+

आईसीसी टी-२० विश्वकप २०२४ फाइनल : प्लेयर्स टु वाच

२०८१ असार  १५ गते १३:३५ २०८१ असार १५ गते १३:३५
आईसीसी टी-२० विश्वकप २०२४ फाइनल : प्लेयर्स टु वाच

१५ असार, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ । भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकप च्याम्पियन बन्नसक्छन् । फाइनल खेलमा प्रभाव पार्न सक्ने दुबै टोलीका प्रमुख हतियार यस प्रकार छन् ।

मार्को यानसन – अलराउण्डर

दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउण्डर मार्को यानसन भारतलाई स्तब्ध पार्न सक्ने खेलाडी हुन् । सेमिफाइनलमा अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न यानसनले तीन विकेट लिएका थिए । पावर प्लेमा बलिङ गर्ने उनले डेथ ओभरमा पनि प्रभाव छाड्दै आएका छन् । जारी विश्वकपमा यानसनले ६ विकेट लिएका छन् । तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्दछन् । वेष्टइण्डिजलाई हराउन २१ रन जोडेका थिए । अर्कोतर्फ भारतीय ब्याटरको बायाँ हाते बलरविरुद्ध राम्रो इतिहास छैन । त्यसैले २४ वर्षीय यानसन खेलमा हिरो बन्नसक्छन् ।

जस्प्रित बुमराह-बलर

भारतका तीव्र गतिका बलर जस्प्रित बुमराह वर्तमान विश्व क्रिकेटका प्रमुख बलर हुन् । उनले पावर प्ले र डेथ ओभर दुवैमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनको सटिक योर्कर खेल्न विपक्षी ब्याटरलाई कठिन पर्छ । यस विश्वकपमा उनले १३ विकेट लिएका छन् । भारतलाई च्याम्पियन बनाउन उनको चार ओभर स्पेल निकै महत्वपूर्ण हुनेछ ।

हेनरिक क्लासेन-ब्याटर

दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर हेनरिक क्लासेन भारतविरुद्ध नायक बन्नसक्छन् । भारतको स्पिन आक्रामण मुख्य हतियार हो । दक्षिण एसिया बाहेक अन्य टोलीका ब्याटरको स्पिनविरुद्ध त्यति राम्रो इतिहास छैन । भारतले कुलदीप यादव, रवीन्द्र जडेजा र अक्षर पटेललाई स्पिनरको रुपमा प्रयोग गर्दै आएको छ । क्लासेन स्पिनविरुद्ध राम्रो खेल्ने गर्दछन् । आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । उनले जारी विश्वकपमा १३८ रन जोडेका छन् ।

रोहित शर्मा-ब्याटर

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा चलेको खण्डमा टोलीको जित एक्लै सहज बनाउन सक्छन् । रोहितले अष्ट्रेलियाविरुद्ध ४१ बलमा ७ चौका र ८ छक्कासहित ९२ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्ध ५७ रन जोडेका थिए । जारी विश्वकपमा उनले जम्मा २४८ रन बनाएका छन् ।

सन् २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै टी-२० विश्वकप उपाधि जित्दा रोहित भारतीय टोलीका सदस्य थिए । रोहितले १५८ टी-२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २ सय २२ रन बनाएका छन् । फाइनल खेलमा अतिरिक्त दबाब हुन्छ । उनले आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय