+

एडेन माक्ररम : हार्न नजानेका कप्तान

२०८१ असार  १४ गते २०:४१ २०८१ असार १४ गते २०:४१
एडेन माक्ररम : हार्न नजानेका कप्तान

२९ वर्षीय एडेन माक्ररमको कप्तानीमा दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा पुग्न सफल भयो । यसअघि दक्षिण अफ्रिका एक दिवसीयमा पाँच र टी-२० मा दुई गरी ७ पटक विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । तर बिहीबार बिहान ट्रिनिडाडमा आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका ऐतिहासिक फाइनलमा पुग्यो । जबकी दक्षिण अफ्रिकासँग विश्वकप खेलेको ३२ वर्षे इतिहास छ । तर, यो टोली सेमिफाइनल भन्दा अगाडि कहिल्यै बढ्न सकेको थिएन । हर्षल गिब्स, ग्रेम स्मीथ, एवी डिभिलियर्स, जाक्स कालिस, मार्क बाउचर र डेल स्टेन जस्ता खेलाडीसँगै खेल्दा पनि फाइनल पुग्न सकेको थिएन ।

केही खेलमा खराब खेल्यो, कसैमा वर्षा बाधक । त्यसैको उदाहरण हो, सन् १९९२, १९९९ होस् वा २०१५ को सेमिफाइनल ।

दक्षिण अफ्रिकालाई विश्व क्रिकेटमा चोकर्स टोलीको ट्याग लागेको छ । दक्षिण अफ्रिका विश्व क्रिकेटमा कुन खेलमा कस्तो प्रदर्शन गर्छ अनुमान गर्न सकिदैन । सन् २००६ मा अष्ट्रेलियाले दिएको ४३५ लक्ष्य सफल रुपमा पूरा गर्दा होस् वा २०२२ मा नेदरल्यान्ड्ससँग हारेर टी-२० विश्वकप सेमिफाइनलमा पुग्न नसक्दा । वा यसै विश्वकपमा नेपालसँग हारको मुखबाट १ रनले जित्दा ।

टी-२० विश्वकप २०२४ मा समूह डी मा रहेको दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अल आउट गर्दै ६ विकेटको जितका साथ अघि बढेको थियो । त्यो विजयी यात्रा फाइनलसम्म पुग्दासम्म कसैले ब्रेक लगाउन सकेका छैनन्। टी-२० विश्वकपमा लगातार ८ खेल जित्ने एक्लो टोली हो ।

यसपटक दक्षिण अफ्रिका समूह चरणमा तीन पटक हार नजिक पुगेर सानदार पूनरागमन गर्‍यो। दक्षिण अफ्रिका बलिङ आक्रामणको जति तारिफ गर्दा पनि कमीनै हुन्छ ।माक्ररमले उक्त कठिन समयमा सही निर्णय लिन नसके भए नेपाल, बंगलादेश र इंग्ल्यान्डसँग सजिलै हार्न सक्थ्यो । तर बलर प्रयोगमा उक्त समयमा सही प्रयोग गरे ।

अझ नेपाललाई अन्तिम दुई बलमा दुई रन नदिने तीव्र गतिका बलर ओटनिल बार्टमानलाई बाहिर राख्दै स्पिनर तबरेज शाम्सीलाई प्रयोग गरेका छन् । शाम्सीले नेपालसँग ४, वेष्टइण्डिज र अफगानिस्तानसँग ३-३ विकेट लिएका थिए । सुपर ८ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउन पनि बलिङ मुख्य आधार बन्यो ।

नहारेका माक्ररम

दक्षिण अफ्रिकाले उमेर समूह, महिला र पुरुष सबैमा गरी एक पटक मात्रै यू १९ विश्वकप उपाधि जितेको छ । उनको कप्तानी र उत्कृष्ट प्रदर्शनमा सन् २०१४ मा यूएईमा सम्पन्न यू-१९ विश्वकपमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै च्याम्पियन बनेको थियो। १९९८ मा च्याम्पियन्स ट्रफी उपाधिपछि दक्षिण अफ्रिकामा भित्र्एिको त्यो दोस्रो आईसीसी ट्रफी हो ।

यू-१९ विश्वकपमा दक्षिण अफ्रिकाले समूह चरणमा वेष्टइण्डिज,क्यानडा, जिम्बावे र अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा अष्टेलियालाई ८० रन तथा फाइनलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा नियमित कप्तान टेम्बा बभुमा घाइते भएपछि उनले दुई खेलमा कप्तानी गर्दै इंग्ल्यान्ड र बंगलादेशलाई हराएका थिए ।

दक्षिण अफ्रिकाले उनको कप्तानीमा विश्वकपमा इंग्ल्यान्डविरुद्ध ३९९ रन र बंगलादेशविरुद्ध ३८२ रन बनाएको थियो । समग्रमा उनले कप्तानी गरेको विश्वकपमा दक्षिण अफ्रिकाले कुनैपनि खेल हारेको छैन । समग्र १६ विश्वकप खेलसम्म माक्ररम कप्तानीमा असफल भएका छैनन् ।

सर्वोत्कृष्ट खेलाडीबाट सुरूवात

जिम्मेवारी, क्लास र परिस्थीति अनुसार खेल्ने खुबी उनको सानै उमेरदेखि थियो । उनको अर्को विशेषता आवश्यकता अनुसार आक्रामक र संयमित दुबै शैलीमा ब्याटिङ गर्ने गर्दछन् ।

यू-१९ विश्वकपमा लगातार दुई शतक हान्नेक्रममा उनले जिम्बावेविरुद्ध १२० र अफगानिस्तानविरुद्ध १०५ बनाएका थिए । ६ खेलमा ३७० रनका साथ यू-१९ विश्वकप २०१४ मा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

नर्थनबाट घरेलु क्रिकेट खेल्ने उनलाई सन् २०१७ अगष्टमा इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिजमा पहिलो पटक दक्षिण अफ्रिका टोलीमा बोलाएपनि डेब्यू दिएन ।

सेप्टेम्बरमा बंगलादेशविरुद्ध गर्दै ९७ रनमा रन आउट भएका थिए । बंगलादेशविरुद्ध दोस्रो खेलमा १४३ र डिसेम्बरमा जिम्बावेविरुद्ध १२५ रन बनाउँदै उनी सुरुवाती तीन टेष्टमा दुई शतक हान्ने पहिलो दक्षिण अफ्रिका ब्याटर बनेका थिए ।

सन् २०१८ अप्रिलमा अष्ट्रेलियाविरुद्ध चौथो टेस्ट खेलमा १५२ रनको शतकीय इनिङ खेलेका थिए । ओडीआईमा माक्ररमाले सन् २०१७ अक्टोबरमा बंगलादेशविरुद्ध डेब्यू गर्दै ६६ रन बनाएका थिए । सन् २०१९ एकदिवसीय विश्वकपमा उनले ६ इनिङमा १४० रन जोडेका थिए ।

२३ वषमै कप्तान

सन् २०१८ फेब्रुअरीमा भारतविरुद्ध पहिलो ओडीआई खेलमा कप्तान फाफ डु प्लेसिसको औंलामा चोट लागेको थियो । क्विन्टन डिकक, हासिम अमाला, जेपी डुमिनी र एवी डिभिलियर्स जस्ता अनुभवी खेलाडी भएपनि दक्षिण अफ्रिकाले बाँकी पाँच खेलमा कप्तान माक्ररमलाई बनाएको थियो ।

विश्व क्रिकेटलाई आश्चर्य लागेपनि दक्षिण अफ्रिका छनोटकर्ताले उनको नेतृत्व गुण चिनी सकेका थिए । २३ वर्ष १२३ दिनमा माक्ररमले दक्षिण अफ्रिका ओडीआई नेतृत्व सम्हाल्लेका थिए ।

उनले सन् २०२१ टी-२० विश्वकपमा दुई अर्धशतकसहित १६२ र २०२२ को टी-२० विश्वकपमा ५ खेलमा ७९ रन बनाएका थिए । खराब प्रदर्शन र टी-२० मा योग्य नहुँदा पनि टेम्बा बभुमा चौतर्फी आलोचना र सामाजिक सञ्जालमा ट्रोलको सिकार बन्दै २०२१ र २०२२ मा कप्तानी गरेका थिए । २०२२ को टी २० विश्वकपमा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै सेमिफाइनलमा पुग्न नसकेपछि बभुमा बाहिरिने पक्का बनेको थियो ।

दक्षिण अफ्रिका फ्रेन्चाइज क्रिकेट एसए टी-२० प्रतियोगिता २०२३ फेब्रुअरीमा माक्ररमले सनराइज इस्र्टन केपलाई च्याम्पियन बनाउँदै कप्तानको दाबेदारी मजबुत बनाए । त्यसपछि मार्चमा बभुमालाई टी२० कप्तानबाट हटाउँदै दक्षिण अफ्रिकाले उनलाई नेतृत्व दिएको थियो ।

लगत्तै उनले इण्डियन प्रिमियर लिग (आईपीएल) मा हैदराबादको कप्तानी गरेका थिए । २०२४ मा पुन उनले आफ्नो कप्तानीमा एसए टी-२० लिगको उपाधि जिते । ओडीआईमा २०२३ अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध १७५ रनको शतकीय इनिङ खेलेका थिए । गत वर्ष एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ४९ बलमा शतक हानेका थिए ।

उनले दक्षिण अफ्रिका टी-२० कप्तानी सम्हाल्लेको १६ महिनमा दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा पुगेको छ ।

माक्ररमले दक्षिण अफ्रिका क्किेटलाई चोकर्स र अभागी टोलीको ट्याग यस विश्वपबाट हटाउन सफल भएका छन् । टी-२० विश्वकप फाइनलमा भारतविरुद्ध माक्ररम कप्तानीमा अपराजित यात्रा निरन्तर दिन खोज्नेछन् । शान्त र भद्रभलाद्मी स्वभावका उनको फाइनलमा भारतविरुद्ध कप्तानी र प्रदर्शन दुबै परिक्षण हुनेछ ।

लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय