+
+
फिल्म : ‘पोट्रेट अफ अ लेडी अन फायर’ :

एउटा ‘प्राइड’ सिनेमा

सृष्टि कार्की सृष्टि कार्की
२०८१ असार १५ गते १९:३५

जून महिना, प्राइड अर्थात् गौरवको महिना । संसारभरि नै यो महिनामा विभिन्न यौन विशेषता र लैंगिक पहिचान भएका व्यक्तिहरूले आफ्नो पहिचानलाई उत्सवको रूपमा मनाउँछन् । नेपालमा पनि क्वयेर युथ ग्रुपले केही वर्षदेखि प्राइड र्‍याली आयोजना गर्दै आएको छ ।

यो समुदायलाई समाजले जहिल्यै घृणाको नजरले हेर्ने गर्छ । ‘गैर मानव’ वा ‘कम मानव’ जस्तो व्यवहार क्वयेर समुदायका अधिकांश व्यक्तिले वर्षको ३६४ दिन नै भोग्नुपर्छ, त्यसैले एक दिन भए पनि सबै कुरा बिर्सिएर आफ्नो अस्तित्वलाई पर्व झैं उनीहरूले मनाउँछन् ।

र्‍याली सकिएपछि, एक ठाउँमा भेला भएर क्वयेर समुदायका व्यक्तिहरूले कवितावाचन, नाच, गायनमार्फत आफ्नो भावना, पीडा, संघर्ष र खुसीलाई व्यक्त गर्छन् । केही साताअघि काठमाडौंको रत्नपार्कको शान्ति बाटिकाबाट यस्तै र्‍याली निस्किएर नक्सालको नारायणचौर पुगेको थियो । त्यहाँ पुगेपछि, नेपालका क्वेयर युथ ग्रुपका साथीहरू र ‘अलाइ’ हरूले कलाको विभिन्न स्वरुप मार्फत आफूलाई अभिव्यक्त गरेका थिए । यो आफैंमा सृजनात्मक प्रतिरोध हो ।

सिनेमा मार्फत पनि यस्तो प्रतिरोध संसारभरि नै हुने गर्छ । क्वयेर समुदायको कथामा आधारित सिनेमा बन्न थालेदेखि उनीहरूको विभिन्न खाले सरोकार दृश्यमा देखिन थाल्यो । धेरैजसो सिनेमा क्वयेर समुदायभन्दा बाहिरका व्यक्तिले बनाउँछन् । सिनेमा निर्माणमा क्वयेर समुदायको पहुँच कम हुने गरेकाले उनीहरूको कथा पर्दामा आउँदा तोडमोड भएको भेटिन्छ । आम दर्शकको धारणालाई यस्तै ‘अरू’ ले बनाइदिएका सिनेमाले आकार दिइरहेको हुन्छ ।

प्रायः हामीले हेर्ने सिनेमामा क्वयेरका कथालाई ‘हाइपर सेक्सुअलाइज’ गरेर प्रस्तुत गरिन्छ । जस्तो अस्कर जितेको ‘ब्लु इज द वार्मेस्ट कलर’ सबैले सम्झने पछिल्लो समयको असाध्यै चर्चित क्वयेर समुदायको कथा हो । त्यस्तै चर्चित अर्को सिनेमा छ, ‘कल मि बाइ योर नेम’ । यी र अरू पनि यस्ता सिनेमाले क्वयेर समुदाय भन्ने बित्तिकै यौनलाई केन्द्रमा राखेर कथा बुन्छन् । जीवनमा यो पाटोको महत्व छँदैछ, तर यो समुदायको पहिचान अनि अस्तित्व यौनमै मात्र सीमित छ भन्ने कोणबाट थुप्रै सिनेमा बनाइएका छन् ।

सन् २०१९ मा रिलिज भएको फ्रान्सको सिनेमा ‘पोट्रेट अफ अ लेडी अन फायर’ भने यो अर्थमा भिन्न छ । प्राइड महिनाको छेको पारेर क्वयेर समुदायमाथि बनेको, र यही समुदायले लेखेको, निर्देशन गरेको यो सिनेमा माथि यहाँ चर्चा गरेको छु ।

भिन्न बनाउन किन पनि सम्भव भयो भने, यो सिनेमाको लेखक तथा निर्देशक सेलिन सियमा ‘लेस्बियन’ महिला हुन् । सिनेमाको मुख्य पात्र ‘एलोइस’को भूमिका निर्वाह गर्ने ‘एडेल हेनेल’ को पहिचान पनि लेस्बियन नै हो ।

सिनेमाले पहिलो त, क्वयेर समुदायका व्यक्तिका पनि मानवीय संवेदना हुन्छन्, यौन बाहेकका जीवनमा अनेकन् तह हुन्छन् भनेर स्थापित गर्न खोजेको छ । क्वयेर समुदायको व्यक्ति भएर पनि आफ्नो कथा कसरी सिनेमामा भन्दा उपयुक्त हुन्छ, अरूले भनेको जस्तो देखिंदैन भन्नेमा निर्देशक सेलिन सियमा सजग छिन्, कथामा त्यो झल्कन्छ पनि ।

यो सिनेमाले फ्रान्सको सुदूर आइल्यान्ड ब्रिटानीमा बसोबास गर्ने अठारौं शताब्दीका महिलाहरूको कथा भन्छ । कथाको केन्द्रमा पेन्टिङ छ तर त्यो पेन्टिङ किन आवश्यक पर्‍यो भन्ने देखाउनका लागि उपल्लो वर्गकी ‘भ्यालेरिया’ भन्ने एक महिला, आमा पात्र अगाडि बढ्छिन् । कथामा उनका दुइटा छोरी हुन्छन् । पहिलो छोरीले विवाहबाट बच्नका लागि आत्महत्याको बाटो रोज्छिन् । त्यसपछि ती महिलाको सम्पूर्ण ध्यान कान्छी छोरीमा जान्छ र उनको जीवनको मुख्य उद्देश्य छोरीको विवाह गरिदिने हुन्छ । केटा खोज्नका लागि, त्यो जमानामा पेन्टिङ चाहिन्थ्यो । अनि कथा सुरु हुन्छ ।

उता कान्छी छोरीको पात्र ‘एलोइस’ भने विवाहबाट बच्न पेन्टिङ बनाउन चाहन्नन् । उनले पोज दिन नमानेपछि, आमाले खटाएको पेन्टर (पुरुष) ले आधा पेन्टिङ बनाएर हार खान्छन् । त्यसपछि भ्यालेरियाले गोप्य रूपमा पेन्टिङ बनाउनका लागि महिला पेन्टर, ‘म्यारियान’ लाई प्यारिसबाट बोलाउँछिन् ।

दिदीको मृत्युपछि एक्लिएकी एलोइसलाई म्यारियान केही दिनका लागि तिम्रो साथी बन्न आएकी हुन् भनिएको हुन्छ । तर उनीहरू साथी मात्र बन्दैनन्, समयसँगै एकअर्काको प्रेमीमा बदलिन्छन् । सिनेमाको केन्द्रमा पेन्टिङ भएर होला सिनेमै एक अद्भुत पेन्टिङ जस्तो प्रतीत हुन्छ ।

ब्रिटिस फिल्म इन्स्टिट्युटसँगको एक अन्तर्वार्तामा निर्देशक सियम्मा भन्छिन्, ‘विगत शताब्दीमा धेरै महिला पेन्टरहरू थिए । तर, उनीहरूलाई कलाको इतिहासबाट नामेट पारियो । यो सिनेमाका लागि अनुसन्धान गर्दा उनीहरूको थुप्रै कामहरू फेला परे । यो सिनेमा एक हिसाबमा त्यस्तै अज्ञात महिला पेन्टरहरूप्रति समर्पित छ ।’

सिनेमाको अर्को पक्ष हो, पुरुषविहीन महिलाको संसार । सिनेमा भरिमा, पुरुष पात्रलाई जम्मा दुइटा दृश्य दिइएको छ । एक, पेन्टर म्यारियानलाई डुङ्गामा समुद्र तारेर ब्रिटानी आइल्यान्डमा छोडिदिने अर्को पेन्टिङ सक्किएपछि फेरि उनलाई लिन आउने । विवाह गर्ने कथाको केन्द्रमा अदृश्य रूपमा पितृसत्ता छ तर सिनेमामा भने पुरुषको उपस्थिति छँदै छैन भन्दा हुन्छ ।

महिलाहरू पितृसत्ताबाट उम्कन नसक्दा नसक्दै आफ्नो जीवन यही कठिनाइबीच पनि खोज्न सक्छन् र रमाउँछन् । सिनेमामा यो सन्देश गीतबाट दिन खोजिएको छ । विभिन्नथरी काममा पोख्त गाउँभरिका महिला एक रात कतै भेला भएर ‘बोनफायर’ को वरिपरि बसेर थपडी बजाउँदै ‘फुजेरे नन फसम’ भन्दै गीत गाउँछन् । इटालियन भाषाको गीतको यो बोलको अर्थ हो– ‘हामी उम्कन सक्दैनौं ।’

महिला उम्कनै नसक्ने, स्वतन्त्र अस्तित्वको कल्पनै नभएको बेला, महिला–महिलाबीचको प्रेम त झन् कल्पनै गर्न नसक्ने समय थियो । यस्तोमा एलोइस र म्यारियानको मित्रता विस्तारै विस्तारै पेन्टरले ब्रस चलाए जसरी प्रेममा परिणत हुँदै जान्छ । यी दुई पात्रबाहेक उस्तै उमेरकी अर्की पात्र सोफी पनि उनीहरूको साथी बन्छिन् । सोफी एलोइसकी घरेलु कामदार हुन् । उनीहरूको वर्गगत भिन्नताले मित्रतामा केही फरक पारेको हुँदैन । एउटै टेबलमा खाना खान्छन्, किताबहरू पढ्छन् र कथाबारे छलफल गर्छन् ।

महिला पात्रहरूले ‘सात पत्रे’ कोर्सेट लुगा लगाउँछन् । यस्तो लुगा लगाउनका लागि अरू कसैले सहायता गर्नुपर्छ । घरेलु कामदारले लुगा माथि सेतो ‘एप्रोन’ र कपालमा सेतै रुमाल बेर्छन् । पेन्टर भएकै हुनाले म्यारियानको भने यस्तो देख्दै अप्ठ्यारा लाग्ने कोर्सेट लुगाको फ्रकमा गोजी हुन्छ । आजभोलि त, महिलाको लुगामा ‘फङ्सनल पकेट’ हुँदैन । त्यो जमानामा प्यारिसको पेन्टरको पकेट भएको लुगा देख्दा मिहिन तरिकाले महिलाको व्यक्तित्वलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

एलोइस र म्यारियानको पे्रम सम्बन्ध अनि उनीहरूको सोफीसँगको मित्रता निर्देशकले कलात्मक तरिकाले भनेकी छिन् । सोफीको जीवनमा एउटा संकट आइपर्छ, उनी गर्भवती हुन्छिन् । सिनेमामा उनको पुरुषसँगको सम्बन्धबारे केही पनि भनिएको छैन ।

किनकि यो आवश्यक पनि छैन । सोफीलाई दुवैले ‘तिमीलाई बच्चा चाहिन्छ ?’ भनेर सोध्छन् । जवाफमा सोफी ‘चाहिन्न’ भन्छिन् । अब तीनै जना मिलेर गर्भपतन गर्न खोज्छन् । घरेलु कामदार आफू समान ठानेर मित्रताको हात बढाउँदै गर्दा एलोइस र म्यारियानको विचारलाई त्यसले प्रतिविम्बित गर्छ । उनीहरू खासमा समानताका पक्षधर हुन् ।

सिनेमाको नाममा ‘लेडी’ र ‘फायर’ अर्थात् आगो छ । फायरको बिम्वात्मक प्रयोग ‘डिजायर’ को रूपमा गरिएको छ । यो कथा पनि दुई महिलाको डिजायरकै कथा हो । पेन्टिङ गर्दा मेन्टर म्यारियानले त्यो डिजायर पेन्टिङ सब्जेक्ट एलोइसलाई हेर्दा महसुस गरेकी हुन्छिन् ।

त्यो डिजायरले नै उनीहरूलाई जोड्छ । पेन्टिङ सकिंदै गर्दा एलोइस प्रश्न गछिन्, ‘पेन्टिङ सकिएको कसरी थाहा हुन्छ ?’ हामी एउटा बिन्दुमा आएपछि ब्रस चलाउन बन्द गर्छौं । म्यारियानको ब्रस विवाहको प्रयोजनका लागि बनाइएको पेन्टिङका लागि चल्न बन्द भए पनि, उनी प्यारिस पुगेपछि एलोइसको अर्को पेन्टिङ बनाउँछिन् । प्रेम भने निरन्तर चलिरहन्छ ।

यो सिनेमाले कलात्मक विम्बको भरपुर प्रयोग त गरेकै छ, आफ्नो मुद्दा र सिनेमाको विचारलाई पनि ठीक ठाउँमा उभ्याएको छ । एउटै मुद्दाका पनि कति धेरै तह हुन्छन् र ती तहलाई साधारण तरिकाले दर्शकसम्म कसरी पुर्‍याउन सकिन्छ भन्नेमा सिनेमामा प्रशस्त काम गरिएको छ ।

धेरैजसो दर्शकले भन्ने गर्छन्, यो सिनेमा जहाँ ‘पज’ गरेर हेर्दा पनि एउटा सुन्दर पेन्टिङ जस्तो देखिन्छ । सिनेमासँगै पेन्टिङ पनि हेराउने ‘पोट्रेट अफ अ लेडी अन फायर’ यो समयको प्राइड सिनेमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?