+
+
पुस्तक :

तगारो नाघ्न नसकेको ‘गल्ली संसार’

अध्ययन, अनुभव, भ्रमण र भोगाइका विशाल परिवेश हुँदाहुँदै पनि शेरचन कैयन् ठाउँमा अझै अधुरा देखिन्छन् ।

रामचन्द्र श्रेष्ठ रामचन्द्र श्रेष्ठ
२०८१ असार १५ गते १५:३३

‘गल्ली संसार’को भूमिकामा नै शेरचन ‘गल्लीबोध’ बारे लेख्छन्— ‘प्रकृति पहिलो दृष्टिमै देखिंदो रहेछ । समाजले भने देखिन समय लिंदोरहेछ ।’ त्यसमाथि समाज, मान्छे, प्रकृति, चिन्तन, बोध, भावना, दर्शन, काव्य आदित्यादिबारे शेरचनको विमर्श बुझ्न झनै समय लाग्छ ।

स्व र संसारको वैचारिकीमा रुमल्लिरहेको लेखकको लेखनी बुझ्नु एकै पठन, एकै बसाइ र एकै समय पर्याप्त हुँदैन । आज म जे बुझिरहेछु सम्भवतः केही समयपछि त्यो बुुझाइ रहने छैन । बोध पनि परिवर्तनशील हुँदोरहेछ । यसर्थ होइन कि शेरचन अबोधगम्य लेख्छन् वा अमूर्त लेख्छन् । जीवन अमूर्त नै हुन्छ । त्यसैले जीवनबारेको लेखनी बोधगम्य हुँदाहुँदै पनि अर्थका अनगिन्ती पत्रहरूले बनेका हुन्छन् ।

हामी एउटा पठनमा एकखालको स्वाद लिइरहेका हुन्छौं । एकखालको तर्क–वितर्क गरिरहेका हुन्छौं । हामीले बाँचिरहेको परिवेश, हासिल गरेको अनुुभव, तत्कालीन मनोदशा, आग्रह र पूर्वाग्रह आदि सबैले बोधको एउटा तह निर्माण गर्छ । समय फेरिन्छ यसअर्थमा कि परिवेशहरू फेरिन्छन् । घटनाहरू फेरिन्छन् । भोगाइको नयाँ चरण आउँछ । अनि हामीले त्यहीं लेखनलाई फरक तहमा पुुगेर बुझ्छौं ।

स्कुले जीवनमा पढेको थिएँ पारिजातको ‘शिरीषको फूल’ । प्रकाश कोविदको ‘देउता’ पढेर भावुक हुने उमेरमा ‘सकमबरी’ प्रति सुुयोगवीरको आसक्तिपूर्ण प्रेमाकांक्षाले निर्मित दुर्घटना पढेको थिएँ । त्यतिबेला के बुझेको थिएँ ? कथा र घटनाले त कैयौं दिन हल्लाएको थियो । मन बेचैन बनाएको थियो । ‘शिरीषको फूल’ अझै पनि प्रिय लाग्छ तर अनुुभूति र बुुझाइको तह त्योभन्दा फरक भइसकेको छ ।

शायद लेखन र बुुझाइको यो तहगत बुुझाइलाई बोध गरेर होला शेरचनले ‘लेखकको पुनर्जन्म’मा रोला बार्थको ‘लेखकको मृत्यु’को चर्चा गर्छन् । लेखक, पाठक र पाठको त्रिपक्षीय सम्बन्धको छोटो तर विशद चर्चा गर्छन् ।

अनि निष्कर्षमा पुुग्छन्— ‘पाठको गहिरो सत्य लेखक र पाठकको अन्तर्क्रियामा भेटिन्छ ।’ र, म यहाँ पाठको गहिरो ‘सत्य’ स्पर्श गर्ने प्रयत्नमा लेखकसँग पाठकको तर्फबाट अन्तर्क्रिया गर्ने प्रयत्न गर्दैैछु ।

‘मस्तिष्कहरूको मृत्युु’ र ‘चम्पारन ब्लुज’ पछि तेस्रो निबन्धकार कायामा अवतार भएका शेरचनको बोधलाई केही शब्दहरूमा बुझ्ने चेष्टा गरिरहेछु— विस्तृति, सन्दर्भ र सङ्केत, बिम्व, काव्यचेत, दार्शनिक उठान, जीवन्त व्यक्ति चित्रण, निष्कर्षात्मक वाक्य र तथ्य ।

विस्तृति

शेरचनको लेखनको महत्त्वपूर्ण आयाम भनेकै विस्तृति हो । उनी जीवनलाई फराकिलो आयामबाट हेर्न खोज्छन् । ‘गल्ली संसार’मा संग्रहित ४८ वटा निबन्धहरूलाई चार भागमा विभक्त गरिएको छ । ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू’ अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् ।

यी निबन्ध विषय विविधताले मात्र होइन सन्दर्भ र परिवेशहरूले पनि विस्तृत छन् । शेरचनको फराकिलो अध्ययन दायरा, वनविज्ञान र वातावरणीय विज्ञानको उनको दक्षता, फिल्म र भ्रमणले लेखनलाई विस्तृति प्रदान गरेको छ । भ्रमण उनको सबैभन्दा प्रिय देखिन्छ ।

खासमा ‘वैचारिकी’ खण्डका कैयन् निबन्धका स्रोत पनि भ्रमण नै छन् । विस्तृतिको एउटा स्रोत उनको अध्ययन हो । शेरचनको अध्ययन यात्रा विभिन्न पुस्तकालय हुँदै दौडेको देखिन्छ । ‘मेरा पुस्तकालयहरू’मा उनी आफ्ना जीवनका घुम्तीहरू बनेका सात पुस्तकालयहरूको चर्चा गर्छन् ।

सन्दर्भ र सङ्केत

‘गल्ली संसार’को यात्रा सुरु हुन्छ ‘बज्यै र देङ सियाओपिङको आत्मा’बाट । सन् २०१६ मा लेखक चीन पुुगेका छन् । त्यहाँ उनले एक वृद्धसँग कुराकानी गर्छन् । देङको नेतृत्व पछि चीनमा आएको परिवर्तनमा उनले देङको आत्मा भेट्छन् ।

लेख्छन्, ‘धर्म, आत्मा र पुुनर्जन्ममा विश्वास नगर्ने चीनमा म देङको आत्माबारे केही दिनदेखि सोचिरहेको थिएँ । ग्रेटवाल, हुटाङ होमस्टे, तियानमेन स्क्वायर, फरबिडन सिटी, धुपी उद्यान र बजैको आँखामा देङ सियाओपिङकै आत्मा नाचिरहेको देखें ।’ शेरचनले यहाँ ‘आत्मा’ किन प्रयोग गरे ? के हो ‘आत्मा’ ?

एक इमानदार लेखकले आफैंलाई परख गर्छ । आफू बाँचेको युग, आफू हिंडेको गोरेटो, आफू बिसाएको बिसौनीलाई तटस्थताको भावले अवलोकन गर्छ । मूल्यांकन गर्छ । पर्गेल्छ । र, जीवनको बृहत् आयामलाई शब्दको संक्षिप्त आयतनमा सम्प्रेषण गर्छ ।

यतिबेला लेखक अभावग्रस्त हुन्छ । विस्तृत जीवन शब्दको सीमिततामा अभिव्यक्त हुँदैन । खोजी हुन्छ बिम्व, प्रतीक, सन्दर्भ र अमूर्त सङ्केतहरू । ‘अमूर्त’ मूर्त संसारको फैलावटलाई ठोस सम्प्रेषण गर्ने कला हो ।

‘आत्मा’ मान्छेको काल्पनिकी हो । नाशवान जीवनमा भइगरेका कृतिको अमरत्वको संज्ञा पनि हो आत्मा । चीनका पदचापहरूमा शेरचनले भेटेको देङको आत्मा चिनियाँ समाजको सपनाको प्रतिबिम्व हो । यहाँ ‘आत्मा’ले एकैपटक इतिहासका अनेकौं नागबेली र भविष्यको सुदूर दृष्टिलाई एकैपटक समेटेको छ ।

उसो त समाज वैज्ञानिक इमाइल दुर्खाइमले ‘आत्मा’लाई सामाजिक उत्पादन भनेका छन् । यस्तो सामाजिक उत्पादन जुन सामूहिक चेतनाको उपज हो र नैतिक मूल्यको जननी । यस्ता सामूहिक चेतनाहरू संस्कारमा रूपान्तरित हुन्छन् ।

संस्कारको सामूहिक अभ्यासले समुदायको निर्माण गर्छ । समाजलाई एकत्वको डोरीमा बाँध्छ । प्रकारान्तरले समाज चलायमान रहन्छ । समाजले सास फेर्छ । दुर्खाइमको यो अवधारणा शेरचनको ‘प्रकृतिपूजक पुर्खा मेरा’मा भेटिन्छ ।

कुल पूजाको लागि मुस्ताङ फर्केका शेरचनले कुुल पूजाका विधि र संस्कारहरूको अभ्यासबाट निःसृत अनुुभव लेख्छन्— ‘झाँक्रीले नै देव–पितृ खुशी छन् भनेपछि सन्ततिहरू स्वाभाविक रूपमा प्रसन्न हुँदा रहेछन् । मानव जाति यस्तै सामूहिक मनोविज्ञानको अडेसो समाएरै यहाँसम्म आइपुुगेका रहेछन् ।’

बिम्व

शंकर लामिछानेको निबन्धकारिता चर्चा गर्ने क्रममा शेरचन बिम्वको महत्तालाई यसरी व्यक्त गर्छन्, ‘लेखक आमपाठकमा बिम्व मार्फत नै बाँच्दछ ।’ (पे.नं. १६)

‘दुःखको स्याउ’मा उनी कामुले प्रयोग गरेको ग्रिसेली मिथक ‘सिसिफस’को चर्चा गर्छन् । यो सात पाने संक्षिप्त निबन्धमा उनी कामु, किर्केगाड, दोस्तोयवस्की, सात्र, साल्भाडोर डाली, रोबर्ट एम पिरसिगक लगायतको सन्दर्भ लिन्छन् ।

सारा सन्दर्भहरूलाई साक्षी राखेर उनी तर्कको सीमितता औंल्याउँछन् । तर्कको सीमितता हुनु भनेको ठोस र मूर्त अवधारणाहरूको निरीहता हो । सत्य सधैं ठोस हुँदैन । भौतिक विज्ञानमा पनि सत्य एक र अन्तिम मात्र हुँदैन भने सामाजिक जीवनमा त असम्भवप्रायः छ ।

जब सत्यलाई ठोस अभिव्यक्ति दिन सकिंदैन, विवेचना, व्याख्या र विस्तृतिको आवश्यकता पर्छ । यहींनेर बिम्व तीव्र आवश्यकता बनेर आउँछ । साधन बनेर आउँछ । अनि बिम्व कहाँबाट आउँछ ? बिम्वको स्रोत के हो ? पक्कै पनि जीवन आफैंमा बिम्वको अनवरत स्रोत हो ।

शेरचन बिम्वको खोजीक्रममा ग्रिसेली ‘सिसिफस’को सन्दर्भ लिएर मौलिक मिथकहरूको प्रयोगलाई जोड दिन्छन् । उनी आह्वान गर्छन्, ‘आफ्नो जमीनबाट उठेको मिथकलाई विश्वव्यापीकरण गरौं तर अन्य स्थानमा जन्मिएकैले मिथकको सार्वभौम सत्यलाई निषेध पनि नगरौं ।’

काव्यचेत

शेरचनमा काव्यचेत बलियो देखापर्छ । ‘निबन्धमा एक दृष्टि’मा शेरचन निबन्धको गम्भीर चर्चा गर्छन् । निबन्धलाई उनी झाँगिएको रूखको उपमा दिन्छन् । र, निबन्धका हाँगाबिंगाको व्याख्या गर्छन् ।

संस्मरणात्मक निबन्ध नियात्रा, वस्तुपरक, हास्यव्यङ्ग्य, व्यक्तिचित्र, रचनागर्भ, भूमिका लेखन लगायत निबन्धरूपी रूखका हाँगाको विवेचना गर्दै गर्दा उनी अन्य विधाका सन्दर्भमा धारणा राख्न पुुग्छन् । आख्यानलाई उनी सुरिलो वृक्ष र प्रकाशनगृहको ‘डार्लिङ’ उपमा दिन्छन् र वन–विज्ञानको सन्दर्भ लिएर भन्छन्, ‘वृक्ष सुरिलो हुँदा त्यसमा टिम्बर बढी निस्कन्छ, जुन बजारमा महङ्गोमा बिक्छ ।’

जब कविताको प्रसङ्ग आउँछ उनी रूखबाट बाहिर निस्कन्छन् र भन्छन्, यो विशिष्ट विधा हो । यो भाषाहरूको भाषा हो । यो काव्यचेत उनको निबन्धहरूमा ठाउँ ठाउँमा प्रयोग भएका कवितांशहरूले प्रष्ट्याउँछन् ।

दार्शनिक उठान

लेख्ने त जीवन हो । किनकि जीवन जटिल छ । विशद छ । सूक्ष्म छ र त विराट छ जस्तो परमाणु हुन्छ । जस्तो शरीरको कोष हुन्छ । जीवनको सूक्ष्मतालाई सरल र वर्णनात्मक चित्रण गर्दागर्दै दार्शनिक उठानमा उठाइदिनु शेरचनको सिग्नेचर शैली हो ।

‘लाजिम्पाटमा सिमकुखुरा’मा खासै केही नवीनता भेटिंदैन । व्यस्त शहरी जीवनलाई तरंगित गर्न लाजिम्पाटको उनको घरमा सिमकुखुरा आइपुुग्छ । सिमकुुखुराका पाँच वटा चल्लाहरू छन् ।

ती शेरचन र उनको छोरीको आँखा अगाडि हुँर्कंदै जान्छन् । धेरैपटक चारवटा मात्र चल्लाहरू देखिन्छन् । बाँकी एउटा चल्लाबारे शेरचन भयंकर दुर्दशा मात्र कल्पिन्छन् । उनी चाहन्छन्, छोरीलाई थाहा नहोस् । त्यसैले उनी छल गरिरहन्छन् । बनावटी उत्तरले छोरीको प्रश्न टारिरहन्छन् ।

पछि पाँचवटै जीवित चल्ला देख्दा छोरीको उल्लास थामिनसक्नु हुन्छ । तपाईं पढ्नुहोस्, यहाँ केही छैन । कुनै नवीनता छैन । एउटा सामान्य प्रसंग मात्र छ । तर, जब तपाईं निबन्धको अन्तिम दुई वाक्य पढ्नुहुन्छ भव्य जीवन दर्शन बोध गर्नुहुन्छ । ती दुई वाक्य पनि सामान्य नै छन्— ‘दशैं आगमनको चिठी लिएर शारदीय घाम भर्खर कोठाभित्र छिर्‍यो । थाहै नपाई मेरा आँखा भरिएर आए ।’

यही फरक हो साहित्य र अन्य लेखनीको । तमसुकका भाषा, कानुनको भाषा ठोस रुखा शब्दहरूमा व्यक्त हुन बाध्य हुन्छन् । तर, साहित्य शब्द–शब्दको अन्तर्यमा छिपेर रहेका गहकिला अर्थहरूमा कैद हुन्छन् । ‘शारदीय घाम’ जीवनको प्रकाश हो । जीवनको उज्यालो पक्ष हो । त्यसले हर्षाश्रुु निम्त्याइदिन्छ ।

‘कायाकल्प’ शेरचनको निबन्धकारिताको एउटा उच्च थुम्को हो । शिखर यसैले भनिन उनीसँग अझै प्रशस्त सम्भावनाहरू अद्यापि छन् । कायाकल्प यहाँ व्यक्तिको होइन स्थानको हो ।

परिवेशको हो । जोमसोम र घलेगाउँमा सडक विस्तार र पर्यटनले ल्याएको परिवर्तन यसको मुख्य विषय हो । खासमा जोमसोमको परिवर्तन मुख्य विषय हो । जोमसोमको भ्यू प्वाइन्ट ठिनीको चर्चा गर्दै गर्दा शेरचन लेख्न पुुग्छन्— ‘जुुन स्थान वा वस्तुलाई हामी समग्रतामा हेर्न चाहन्छौं, त्यसभन्दा बाहिर निस्कनुपर्ने पनि नियम नै हो । एउटा दूरी नबनाए पूर्ण रूपमा देख्न केही सम्भव छैन ।’

शेरचनको यो शैली साधारण विषय चर्चा गर्दै गर्दा दार्शनिकताको उचाइमा उठाइदिनुले नै उनको लेखन प्रिय, मर्मस्पर्शी र दीर्घ बनेका छन् । यही हो द्रष्टाभाव । यही हो अन्तरदृष्टि । मात्र वर्णनले साहित्य बन्दैन । कलाको उच्चता प्रकट हुँदैन । विषयलाई दार्शनिकताको उचाइ प्रदान गर्न सक्नुपर्छ ।

जीवन्त व्यक्ति चित्रण

शेरचन प्रकृति, विज्ञान, साहित्य, कलाबारे लेख्छन् । तर, उनको लेखनको मूल विषय फेरि पनि मान्छे नै हो । मान्छेको जीवन्त चित्रण गर्ने सन्दर्भमा उनी गोर्कीको नजिक पुग्छन् ।

आफ्ना आत्मसंस्मरणात्मक उपन्यासहरू ‘मेरो बालककाल’, ‘मान्छेहरूको माझमा’ र ‘मेरो विश्वविद्यालय’मा गोर्कीले व्यक्तिको जसरी सूक्ष्म र जीवन्त चित्रण गर्छन् त्यस्तै शैली र सूक्ष्मतामा शेरचन देखापर्छन् । ‘वनवीर’ यसको सुन्दर उदाहरण हो । ‘वनवीर’ चर्चा भन्दा पर बसेर चुपचाप काम गर्ने दृढ निश्चयी पात्र हो ।

व्यक्ति चित्रणको अर्को सुन्दर उदाहरण ‘फाजु’ हुन् । ‘स्मृति लेबिरिन्थमा पोखरा’मा उनी फाजुुलाई सम्झन्छन् । बीस–बाइस वर्षपछि क्याम्पसका बडे बडे प्रोफेसर साहेबहरूभन्दा रक्सीले मस्त हुने सवारी चालक फाजुलाई किन स्मृतिमा आइरहन्छन् ?

शेरचन आफ्नै अन्तरयात्रा गर्छन् र निष्कर्षमा पुुग्छन्— ‘रक्स्याहा, व्यावहारिक जीवनप्रति उदासीन देखिएर गाली गर्दै भए पनि उनी बिरामीलाई बर्खा, हिउँद नभनी जहिलेसुकै राति अस्पताल पुर्‍याउँथे… जो कर्तव्यबाट कहिल्यै च्युत भएनन् ।’

निष्कर्षात्मक वाक्य

सलाईका बट्टा जस्ता घरहरूको चेपमा बसेर शेरचनको ‘गल्ली संसार’ पढिरहँदा मेरो स्मृतिमा फराकिलो आकाश आउँछ । ढिलो गरी आएको मनसुन मावल आएको उरन्ठेउलो केटो जस्तै १२ फुटे गल्लीमा चकचक गर्छ । मेरो स्मृतिको मनसुन त फराकिलो छ । उच्चाट लाग्दो कुहिरो छल्दै मनसुन लेकबाट ओरालो लाग्छ । पारि मैनडाँडाको समीको रूखलाई निथ्रुक्क पार्छ ।

चिदेरीका खेतहरूलाई हिलाम्मे पारिदिन्छ । मकैका पातहरूमा एकनासको संगीत ट्युनिङ गरिदिन्छ । त्यही धुनलाई मनको आकाशमा समेटेर गाउँमा आमाहरू तीज गीत गाइदिन्छन्, ‘धुव्र तारा मकैको पातमा…।’

चारपाटे झ्यालबाट उन्मुुक्त मनसुनको इन्द्रेणी कला हेरिरहन्थे । सपनाको पछि लाग्दा लाग्दा हामी अब ‘गल्ली संसार’मा निर्लिप्त भएका छौं । हाम्रो आकाश खुम्चेको छ । हाम्रो जीवन जटिल भएको छ । हामीमा सांसारिकताको ब्रह्माण्ड कुचुक्क अटाएको छ ।

स्वतन्त्रताको आकाश भने निस्सासिएको छ । शेरचन ‘गल्ली संसार’को यो प्रतीकको सहाराले जीवनको विशादपूर्ण अवतारको चित्रण गर्छन् । बडो विद्रुप लाग्छ फोहोर ओसार्ने गाडीमा फोहोर फाल्न दौडिरहेका मान्छेको वर्णन र ‘साङ्ला’को भयानक उपमा ।

शहरको अचिनारु व्यक्तित्वलाई उनी यसरी उद्घाटन गर्छन्, ‘महानगरको ऐकान्तिकता पनि महानगर जस्तै महा गहिरो हुन्छ ।’ र, निष्कर्ष जस्ता प्रतित हुने वाक्य कोर्न पुुग्छन्— ‘नवउदारवादी संरचनाले जीवनभर एक छाक खाना र एक ओतका निम्ति लेखेटेरै मार्छ ।’

शेरचन परिवेश र पात्रको निकै मिहिन चित्रण गर्छन् । दृश्य र घटनाको परिवेश चित्रण गर्दागर्दै उनी गम्भीर बन्न पुग्छन् र निष्कर्ष प्रस्तुत गर्छन् । ‘ब्ल्याक भिलेज’मा भूकम्प पछि गत्लाङका कालो काठका छानाहरू हटे र नयाँ जस्ता पाता धुुरीको बुई चढे । गाउँको पहिचान बदलियो ।

शेरचन प्रश्न गर्छन्, ‘घरको छाना कस्तो राख्ने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा होइन र ?’ अनि फैसलाको भाषामा लेख्छन्, ‘व्यक्तिगत स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । सामूहिक लाभलाई व्यक्तिगत स्वतन्त्रताको उपभोगले प्रतिकूल असर पार्छ भने व्यक्तिगत स्वतन्त्रताको दुहाइले खास अर्थ राख्दैन ।’

शेरचन कैयन् सन्दर्भहरूमा व्यक्तिगत स्वतन्त्रताका पक्षपाती उदार प्रदर्शित हुन्छन् । तर, ‘सामूहिक लाभ’को सन्दर्भमा उनी व्यक्तिगत स्वतन्त्रतामा लगाम आवश्यक ठान्छन् ।

तथ्य

शेरचन विज्ञानका विद्यार्थी हुन् त्यसैले उनी तथ्यलाई प्रेम गर्छन् । तथ्यगत लेखनलाई जोड दिन्छन् र भन्छन्ः ‘नेपाली साहित्यलाई कमजोर बनाएकै अतिशय भावुकताले हो भन्ने मलाई लाग्छ । अतिशय भावुकता जति चाँडो मिल्कायो, नेपाली साहित्य उति समृद्ध हुन्छ ।’

‘डाइनोसर थिअरम’मा नेपाली साहित्यलाई डाइनोसर बन्न नदिने हो भने तथ्यगत लेखनलाई जोड दिन आग्रह गर्छन् । उनले साहित्यलाई कला मात्र ठान्दैनन् सौन्दर्यपरक विज्ञान ठान्छन् ।

आफ्ना लेखनीमा भरमार तर रूखो हुन नदिई तथ्यको व्यापक प्रयोग गर्ने शेरचनले तथ्यको पक्षमा मनोगत पक्षधरताको विरोधमा पैरवी गर्छन् । ‘वन सङ्कथन–१’ मा उनी तथ्यांकको फेहरिस्त लगाइदिन्छन् । तथ्यप्रतिको उनको पैरवी ‘दोस्रो तर्क’मा यसरी सुनिन्छ— ‘हामीकहाँ मनोगत पक्षधरता तीव्र गतिमा फैलिरहेको छ । फरक मत सुन्न नचाहने चेतना जुनसुकै विचार समूहको होस्, सङ्गठित रुपमा फैलिंदैछ ।’

तगाराहरू बाँकी नै छन्

एउटा मान्छे कुन तहमा उठेपछि स्रष्टा बन्छ ? स्रष्टा शब्दले सिर्जनक्षमता इंगित गर्छ । अर्थात्, अभिव्यक्तिको कुशलता स्रष्टाको विशिष्ट सीप हो । ‘साहित्य र प्रकृति’मा सौन्दर्यपरक विज्ञानको चर्चा क्रममा उनी लेख्छन्, ‘आममान्छे र स्रष्टा भिन्न हुने नै अभिव्यक्तिको तहमा हो । बोधको स्तरमा त हामी सबै समान छौं ।’

हो, यहींनेर शेरचनसँग विमतिका मसिना स्वरहरू प्रस्तुत गर्न सकिन्छ । के स्रष्टा र आममान्छे बोधको स्तरमा समान हुन्छ ? बोध के हो ? बोध केवल अनुुभूति मात्र हो ? बोध त दार्शनिकी हो । बोध स्व र संसारलाई बुझ्ने अन्तरदृष्टि हो ।

एउटै घटना, परिवेश र समयलाई सामान्य जनले र स्रष्टाले फरक तरिकाले बोध गर्छ । किनभने स्रष्टाभाव भनेको प्रथमतः दृष्टिभाव हो । दृष्टि अर्थात् देख्नु दार्शनिक आयाम हो । दार्शनिकी जीवन र जगतप्रतिको बुझाइ हो । मान्छेले जस्तो चश्मा लगाउँछ त्यस्तै देख्छ । अभिव्यक्ति त देखेपछि न हुन्छ । देख्नको लागि त चश्मा चाहिन्छ । गम्भीर लेखनी हुँदाहुँदै पनि कता कता क्षुद्र जस्ता प्रतीत हुने टिप्पणीहरूले ‘दाँतमा ढुुंगा’ लगाउँछ ।

वल्लभको विराट साहित्यिक व्यक्तित्वको चर्चा गर्दागर्दै शेरचन नगरकोटीको चर्चित ‘औंलाहरू’ कविताको प्रसङ्गमा हामफाल्छन् अनि लेख्न पुग्छन्, ‘अचेल सिनेमामा चल्तीमा रहेको सिक्वेल सिन्ड्रोम शिरोधार्य गर्दै एकै मार्काका कविता लेख्ने दलीय कविहरू झस्केछन् ।’

लेखनको उचाइ चढ्दा चढ्दै ‘पाँडे गाली’ शैलीको यो क्षुद्र टिप्पणीमा किन चिम्लिन पुगेको होला ? सगरमाथाको उचाइ र प्रशान्त महासागरको गहिराइ अन्य शिखर र सागरको तुलना विना पनि अविचलित रहन्छ ।

अध्ययन, अनुभव, भ्रमण र भोगाइका विशाल परिवेश हुँदाहुँदै पनि शेरचन कैयन् ठाउँमा अझै अधुरा देखिन्छन् । हुनत पूर्णता मान्छेको असीमित चाहना हो जुन कहिल्यै हासिल हुँदैन । प्रयत्न भने जारी हुन्छ । हुनुपर्छ । चार्ल्स डार्विन, रिचार्ड डवकिन्स, युवल नोहा हरारीको पटक–पटक चर्चा गरिरहँदा केही छुटेको आभास हुन्छ ।

डार्विनको ‘प्रकृतिको छनोटको सिद्धान्त’लाई उहिल्यै जेबिएस हेल्डेनले द्वन्द्ववादको कसीमा जाँचेका थिए । नव–डार्विनवाद पनि त छँदैछ अर्कोतर्फ । त्यस्तै रिचार्ड डवकिन्सको ‘सेल्फिस जीन’को आलोचना र टिप्पणीहरू पनि प्रशस्त भेटिन्छन् ।

खासगरी उनको निष्कर्ष बढी नियतिवादी त होइन भन्ने प्रश्न उठेका छन् । मान्छेले आफ्ना सततः र अनवरत प्रयत्नबाट कुप्रो ढाडलाई सोझ्यायो, अगाडिका हातलाई स्वतन्त्र पार्‍यो र महत्त्वपूर्ण पक्ष जहाँ प्रकृतिको सीमा रह्यो त्यहाँ संस्कृतिको निर्माण गर्‍यो ।

मान्छेको यो अनवरत प्रयत्नले मान्छेकै शरीरको परिवर्तन गरेको छ । एउटा निश्चित भूूगोलमा लामो समय बसेका मान्छेको जीन अन्य भूूगोलका मान्छेको भन्दा फरक हुन्छ । त्यो फरकपनामा प्राकृतिक भूगोलका मात्र नभई सांस्कृतिक अभ्यासहरूको पनि भूमिका हुन्छ ।

हरारी वर्तमानका सेलिब्रिटी इतिहासकार हुन् । इतिहासलाई कथा हाल्ने शैलीमा उनी माहिर छन् । तर, कैयन् ठाउँमा हरारी आदर्शवादी देखिन्छन् । पछिल्लो समय प्रकाशित मानवशास्त्री डेभिड ग्रेभर र पुरातत्वविद् डेभिड वेनग्रोको संयुक्त पुस्तक, ‘द डाउन अफ एभ्रिथिङ’मा हरारीलाई रुसोको प्रतिध्वनि र आदर्शवादी बताइएको छ ।

एक दशकपछि पाठकमाझ आइपुुगेका शेरचनका केही रचनाहरू पट्यारलाग्दो फेहरिस्त जस्ता पनि देखापर्छन् । ‘क्वेकमन्डु २०७२’ त्यस्तै फेहरिस्त बन्न पुुगेको छ । अभिलेखीकरणको पक्षबाट यो सान्दर्भिक देखिंदादेखिंदै पनि पर्याप्त सम्पादन नपुुगेको हो कि ? पूर्वप्रकाशित निबन्धहरूको सँगालो गराइरहँदा सम्पादनमा काँटछाँट नपुगेको हो कि ? फेरि शेरचन आफैंले ‘लेखकको पुनर्जन्म’मा पटक–पटक सम्पादन उल्लेख गरेकै छन् ।

अर्को छुटेको तर महत्त्वपूर्ण पक्ष भनेको रचनाकाल हो । रचनाकालले भविष्यका पाठकहरूलाई पनि लेखकले कुन समय सन्दर्भमा कस्तो दृष्टिकोण राखेको थियो । लेखकको लेखन यात्राका घुम्तीहरू के के हुन् भन्ने अध्ययन प्रयोजनको लागि कुन सालमा लेखिएको र कहाँ प्रकाशित भएको भन्ने छुटाउनै नहुने पक्ष हो ।

दुईवटा निबन्धपछिको शैली जति परिपक्व हुनुपर्ने हो पुरानै कृतिको पुनरावृत्ति बढी देखिन्छ । बहुुमुखी शहरको निश्चित पहिचान नभए जस्तो पत्र–पत्रमा छ तर समग्रता केरमेर जस्तो शैली बनेको छ ।

प्रारम्भमा मैले विस्तृतिको चर्चा गरें । विस्तृतिको अर्को पाटो छितरिनु पनि हुन्छ । कतै शेरचन छितरिएका त छैनन् ? विशाल सन्दर्भहरूको आडमा उनी कहिले यता कुुद्छन्, कहिले उता तर उनको खास पहिचान के हो ? दार्शनिक झिल्काहरू प्रशस्त छन् तर सिंगो दर्शन के हो ? प्रकृति विज्ञानदेखि समाज विज्ञानसम्म चहार्छन्, खास निष्कर्ष के हो ? ‘गल्ली संसार’मै उनी ‘साङ्ला’धारी मान्छेलाई आरोपित गर्छन्— ‘आफैंले उत्पादन गरेको फोहोरमैला व्यवस्थापन गर्न नसक्ने मान्छेहरू कमसल हुन् । कपडा सुकिला लगाएका छन्, अग्ला घरमा बसेका छन्, मेकअपमा सजिएका छन् तर फोहोरको झोल चुहाउँदै बोरा घिसारेर हिंडेका छन् । समाजमा कुरुप मान्छेहरू पनि कति–कति !’

के व्यक्ति मात्र दोषी हुन्छ यहाँनेर ? म सचेत नागरिक हुँ । तर, डस्टबिनको अभावमा सडकमा हिंड्दा खाएको केराको खोल खल्तीमा राखेर कैयन् किलोमिटर हिंडिरहनु मेरो कर्तव्य बन्न जाला ? एउटा सानो कोठामा कुचुक्क परेको मान्छेले कम्पोष्टबिन प्रयोग गर्न कति सक्ला ? सामाजिक संरचनाका सीमितताले व्यक्तिमा सिर्जना गरिदिएको बाध्यताले संरचनात्मक कमजोरीप्रति आँखा चिम्लिंदैन र ?

वातावरण संरक्षणप्रति असाध्यै सचेत कैयन् बौद्धिक जस्तै शेरचन पनि ‘चिन्ता’ व्यक्त गर्छन् । खाली चिन्ता, निन्दा र त्रासद भविष्यको चित्रणले मात्र पर्यावरण संरक्षण हुने त होइन होला । वातावरण अर्थ–राजनीतिक विषय हो । जलवायु परिवर्तन नाफाखोर बजार व्यवस्थासँग जोडिएको छ । ‘नवउदारवादी’ बजारको यो कुरुप नियतिप्रति शेरचन पनि मौन देखिन्छन् ।

शेरचन विस्तृत छन् तर दार्शनिकताको व्यवस्थित संरचनाबाट अभावग्रस्त छन् । त्यसैले, प्रारम्भमा मैले सापटी लिएको उक्तिमा उनी भन्न पुुग्छन्, ‘प्रकृति पहिलो दृष्टिमै देखिंदो रहेछ । समाजले भने देखिन समय लिंदो रहेछ ।’

खासमा, प्रकृति र समाज पहिलो दृष्टिमा अल्पझलक मात्र देखापर्छ । गहिराइमा हेर्न उधिन्नु पर्छ । झ्याल खोल्दा झर्लक्क देखिने हिमाल समग्र होइन । भोरको लालिमा प्रफुल्ल हिमाल समग्रतामा गम्भीर विषाद पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?