+
+

मल बीउको अभाव हुन दिइँदैन : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते ९:४०

१५ असार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताए ।

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम  बजेटमा प्राथमिकतामा राखिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारले पूर्ण तागत लगाउने बताए ।

कृषिमा यान्त्रिकीकरण र व्यवासयीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले किसानहरुले उत्पादन गरेका बस्तुहरुको न्यूनत्तम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने बताए ।

देशको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत कृषिको रहेको र त्यसमा पनि धानको १५ प्रतिशत रहेको भन्दैं प्रधानमन्त्री प्रचण्डले सडक सञ्जालको विस्तार, दुई छाक भातै खाने भन्ने सोच, जनसंख्या वृद्धि जस्ता विषयले बार्षिक अरवौं रुपैयाँको धान चामलको आयात हुने गरेको बताए ।

उनले बढ्दो आयातले परनिर्भरता चुलिंदै जानुका साथै व्यापार असन्तुलन पनि बढेको बताए ।

धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री प्रचण्डले बताए ।

कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको भन्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरे ।

धान दिवस मनाउन चितवन आएका प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका- ६ केशरबाघमा हुने धान रोपाइँको अर्को कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?