+
+
अग्रपथ :

रास्वपा महामन्त्रीको आर्तनादः सरसर्ती टिप्पणी

समग्र पार्टी नै गलत दिशामा छ भने हिजो महामन्त्री ढकालले त्यसको प्रतिरक्षा किन गरे ? कुन कुन कुरा उनले आफ्नो इच्छा, विवेक र राजीखुशीमा गरे ? त्यसको विवरण उनले सार्वजनिक गर्न सक्दा राम्रो हुन्छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८१ असार १६ गते ९:४०

यदाकदा समय र सन्दर्भले ‘पात्र’ को महत्वलाई आकस्मिक रूपमा गम्भीर बनाउँछ । जति उसको ‘स्वत्व’ थियो वा हो, त्योभन्दा धेरै । ‘नयाँ’ र ‘उदीयमान’ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल अहिले त्यस्तै व्यक्ति सावित भएका छन् ।

उनले पार्टीको आन्तरिक प्रयोजनका लागि तयार गरेको एक ‘समीक्षा प्रतिवेदन’ ले सञ्चारमाध्यममा राम्रो स्पेश पाएको छ । तर, यो अकारण भने छैन । रास्वपाको इतिहास, राजनीतिक अडान र योगदान, जेजस्तो होस् वा नहोस्– कम्तीमा यो प्रतिनिधिसभाभित्रको चौथो ठूलो र महत्वपूर्ण सत्ता साझेदार दल हो । यो यथार्थले उनको प्रतिवेदनलाई प्रासंगिक बनाउँछ ।

उनले ‘आफ्नो पार्टीको जनमतमा उल्लेखनीय ह्रास भएको, तत्काल चुनाव हुने हो भने मुश्किलले थ्रेसहोल्ड मात्र कट्ने, प्रत्यक्षतर्फ २–३ सिट मात्र जित्न सक्ने, पार्टी ‘अर्को विवेकशील–साझा’ जस्तो हुन लागेको’ निष्कर्ष निकालेका छन् । अझ अगाडि बढेर यी कठोर वा तीतो सत्य बोले बापत उनलाई ‘पार्टीबाट घोक्र्याउन’ सकिने र उनको ‘पदको मृत्यु हुन सक्ने’ आशंका व्यक्त गरेका छन् ।

संसद्भित्रको चौथो ठूलो दलको महामन्त्रीको यति कठोर, तिक्ततापूर्ण र साहसिक प्रतिवेदन सबैको चाख र रुचिको विषय हुने नै भयो ।

असल र इमानदार राजनीतिकर्मीको उदय केवल पार्टी संस्थापनको संरक्षण र सहयोगमा मात्र हुँदैन । संसारमा त्यस्ता विरलै उदाहरण छन्, जसले संस्थापन पक्ष र आधिकारिक नेतृत्वको संरक्षणकत्वमा हुर्किएर कुनै नयाँ ओजिलो इतिहास बनाएको होस् ।

रास्वपा महामन्त्रीको राजनीतिक पृष्ठभूमि, दृष्टिकोण, विश्लेषण पद्धति र क्षमता, ‘ट्रयाक रेकर्ड’ र विश्वसनीयताबारे यो पंक्तिकार खासै जानकार छैन । शायद म जस्तै नेपाली समाज पनि उनीबारे आम रूपमा धेरै जानकार छैन ।

उनले कुन परिवेशमा कस्तो समझ र मनोदशाबाट यस्तो निष्कर्ष निकालेका हुन्– त्यसको भिन्नै गम्भीर अध्ययन र आकलन जरूरी पर्दछ । उनको जीवनदर्शन, दृष्टिविन्दु, राजनीतिक अडान र अर्थ–संगतिबारे न्यूनतम ज्ञान आवश्यक पर्दछ ।

पार्टीभित्र विगत दुई वर्षदेखि विभिन्न सवाल र निर्णयमा उनका दृष्टिकोण, भूमिका र अडान के थिए ? उनी कस्तो राजनीतिक लाइन वा कार्यदिशालाई समर्थन वा विरोध गर्थे ? रास्वपा पुरानै दलहरूको सत्ता साझेदारीमा संलग्न हुने निर्णयमा उनको धारणा के थियो ? रास्वपा पार्टीको मूल नेतृत्वबारे जनस्तरबाट उठेका विभिन्न सवाल र प्रकरणबारे उनको धारणा के थियो ? यी पक्षहरूको समग्र ज्ञान विना उनको प्रतिवेदनमाथि टिप्पणी गर्न त्यति सहज हुँदैन । शायद उचित पनि हुँदैन ।

तसर्थ, मैले उनी र उनको प्रतिवेदनमाथि कुुनै गम्भीर हैन, सरसर्ती मात्र टिप्पणी गर्ने प्रयत्न गरेको छु ।

अहिलेसम्म उनले पार्टी सभापति रवि लामिछानेको शैली, कार्यदिशा र राजनीतिक लाइनबारे कुनै फरक मत राखेको वा भिन्न अडान लिएको सुनिएको थिएन । अक्सर उनकै नामबाट पार्टीका विज्ञप्ति निस्कन्थे । त्यसमा पार्टी सभापतिको लाइनप्रति समर्थन गरिएको हुन्थ्यो ।

रास्वपा महामन्त्रीले जारी गरेको पछिल्लो विज्ञप्ति मलाई सम्झना छ– कैलाश सरोहिया नागरिकता छानबिन प्रकरणमा । त्यसमा उनले सिरोहिया गिरफ्तारी प्रकरणलाई समर्थन गरेका थिए । विज्ञप्तिको भाषा, शैली र तर्क प्रणाली पढ्दा बडो अनौठो लागेको थियो ।

लाग्थ्यो त्यो कुनै ‘नवफासिस्टको तर्कशास्त्र’ हो । त्यसले कुनै मापदण्ड र मूल्यप्रणाली पक्रिएको थिएन । आफ्नो नेता र नेतृत्वको मन्त्रालयले गरेको कामलाई कनिकुथी बचाउ मात्र गरेको थियो । त्यसले आधुनिक लोकतान्त्रिक राज्यमा कुनै नागरिकको नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने आधारभूत संवैधानिक अधिकारमाथि समेत प्रहार गर्दथ्यो ।

त्यो विज्ञप्ति एक प्रकारले ‘नश्लवादी विभेद’ को मानसिकताग्रस्त थियो । फासीवाद र नश्लवाद जुम्ल्याहा सन्तान हुन् । लाग्थ्यो– रास्वपा यी दुवै विचारको ठिमाहा हो । अन्यथा सहकारी ठगी समाचार प्रकरणको प्रतिशोध नागरिकतासँग जोडेर कसरी साध्न मिल्छ ? र, त्यस्तो कुरा कुनै लोकतान्त्रिक राजनीतिक दलले कसरी समर्थन गर्न सक्दछ ?

संसद्मा सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति माग भइरहँदा सबै रास्वपा नेताहरू ‘यो हुनै सक्दैन’ भन्दैथे । शायद यी महामन्त्री पनि यही लाइनमा कतै थिए होलान् !

कुनै पनि लोकतान्त्रिक दलको पहिलो कर्तव्य हुन्छ– सञ्चारमाध्यममाथि राज्यको अवाञ्छित हमलाको विरोध र प्रतिरक्षा गर्नु । लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस एकअर्कामा अविभाज्य हुन्छन् र यो लोकतन्त्रको विश्वव्यापी मान्यता हो । यति सानो ज्ञान र हेक्का कुनै रास्वपा नेतामा देखिएन ।

त्यो एक लोकतान्त्रिक पार्टी हो भने सवालगत रूपमा विरोध वा समर्थन गर्ने अधिकार कुनै पदाधिकारी र पार्टी सदस्यलाई हुनुपर्ने हो । ‘म घोक्र्याइन सक्दछु’ ‘मेरो पदको मृत्यु हुनसक्दछ’ जस्ता वाक्य उनले प्रयोग गरेबाट प्रष्ट हुन्छ कि रास्वपाभित्र फरक मतलाई लोकतान्त्रिक स्पेश बिल्कुलै कम छ वा छँदै छैन ।

हामीले नेपाली राजनीतिमा त्यस्ता थुप्रै राजनीतिकर्मी देखेका छौं– जसले आफ्नै मातृपार्टीका गलत राजनीतिक लाइन र क्रियाकलापसँग ‘नैतिक प्रतिरोध’ गरे । प्रदीप गिरी थिए– जसले संविधान पारित गर्ने बेला जस्तो संगीन र महत्वपूर्ण क्षणमा पनि पार्टी ह्वीप पालना गरेनन् । तर, पनि उनलाई उनको पार्टीले कारबाही गरेन, त्यसपछिका दिनमा चुनावको टिकट खोसेन र दुव्र्यवहार पनि गरेन । न त निधन हुँदा सम्मानमा कुनै कमी नै गर्‍यो ।

रास्वपा महामन्त्रीले कुनै नयाँ नैतिक प्रतिरोध गर्न खोजेका, कुनै खास एजेण्डामा वैचारिक विमति राख्न चाहेका हुन् वा नेतृत्वप्रति कुनै अमूक असन्तुष्टि वा रोष मात्र व्यक्त गरेका हुन्– प्रष्ट छैन ।

एमालेमा भीम रावल छन् अहिले । एमालेको निर्माण, विकास र विस्तारमा अध्यक्ष केपी शर्मा ओलीको भन्दा कम रावलको भूमिका छैन । तर, ओलीको दुई–दुई पटकको ‘असंवैधानिक संसद् विघटन’ लाई उनले विरोध गरे । यसबापत उनको चुनावको टिकट खोसियो, बदनाम गर्न खोजियो पार्टीको गतिविधिमा भाग लिन एकप्रकारको अघोषित प्रतिबन्ध जस्तो छ अहिले तर कारबाही गरेर पार्टीबाटै निष्कासन गर्न भने एमालेले सकेको छैन ।

कम्युनिस्ट आन्दोलनमा अर्का घनश्याम भुसाल छन्, जसको समग्र राजनीतिक जीवन पार्टीभित्रकै संस्थापन पक्षसँग भिड्दाभिड्दै यहाँसम्म आइपुगेको छ । नेपाली कांग्रेसभित्र अहिलेका महामन्त्री गगन थापाको उदय पनि पार्टी संस्थापनको सहयोग र संरक्षकत्वमा भएको हैन ।

जतिखेर गिरिजाप्रसाद कोइराला जस्ता उच्च कद भएका शीर्ष नेता गणतन्त्रको लाइनमा थिएनन्, त्यतिखेरै थापाले गणतन्त्रको पक्षमा सडकमा नारा लगाएका थिए । थापाले जस्तै एमालेमा रामकुमारी झाँक्रीले त्यो बेला सडकमा निस्केर गणतन्त्रको पक्षमा नारा लगाएकी थिइन्, जतिखेर उनका नेता माधवकुमार नेपाल नारायणहिटी दरबारको दक्षिणढोकामा निगाहाको प्रधानमन्त्री हुन ज्ञानेन्द्र शाहको हजुरीमा बिन्तीपत्र चढाउँदै थिए ।

असल र इमानदार राजनीतिकर्मीको उदय केवल पार्टी संस्थापनको संरक्षण र सहयोगमा मात्र हुँदैन । संसारमा त्यस्ता विरलै उदाहरण छन्, जसले संस्थापन पक्ष र आधिकारिक नेतृत्वको संरक्षणकत्वमा हुर्किएर कुनै नयाँ ओजिलो इतिहास बनाएको होस् ।

राजनीतिक इतिहास सर्वथा विद्रोहीहरूको इतिहास हो । खाँटी इतिहासका निर्माता संस्थापन पक्षका पुच्छर र पिछलग्गुहरू हैनन्, युगबोध, सत्यनिष्ठा र कर्तव्यचेत भएका विद्रोहीहरू हुन् । निश्चित मूल्य प्रणालीमा आधारित भएर फरक मत राख्न सक्नेहरूको इतिहासले भिन्नै गणना र सम्मान गर्दछ ।

कम्तीमा मूल नेतृत्वको दोहोरो नागरिकता, दोहोरो पासपोर्ट, सहकारी ठगी छानबिन, ‘नो नट अगेन’ भन्ने नारामा चुनाव जितेर आएको दल लगत्तै पुरानैको सिन्डिकेट र सत्ता–साझेदारीमा स्वार्थ–बाझन सहितको सहभागिता र कैलाश सिरोहिया प्रतिशोध प्रकरणमा कसैले न कसैले नेतृत्वसँग नैतिक प्रतिरोध गर्ला भन्ने रास्वपा बाहिर धेरैको अपेक्षा थियो ।

तर, रास्वपामा त्यो हैसियत कसैमा देखिएन । एक केन्द्रीय सदस्य गणेश कार्कीले थोरै र नरम विमति राखेको पाइयो । प्रखर रूपमा कोही अघि आएन । कसैले आफूलाई पार्टीभित्रको प्रतिपक्ष वा फरक मत सिद्ध गर्न चाहेन । यसको अर्थ हुन्छ कि रास्वपाभित्र भयको वातावरण छ, लोकतान्त्रिक स्पेश छैन । रास्वपामा आलोचनात्मक सोच भएका सृजनशील राजनीतिकर्मीहरूको जन्म र विकास सम्भव छैन, जुन नयाँ दलहरूप्रतिको अर्को मतदाता अपेक्षा थियो ।

रास्वपा पार्टी पंक्ति र कार्यकर्ताहरूको चरित्र ठीक त्यस्तै देखियो, जो पुराना दलका औसत नेता कार्यकर्ताको हो । उही ‘झोले’ र ‘अरिंगाल’ चरित्र । आफ्नाले ‘जे गरे पनि ठीक’ देख्ने चरित्र । आफूले आफैंलाई आलोचनात्मक समीक्षा नगर्ने चरित्र । सत्तालिप्सा, घमण्ड, अहंकारको चरित्र । राजनीति भनेको अरूका गल्ती देखाउनु र आफू पानीमाथिको ओभानो हुनु हो भन्ने चरित्र । आफू नैतिक र असल हुनु नपर्ने अरूलाई उपदेश दिए पुग्ने चरित्र ।

यी यावत् परिदृश्यमा रास्वपा महामन्त्रीले कुनै नयाँ नैतिक प्रतिरोध गर्न खोजेका, कुनै खास एजेण्डामा वैचारिक विमति राख्न चाहेका हुन् वा नेतृत्वप्रति कुनै अमूक असन्तुष्टि वा रोष मात्र व्यक्त गरेका हुन्– प्रष्ट छैन ।

उनको कुनै निजी कुण्ठा, महत्वाकांक्षा वा असन्तुष्टि भए इतिहासले त्यसलाई कुनै महत्व दिने छैन । यदि उनमा कुनै नैतिक भावना, कर्तव्यबोध र निश्चित राजनीतिक लाइनप्रतिको प्रतिबद्धता छ भने त्यो शृंखलाबद्ध र संगतिपूर्ण रूपमा अभिव्यक्त हुनुपर्ने हुन्छ, जो अहिलेसम्म देखिएको छैन ।

हिजोका गल्तीप्रति पश्चात्तापको भावना भएको भए त्यो राम्रै हो । आत्मस्वीकारोक्ति मान्छेको हृदय शुद्धीकरणको एक असल औजार हो । कुनै संस्थाको मुख्य भूमिकामा रहेको व्यक्तिले कुनै सवाल र घटनाक्रमप्रति ‘कन्फेस’ गरे त्यसको आफ्नै प्रकारको महत्व स्थापित हुन सक्दछ ।

खासमा नयाँ दलप्रतिको मतदाता अपेक्षा पुराना दलभन्दा भिन्न चरित्र र कार्यशैली भएको उन्नत लोकतान्त्रिक र इमानदार दल हो । पुराना दलहरूको करिब तीन दशक लामो राजनीतिक चरित्र र सत्ता सञ्चालनको तरिकाबाट अघाएका मतदाताले नयाँ विकल्प निर्माण गर्न खोजेका हुन् ।

संसारका सबै मान्छेले कुनै न कुनै परिस्थिति र बाध्यतामा कुनै न कुनै गल्ती गरेका हुन्छन् । ती मान्छे असल मानिन्छन् जसले आफ्ना गल्तीप्रति आत्मस्वीकारोक्ति गर्दछ । ती मान्छे दुष्ट मानिन्छन्, जो जीवनको अन्तिम साससम्म कुनै न कुनै प्रकारले आफ्ना गल्तीको प्रतिरक्षा र ढाकछोप गरेर मर्दछन् ।

रास्वपा महामन्त्रीलाई मैले यहाँ व्यक्त गरेका धारणा बोझिला लाग्न सक्दछन् । उनको राजनीतिक अनुभव र विकासक्रमले यी यथार्थलाई बुझ्न बाँकी हुन सक्दछ । एक नयाँ, युवा र सिकारु राजनीतिकर्मीप्रति मैले अनावश्यक र धेरै अपेक्षा थोपरेको हुन सक्दछ ।

तथापि, उनले एक चीत्कार, एक आर्तनाद भने गरेका छन् । उनको निष्कर्ष, कदम वा अभिव्यक्तिलाई अहिले दिन मिल्ने उचित संज्ञा भने ‘आर्तनाद’ हो । एक प्रकारको आतेस, चिच्याहट, रोदन वा हृदयदेखिको चीत्कार भने त्यो अवश्य हो ।

उकुसमुकुस भएको मान्छेले यस्तो चीत्कार वा आर्तनाद गर्दछ । उनको हृदयमा पक्कै पर्याप्त उकुसमुकुस छ । त्यो उकुसमुकुस उनको निजी हो कि पार्टीभित्रको समग्र परिवेश र वातावरण हो, त्यो त्यहीभित्रका अरूबाट पुष्टि हुँदै जाला ।

उनको प्रतिवेदनमा बन्दै गरेको पार्टी बिग्रन लागेको आत्मबोध र भय देखिन्छ । त्यसका लागि उनी आफूलाई जिम्मेवार ठान्दैनन् । आफूले नगरेका ‘कामको उत्तर दिन नसक्ने’ भन्दछन् । उनलाई लागेको छ कि उनले गल्ती गरेका छैनन्, समग्र पार्टी नै गलत दिशामा छ । यसको सीधा अर्थ पार्टी सभापति रवि लामिछाने गलत दिशामा छन् भन्ने हुन्छ ।

समग्र पार्टी नै गलत दिशामा छ भने हिजो उनले त्यसको प्रतिरक्षा किन गरे ? कुन कुन कुरा उनले आफ्नो इच्छा, विवेक र राजीखुशीमा गरे ? कुन कुन कुरा संस्थागत निर्णय मान्नुपर्ने बाध्यता वा दबाबमा गरे ? कुन कुन कुरामा उनको के विमति थियो ? त्यसको विवरण उनले सार्वजनिक गर्न सक्दा राम्रो हुन्छ ।

रास्वपाले रोजेको बाटो यथार्थमा ‘स्वध्वंस र पतन’ को बाटो हो नै । तसर्थ यो दल आगामी चुनावसम्म अर्को विवेकशील–साझा जस्तो भए त्यो कुनै आश्चर्यको कुरै हुँदैन । रास्वपा नेतृत्व यसलाई ‘कांग्रेस–कम्युनिस्ट–राजावादी–मधेशवादी’ जस्तो एक आन्दोलन, विचारधारा र स्थिर जनमत भएको पार्टी ठान्दछ भने त्यो आफैंमा ठूलो भ्रम हो ।

देशमा नयाँ दलहरूको उदय बिल्कुल फरक मतदाता मनोविज्ञानबाट भएको हो– चाहे त्यो हिजोको विवेकशील–साझा होस् वा आजको रास्वपा । त्यो मतदाता मनोविज्ञानलाई नबुझ्ने नेतृत्वले आफ्नो सत्कर्म र लोकप्रियताको आर्जन ठानिरहेको छ, जो बिल्कुलै हैन ।

हिजो रवीन्द्र मिश्रले यही ठानेका थिए– जब आफ्नो वास्तविक हैसियत बुझे राप्रपातिर कुलेलम ठोके । यही स्थिति रवि लामिछानेको पनि हुन सक्दछ । त्यतिखेर उनी कता कुलेलम ठोक्नेछन्, त्यो त पर्खिएर हेर्नुपर्ने हुन्छ ।

खासमा नयाँ दलप्रतिको मतदाता अपेक्षा पुराना दलभन्दा भिन्न चरित्र र कार्यशैली भएको उन्नत लोकतान्त्रिक र इमानदार दल हो । पुराना दलहरूको करिब तीन दशक लामो राजनीतिक चरित्र र सत्ता सञ्चालनको तरिकाबाट अघाएका मतदाताले नयाँ विकल्प निर्माण गर्न खोजेका हुन् । ती आज धोका खाएको, ‘नयाँ जोगी’हरूले पनि मतदातालाई ढाँटेको, निर्वाचनमा अभिव्यक्त जनादेशको खिलापमा भएको अनुभूति गरिरहेका छन् ।

रास्वपा महामन्त्रीको उनलाई पार्टीबाट ‘घोक्र्याएर निकाल्न सकिने’, र ‘पदको मृत्यु’ हुनसक्ने आशंका सत्य सावित भएको छ । उनलाई पार्टी अनुशासन आयोगले तुरुन्तै स्पष्टीकरण सोधेको छ । त्यो ‘घोक्र्याइने तयारी’ को पहिलो कदम हो ।

नयाँ र वैकल्पिक दलहरूप्रतिको मतदाता अपेक्षा यो पनि थियो कि ती पुरानाभन्दा अझ बढी लोकतान्त्रिक हुन् । अन्तरपार्टी लोकतन्त्रप्रति तिनको प्रतिबद्धता र अभ्यास उन्नत, आधुनिक, विवेकसम्मत र बलियो होस् । तर, रास्वपाभित्र त्यस्तो सम्भावना देखिएन ।

त्यो कस्तो अनुशासन आयोग जसले कुनै राजनीतिक दृष्टिकोण वा समीक्षा प्रतिवेदन प्रस्तुत गर्दा महामन्त्रीलाई तुरुन्तै स्पष्टीकरण सोध्यो, तर; यीभन्दा ठूलो कैयौं नैतिक प्रश्नमा सभापतिलाई कहिल्यै कुनै चिर्कटो काटेर सोधपुछसम्म गरेन !

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?