+
+

आत्मसम्मानमा चोट लगाइरहने राज्यका झमेलाहरू

राज्यले महिलालाई मानिस नै नस्वीकार्ने, आफैंले जन्माएर एक्लै हुर्काएको सन्तानको अभिभावक नै स्वीकार नगर्ने गरिरहेको छ ।

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ असार १५ गते १९:३०

पछिल्लो ६ महिनादेखि म एउटा अनुसन्धान गरिरहेकी छु– प्रेमिल सम्बन्धहरूबारे । सुरुदेखि नै म ‘हिंसाचाहिं हेर्दिन है’ भन्दै टक्टकिइरहेकी छु, अनुसन्धानमा जोडिइआउने व्यक्तिहरूसँग । त्यसो भन्नुमा मेरा आफ्नै समस्या छन् ।

पछिल्लो समय मैले थाहा पाउँदैछु– हिंसाका घटना सुन्दा, कुरा गर्दा, पढ्दा वा हेर्दा मलाई मानसिक रूपमा असहज हुने रहेछ । असहज अर्थात् रिस उठ्ने, निद्रा नलाग्ने, झर्किने हुने रहेछ । अर्थात् यस्ता घटनाले मलाई ट्रिगर गर्दाे रहेछ र म ठाउँ–कुठाउँमा यस्ता सवालमा बोल्दिरहेछु, तर्क गर्दिरहिछु चाहे मैले गरेको कुरामा अर्को व्यक्तिलाई चासो होस् वा नहोस् ।

मभन्दा नितान्त विपरित सोच राख्ने होस् वा म जेको विरोध गरिरहेकी छु ऊ त्यस्ता अपराधमा संलग्न भएको व्यक्ति नै किन नहोस् ! त्यसैले आजभोलि हिंसाका विषयमा कुरा गर्नुपर्दा तर्किन्छु ।

अनुसन्धानको सिलसिलामा दुई हप्ता अगाडि म एक महिलासँग अन्तर्वार्ता लिंदै थिएँ, प्रेम सम्बन्धका बारे । यी २९ वर्षीय महिला दुई बच्चाकी आमा हुन् । उनले सुरुमा नै भनिन्, ‘म चुरोट खान्छु न है, नखाई त मलाई बोल्न पनि आउन्न होला ।’

तीस वर्ष पनि नपुगेकी एउटी महिला न बा–आमा, दाजुभाइको भर न सासू–ससुरा, श्रीमान्को भर । न दुई पैसाको कुनै आर्थिक आधार र सहयोग, न पढाइ र सीप । तर, दुई सन्तानको जिम्मेवारी । बा नेपाली, आमा नेपाली, छोराछोरीको बा पनि नेपाली । उनी नेपालको सिमाना काटेर कहिल्यै बाहिर पनि गएकी छैनन् । तर, नागरिकता भने छैन ।

‘नागरिकताको एउटा खोस्टो मात्रै भए पनि म यसरी कुकुरले मुत चुहाएझैं रुँदै हिंड्न पर्थेन होला’, उनले भनिन् । म उनका शब्द सुनेर सनन्न हुन्छु । एउटा मानिसले पीडाको कुन गहिराइमा पुगेपछि आफ्ना आँसु कुकुरको पिसाबसँग तुलना गर्दो हो ?

१७ वर्षको उमेरमा भागेर विवाह गरेको अर्को वर्ष उनको छोराको जन्म भयो । छोरा जन्मेपछि उनले नागरिकता बनाउन खेपेका कथाको फेहरिस्त लामो छ । त्यसमा नागरिकता बनाइदिम्ला भनेर उनीमाथि गरिएका शोषणको फेहरिस्त पनि छोटो छैन ।

उनलाई सोध्ने मेरो प्रश्नको सूचीमा नागरिकता थिएन तर उनको कुरामा नागरिकता आइरहेपछि सोधें– नागरिकता नै चाहिं तपाईंलाई किन चाहिएको ? उनले भनिन्, ‘नागरिकता नभएपछि हातमा आएको पैसा आजै सक्नपर्‍यो ।’ तपार्इं सोच्नुहोला नागरिकता नभएका कारण हातमा परेको पैसा आजै सिध्याउनुपर्ने बाध्यता कसरी हुन्छ ? ‘नागरिकता भएको भए मेरो पनि बैंकमा खाता हुन्थ्यो, पैसा जम्मा गर्न सकिन्थ्यो ।

महिनाभरी काम गरेर बल्लबल्ल पाएको पैसा लगेर सिरानीमुनि राख्छु । अर्कोपल्ट हेर्दा बच्चाको बाउले लगेर सकेर आउँछ’, उनले कारण बताइन् । बच्चाको बाउले पैसा मात्रै सकेर आउँदैन, सकेर आएपछि बच्चा र उनलाई कुटपिट गर्छ । श्रीमान्ले कुटपिट गर्‍यो भनेर नजिकैको पुलिस चौकीमा भन्दा उनको छालाको रंग हेरेर पुलिसले सोध्छ– नेपाली नागरिकता छ ?

उनको मनमा बेलाबेला प्रश्न उठ्छ, ‘नेपाली नागरिकता नभएका महिलालाई उसको बच्चाको बाउले कुट्दैन र’छ कि ?’ उनलाई पुलिस नेपाली नागरिकता भएका मानिसका लागि मात्रै हो जस्तो लाग्छ । यस्तो सोच्दा उनलाई कहिले हाँसो लाग्छ, कहिले टाउको फुट्ला झैं हुन्छ ।

‘कहिले मरिदिऊँ जस्तो लाग्छ’, उनले भनिन् । मर्ने कोसिस त गर्नुभएको छैन ? म यस्तो प्रश्न सोध्न अब बाध्य हुन्छु । ‘दुइटा हुर्कंदा सन्तान सम्झेर छैन’ उनी भन्छिन्, ‘अब त आमाकै नामबाट नागरिकता बन्छ भन्ने थाहा पाएकी छु ।’ यो कुरा सुनाउँदा उनको अनुहार उज्यालो हुन्छ ।

****

त्रिविमा समाजशास्त्रमा एमफिल गरिरहेकी २८ वर्षीया एलिसा पौडेलले पहिला नै लिएको नागरिकताको प्रतिलिपि लिन जाँदा, ‘मैले विवाह गरेकी छैन, यो कुरा झुटो ठहरेमा कानुनबमोजिम सहँुला बुझाउँला’ भनेर लेख्न प्रशासनले बाध्य गराएको भनेर फेसबुकमा उक्त निवेदनको फोटो सहित पोष्ट गरिन् ।

उनले आत्मसम्मानमा लागेको चोटको प्रमाण सहित ‘के यो देश मेरो हो ?’ भनेर प्रश्न गरिन् । नागरिकताको प्रतिलिपि लिन जाँदा उमेर पुगेका, देश दुनियाँ बुझेका, आफ्नै पौरखमा उभिएका महिलालाई यसरी प्रश्न उठाउन बाध्य बनाउने प्रशासनले नपढेका, समाजलाई खासै नबुझ्ने, ठाउँमा कुरा पुर्‍याउन नसक्ने, समाजसँग पौंठेजोरी खेल्न नसक्ने महिलालाई कति दुःख दिंदो हो ? अनुमान गर्न सकिने कुरा हो ।

****

गत वर्ष एक जना साथीको छोराले नागरिकता बनाउनुपर्‍यो । उनको मागी विवाह भएको थियो तर छोरा जन्मिएपछि श्रीमानले आफ्नो अर्कै प्रेमिका भएका कारण उनीसँग बस्नै नसक्ने भनेपछि उनी एक्लै छोरा हुर्काइरहेकी थिइन् ।

जब छोराको नागरिकता आयो त्यसमा छोराको बाउको मात्रै नाम लेखिएको थियो ! छोराले ‘आमाको नाम खोइ त ?’ भनेर सोध्दा सम्बन्धविच्छेद गरेकी आमाको नाम राख्नु पर्दैन भन्ने जवाफ दिएछन् । बाबुको नाम मात्रै लेखिएको नागरिकता बोकेर आमा र आफू मात्रै बस्ने घरमा आएपछि छोराले आमालाई सोधेछन्, ‘यो चिज नभए मेरो जिन्दगी नै चल्दैन ?’

नागरिकताविहीन वा छोराछोरीको नागरिकता बनाउन नसकेका कैयौं महिलाका कथा सुनेकी आमाले, ‘यो निधारमा टाँसेर हिंड्ने होइन, कहिलेकाहीं चाहिने कुरा हो’ भनेर छोरालाई थामथुम बनाइन् । छोराको नागरिकता बनेको महिनौंपछि काठमाडौंमा भेट्दा उनले आफूले डिभोर्सी महिला भएर छोरालाई हुर्काउँदा–पढाउँदाका सास्तीको फेहरिस्त सहित भनिन्, ‘राज्यले त हामीलाई आमा पनि मान्दो रहेनछ, मान्छे पनि मान्दो रहेनछ !’

यस्ता कहानीको सूची लामो छ । यस्ता कथा बोकेर हिंडिरहेका महिलाहरू आफ्नो, समाज र विश्वबारे बेखबर छैनन् । घरभित्रै, कार्यक्षेत्रमा पौंठेजोरी खेलेर भए पनि आफ्नो क्षेत्रमा अगाडि बढिरहेका छन् ।

तर, उनीहरूमध्ये धेरैको कथामा अप्ठेरो पर्दा परिवारले बेवास्ता गरेका, सानै उमेरमा विवाह गर्न बाध्य बनाइएका, विवाहपछि विभिन्न प्रकारका हिंसामा पर्दा पनि परिवार र राज्यले सहयोग नगरेका, कानुनी प्रक्रियामा जान खोज्दा नरम वा कडा भाषामा ‘त्यसो भए कि घर छोड, कि करिअर छोड’ भनिएकादेखि विभिन्न बहानामा श्रीमान्को घरबाट निकालिएका र माइतीले आश्रय पनि नदिएका, दिए पनि दैनिक मानसिक तनाव दिएका महिलाहरू पनि छन् ।

विवाहित महिलाले श्रीमानको घरमा केही वर्ष बिताएर सम्पत्ति लिएर वा नलिई एकल अभिभावकको जीवनको सुरुवात गरेका छन् । यसरी नयाँ जीवन सुरुवात गर्ने महिलाको संख्या समाजमा बढ्दो छ भने अर्कोतर्फ आफ्ना रहर, बाध्यता वा परिस्थितिले विवाह नगरी एक्लै बस्ने महिलाको संख्या पनि बढ्दो छ ।

एउटा कोणबाट हेर्दा यी महिलाहरू समाजमा सशक्तीकरणका पर्याय पनि बनिरहेका छन् । अर्को कोणबाट हेर्दा राज्य नै महिलालाई मानिस नै नस्वीकार्ने, आफैंले जन्माएर एक्लै हुर्काएको सन्तानको अभिभावक नै स्वीकार नगर्ने गरिरहेको छ ।

राज्यको यस्तो रवैयाले एकातर्फ समयक्रममा व्यक्तिले बिर्सेका घाउका खाटा उप्काएर नुनचुक छर्किने काम गरिरहेको छ भने अर्कातर्फ छोराछोरी र आमा विदेश यात्रा गर्दा, विदेशमा रहेका छोराछोरी भेट्न जाँदा वा आमाले जम्मा गरेको सम्पत्ति आफ्नो सन्तानको नाममा सार्न कानुनी झमेलाहरूको सामना गर्नु परिरहेको छ । यी झमेलाले अनावश्यक रूपमा महिलाको आत्मसम्मानमा चोट लगाइनै रहन्छ । र, सधैं एउटा प्रश्न उठाइरहन्छ, ‘यो देश महिलाको पनि हो नि !’

हो भने यो अपमान कहिलेसम्म त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?