+
+
२१औं धान दिवस :

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन  

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार १५ गते ७:४५
फाइल तस्वीर

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ ।

कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन लागेको हो ।

मन्त्रालयले धान दिवसका अवसरमा भव्य कार्यक्रम गर्दै गर्दा धान खेती हुने क्षेत्रफल भने घटेको देखिन्छ ।

नेपालमा पछिल्लो समय धान उत्पादनका लागि खेती हुने क्षेत्रफल घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवभन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भएको कृषि विभागले जनाएको छ ।

अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गएका चार आवर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो ।

पूर्वमन्त्री महिन्द्रराय यादव/फाइल तस्वीर

धान खेती क्षेत्र घटे पनि उत्पादन भने केही बढेको विभागले जनाएको छ । चालु आव कुल धान उत्पादन गत आव २०७९/८० भन्दा ४.३३ प्रतिशतले वृद्धि  भएको हो ।

चालु आव धान उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी हो ।

यस्तै धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भएर प्रतिहेक्टर ३.९८ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशत बढी हो ।

कृषि विभागबाट प्राप्त तथ्यांक अनुसार चालु आव धान उत्पादन कोसी प्रदेशमा उच्च छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आव उत्पादकत्वतर्फ कोसी प्रदेश प्रतिहेक्टर ४.४३ टनसहित अग्र स्थानमा छ भने मधेश प्रदेश प्रतिहेक्टर ३.४९ टनमा सिमित भए न्यून स्थानमा छ ।

क्षेत्रफल घट्दा कसरी बढ्यो उत्पादन ?

कृषि मन्त्रालयका अनुसार चालु आव धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउ उपलब्धता र प्रयोग, रोग किरा प्रकोपमा कमी आएकाले हो ।

यस्तै यो आव बाढी–पहिरोबाट धान बालीमा पर्न जाने नकरात्मक असरमा कमी, मलखाद उपलब्धतामा आएको सुधारलाई उत्पादन बढ्नुको कारण मन्त्रालयले उल्लेख गरेको छ ।

उत्पादन बढ्नुलाई कृषि औजार र प्रविधि प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ । मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ ।

चैते धान उत्पादन र क्षेत्रफल दुवै घट्यो

गत आव तुलनामा कुल धान उत्पादन बढ्दा चैते धान उत्पादन र खेती हुने क्षेत्र तथा उत्पादकत्व घटेको छ । गत आव ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको धान चालु आव ५ लाख २० हजार ८ सय ८ टनमा सीमित भएको छ ।

यसरी हेर्दा गत आवभन्दा चालु आवमा चैते धान उत्पादन ३.६१ प्रतिशत ऋणात्मक देखिन्छ । यस्तै चैते धान खेती हुने क्षेत्रफल पनि ३.५९ प्रतिशत गत आवभन्दा घटेको छ ।

आव १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती भएको चैते धान चालु आव १ लाख ४ हजार ७ सय १२ हेक्टरमा मात्रै उत्पादन हुन भएको हो ।

अर्बौंको धान–चामल आयात

नेपालले चालु आव ११ महिनामा २० अर्ब बराबरको धान–चामल आयात गरेको छ ।

कृषि मन्त्रालयका अनुसार २०८०/८१ जेठ मसान्तसम्म ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँका ३० करोड ५३ लाख १० हजार ५ सय २० किलो धान आयात गरेको छ ।

यसैगरी ८ अर्ब ६९ करोड ६ लाख ८५ हजारको ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयात गरेको छ ।

मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजारको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कति भयो रोपाइँ ?

असार दोस्रो साता पुग्दासम्म मुलुकमा रोपाइँ हुने कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

१२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा मात्रै धान रोपिएको छ । नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?