दिंदै भन्यो । (खाली ठाउँ आफैं भर्नुस्)

त्यसपछि मलाई स्पष्ट लोकेसन थाहा छैन । कतै खप्तड जस्तो लाग्थ्यो, कतै बडिमालिका जस्तो, कतै भोजपुरको हाँसपोखरी, मैयुङ जस्तो । साथीले मलाई यति सुन्दर ठाउँमा लिएर गयो कि सपनाबाट विपनातिर फर्किनै मन लागेन । बेलाबेला सम्झाइरह्यो, “मर्नु भनेको यस्तै सुन्दर ठाउँमा घुम्नु हो, सुख भोग र बोध गर्नु हो । तँ पनि मर् !”

मान्छेले मान्छेलाई बाँच्न प्रेरित गर्छ । तर, मेरो साथीले मलाई मर्न प्रेरित गरिरह्यो ।

भोजपुरको मुन्धुम पदमार्गमा मैयुङ भन्ने खर्क भेटिन्छ । तरेली परेका डाँडाहरू छन् । वसन्त याममा चारैतिर गुराँस फुल्छ । सिंगै पहाड अबिर जात्रा गरे झैं रात्तै देखिन्छ । त्यहाँ हाँसपोखरी भन्ने ठाउँ छ । वैशाख १ गते मेला लाग्छ ।

दिक्तेल, भोजपुर, संखुवासभातिरबाट मेला भर्न यस लेकमा आइपुग्छन् । भर्खरै मेला उठेर सुनसान भएको थियो । दामुको कार हाँसपोखरीको डिलमा रोकिएको याद छ ।

(यो पदमार्ग हो । यहाँसम्म गाडी पुग्ने कुनै सम्भावना छैन तर सपनामा सम्भव छ । यसकारण यो सपनास्मरण हो ।)

उसले पोखरीको पानी पियो । पानी पिउँदा आफ्नो अनुहार पानी भित्र देख्यो । आकाशतिर हेरेर गम्भीर पारामा भन्यो, “मैले मेरो अनुहार नदेखेको सात वर्ष भयो । अझै म उस्तै रहेछु । आफूलाई जतिखेर जहाँ छाडेर हिंडेको थिएँ, ठिक त्यस्तै रहेछु ।” अनि गीत गाउन थाल्यो– ‘गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसे……..’

दामु गएको सात वर्ष भयो । ऊ मलाई त्यस दिन सपनामा लिन आएको थियो ।

छिमलिया यारहरू मध्ये आफ्नो रुचि थाहा पाउने पहिलो मान्छे हो दामु । पहिलोपल्ट मान्छेले नरिवलभित्रको गुदी थाहा पाए झैं दामुले आफूभित्रको रुचि थाहा पायो !

“मलाई बाँसुरीको धुन मनपर्छ । म बाँसुरी बजाउन सिक्छु ।’

घरछेउको बाँसको झ्याङबाट बाँसका मसिना ढुंग्री काट्यो र बाँसुरी बनायो । ऊ जङ्गली फूल जस्तै थियो, जसरी जङ्गली फूललाई माली चाहिंदैन त्यसरी नै उसलाई बाँसको ढुंग्रीमा लय भर्न गुरु चाहिएन । हामी चरुवा जान्थ्यौं । गाविस अध्यक्ष घोडा चढेर हिंडे झैं, हामी भैंसी चढेर हिंड्थ्यौं । कथामा वर्णित कृष्णले झैं, दामु भैंसी चढेर बाँसुरी बजाउँथ्यो । गाउँमा थोरै मात्र धनी मान्छे थिए जसले ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन किन्न सकेका थिए । तिनका टेलिभिजनमा महाभारत चल्थ्यो । भैंसी माथि चढेर दामु कृष्णको अभिनय गर्दै बाँसुरी बजाउँथ्यो । लाग्थ्यो, वृन्दावनमा कृष्णले गाई चराउन छाडेर, अहिले सर्लाहीको हजारियामा भैंसी चराइरहेका छन् ।

उसले अर्को पल्ट भन्यो, “म राजेश हमाल जस्तो हिरो बन्छु ।”

बाँसुरी बजाउँदै गर्दा एक दिन उसले भन्यो, “म गायक पनि बन्छु ।” हामीले एउटा रुचि थाहा पाउँदा नपाउँदै उसले आफूभित्रको तीन–तीन वटा रुचि थाहा पाइसकेको थियो ।

ऊ बाँसुरी जति मिठो बजाउँथ्यो त्यति नै मिठो गाउँथ्यो । रामकृष्ण ढकाल डुल्दै डुल्दै, दामुको गलामा थकाइ मार्न बसे झैं लाग्थ्यो । रामकृष्ण ढकालको बहुरूप थियो ऊ ।

एस.एल.सी. पछि संगीत पढ्न ऊ काठमाडौं हिंड्यो । म कमर्स पढ्न विराटनगर हिंडें । हामी पूर्व–पश्चिमका यात्री भयौं ।

उसले संगीत पढ्यो तर कुनै श्रोताको लागि गायक भएन । कुनै गीतको लागि लय भएन । ऊ मेरो लँगौटिया यार मात्र भयो र कुनै वियोगान्त कथास्मरण बन्यो ।

०००

एक दिन गाउँमा हल्ला मच्चियो दामुको बिरालो बोल्छ रे ! ‘रे’ को फ्रिक्वेन्सी एकदमै छिटो फैलिन्छ । त्यो रे फैलिंदा फैलिंदा सत्य हुन्छ र चमत्कार बन्छ ।

गाउँमा बिरालो मन नपर्ने धेरै मान्छे हुन्छन् । तीमध्ये कुनै मान्छेले आमा बिरालो मारिदियो । बच्चा अलपत्र भयो । दामुले बाटोमा भेट्यो र बिरालोको बच्चाको आमा बन्यो ।

आमा कि जन्मले हुन्छ कि कर्मले । दामु कर्मले बिरालोको आमा भयो ।

दामुले बिरालोको बच्चा घरमा लग्यो । दूध खान दियो । राम्ररी चाकर पायो र बच्चा बाँच्यो ।

दामुको हजुरआमा बुढी हुनुहुन्थ्यो । भर्खरै सरकारले वृद्धभत्ता वितरण गर्न थालेपछि, हजुरआमाले प्रति महिना १०० रुपैयाँ वृद्धभत्ता पाउन थाल्नुभयो । भत्ताको पैसाले हजुरआमा नरिवल, छोकडा, र मिश्री किनेर खानुहुन्थ्यो । हजुरआमाको पोल्टामा सधैं नरिवल र मिश्री हुन्थ्यो । म पनि नातिको साथीको नाताले हजुरआमाको पोल्टाको आशा गर्थें । कहिलेकाहीं आशाले सास पनि फेथ्र्यो ।

दामु हजुरआमासँग नरिवल र मिश्री मागिरहन्थ्यो । मागे पिच्छे  हजुरआमाले दिनुहुन्नथ्यो । कहिलेकाहीं चोथ्र्यो तर चोर्न सजिलो थिएन । थाहा पाए हजुरआमा रिसाउनुहुन्थ्यो । दामुलाई हजुरआमा रिसाएको मन पर्दैनथ्यो । त्यसैले उसले जुक्ति निकाल्यो, “बिरालोले तपाईंलाई ‘आमा’ भन्छ ! यसले आमा भन्यो भने नरिवल दिनुपर्छ !”

हजुरआमा, नातिको शर्तमा बाँधिनुभयो । हजुरआमालाई लाग्यो, “मान्छे त ताल परे बोल्न सक्दैन, मुला–बिरालो के बोल्ला र !”

दामुले काँधमा बोकेको बिरालोलाई भुईंमा झारेर तन्नाले छोप्यो । बिरालो आत्तियो र कराउन थाल्यो । दामुले बिरालोको च्यापु दबायो । ‘म्याउँ म्याउँ’ गर्ने बिरालोको आवाज ‘अ्मा अ्मा’ जस्तो सुनियो ।

गाउँमा हल्ला फैलियो, “ल अचम्म भयो, दामेको बिरालो मान्छेले झैं बोल्न थाल्यो ।”

हजुरआमा नरिवल चपाउँदै भन्नुहुन्थ्यो, “मेरो नातिको बिरालो मान्छेले झैं बोल्छ ।”

“ओइ दामु, तेरो बिरालो बोल्छ रे हो ! लु, देखा त ।”

“बोल्छ तर अहिले बोल्दैन । यसलाई मूड चलेको बेला मात्र बोल्छ”, दामु चंख उत्तर दिन्थ्यो ।

हजुरआमा जस्तै बुढाबुढी मान्छेको अघि बिरालो तन्नाले छोपिहाल्थ्यो । नरिवल र मिश्री खाइहाल्थ्यो ।

यसरी बिरालो, बिरालोबाट मान्छे र मान्छेबाट भगवान् हुन लाग्दै थियो । अचानक बिरालो हरायो । बिरालोलाई मान्छे र भगवान् दुवै हुन मन थिएन होला ! ऊ हरायो ।

कहाँ गयो त बिरालो– जवान भयो । “दामु आमा” लाई छाडेर प्रेमिकासँग गयो होला ।

कहाँ गयो त बिरालो – “दामु आमा” ले जहिले दूध, भात मात्र दिन्थ्यो । मासु खान मन लाग्यो होला । मुसा मार्न गयो होला ।

कहाँ गयो त बिरालो – त्यसबेला बिरालोको मासु खाने फिरन्तेहरू घुमिहिंड्थे । उनैले सिकार गरे । अन्तिममा बिरालाको हत्या भएको कुरा सत्य भयो ।

बिरालो मान्छे र भगवान् हुन पाएन ।

दामु केही दिन उदास भयो । एक–दुई दिन स्कुल गएन । एक–दुई दिन होमवर्क गरेन । राध्येब सरको हातको कुटाइ खायो । बिरालो शोक विस्तारै कम हुँदैगयो ।

०००

दामुले हाँसपोखरीको पानी पियो । एकदमै शान्त भयो । त्यस्तो शान्ति उसको जीवनकालमा कहिल्यै देखेको थिइनँ । अनि बाँसुरी बजाउन थाल्यो । गुराँसका फूलहरू नाच्न थाले । आकाशमा उडिरहेका चराहरू नाच्न थाले । नागीमा चरिरहेका चांैरीहरू नाच्न थाले । केही बेर सिंगै प्रकृति नाच्यो । जसरी हामी तिहारमा देउसी भैलो खेल्दा नाच्थ्यौं । जसरी हामी स्कुलको सरस्वती पूजाको सांगीतिक कार्यक्रममा नाच्थ्यौं ।

यस्तो अद्भुत दृश्य, चालीस वर्षको सपनामा कहिल्यै देखेको थिइनँ । म खुशीले मृगको पाठो उफ्रिए जस्तै उफ्रिन लागें । त्यसैबेला दामुले मलाई फकाउँदै भन्यो, “हिंड् मसँग । बाँचेर के गर्छस् मुला । मरिस् भने, सधैं यस्तै ठाउँमा डुल्न पाउँछस् । जीवनमा जस्तो मृत्युमा कुनै दुःख छैन । हिंड् । हेर त मलाई ! म कति खुशी छु । हेर म कति धनी छु ।”

म केही बोलिनँ ।

उसले गीत गाउन थाल्यो, “गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसे यो दिलैमा……”

गीत गाइसकेपछि चारैतिर हेर्‍यो । उसका आँखा हाँसपोखरीको पानीको दह झैं भए ।

“तेरा आँखा किन आँसुमा डुबेका छन् ! अघि भर्खर खुशी छु भनेको हैन !”

“कसैको भागको आँसु मेरो आँखामा अझै छ । जसको भागको आँसु हो, उसलाई भेटेर कहिल्यै देखाउन सकिनँ । यसकारण मेरा आँखा आँसुको दहमा डुबिरहेका छन्” भावुक हुँदै भन्यो ।

“कसको भागको आँसु हो त्यो ?”

“सुन्छस् ?”

“भन न !”

“बाउआमा दिल्लीमा थिए । म काठमाडौंमा संघर्ष गर्दैथिएँ । जसरी पनि गायक बन्नु थियो । गायक बन्नु बाहेक मेरो कुनै सपना थिएन । आर.आर. कलेजमा संगीत पढ्थें । बाहिर पनि संगीत सिक्न थालें । आलुको चानामा झोल हालेर भात खान्थें, कहिले भोकै पेट रियाज गर्थें । सबैले मेरो प्रशंसा गर्थे । म मक्ख पर्थें ।

सँगै पढ्ने केटीले मलाई मन पराउँछु भनी । मैले केही नसोची ‘हुन्छ’ भनें । यसअघि मैले प्रस्ताव राखेका कुनै केटीले मलाई प्रेम गर्छु भनेनन् । मलाई प्रेम गर्छु भन्नेलाई म गर्दिनँ किन भन्थें र !

संगीतको सुर सँगसँगै प्रेमको सुर पनि चल्दैथियो । जीवनमा संगीत पनि थियो । प्रेम पनि थियो । प्रेमले जति जीवनलाई सुन्दर अरू कुनै चिजले नबनाउँदो रहेछ । संगीत मेरो सपना थियो । प्रेम मेरो सुख थियो । प्रेम सँगसँगै आफूले रोजेको कर्म गर्न पाइयो भने मात्र जीवन पूर्ण सुन्दर हुँदोरहेछ । नत्र त जीवन एक औपचारिक सजीवता मात्र रहेछ ।

अचानक एक दिन घरपट्टीको टेलिफोन सेटमा मेरो फोन आयो । बाउले पैसा पठाए होलान् भनेर खुशी हुँदै फोन उठाउन पुगें । मैले ‘हेल्लो’ भन्नासाथ उताबाट अपिरिचित आवाजले रुखो स्वरमा भन्यो— “भोलिदेखि दायाँ–बायाँ देखें भनें सीधै आतंककारीको नाममा गोली भेट्छस्, कि माओवादीको सुराकीको नाममा हातखुट्टा काटेर बागमतीमा फालिदिन्छु । भन् कसको नाममा मर्ने इच्छा छ !”

मेरो मुटु फुट्ला झैं भयो । “किन के भयो ? तपाईं को बोल्नुभयो ?” मैले आत्तिंदै सोधें ।

“भोलि चिन्छस् !” भन्यो र फोन राख्यो ।

मैले रिडायल गरेर सोध्न सकिनँ “हजुर को बोल्नुभयो । मैले के गल्ती गरें ?”

उतिखेरै ठूलो स्वरले चिच्याएर भन्न सकिनँ “यो शहर तेरो बाउको बिर्ता हो ….. ! तैंले मलाई हैन, म तँलाई माछु । बरु तँ विचार गर्, माओवादीको नाममा मर्छस् या सरकारको नाममा मर्छस् ?”

भोलिपल्टदेखि मेरी प्रेमिका संगीत सिक्न आउन छाडी । मेरो प्रेमबाट सुर हरायो । जीवनबाट लय हरायो । संगीतबाट ताल हरायो ।

महिना दिनसम्म डराई–डराई शहरका गल्लीगल्लीमा मेरी प्रेमिका खोजी हिंडें । बरु बालुवामा हराएको सियो भेटिन्छ, शहरमा हराएकी प्रेमिका नभेटिंदोरहेछ ।

फेरि उही फोन आयो, “तँलाई मासु–भात मनपर्छ भन्ने सुनेको छु । आज इच्छापूर्ति हुने गरी खा ! भोलिदेखि खान पाउँदैनस् ।”

अहिले तँलाई मर्न डर लाग झैं मलाई त्यसबेला मर्न डर लाग्यो । म बाउ–आमाको शरणमा दिल्ली पुगें ।

उता संगीत सिक्न र गीत रेकर्ड गर्न खोजें । काठमाडौंमा प्रेमिकाको आफन्तले थर्काए झैं दिल्लीमा मलाई खल्तीले थर्कायो । बाउ–आमाको कमाइले मेरो इच्छा पूरा गर्न सकेन । दिल्ली जस्तो घनघोर शहरमा संघर्ष गर्न सकिनँ । विस्तारै गीत–संगीतसँग मोह भंग भयो । जीवनबाट अघाएर, जोगी भए झैं म संगीतबाट अघाएर मजदुर भएँ । पछि सानोतिनो व्यापार गरें । मालिक पनि भएँ ।

मलाई मेरो खुशी कहाँ छ भन्ने थाहा थियो । तर त्यो खुशीसम्म पुग्नु अघि नै म अलमलिएँ ।

विपनामा एकपटक सुनाएको कथा दामुले फेरि मलाई सपनामा सुनायो ।

विपनामा झैं सपनामा फेरि भनें, “छाडिदे मुला, बितेको कुरा । बेला–कुबेला सम्झिएर प्रेमलाई विष बनाउनुहुँदैन । बरु बिर्सिएर अमृत बनाउनुपर्छ ।”

“गाजलु ती ठूला ठूला आँखा, तीर बनी बसें……..”

फेरि उसले उही गीत गायो । अनि फेरि मलाई फकाउँदै भन्यो, “भाग् जिन्दगीबाट र मसँग हिंड् । तँलाई सुख हुनेछ ।”

“मलाई बाँच्नुछ । मृत्युको सुखभन्दा जीवनको दुःख धेरै थाहा पाउनुछ । मलाई छाडिदे यार”, मैले विलौनाको भावमा भनें ।

०००

सपनाको बाटो ज्यादै छिटो हुन्छ । हाँसपोखरीबाट हामी बागमती किनारमा आइपुग्यौं । जहाँ बयरको घारी छ, हामी बाल्यकालमा बयर टिपेर खान्थ्यौं । बागमतीमा नांगै पौडिन्थ्यौं, भैंसी चराउँथ्यौं, मारपिट गथ्र्यौं । किशोरकालका अनौठा सुख बोधहरू गथ्र्यौं । चराको गुडबाट अण्डा टिपेर पोली खान्थ्यौं । बागमतीको बगरमा हाम्रो पैतालाको डाम अझै छ ।

दामु दमलियाहरूमा जहिले पनि एक कदम अघि थियो । हामीले नजानेको कुरा उसैले पहिला जान्यो, हामीले नदेखेको कुरा उसैले पहिला देख्यो ।

त्यसबेला गाउँमा डीभीडी÷भीसीडीमा फिल्म हेर्ने चलन थियो । चक्का र डीभीडी भाडामा लिएर, थोरै पैसामा धेरै फिल्म हेर्न पाइन्थ्यो । ब्ल्याक एन्ड ह्वाइट टिभीमा रातभरि फिल्म चल्थ्यो, घर सानोतिनो फिल्म हल जस्तो गुल्जारमय हुन्थ्यो ।

त्यस दिन दामुको घरमा फिल्म चलेको थियो । फिल्म हेर्न म छुटें । हाम्रो किशोरकालको मध्यभाग चलिरहेको थियो । साथीले साथीको चिन्ता गर्ने, पीर गर्ने; राम्रो प्रगति गरे डाहा गर्ने, ईष्र्या गर्ने कर्म सुरु भएको थियो ।

दामु बिहानै स्कुल जान भनेर हाम्रो घरमा आयो (गर्मीमा मधेशमा बिहानको स्कुल लाग्छ) । हिजो मैले फिल्म हेर्न नपाएकोमा दामुले चिन्ता गर्दै भन्यो, “हाम्रो घरमा चक्का ल्याएको छ । हिजो तँ आइनस् ! आज स्कुल नजाऊँ, फिल्म हेरौं !”

म घरबाट कापी किताब च्यापेर दामुको घर गएँ ।

दामुको घरमा कोही थिएनन् । त्यसबेला उसको बाउ दिल्ली, आमा बारीमा, हजुरआमा गाउँ डुल्न, दिदी–बहिनी स्कुल गएका थिए । दामुले फिल्म चलायो । “तँ हेर्दै गर म आउँछु” भनेर बाहिर निस्कियो र बाहिरबाट दैलो लगाइदियो ।

त्यसपछि मैले सादा टेलिभिजनमा जे देखें, त्यो अव्याख्या छ । दैलो खोलेर भाग्न खोज्दा दैलो खुलेन । अब के गर्ने कसो गर्ने भयो । श्वास बढ्यो ।

बाघ देखेको बेला लुकेको मान्छे जस्तो म कुक्रुक्क परेर बसें । टिभी कसरी बन्द गर्ने मलाई थाहा थिएन, हाम्रो घरमा टिभी थिएन । चिच्याउँ भने अव्याख्या सिनको कारण चिच्याउन मिलेन । मुटु भुकलुक भुकलुक भए पनि अनौठो सुख महसुस भयो ।

केही बेरपछि दामु आयो ।

“फिल्म कस्तो लाग्यो बे ?”

मैले उसलाई गाली दिएँ । ङिच्च हाँस्दै उसले भन्यो, “गाली त बाहिर मात्रै होला ! भित्र त खुशी नै होलास् क्यारे !”

त्यो फिल्मको असर मेरो दिमागमा धेरै दिन नराम्रोसँग बस्यो ।

०००

दामु दिल्ली बस्थ्यो । सर्लाही घर आएको रहेछ । मोबाइल फोनको जमाना भर्खर सुरु भएको थियो । दशैंको टीकाको दिन मलाई फोन गर्‍यो, “कहाँछस् बे, म तँलाईं भेट्न विराटनगर आउँदैछु ।”

“दशैं सकिएपछि आइज न । म अहिले पथरी घरमा छु”, मैले भनें ।

“दशैं सकिएपछि म दिल्ली जान्छु । अहिले नै आउँछु”, उसले भन्यो ।

दशैंको टीकाको दिन घरबाट के भनेर हिंड्ने !

मैले घरमा बहाना बनाएँ, “मेरो मालिक एक्सिडेन्ट भएर अस्पताल भर्ना भएको छ । तुरुन्तै आइज भनेको छ । म त विराटनगर जानुपर्ने भयो ।”

मालिक लडेको भने पछि मैले दशैंको बेला घरबाट बिदा पाएँ । विराटनगर डेरा आएँ ।

मेरो दुई लँगौटिया यार दामु र सेवक सर्लाहीबाट विराटनगर आए । लँगौटिया यारहरूले गर्न सक्ने सबै रमाइलो गर्‍यौं । त्यसबेला म जुत्ता कम्पनीमा काम गर्थें, तलब १५०० थियो । मेरो गरिबीलाई सम्मान गर्दै केटाहरूले मासु किने, मैले अरू कुरा किनें । रमाइलो भयो ।

त्यस्तो आर्थिक दुःखको बेला दामुले मलाई एउटा सपना देखायो, “पहिलोपल्ट तैंले मेरो घरमा हेरेको जस्तै फिल्म हेर्न मिल्ने मोबाइल पठाइदिन्छु । जोगवनीको ठेगाना दे !”

मैले मालिकलाई भनें “जोगवनीमा कुनै ठेगाना दिलाइदिनु, दिल्लीबाट मेरो सामान आउँदैछ ।”

“के आउँदैछ ?”

“भिडियो चल्ने फोन आउँदैछ ।”

मालिकले आफ्नो ११ मोडलको नोकिया फोनतिर हेर्दै मलाई जोगवनीको एउटा ठेगाना दिलाइदियो ।

मैले दामुलाई त्यो ठेगाना दिइपठाएँ ।

मेरा धेरै साथीहरूसँग सामान्य फोन मात्र थियो, भिडियो चल्ने फोन थिएन । मैले धेरैलाई सुनाइहिंडे, “मेरो भिडियो हेर्न मिल्ने फोन आउँदैछ, साथीले विदेशबाट पठाउँदैछ ।” जस्तो अचेल सुनाइन्छ नि, फलानाले मलाई विदेशबाट आइफोन पठाउँदैछ भनेर ।

दामु दिल्ली फर्कियो । धेरै दिन बित्यो ।

साथीले मलाई पक्का मोबाइल पठायो भनेर म जोगवनी धाउन थालें ।

ठेगाना धनी भन्थ्यो, “तेरो नाममा कुनै सामान आएको छैन ।”

मलाई लाग्यो, पक्कै मेरो साथीले मोबाइल पठायो तर यसले दिएन । यसैले मेरो मोबाइल पचायो । मैले मनमनै धेरै पल्ट ठेगाना धनीलाई “मोबाइल चोर !” भनें ।

फेसबुक थिएन । दामुको इन्डियन मोबाइल नम्बर पनि थिएन ।

बस् यारले भन्यो, मैले आश गरें । यारले सपना देखायो, मैले देखें ।

धेरै पछि महसुस भयो, साथी दिल्लीमा म जस्तै गरिब छ । म जस्तै मजदुर छ ।

०००

म सपनामै छु तर सपनाको सुरुमा कुदाएको रातो कार अहिले छैन । दामु म जस्तै गरिब भइसकेको छ ।

बागमतीको बगरमा हामीले बयर टिपी खायौं । मेरो निधारमा बयरको काँडाले कोतर्‍यो जसरी सानामा दामु र म झगडा गर्दा एकअर्कालाई कोतथ्र्याैं । हामीले पौडी खेल्यौं । बालुवामा सिन्कालुकाइ खेल्यौं ।

साँझ पर्न लागेको थियो, दामुले भन्यो– “म पनि आज तँसँगै घर फर्किन्छु । स्वास्नी र छोरीहरूलाई भेट्छु । ती कत्रा भए होलान् । कान्छी छोरीलाई सधैं मैले नै स्कुल पुर्‍याउन जानुपथ्र्यो । त्यो धेरै रुन्थी । होमवर्क गर्न मान्दिनथी । उसलाई क्याटवरी चकलेट मनपथ्र्यो । अहिले उस्तै छे कि ! मलाई बिर्सी कि ! कि मेरो बाटो हेरी रुँदै छे ! मलाई छोरीहरूको धेरै माया लाग्छ । स्वास्नी र बाउआमाको पनि माया लाग्छ” भावुक हुँदै भन्यो । ऊ सात वर्षपछि घर फर्किंदै थियो ।

“त्यसो भए हिंड न त हामी आज तेरो घर जाऊँ !”

हामी बयलगाडा चढ्यौं । बागमती किनारबाट पश्चिम लाग्यौं । जब गाउँ आयौं, म सपनाबाट बिउँझें । मेरो लँगौटिया यारको पारिवारिक सुखद् भेट सपनामा देख्न पाएँ । छुकछुक लागिरह्यो ।

०००

म त्यतिखेर ९० एम.एल. फुड क्याफेको मालिक थिएँ ।

दिउँसो रक्सी पिउन आउने मान्छेलाई ९० एम.एल. का दरले भोड्का बेच्दैथिएँ । विनोदको फोन आयो । विनोद कक्षा १० को फस्र्ट ब्वाई हो । अहिले पुलिस अफिसर छ । उसले मेरो खबर सोध्यो । फोनमा सुनाउनको लागि मेरो खबर सधैं ठीक हुन्छ । जीवनमा एकदमै थोरै मान्छे हुन्छन् जसलाई बेठीकलाई बेठीक र ठीकलाई ठीक भनेर खबर सुनाइन्छ, नत्र ९९% बेठीक खबरलाई ठीक भनेर सुनाइन्छ । मेरो ठीक खबर सुनेपछि विनोदले असाध्यै बेठीक खबर सुनायो, “यार दामु अब छैन ।”

सात वर्ष भयो दामु नभएको तर हामी स्कुले संगतिहरूमा दामु सधैं छ । हाम्रो सबै भेटमा आधा समय उसैको कुरा हुन्छ ।

दामु यस्तो साथी हो, उसलाई हामीले कहिल्यै दुःखी र उदास देखेनौं । ऊ नहाँसेको कहिल्यै थिएन । ऊ रंगीन थियो । लगातार जोक भनेर घण्टौं साथीहरूलाई हँसाउन सक्थ्यो । साथीहरू उदास भएको उसलाई मन पर्दैनथ्यो ।

हामीलाई लाग्थ्यो, हाम्रो खुशीको इन्द्रेणी पनि यसैसँग छ ।

दामु साथीहरूको ऊर्जा र खुशी थियो । तर उही जीवनसँग बेखुशी भएर कसैलाई नभनी सुटुक्क आफ्नै इच्छाले गयो ।

०००

साथी तँ आउने अब एउटै बाटो छ सपना ।

तलाईं सधैं मेरो सपनामा स्वागत छ ।

साथी तँलाई सपनामा जे भन्ने, जे गर्ने पनि छुट छ ।

तँ मेरो सपनामा स्वतन्त्र छस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?