+
+
कविता :

रोपाइँ

सरोज खतिवडा सरोज खतिवडा
२०८१ असार १५ गते १७:२६

भरी बोतल मिनरल पानीले
पूरै गमलाको माटो हिल्याएर
सिङ्गै मन्त्रालय उल्ट्याएर
एक गाँज धान रोप्नुभयो माननीयले ।

अनुदानको म्याकबुकमा
अनौठा र चामत्कारिक ज्ञानहरू टाँसेर
उन्नत धानबारे दिव्य ज्ञान बाँड्दै
रोपाइँ गरे वैज्ञानिकले ।

एक बन्डल कागजमा
एक ढाकर कथा, कुथुरी, उखान, टुक्का ऐंचेर
एक हुल हुक्के, बैठके राखेर
एक भाषण दिएर रोपाइँ गरे
मेयरज्यूले ।

एक ठूलो ब्यानरमा
एक भब्य नारा खिपेर
एक हुल रमिते बटुलेर
एक थान हिलाम्य फोटो खिचेर
एक सशक्त प्रतिवेदन लेखेर
रोपाइँ गरे अभियन्ताहरूले

देशका मुख्य शहरहरूमा
हुलका हुल तन्नेरीहरू
खेत–खलियानमा पसे
सदरमुकाम र मुख्यालयहरूमा
जमातका जमात सुकिलाहरू
हिलाम्य भए
दही चिउराको टीका लगाए
बीउको पाती चढाए
फेसबुक समेत हरियाली पारे
कृषि प्राविधिकहरूले

मन्त्रीले, सांसदले रोपाइँ गरे
नेताले, कर्मचारी रोपाइँ गरे
वैज्ञानिकले, पत्रकारले रोपाइँ गरे
वकिल, शिक्षक, पत्रकार, अभियन्ता, बस चालक
सबै सबैले रोपाइँ गरे
यसरी अघिल्लो साल जस्तै यो साल पनि
सबैको रोपाइँ भव्य भयो
तर, अघिल्लो साल जस्तै यो साल पनि
किसानहरूको रोपाइँ हुनै सकेन !

लेखकको बारेमा
सरोज खतिवडा

लेखक मानवशास्त्रका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?