+
+

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते १६:४४

१४ जेठ, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको हो ।

सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो ।

समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेको थियो । योग्यता पुगेका उम्मेदवारमध्ये तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यति हुँदाहुँदै सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि पनि यसअघि बुधबार दुई पटकसम्म समितिको बैठक बसेको थियो । तर, कुनै पनि निर्णय हुन सकेको थिएन ।

महान्यायाधिवक्ताको रायअनुसार अन्तर्वार्तामा सहभागी नै नभएका उम्मेदवार समेत राखेर नाम सिफारिस गर्ने कि प्रक्रिया खारेज गर्ने भन्ने विषयमा समितिका सदस्यहरूबीच मतभेद् थियो ।

स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा समिति संयोजक डा. मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा देखिए पनि त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएका थिए ।

गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए ।

समितिले तीमध्ये पाँचको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँच मध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भए ।

तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए ।

धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा सिफारिस समितिले कम्ती तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?