+

कर्णालीबाट ई–स्पोर्टस्‌को यात्रा

२०८१ असार  १४ गते १९:५१ २०८१ असार १४ गते १९:५१
कर्णालीबाट ई–स्पोर्टस्‌को यात्रा

१४ असार, सुर्खेत । ई–स्पोर्टस् संघ नेपाल (ईशान) को आयोजनामा पहिलो राष्ट्रिय ई–स्पोर्टस् च्याम्पियनसिपको फाइनल राउण्ड शुक्रबारदेखि सुर्खेतमा सुरु भएको छ ।

ईशानको गठन भएपछि संघको पहिलो कार्यक्रमको रुपमा राष्ट्रिय ई–स्पोर्ट्सको सुरुवात कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरबाट गरिएको छ ।

जसमा पब्जी मोबाइल, ई–फुटबल र मोबाइल लेजेन्ड गरी तीन इभेन्टमा समावेश गरिएको छ । मुख्य इभेन्टको रुपमा रहेको पब्जी मोबाइलमा छनोट चरण पार गरेर आएका १५ टोली र कर्णाली प्रदेशको टोलीसमेत गरी १६ टोलीको प्रतिस्पर्धा हुनेछ ।

कर्णाली प्रदेशका पूर्वमुख्य मन्त्री राजकुमार शर्माले शुक्रबार ई–स्पोर्टसको उद्घाटन गर्दै नौलो खेलको सुरुवात कर्णाली प्रदेशबाटै गरेकोमा संघलाई धन्यवाद दिँदै सफलताको शुभकामना दिए ।

पछिल्लो समय विश्वमै ई–स्पोर्टस् चर्चामा छ र नेपालमा पनि यस खेलमा लाग्ने खेलाडीहरूको संख्या बढ्दो छ । गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा पनि नेपालले ई–स्पोर्टसमा डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

आगामी मंसिरमा कर्णाली प्रदेशमा १०औं वृहत राष्ट्रिय खेलकुद आयोजना हँदैछ र त्यसैलाई ध्यान दिंदै ई–स्पोर्टस् संघले पनि आफ्नो पहिलो कार्यक्रम कर्णालीबाटै सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुदमा पनि ई स्पोर्टसलाई समावेश गर्ने तयारी संघको छ । संघका अध्यक्ष अन्जन धमलाले संघ आधिकारिक रुपमा दर्ता भएपछि देशभरका प्रतिभावना खेलाडीलाई बाहिर ल्याउन यो च्याम्पियनसिप आयोजना गरिएको बताए ।

‘दशौँ राष्ट्रिय खेलकुद पनि कर्णाली प्रदेशमै हुँदैछ । यसमा नयाँ खेल पनि थपिने छ । त्यसमा ई स्पोर्टस् पनि छनोट गर्नुभयो भने अझ राम्रो हुन्छ । हामी कर्णालीबाटै ई स्पोर्टको आधार तयार गर्दैछौं,’ उनले भने ।

संघले पहिलो कार्यक्रमको रुपमा ई स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्दा तीन इभेन्ट मात्र समावेश गरेको छ । आगामी दिनमा इभेन्टको संख्या समेत बढाउदै जाने संघको योजना छ ।

धमलाले ई स्पोर्टस् खेल मात्र नभएर एउटा उद्योगकै रुपमा विकास गर्न सकिने बताए । उनले भने, ‘ई स्पोर्टसलाई खेल मात्र नभएर एउटा इन्डस्ट्रिकै रुपमा किन परिणत नगर्ने ? हामीले पनि खेलाडीका लागि राम्रो अवसर सिर्जना गर्नुपर्छ । जसले गर्दा राम्रो प्रदर्शन गर्न पनि सहयोग पुग्छ ।’

पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए संघले जनाएको छ ।

कुल पुरस्कार राशि १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र ई फुटबलमा १ लाख रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्टस् संघले सहयोग गरेका छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको र कर्णाली प्रदेशमा रहेका ई स्पोर्टसका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए ।

ई–स्पोर्टस् कर्णाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय