+
+

भुटानी शरणार्थी प्रकरणमा के थियो प्रतीकको भूमिका ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १४ गते २०:४२

१४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएको एक वर्षपछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष टोलीले थापालाई बौद्धबाट पक्राउ गरेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरलाई बताए । उनका अनुसार थापालाई शुक्रबारै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइने छ ।

शनिबार बिदा भएकाले आइतबार जिल्ला अदालत, काठमाडौंमा पेस गरिने उनले बताए । प्रहरी स्रोतका अनुुसार, पूर्वगृहमन्त्री पुत्र प्रतीक कहिले भारतको देहरादुन त कहिले सिलगढी बस्दै आएको खुलेको थियो । ‘कहिलेकाहीँ नेपालमा पनि आइरहेका छन् भन्ने सूचना थियो’, स्रोतले भन्यो, ‘त्यहीक्रममा नेपाल आएको थाहा पाएपछि पक्राउ गरेका हौं ।’

पक्राउ पुर्जी जारी भएलगत्तै थापाले प्रेस वक्तव्य जारी गरेर ‘संवेदनशील विषय भएकाले अनुसन्धानलाई सहयोग गर्ने’ बताएका थिए । तर हालसम्म फरार थिए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

दुलाल र भण्डारीको बयानबाट यो प्रकरणमा हाई–प्रोफाइलहरूको संलग्नता खुलेको थियो । त्यसक्रममा पूर्वगृहसचिव, मन्त्रीदेखि नेताहरूका छोराहरूले रकम लिएकोसम्म उनीहरूले बयान दिएका थिए ।

के थियो प्रतीकको संलग्नता ?

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार पीडित प्रेमराज पन्थीले जाहेरीमा आफूले रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई जोरपाटीको एक रेष्टुरेन्टमा भेटेको उल्लेख गरेका छन् ।

‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २०७७ सालको असोज महिनाको ८/१० गतेतिर मलाई जोरपाटीमा बोलाएका थिए, त्यहाँ केशवप्रसाद दुलाल, प्रतीक थापासँगै बसेका थिए,’ उनले भनेका छन्, ‘त्यतिबेला प्रतिक थापाले म, रामशरण केसी र सागर राईलाई तपाईंहरूको काम अब अगाडि बढ्छ, रकम जम्मा गरेर केशव दुलाललाई दिनु भनेका थिए ।’

त्यसअनुसार चिरञ्जीवी आचार्यमार्फत आएको १ करोड रुपैयाँ रातो–सेतो रंगको जेब्रा झोलामा होलेर स्कुटरमा नगद लिएर आउ भनेको स्थानमा गएको उनले उल्लेख गरेका छन् ।

‘त्यसरी भनेको निलगिरि रेष्टुरेन्टमा जाँदा त्यहाँ प्रतीक थापा र केशवप्रसाद दुलाल दुवै जनाले नगद भएको झोला गाडी पार्किङमा रहेको कारमा राखिदिनु भनेका थिए,’ उनले भनेका छन्, ‘त्यसपछि म र रामशरण केसीले नगद भएको झोला झिरेर राखिदिएको हो ।’

काम हुन्छ/हुन्छ भन्दाभन्दै झुलाएकोमा पछि संसद् विघटन भएपछि भण्डारीले नेता टोपबहादुर रायमाझीसँग कुरा गरेको उनले भनेका छन् । त्यतिबेला टोपबहादुरले ‘फेरि हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भनेको’ जाहेरीमा उल्लेख छ ।

यसपछि भण्डारी र दुलाललाई रकम फिर्ता गर्न दबाब दिन थालेको भन्दै उनले भनेका छन्, ‘यसपछि रकम फसेको र काम पनि नहुने भएपछि मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवदेन दिएको थिएँ ।’

रकम फिर्ता गर्न दबाब दिंदा प्रतीक थापाले इन्द्रजीत राई (तत्कालीन सुरक्षा सल्लाहकार) को सुनाकोठीमा भएको फ्याक्ट्री आफूलाई पास गरिदिनुपर्ने र आफूले ६० प्रतिशत रकम फिर्ता गर्ने बताएको भनिएको छ ।

प्रतिवादी सानु भण्डारीले प्रतीक थापाले भनेअनुसार उनकी आमा नैनकला थापालाई समेत पैसा दिन भनेको खुलाएका थिए । बादलका छोरा प्रतीक र अर्का प्रतिवादी सन्देश शर्मा साथी भएकाले उनीसँग भेट भएको प्रतिवादीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?