+
+
रास्वपामा रडाको :

रविले मुकुललाई कारबाही गर्न खोजेका हुन् ?

विगतमा अरु पदाधिकारीले प्रश्न गर्दा सभापति लामिछानेले संरक्षण गर्दै आएका थिए, तर अहिले लामिछाने स्वयं उनीसँग रुष्ट देखिएको रास्वपाका नेताहरु बताउँछन् । पार्टीको अनुशासन आयोगले मुकुललाई शुक्रबार स्पष्टीकरण पनि सोधेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ असार १४ गते २१:४६

१४ असार, काठमाडौं । रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टीको आग्रहमा एक महिने समीक्षा यात्रा गरे । अहिले सोही यात्राका कारण पार्टीभित्र उनकै राजनीतिबारे समीक्षा सुरु भएको छ ।

३८ जिल्लामा पुगेर गरेको अन्तरक्रिर्याका आधारमा ढकालले पार्टी गम्भीर विरामी भएको र नसच्याए विवेकशील बन्नसक्ने निष्कर्षसहित प्रतिवेदन तयार पारे ।

बुधबार साँझ सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदा आफ्नो ‘व्यक्तिगत राजनीतिको सवाल’बारे पनि चिन्ता गरे । अनि सञ्चारकर्मीहरुसँग त आफूलाई कारबाही हुनसक्ने प्रष्ट संकेत गरे ।

‘हाम्रो पार्टी विवकेशील बन्ने बाटोमा छ भन्दा म महामन्त्रीबाट घोक्र्याइनसक्छु’, उनले भनेका छन् ।

१५ वैशाखको उपचुनावमा इलाममा नराम्रो हार व्यहारेपछि रास्वपाले नै महामन्त्री ढकाललाई समीक्षाको जिम्मेवारी दिएको थियो । सभापति लामिछानेले नै घन्टी दिएर यात्रामा पठाएका थिए ।

पार्टीको निर्देशनअनुसार महिना दिनसम्म यात्रा गरेर प्रतिवेदन दिँदा पनि रास्वपाले महामन्त्री ढकाललाई कारबाही गर्ला त ?

रास्वपा नेताहरुका अनुसार ढकालमाथि कारबाही नहोला भन्न सकिन्न । तर यो रास्वपा ०८४ मा राष्ट्रिय पार्टी पनि बन्न सक्दैन भन्ने समीक्षा प्रतिवेदन पेश गरेकै कारण भने हुने होइन ।

नेताहरुका अनुसार, महामन्त्री ढकालको कार्यशैलीप्रति पार्टीभित्र पहिलेदेखि नै असन्तुष्टि थियो । विगतमा अरु पदाधिकारीले प्रश्न गर्दा सभापति लामिछानेले संरक्षण गर्दै आएका थिए, तर अहिले लामिछाने स्वयं उनीसँग रुष्ट देखिएको रास्वपाका नेताहरु बताउँछन् । पार्टीको अनुशासन आयोगले मुकुललाई शुक्रबार स्पष्टीकरण पनि सोधेको छ

रविको विश्वासपात्र थिए ढकाल

२०७४ सालमा एमबीबीएस सकेपछि एक गैरसरकारी संस्थामार्फत जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । संस्थाले जुम्लापछि कालिकोटको रास्कोटमा काम गरेको थियो । त्यतिबेला उपचार अभावमा कालिकोटवासीले भोग्नु परेको दुःख देखेर मुकुलले अस्पताल बनाउने परिकल्पना गरेका थिए ।

तर, उनी एक्लैले त्यो परियोजना सफल पार्न सम्भव थिएन, नगरपालिकासँगको सहकार्य मात्र पनि पर्याप्त हुने उनले देखेनन् । त्यसपछि काठमाडौं आएर टेलिभिजन कार्यक्रममार्फत वाहवाही पाइरहेका रवि लामिछानेसँग उनले भेट गरेर आफ्नो योजना सुनाएका थिए ।

लामिछानेले ढकालको योजनालाई अपनत्व लिएपछि स्वेदश र विदेशबाट सहयोग संकलन गरे र १५ शय्याको रास्कोट अस्पताल तयार गरे । अस्पताल बनाउने अभियानमार्फत् ढकाललाई नजिकबाट चिन्न पाएका लामिछानेले राजनीतिमा आउने तयारी गर्दा पनि उनलाई साथमै लिए ।

रास्वपा नेताहरुका अनुसार, वैचारिक र कानूनी विषयहरुलाई दफा–दफा अध्ययन गरेर स्पष्ट पार्ने शैलीले ढकाललाई लामिछानेको नजिक बनाएको थियो । २०७९ सालमा उनी ललितपुरको मेघा अस्पतालमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर २०७९ असारमा रास्वपा स्थापना गर्नुअघि उनीसँग पार्टी राजनीतिमा आउन प्रस्ताव गरे । अस्पतालको जागिर छाडेर आफूलाई साथ दिएपछि लामिछानेले मुकुललाई महामन्त्रीको महत्वपूर्ण जिम्मेवारी समेत दिए ।

रास्वपाले मंसिरको चुनावमा अप्रत्यासित सफलता हात पार्‍यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपा २१ सांसदसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बन्यो । रास्वपामा सभापति लामिछाने र महामन्त्री ढकालको जोडी जम्यो ।

कार्यशैलीमाथि निरन्तर प्रश्न

महामन्त्रीका रुपमा ढकाल पार्टीको विधान तयार गर्नेदेखि चुनाव चिह्न छान्ने विषयसम्ममा नेतृत्वदायी भूमिका खेले । तर, रास्वपाका नेताहरुका अनुसार, उनको कार्यशैलीप्रति पनि सुरुदेखि नै नेताहरुको असन्तुष्टि थियो ।

‘पार्टी बन्नु अगावै सभापतिसँग रास्कोट अस्पतालको परियोजनमा जोडिएपछि महामन्त्री पनि बन्नुभयो, तर पार्टी ठूलो बन्दै जाँदा कार्यशैली भने सबैले स्वीकार्ने खाल्को भएन’, रास्वपाका एक पदाधिकारीले भन्छन्, ‘जसलाई पनि डाङ्डुङ भन्दिहाल्ने, एकल निर्णय लिइहाल्ने र अरुको कुरा सुन्दै नसुन्ने भनेर पहिल्यैदेखि असन्तोष थियो ।’

रास्वपाका प्रदेश कमिटी कुनै बेला ६४ सदस्यीयसम्म पुर्‍याउने त कहिले घटाएर ११ सदस्यीय बनाउने निर्णयमा महामन्त्री ढकालले छलफल नै नगरी एकल रुपमा निर्णय गर्ने गरेको भन्दै पार्टीका अर्का एक जना केन्द्रीय सदस्य भन्छन्, ‘निर्वाचिन क्षेत्र कमिटी बनाउने प्रस्ताव पनि उहाँकै थियो, खारेज गर्ने निर्णय पनि उहाँकै थियो ।’

प्रदेश इञ्चार्ज बनाउने बेला पनि छलफलभन्दा सभापति लामिछानेलाई देखाएर आफू एक्लैले गर्ने गरेको कतिपय नेताको आरोप छ । जलेश्वर बैठकका बेला आएको राजनीतिक प्रतिवेदनदेखि पार्टीको अधिकांश निर्णयमा ढकालले छलफललाई निरुत्साहित गरेको ती केन्द्रीय सदस्यको आरोप छ ।

एक नेताका अनुसार, जलेश्वर बैठकअघि ढकालको नेतृत्वमा बनेको कमिटीले तयार गरेको प्रतिवेदनमा थुप्रै आन्तरिक बहस पनि भए । पछि त्यसमाथि छलफल गर्न फेरि नीति विकास समिति बनाएर काम गर्नुपरेको उनी बताउँछन् । यस्तोमा महामन्त्री ढकालले जिम्मेवारीबाट हटाइनसक्ने भन्दै दिएको अभिव्यक्तिसँग प्रतिवेदन मात्र नजोडिने रास्वपाका एक नेता बताउँछन् ।

उनका अनुसार, समीक्षा यात्रामा जानुअघि भएको निर्णयमै प्रतिवेदन तयार भएपछि सचिवालय बैठकमा छलफल गरेर केन्द्रीय कमिटीमा पेश गर्ने भनिएको थियो ।

‘तर उहाँले पार्टीभित्र सामान्य छलफल गर्ने चरणमा पनि प्रवेश नै नगराइ ती विषयलाई बाहिर सार्वजनिक गराउन मात्र जोड दिनुभयो’, ती नेताले भने, ‘सभापति लामिछाने आफैं सरकारमा गएका बेला पार्टीमा महामन्त्री कार्यकारी सरह भूमिकामा हुनुहुन्थ्यो, फेरि प्रवक्ता पनि आफैं भएका रहँदा बोल्न पाइन भनेका कुराले के बुझ्ने ?’

बरु ढकालले पार्टीका अन्य पदाधिकारीलाई भने विधान अनुसारको काम मात्र गर्न भन्दै पटकपटक सचेत गराउने गरेको एक सचिवालय सदस्यले बताए ।

नेताहरुका अनुसार, १५ वैशाखमा इलाम भएको उपचुनावमा रास्वपा उम्मेदवार मिलन लिम्बुले जमानत समेत जोगाउन नसकेपछि २१ वैशाखमा पार्टीको सचिवालय बैठक बसेको थियो ।

‘त्यसक्रममा नेताहरुबीच कमीकमजोरीबारे चर्काचर्की भएको थियो, इलामको स्थितिबारे समीक्षा गर्ने क्रममा एकअर्कालाई आरोप–प्रत्यारोप भएका थिए’, ती नेताले भने, ‘बैठकमा पार्टीको कमजोर भएको भन्दै महामन्त्रीप्रति पनि प्रश्न उठेको थियो । चुनावअघि पार्टीको प्रदेश सभापति हटाएकादेखि अन्य विषयहरु पनि उठेका थिए ।’

कोशी प्रदेशका सभापति लालविक्रम थापा चुनावअघि निलम्बनमा परेका थिए । उनीबारे एउटा उजुरी परेको भन्दै पार्टीको अनुशासन समितिले छानबिन गरेको थियो । छानबिनपछि उनलाई कारबाही गर्नुनपर्ने समितिले निष्कर्ष निकालेको थियो ।

तर, महामन्त्री ढकालले अनुशासन समितिको सिफारिस विपरित निलम्बन गरेका थिए । अनुशासन समितिका पदाधिकारीहरुले आफ्नो अधिकार प्रयोग गर्न नपाएको भनेर राजीनामा दिने तयारी समेत गरेका थिए ।

प्रतिवेदनले झन् बढ्यो असन्तुष्टि

इलाम उपचुनावको नतिजा समीक्षा गर्न बसेको सचिवालय बैठकले नै अन्तिममा महामन्त्री ढकाललाई पूर्व–पश्चिम यात्रा गरेर समीक्षा प्रतिवेदन तयार पार्ने जिम्मा दिने निर्णय गरेको थियो ।

जानकारहरुका अनुसार, स्वर्णिम वाग्लेको पार्टी प्रवेशले पनि भूमिका खुम्चिन सक्नेमा ढकाल सशंकित थिए । रास्वपाका एक नेताका अनुसार, सभापति रवि लामिछाने पछिल्लो समय महामन्त्री ढकालप्रति त्यति खुशी थिएनन् ।

नेताहरुका अनुसार, सभापति व्यक्तिगत विवाद र मन्त्रालयको काममा अल्झिरहँदा पार्टी नेतृत्व लगभग महामन्त्रीकै जिम्मा थियो, तर महामन्त्री ढकालले गरेको अधिकांश काममा अन्य पदाधिकारीहरुको असन्तुष्टि रहिरहन्थ्यो । यस्तोमा समीक्षा यात्रा प्रतिवेदनपछि रास्वपामा ढकालविरुद्ध थप असन्तुष्टि सुनिन थालेको छ ।

डा. ढकालले प्रतिवेदनसँगै बुझाएको पत्रमै आफ्नो कुराहरु कहिल्यै जनतालाई भन्न नपाएको भन्दै भनेका छन्, ‘नराम्रा जति मेरा, राम्रा जति सबै अरुका भए, मेरा कुरा पनि के छ, त्यो जनताले थाहा पाउनुपर्छ ।’

पार्टी स्थापना अगावैबाट संगत भएर सभापतिको विश्वासपात्रका रुपमा चिनिएका महामन्त्री ढकालले नै यस्तो अभिव्यक्ति दिनुले आफू छक्क परेको एक केन्द्रीय सदस्य बताउँछन् ।

‘पार्टीको समीक्षा गरेर फर्किनुभएको उहाँले आफैं अन्यायमा परेँ भनेर पत्रमा लेख्नुभयो, सभापतिनिकट भएकाले पनि उहाँले भनेको कुरा पार्टीमा कसैले अस्वीकार गर्ने ठाउँ थिएन’, उनी भन्छन्, ‘यो अवस्था कसरी आयो भन्ने अनौठो लागेको छ । उहाँबारे असन्तुष्टि भएपनि अहिल्यै कुनै निर्णय लिने तहमा पुगिसकेको थियो भन्ने लाग्दैन ।’

पार्टी संगठनको नेतृत्व महामन्त्री आफैंले गर्ने भएकाले यस्तोमा संगठन ध्वस्त भयो भन्ने ढकालको निष्कर्षले उनी आफैं पनि नैतिक संकटमा परेको उनी बताउँछन् ।

‘अहिले पार्टीभित्रका धेरै पदाधिकारीहरुले प्रतिवेदनबारे सोधिरहनुभएको छ’, उनी थप्छन्, ‘यस्तोमा विगतमा राम्रो भएको जसमा पनि उहाँलाई दिने हो, नराम्रो भएको जिम्मेवारी पनि उहाँले कहीँ न कहीँ लिनु पर्ला नि !’

उनको भनाइमा, महामन्त्री ढकालले जिल्लामा गएका बेला ‘यस्तो तरिकाले समीक्षा संकलन हुँदैन’ भनेर पार्टीमा पदाधिकारीहरुलाई फोन गरेर गुनासो समेत गरेका थिए ।

‘मनमा लागेकालाई कारबाही गर्नेलगायतका कारणले प्रदेश र ग्रासरुटसम्मका साथीहरु रुष्ट हुनुहुन्थ्यो’, उनले भने, ‘त्यसमाथि पछिल्लो समय उहाँ जहाँ–जहाँ जानुभयो, त्यहाँबाट पनि पार्टीलाई राम्रो सूचना आएन ।’

रास्वपाका एक सांसद् भने वैचारिक र अध्ययनको पाटोमा महामन्त्री ढकाल राम्रो भएपनि कतिपय विषयमा कुटनीतिक रुपमा प्रस्तुत हुनसक्दा समस्या भएको बताउँछन् । ‘कतिपय कुरा ठिकै भन्नु भएको हुन्छ, तर शैलीका कारण साथीहरु रुष्ट हुनुभएको हुन्छ’, उनले भने, ‘कति पटक सभापति लामिछानेले उहाँले भन्न खोज्नु भएको यस्तो हो भनेर समेत सहजिकरण गरिदिनु परेको छ ।’

महामन्त्री ढकाल चिकित्सा पेशा छाडेर राजनीतिमा आएपनि राजनीतिक चरित्रमा ढल्न नसकेको आरोप उनको छ । प्रतिवेदनसँगै सभापति लामिछानेलाई बुझाएको पत्रमा भने महामन्त्री ढकालले ‘आफूले गर्दै नगरेको कामलाई पनि आफ्नो नाममा थुपारेर पार्टीभित्र घृणित राजनीति भएको’ उल्लेख गरेका छन् ।

पत्रमा उनले आफ्नो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पनि सभापति लामिछानेसमक्ष माग गरेका छन् । ‘यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ, ममाथि न्याय गरियोस्’, उनले भनेका छन्, ‘यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।’

प्रतिवेदन बुझेपछि सभापति लामिछानेले भने महामन्त्री नागरिकको प्रतिक्रिया लिएर आएपछि समीक्षा गरेर आएपछि उपचार गर्नुपर्छ भनेको भन्दै भनेका छन्, ‘लामो समयका लागि के गर्ने भन्ने रणनीतिक कुरा हो, त्यसको व्याख्याहरु पढ्नुपर्छ । रास्वपाले निर्मम समीक्षा गर्छ ।’

यद्यपि, रास्वपाका नेताहरु महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनलाई पार्टीले अपनत्व लिने र सार्वजनिक हुने सम्भावना न्यून रहेको बताउँछन् । सचिवालय बैठकमा छलफल भने हुने ती नेताले बताए । ‘अहिले सभापतिज्यूले अध्ययन गरिरहनु भएको छ, त्यसपछि निर्णय गर्छौं’, ती नेता भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?