+
+
दिलै खोलेर :

‘गितार बजाउन सिकिरहेको छु, डान्स सिक्ने मन छ’

करिअर बनाउने दौडमा यसरी हिंडिएछ कि मनपर्ने र आफूखुशी हुने कुरा छोडेर लागिएछ । अब त उमेरका कारण पनि कहाँ गएर पढ्ने, डान्स सिक्न कहाँ जाने भन्ने हुँदोरहेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १५ गते १९:०७

‘जात्रा’ देखि ‘महाजात्रा’ सम्म आइपुग्दा प्रदीप भट्टराई नेपालको एक सफल र चर्चित निर्देशकका रूपमा चिनिन्छन् । ‘कमेडी च्याम्पियन’को जजका रूपमा उनलाई टिभीमा हेर्ने दर्शकको संख्या पनि ठूलो छ । प्रदीपले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

अहिले त यत्तिकै बसाइ मात्रै छ । ‘महाजात्रा’ सिनेमा निर्माण र प्रदर्शनपछिको थकान मेटिरा’को छु । के गर्ने भन्ने सोचेको पनि छैन । बरु केही फिल्महरू हेरिरा’को छु ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

म प्रायः सबै कुरामा खुशी नै हुन्छु । पहिले स–साना कुरा र समाचारले पनि दुःखी बनाउँथ्यो । अहिले सबै कुरामा खुशी हुनुपर्छ भन्ने लाग्छ । कुनै पनि कुरा घटित हुन्छ भने हुनुपर्ने भएकैले त्यो भएको हो भन्ठान्छु । सुन्दा अप्ठेरो सुनिए पनि म कुनै पनि कुराप्रति तटस्थ रहने र त्यसलाई स्वीकार्ने प्रयास गर्छु । जुन कुरा तपाईंको वशमा छैन, त्यसमा दुःख मनाउनुको अर्थ छ जस्तो मलाई लाग्दैन ।

३. दिक्क बनाएको कुरा ?

माथिकै कुरा हो, दिक्क पनि खासै केही कुरामा हुन्न । अलिकति चिन्तित चाहिं नेपालका युवाहरू जुन हिसाबले विदेश गइरहेका छन्, त्यसले बनाएको छ । युवाले देशमा भविष्य नदेख्नु चिन्ताको विषय हो । उनीहरू किन विदेश गइरहेका छन् भन्ने खास कुरा त जानेलाई नै थाहा होला, बस्ने र हेर्नेको मनमा चाहिं देशमै केही नगरेर किन विदेश गइरा’होलान् ? देशको माया किन नलागेको होला ? राज्यले किन रोक्न नसकेको होला जस्तो प्रश्न उठ्दो रहेछ ।

४. अबका योजना के छन् ?

योजना त सिनेमै बनाउने हो । अब कस्तो बनाउने भन्ने चाहिं प्रश्न मेरो सामुन्ने छ । रमाइलो खाले फिल्म बनाउने मान्छेको छवि दर्शकमाझ बनेको छ मेरो । म चाहिं अलि पर बसेर आफूलाई नियालिरहेको छु । यसबाट अबको बाटो पत्ता लाग्छ कि ?

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

एउटा त परिवार नै हो । त्यस सँगसँगै अध्यात्म । मानिसको अवस्था र सोच जे–जस्तो भए पनि उसको मनमा शान्ति छैन भने परिवारसँग बसेको समयको पनि अर्थ हुँदैन रहेछ । अध्यात्म सबभन्दा महत्वपूर्ण जस्तो लागिरा’छ ।

मानिसको अवस्था र सोच जे–जस्तो भए पनि उसको मनमा शान्ति छैन भने परिवारसँग बसेको समयको पनि अर्थ नहुनेरहेछ । अध्यात्म सबभन्दा महत्वपूर्ण जस्तो लागिरा’छ ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

संगीतमा रुचि पुरानै हो । तर, मन भए पनि विभिन्न कारणले यसमा समय दिन पाएको थिइनँ । अहिले समय दिइरहेको छु । म गितार बजाउन सिकिरहेको छु । अरू पनि त्यस्ता पुराना सोख र रुचि छन् । विस्तारै तिनलाई पनि पूरा गर्ने मन छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

नेपाली समाजको सबभन्दा राम्रो पक्ष भनेको नेपालीहरू असाध्यै सहयोगी छन् । अहिले पनि हामी कोही मान्छेलाई भेट्यो भने ‘खाना खानुभयो, चिया खानुभयो’ भनेर सोध्छौं । त्यसको अर्थ खाएको छैन भने खुवाउँ भन्ने हो । यो एकदमै राम्रो हो ।

यो परम्परा नेपाली समाज भइञ्जेल रहिरहोस् भन्ने लाग्छ । नराम्रोचाहिं हामी नकारात्मक भइरहेका छौं । फेक न्युजलाई तुरुन्त पत्याउने । हो कि होइन भनेर भेरिफाई नगर्ने, गाली गरिहाल्ने । जसले जे भने पनि नबुझिकन प्रतिक्रिया गर्ने बानी राम्रो होइन ।

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

एकदमै धेरै हेर्छु । सिनेमा, विश्व र राजनीतिका समाचार सबै हेरिन्छ । अहिले अनलाइनहरू पनि जे बिक्छ त्यो बेच्ने होडमा भए जस्तो लाग्छ ।

फिल्ममेकर, कृषक, व्यापारी जस्तै मिडिया पनि बिक्नेकै पछि दौडिएको, भाइरलकै पछि लागे जस्तो लाग्छ । मिडियाले दिनुपर्ने, ‘फिडिङ’ गर्नुपर्ने कुराहरू के हो भन्नेतिर नलागी केवल नाफा कमाउने चक्करमा मिडिया लाग्नुभएन । मिडियाले ज्ञान, दृष्टिकोण दिएर दर्शकको समझ बढाउने काम गर्नुपर्छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

मलाई पढ्न मन लागेको छ । विभिन्न कारणले इच्छा हुँदाहुँदै पनि एकेडेमिक पढाइलाई अघि बढाउन सकिनँ । मलाई डान्स गर्न पनि मन लाग्छ । करिअर बनाउने दौडमा यसरी हिंडिएछ कि मनपर्ने र आफूखुशी हुने कुरा छोडेर लागिएछ । अब त उमेरका कारण पनि कहाँ गएर पढ्ने, डान्स सिक्न कहाँ जाने भन्ने हुँदोरहेछ । तर, गितार सिक्न थाले झैं यी पनि पूरा गर्नेछु भन्नेचाहिं मनमा छ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

सबैभन्दा पहिला त हामीले छोडेर जाने चिज बचाइदिनुपर्‍यो । अबको पुस्तालाई तपाईंको सम्पत्ति र ज्ञान काम लाग्दैन । ज्ञान पनि समय अनुसार बदलिन्छ । आउने पुस्तालाई यो पृथ्वीमा बस्न सक्ने बनाउनलाई पृथ्वी, हावापानीको शुद्धता बचाइदिनुपर्‍यो । अनि अर्कोचाहिं संस्कार । संस्कार भत्कियो भने सबै कुरा भत्किन्छ ।

किताब

१. पढ्ने बानी कत्तिको छ ? पढ्ने बानी कसरी बस्यो ?

पढ्छु नै । पहिला कोर्स बुक पढियो । एउटा समयमा सिनेमामा पहुँच थिएन तर कथा सुन्ने कुरासँग रुचि थियो । वेदप्रकाश शर्माका किताबहरू पढियो । सर्लाहीमा क्लबले खोलेको लाइब्रेरी थियो । हरिवनमा दाइहरूले ल्याएका किताबहरू पढियो ।

पहिले काठमाडौंमा आरएनएसी बाहिरको सेकेन्ड ह्यान्ड किताब पसलबाट किनेर पनि पढियो । पैसा नहुँदा कति त त्यहीं उभिएर पनि पढियो । पछि ध्रुवचन्द्र गौतम, अमर न्यौपाने, नयनराज पाण्डे, बुद्धिसागरका उपन्यासहरू पढियो ।

२. पढ्न मनपर्ने विधा ?

अध्यात्म र आफैंलाई चिन्ने कुराहरू । हालै डा. सरोज धितालले अनुवाद गर्नुभएको ‘जिउनुको मजा’ पढें । अध्यात्म सम्बन्धी पुस्तकहरू अचेल बढी पढ्छु ।

३. सबभन्दा मनपरेको वा प्रभाव पारेको पुस्तक ?

मलाई एकदमै मन परेको अमर न्यौपानेको कथा संग्रह ‘पानीको घाम’ ।

४. निराश बनाएको पुस्तक ?

त्यस्तो पढ्न पाएको छैन कि ? धेरै जनाले सिफारिस गरेपछि बल्ल कुनै किताब पढ्ने बानी छ । निराश बनाउने पुस्तकहरू किनेर ल्याएर घरमा राखेको तर नपढेको हुनसक्छ ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

नेपालमा इतिहासका पुस्तकहरू आएनन् जस्तो लाग्छ । मान्छेले इतिहास पढ्यो भने इतिहासको राम्रो कुरा लिने र नराम्रो फाल्ने गर्न सक्छ । हाम्रो इतिहास बिर्सिने बानी छ । त्यसले गर्दा पनि इतिहास लेख्न र पढ्न आवश्यक छ जस्तो लाग्छ ।

अर्कोचाहिं अध्यात्म सम्बन्धी किताबहरू नेपालीमा खासै छैनन् । साहित्यसँग अध्यात्म जोडिएर आयो भने धेरैको पहुँचमा पुग्छ जस्तो लाग्छ । अध्यात्म भनेर आएका किताब थोरैले पढ्छन्, साहित्य धेरैले पढ्छन् ।

६. तपाईंका प्रिय लेखकहरू ?

अमर न्यौपानेको लेखाइ मनपर्छ । सानो चिजलाई मिहिन रूपमा वर्णन गर्ने शैलीले बुद्धिसागर मन पर्छ । नयनराज पाण्डे र महेशविक्रम शाहका कथा मन पर्छ । उपेन्द्र सुब्बाका कविता मन पर्छ । बाहिरका त्यति धेरै किताब पढिंदैन, नेपाली नै पढ्ने हो ।

८. फिल्ममेकर बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

फिल्ममेकर बन्न चाहनेले पुस्तकभन्दा पनि समाज पढ्नुपर्छ जस्तो लाग्छ । किताबमा पनि समाज नै पढ्ने हो तर साँच्चिकै तपाईंले टेकेको समाज पढ्ने हो भने काफी हुन्छ । फिल्ममा छुट्टै समाज बनाउनुपर्ने भएकाले पनि समाज नै पढ्नु र बुझ्नुपर्छ जस्तो लाग्छ ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुन पात्रसँग बिताउनुहुन्थ्यो ?

मैले भैरव अर्यालका बारेमा लेखिएका लेख र भिडियोहरू हेरेको छु । उहाँले कुन परिस्थितिमा लेख्नुहुन्थ्यो भन्ने कुरा सुन्दा ममा उहाँबारे जिज्ञासा छ । उहाँको जीवनबाट धेरै कुरा सिक्न सकिन्थ्यो जस्तो लाग्छ । चरम अभाव र समस्यामा पनि लेख्न नछोड्नु, परिस्थिति विरुद्ध लडेर साहित्यलाई गुन लगाउनुभएको छ । दुःखलाई जितेको मान्छे जस्तो लाग्छ । उहाँसँग एक दिन बिताउन पाए हुन्थ्यो ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

एकदमै सानोमा बुझ्दै नबुझी बुबाआमासँग हेरेको । तराईमा दिउँसो गर्मीका कारण नाइट शो हेर्ने चलन थियो । ‘रामायण’ भन्ने सिनेमा हेरेको थाहा छ । हनुमानले केराका थामहरू उठाएको मात्रै झल्याक–झुलुक याद छ ।

नेपालमा एकै खालका फिल्म धेरै बने जस्तो लाग्छ । जे चल्यो, त्यही बनाइराख्ने प्रवृत्ति भयो । त्यो विधामा दक्ष नभएको, थाहा नभएकाले पनि चलेको देखेर बनाउने अनि बिगार्ने भएको देखिन्छ । विभिन्न जनरामा फिल्म बन्नुपर्छ ।

बुझेर हेरेको चाहिं प्रकाश थापाको फिल्म ‘कन्यादान’ हो । एकदम रोएको थिएँ । विधवा विवाहको बारेमा छ फिल्म । यो फिल्म मैले हरिवनमै हेरेको हुँ, दुर्गा चलचित्र मन्दिरमा ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

समय समयको कुरा हुँदोरहेछ । १४–१५ वर्षको उमेरमा एक्सन फिल्म मनपथ्र्यो । कतिवटा फाइट छ भनेर हेरिन्थ्यो । अलि पछि लभस्टोरी मन पर्न थाल्यो । व्यवहारमा टेन्सन हुँदा रमाइलो फिल्म हेर्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । अहिले जीवन जिउन सिकाउने, प्रेरणा दिने फिल्महरू हेर्न मन पर्छ ।

३. साह्रै मन परेका फिल्म ?

विभिन्न समयमा हेरेका धेरै छन् । अहिले याद भएका– लाइफ इज ब्युटिफुल, गडफादर, देउता, तारे जमिनपर, दंगल, परस्युट अफ ह्याप्पिनेस, आफन्त ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

नेपालीको त के भन्नु सबै साथीभाइकै हुन्छन् । केही हिन्दी फिल्म छन् । नाम चाहिं बिर्सें । हुन त फिल्म हेर्ने कुरा फेरि पर्सनल हो । कसैलाई गजब लागेको फिल्म कसैलाई झुर लाग्न सक्छ ।

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

एकदमै धेरै जनाले भनिसकेपछि बल्ल हेर्छु । चार–पाँच जनाले भनेपछि बल्ल हेर्छु । कि एकदमै फिल्म बुझेको मान्छेले भन्यो भने हेर्छु ।

एकथरी मान्छेले होहल्लाका लागि पनि सामाजिक सञ्जालमा फिल्मबारे लेखिरहेका हुन्छन्, आफूलाई फिल्म हेर्ने–बुझ्ने देखाउनलाई । सिनेमा हेरेर स्टाटस लेख्नेको भरमा चाहिं म हेर्दिनँ ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

नेपाली फिल्ममेकरमा तुलसी घिमिरे । कलाकारमा विपिन कार्की, सौगात मल्ल, दयाहाङ राई । केही नभएका सिनेमा पनि उहाँहरूले तानेर हिट भएका छन् । हलिउडमा क्विन्टिन टोरन्टिनो गजब लाग्छ । क्रिस्टोफर नोलान र डेविड फिन्सर पनि मन पर्छ ।

बलिउडमा राजकुमार हिरानी । उनको पछिल्लो फिल्म ‘डंकी’ गतिलो नभए पनि रमाइलो तरिकाले समाजलाई व्यंग्य गरेर ठूलो दर्शनको कुरा भन्ने उनको शैली र खुबी मनपर्छ ।

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

सिनेमा पनि मेरो विचारमा तत्कालीन परिस्थिति अनुसार बन्छन् होला । अवस्था अनुसारकै बन्नुपर्छ । नेपालमा भविष्य देख्ने मान्छेको जमात कम हुँदै गएको छ । फिल्ममेकरले त्यो देखाइदिनुपर्छ जस्तो लाग्छ ।

देशमा भविष्य छ भन्ने आदर्श मात्र होइन कि किन बसिरहेका छैनन् र किन बस्ने त भन्ने जस्ता कुरामाथि फिल्म मार्फत विमर्श गर्न सकिन्छ । नेपालमा भविष्य छैन भन्ने आगोसरी फैलिएको न्यारेटिभ भत्काउने फिल्म बन्नुपर्छ । राज्यले नसकेको फिल्ममेकरले कसरी रोक्छ भन्ने त होला तर फिल्ममेकरले खेल्ने अप्ठेरोमै हो । म पनि यो कुरा कसरी भन्न सकिन्छ भनेर सोच्दैछु ।

अर्कोचाहिं सम्बन्धका कथाहरू नै हो । पैसा, भविष्य, करिअर सबै सम्बन्धका लागि चाहिने हो तर हामी ती कुराले गर्दा सम्बन्धबाट टाढा भइरहे जस्तो लाग्छ । यसमा झकझक्याउनुपर्छ ।

नेपालमा एउटै खालका फिल्म धेरै बने जस्तो लाग्छ । जे चल्यो, त्यही बनाइराख्ने प्रवृत्ति भयो । त्यो विधामा दक्ष नभएको, थाहा नभएकाले पनि चलेको देखेर बनाउने अनि बिगार्ने भएको देखिन्छ । विभिन्न जनारामा फिल्म बन्नुपर्छ । हाम्रो फिल्म उद्योग एउटै खालको फिल्मको बगैंचा जस्तो भएको छ । यसमा धेरै रंग र सुवासका फूल भयो भने बल्ल आहा भन्ने हुन्छ, बगैंचामा धेरै फूल भए जस्तो । यस्तो भयो भने हलमा अडियन्सको फ्लो पनि बढ्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

सक्ने हो भने त अर्कै ठाउँमा पुर्‍याएकै मजा हो । हाम्रो सिनेमाले हाम्रै समाज मात्रै देखाइरहेका भएर पनि उस्तै लागेका होलान् । दुई घण्टा अर्कै संसारमा पुर्‍याउन पाए मजा हो । विडम्बना हामीकहाँ त्यस्ता फिल्म बन्दै बन्दैनन् ।

घुमफिर र सोख

१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

एकदमै मन पर्छ । तर, सबै समय सिनेमालाई दिने भइएछ । कतै घुम्न जाउँ भन्यो भने पनि १५ दिन त फिल्मलाई दिन पाए अलि राम्रो बन्थ्यो कि भन्ने लाग्दोरहेछ । घुम्न जाने पनि सुटिङमा मात्रै जस्तो भएछ । अहिले आएर थाहा भयो । त्यसैले अचेल अलि समय छुट्याएरै घुम्न थालेको छु । मान्छे त यात्री हो नि, एकै ठाउँमा जम्यो भने त के काम !

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

नेपालीहरू नै सबभन्दा धेरै गएको पोखरा होला । घुम्न जाने भनेकै पोखरा जस्तो भयो । म पनि पोखरा निकै गएको छु । काठमाडौंमा चाहिं पशुपतिनाथ र बौद्धनाथ धेरै गएको छु ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

११–१२ वर्षको उमेरमा दशैंमा टीका लगाएर पैसा दिन्छन् भन्ने लोभमा एकजना दाइको ससुराली गएको कहिल्यै बिर्सिन्नँ । एक दिनमा ११ कोस, झन्डै ३५ किलोमिटर हिंडेर सर्लाहीबाट सिन्धुलीको मरिन भन्ने ठाउँ पुगिएको थियो । बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म हिंड्दा खुट्टा सुन्निएका थिए । त्यतिबेला सारै दुःख भयो, अहिले सम्झिंदा रोमाञ्चक लाग्छ ।

हाम्रा नेताको सहनशक्ति बबाल छ । त्यो देख्दा त मलाई साँच्चिकै बुद्ध जस्तै लाग्छ । एउटा कार्यक्रममा एकले अर्कालाई गाली गरिरहेको हुन्छ, एकछिन पछि अँगालो मारिरा’को हुन्छ । हाम्रो त एउटा सानो गाली पनि महिनौं मनमा बस्छ ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

पहिला त गजबै सुनिन्थ्यो । यति सुनिन्थ्यो कि गीत सुनेर गायक, गीतकार, संगीतकार को हो भन्ने पत्ता लगाइदिन्थें । अहिले थोरै सुन्छु । राजेश पायल राई, अरिजित सिंह, सुगम सिंह, अञ्जु पन्त मन पर्छ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

पुरानो गीत सुन्न मन लागिरा’छ । बुढो भएर हो कि ! हाम्रो समयमा सिनेमाका गीत बढी चल्थे । उदितनारायण, कुमार सानु, अल्का याग्निक बढी सुनिन्थ्यो । म अहिले नारायणगोपाल, भक्तराज आचार्य, अरुण थापाका गीत सुनिरा’छु ।

६. के कुराको विशेष सोख छ ?

खाने, पिउने, लगाउनेमा खासै सोख छैन । केही यादै आएन । मेरो त सोखै छैन जस्तो छ !

७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

यो खानुपर्छ भन्ने थाहा छ । ४० कटेपछि खाना स्वास्थ्यसँग जोडिंदो रहेछ । पहिले साथीभाइ, रमाइलो र स्वादसँग जोडिन्थ्यो । तातो–पिरो खाने भन्ने हुन्थ्यो । पीरो, चटपटे सबै खाइन्थ्यो । अहिले खानेकुरामा सचेत छु ।

हामी त यति धेरै प्रदूषणमा बाँचिरहेका छौं, त्यसैले पनि स्वास्थ्यमा सचेत हुनुपर्छ । मनपर्ने परिकार मःम नै हो । बफाएर पकाइने, धेरै मसला र चिल्लो नहुने, सजिलो र सस्तो भएकाले नेपालका लागि मःम उपयुक्त हो भन्ने लाग्छ । मःमभित्रको मासु राम्रो भएको ठाउँचाहिं छान्नुपर्‍यो ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

हाम्रा नेताहरूले अहिलेसम्म पनि राजनीति सिकिरहनुभएको छ जस्तो लाग्छ किनभने सबै जना एकैठाउँमा हुँदा पनि न समस्या समाधान गर्न सक्नुभएको छ न हामीले सकेनौं भनेर हात उठाउनुहुन्छ । सिकारुहरूले सिकेको दिन राजनीति राम्रो हुन्छ होला ।

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

नेताहरूको नियत । नेताहरूको नियत सफा छ जस्तो लाग्दैन । देशलाई राम्रो हुने कुरामा धोका दिन, बदमासी गर्न पनि पाइयो । केन्द्रमा देश हुनुपर्‍यो । उहाँहरूको त केन्द्रमा आफू मात्र हुनुहुन्छ । उहाँहरूको पनि केन्द्रमा कुर्सी छ । कुर्सीलाई केन्द्रमा राखेर धोका दिन, बेइमानी गर्न पाइँदैन ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

हाम्रा नेताको सहनशक्ति बबाल छ । त्यो देख्दा त मलाई साँच्चिकै बुद्ध जस्तै लाग्छ । एउटा कार्यक्रममा एकले अर्कालाई गाली गरिरहेको हुन्छ, एकछिन पछि अँगालो मारिरा’को हुन्छ । हाम्रो त एउटा सानो गाली पनि महिनौं मनमा बस्छ ।

सुधार्नै मिल्ने भयो भने म नेताको परिभाषै बदलिदिन्थें । राजनीति पेशा भइरहेको छ, त्यसलाई नै सुधार्नुपर्छ । पेशा हुनासाथ छोराछोरी पाल्ने, परिवार चलाउने काम त्यही हुन जान्छ । आफ्नो आवश्यकता त्यसबाट पूरा हुनासाथ भण्डारमा पुग्नासाथ दुरुपयोग सुरु हुन्छ ।

यो पेशा होइन, विशुद्ध समाजसेवा हो भन्ने हुनुपर्छ । संसारमा छ कि छैन थाहा छैन, तर राजनीति गर्नेले छुट्टै पेशा गरेर ६ घण्टा मात्रै राजनीतिलाई समय देओस् भन्ने लाग्छ । त्यतातिर सोच्नुपर्छ । किनभने, आखिर बिगार्ने पैसैले हो ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

अहिलेको अवस्थामा चाहिं खासै कोही छैन । यो सिस्टम नै भ्रष्ट छ, यहाँबाट राम्रो नेता निस्किन गाह्रो छ । झुर स्कुलबाट गतिलो विद्यार्थी आउँदैन नि ! ठूलो दलको संगठनबाट नआएकाले होला बालेन, हर्क साम्पाङ जस्ता दुई–तीन जना मेयरको काम चाहिं मन परिरहेको छ ।

उहाँहरूले कहिलेसम्म आफूलाई जोगाउन सक्नुहुन्छ, त्यो चाहिं हेर्नै पर्छ । पहिलेकोमा चाहिं बीपी कोइराला गज्जब हुनुहुन्थ्यो भन्ने सुनेको छु । साह्रै राम्रो साहित्यकार पनि हुनुहुन्थ्यो । अहिले त कलम चलाउने नेता पनि छैनन् । समाज बुझेको मान्छेले, दुःख बुझेकोले गलत गर्दैन भन्ने लाग्छ । अहिलेका नेताका लागि जनताको दुःख भोट माग्ने एजेन्डा मात्रै भएको छ ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

असल हुन्थें होला । असल भइसकेपछि त्यो व्यक्तिले गर्ने सबै काम असल हुन्छ । नत्र, प्रधानमन्त्रीले एउटा मात्रै काम राम्रो गरेर त हुँदैन !

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

एमाले अध्यक्ष केपी ओली । उहाँसँग एक दिन बिताउन रमाइलो होला जस्तो लाग्छ । उहाँको बोली, किस्सा र जीवन नै रोचक छ । जेल जीवन, ठूलो बिरामी र दुईपटक मिर्गौला प्रत्यारोपण गर्दा पनि उहाँको बाँच्ने कला गजब लाग्छ । उहाँसँग धेरै कुरा सिक्न पाइन्छ होला । मलाई ओलीजी निडर पनि लाग्छ । बाँच्ने कला केपी ओलीसँग सिक्नुपर्छ जस्तो लाग्छ ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

औसतमा तीन घण्टा जति हुन्छ होला । घडीदेखि समाचारसम्म सबै मोबाइलमा छ । त्यसैले पनि बढी चलाइन्छ । सिनेमा रिलिजको बेला धेरै हेरिन्छ । धेरै चलाउने फेसबुक नै हो ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

फिल्म रिलिजको बेला हुन्छ । अरू बेला त म मोबाइल बाहिरै राख्छु, बेडरुममा लैजान्नँ ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

धेरै पसलको ठाउँमा सुपरमार्केट आए जस्तो भयो । संसारभरका सबै सूचना एकैठाउँमा प्राप्त हुन्छ । तर, यसको लत चाहिं खतरनाक छ । जति स्क्रोल गरे पनि सकिंदैन । यसको लतले गर्दा अझै पुगेको छैन, मैले हेर्ने चिज अझै आएको छैन जस्तो लागिरहन्छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

दुइटै उत्तिकै होला । यसले गर्दा आमसञ्चार भनेको मिडिया हाउसभन्दा पनि व्यक्तिमा बढी गयो । अब सूचनाका लागि मिडिया चाहिएन । पहिले रुकुमको कुनै घटना जनताले थाहा पाउन रेडियो, टिभी र पत्रिकामा आउनुपथ्र्यो भने अहिले एउटा व्यक्तिले फेसबुकमा ब्रेकिङ गर्न सक्छ ।

तर, अहिले धेरै क्लिक हुन्छ भनेर गलत र अतिरञ्जित कुरा र समाज भड्काउने कुराहरू पनि सञ्जालमा आउँछन् । ती हुँदै नभएका कुरा पनि हुन्छन् । मान्छेले सञ्जालमा आएका कुराको वास्तविकता जाँचेर विश्वास गर्न नसिकुञ्जेल खतरा छ । भेरिफाई नगर्नेका लागि त सञ्जाल खतरनाक छ । जे आउँछ त्यो विश्वास गर्नुहुँदैन ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ, त्यस्तो लाग्छ ?

गर्दैन होला । विस्थापित भन्दा पनि सञ्जालले मान्छेको धैर्य चाहिं कम गरिदिएको छ । मान्छेले लामो भिडियो नै हेर्न सक्दैन । तीस सेकेन्डमा टिकटक र रिलको भिडियो स्क्रोल गरिहालेको देख्छु । यसले गर्दा ठूलो किताब पढ्न गाह्रो चाहिं हुन्छ होला ।

पेशा/व्यवसाय

१. फिल्ममेकर हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

फिल्ममेकर हुनुको राम्रो कुरा समाजलाई एकैचोटिमा सिनेमा मार्फत ठूलो छाप छोड्न सकिन्छ । समाज परिवर्तनमा भूमिका गर्न सकिन्छ ।

कसैले गर्न नसकेको कुरा यसबाट गर्न सकिन्छ । नराम्रोचाहिं फिल्ममेकर बायस भयो भने त्यसको उल्टो प्रभाव पनि पर्न सक्छ । त्यसैले फिल्ममेकर असल हुनुपर्छ, शिक्षक असल भए जस्तो । फिल्ममेकर गलत भयो भने देशलाई नै असर गर्छ ।

२. कुन समयमा तपाईंलाई फिल्ममेकर नै बन्नुपर्छ भन्ने लाग्यो ?

म काठमाडौंमा थिए । जागिर–सागिर थिएन, के गर्ने भन्ने पनि पत्तो नाइँ । म पाटनमा बस्थें । एक दिन विश्वज्योतिमा शिव रेग्मीको ‘आफन्त’ फिल्म हेर्न गएँ । टिकट किन्ने पैसा थियो तर गाडी चढ्ने पैसा थिएन, त्यसैले हिंड्दै गएको थिएँ ।

त्यतिबेला फिल्मको ट्रेलर आउँथेन, सो कार्ड हुन्थ्यो । त्यो हेरेर फिल्मका गीत सुनेर हेर्न गएको थिएँ । त्यो फिल्म हेरेर निस्किंदा मनमा आयो– यस्तै खालको, समाजलाई केही दिने खालको फिल्म बनाउँछु । त्यो कसरी आयो थाहा छैन, त्यस दिनपछि फिल्म बनाउने हो भन्ने भयो ।

३. फिल्ममेकर नबनेको भए के बन्नुहुन्थ्यो होला ?

विदेशतिर कतै हुन्थें कि ! २०५९–६० तिर दरबार हत्याकाण्डपछि अवस्था धेरै राम्रो थिएन । हत्या, हिंसा र बन्द–हड्ताल चरममा थियो । दश वर्ष जस्तो देश ठप्प थियो । निसास्सिए जस्तो थियो । मान्छेले भविष्य देखेका थिएनन् । विदेश जाने त्यही बेलादेखि बढेको हो । म पनि बाहिर जानेमा नै हुन्थें होला । हरियो पासपोर्ट बोकेर हिंड्थें होला ।

४. तपाईंको कोही रोलमोडल छ ?

मैले जीवनमा धेरै कुरा सिकेको हिसाबले महजोडी नै हो । उहाँहरूसँग सिनेमा कम सिकें होला, जीवन बढी सिकेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?