+
+
वार्ता : विमलेन्द्र निधि :

‘महासमितिका धेरै एजेन्डामा म सहमत छैन’

फेरि उठ्ने कि नउठ्ने भन्नेबारे देउवासँग सल्लाह गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते ८:२१

१६ असार, काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवालाई चुनौती दिने घोषणा गरेका विमलेन्द्र निधिले चौधौं महाधिवेशनको दोस्रो चरण मतदानमा उनै देउवालाई सघाएका थिए । देउवाले उनलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरे । निधि अहिले प्रतिनिधिसभामा समानुपातिक सांसद छन् ।

पार्टीको उपल्लो तहमा उपसभापतिको पद समेत सम्हालिसकेका निधि यतिबेला कम क्रियाशील भएको जस्तो देखिन्छ । यद्यपि, सक्रियतामा कमी आएको स्वीकार्न उनी तयार छैनन् । पार्टी संगठनको सुदृढीकरण र कांग्रेसलाई एकताबद्ध बनाउन जिल्ला–जिल्ला भ्रमणमा गइरहेको उनी दाबी गर्छन् ।

निधिले संस्थापन पक्षबाट अघिल्लो पटक विद्रोह गरेर छुट्टै उम्मेदवारी दिए पनि अब सभापति देउवाको समर्थनमा १५औं महाधिवेशनमा सोही पदमा दाबी गर्ने मनस्थितिमा देखिन्छन् । निधिसँग मूलतः कांग्रेसको आन्तरिक राजनीति र उनको सोचमा केन्द्रित रहेर अनलाइनखबरका लागि लिलु डुम्रेले गरेको कुराकानीः

तपाईंको क्रियाशीलता आजभोलि कम भएको जस्तो देखिन्छ, राजनीतिक सक्रियता अलि घटाउँदै जानुभएको हो ?

१४औं महाधिवेशनमा म सभापतिमा लडेको हुँ । त्यसमा पराजित भएँ । शेरबहादुर देउवाजीलाई दोस्रो चरणको निर्वाचनमा सहयोग गरें । जितेर पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ ।

पार्टीमा म क्रियाशील नै छु । समुदायमा कांग्रेस अभियानमा पार्टीले मलाई लुम्बिनी प्रदेशमा खटाएको थियो । लुम्बिनी प्रदेशको ६ वटा जिल्लामा घुमेर आएँ । कर्णालीको हुम्लामा गएँ । सात दिन बसेर आएँ । अस्ति भर्खर कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु जिल्लामा पुगेर आएँ । त्यहाँ पार्टीका साथीहरूसँग भेटघाट, अन्तरक्रिया गरेर आएँ । १६ गतेको कार्यक्रमका लागि सुनसरी जाँदैछु । केही दिन अघि चितवन गएँ, त्यहाँको सभापतिले मलाई प्रमुख अतिथि बनाउनुभयो । म जिल्ला–जिल्ला गइरहेको छु । सक्रिय नै छु म ।

तर, तपाईंले सक्रिय रहेको दाबी गरे पनि क्रियाशीलता अलि कम नै भएको देखिन्छ । तपाईं आफैं ओझेल पर्न खोजेको आशंका पनि छ !

मिडियाहरूले म गएको ठाउँको समाचार दिइरहेको छैन, त्यही भएर क्रियाशीलता कम भएको भन्ने लागेको होला । तपाईंहरूले समाचार नदिएपछि क्रियाशीलता कम भएको भन्नु तपाईंहरूको कुरा हो, मेरो होइन ।

धनुषाको मेरो निर्वाचन क्षेत्रमा लगातार पार्टीका क्रियाकलापमा सक्रिय भइरहेको छु । मलाई पार्टीका साथीहरूसँग भेटघाट र संवाद रुचिको विषय हो । मेरो प्राथमिकता र रुचि अनुसार पार्टीका साथीहरूले मलाई बोलाइरहनुभएको छ । म गइरहेको छु ।

तपाईं महामन्त्री, उपसभापति रहेर सभापति देउवासँग नजिक रहेर काम गर्नुभयो । पदाधिकारीमा अहिले तपाईं हुनुहुन्न । अहिले चाहिं देउवासँग तपाईंको सम्बन्ध कस्तो छ ?

राम्रो छ । निरन्तर सम्पर्कमा छु । म पदाधिकारी होइन । पदाधिकारीले गर्नुपर्ने काम जिम्मेवारीमा भएकाले गर्छन् । सभापतिले उपसभापति, महामन्त्री लगायतलाई काम गर्न लगाउनुहुन्छ । कर्णाली जानु अघि पनि सभापतिलाई भेटेर गएको थिएँ । त्यहाँबाट फर्केर आएपछि त्यहाँको विवरण सुनाइसकें । भेटघाट भइरहन्छ ।

पहिले तपाईं पदाधिकारी हुँदा सरसल्लाह सभापतिसँग हुने गर्थ्यो नै; अहिले चाहिं भेटघाट मात्रै हुन्छ कि सभापतिले सल्लाह पनि लिनुहुन्छ ?

सल्लाह लिनुहुन्छ । उहाँसँग कुरा भइरहन्छ । मलाई सल्लाह आवश्यक परे, म पनि लिन्छु । उहाँलाई चाहिए बोलाउनुहुन्छ ।

सम्बन्ध १४औं महाधिवेशन अघिकै जस्तो छ ?

सम्बन्ध सुमधुर छ ।

कांग्रेसले नियमित महाधिवेशन गरेको अवस्थामा २०८२ मंसीर पुसतिर महाधिवेशन गर्नुपर्दछ । कांग्रेसको महाधिवेशनको चर्चा अहिलेदेखि नै सुरु भइसकेको छ । तपाईंको अबको लक्ष्य वा बाटो के हो ?

महाधिवेशन आउन समय बाँकी छ । १५औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर नै म आफ्नो निर्णय लिन्छु । उहाँलाई नै साथ दिइरहेको छु मैले । समयमा निर्णय लिन्छु । बेसमयमा निर्णय गरेर के गर्नु ? अहिले भन्ने समय भएको छैन । सभापतिसँग एकदम आशावादी छु ।

१४औंमा प्रतिस्पर्धा गरेकाले तपाईं फेरि पनि सभापतिको आकांक्षी बन्नुहोला । अरू कतिपयले सभापतिको उम्मेदवारी दिने बताइसके । यसमा तपाईंको सोच के हो ?

त्यो पछिको कुरा हो । अहिले भन्न समय भएको छैन । अरूले भन्न थाले पनि म अहिले नै भन्ने पक्षमा छैन । अरू नेताले के गर्नुभयो, त्यो उहाँहरूको कुरा हो । पार्टीलाई सुदृढीकरण, बलियो र एकताबद्ध बनाउन म त देशभरि घुम्दैछु नि ! मेरो क्रियाशीलता अब थप बढ्छ ।

फागुनमा पार्टीको महासमिति बैठक बस्यो । केन्द्रीय समितिले निर्णय गर्ने अधिकार दिएर त्यो बैठक सकियो । महासमिति बैठक र त्यसले गरेका निर्णयबारे केन्द्रीय समितिमा छलफल गर्न ढिलाइ भएको होइन र ?

त्यसका लागि पदाधिकारीहरूले नै सभापतिलाई जति सहयोग गर्नुपर्ने हो त्यो भइरहेको देखिंदैन । पार्टी बैठकको बारेमा त महामन्त्री र उपसभापतिहरूले सभापतिले सहयोग गरेर त्यसको तयारी गर्नुपर्ने हो । केन्द्रीय समितिको बैठक बोलाउन ढिलो भइरहेको छ । किन ढिलो भइरहेको छ, मलाई थाहा छैन । सभापतिसँग सल्लाह गरेर बैठक कहिले बोलाउने पदाधिकारीहरूको जिम्मेवारी हो । महासमितिमा आएका धेरै एजेण्डामा व्यक्तिगत रूपमा म सहमत छैन ।

कुन कुनमा हो ? गठबन्धनको एजेण्डा हो ?

अहिले भन्दिनँ म । गठबन्धनको विषय त महासमितिको बैठक एजेण्डा हुनुहुन्न भनेर मैले त्यही बेला भनेको हुँ । गठबन्धन गर्ने कि नगर्ने ? कोसँग गर्ने ? त्यो महासमिति बैठकको एजेण्डा हुन्छ र ?

एउटा महासमिति बैठकले गरेको निर्णय बदल्न परे फेरि महासमिति बैठक बोलाउने ? सम्भव छ ! अव्यावहारिक र अपरिपक्व कुरा हो । गठबन्धनको ‘ग’ पनि महासमिति बैठकमा उच्चारण गर्न नहुने मैले त्यो बेला भनेको थिएँ । पदाधिकारीको बैठकमा भनेको थिएँ । तर, एजेण्डा ल्याउनुभयो ।

महासमितिबाट आएका कुराहरू बारे केन्द्रीय समितिमा छलफल होला । तपाईंको धारणा चाहिं के हुन्छ त अब ?

व्यक्तिगत धारणा केन्द्रीय समितिको बैठकमा भन्छु नि ! महासमितिको बैठकमा आएका एजेण्डामा मेरो सहमति नभएको कुरा भनिसकें त ।

तपाईंलाई अहिलेका पदाधिकारीले गरिरहेको काम चित्त नबुझेको हो ?

त्यस विषयमा बाहिर टिप्पणी गर्दिनँ । अरू जस्तो बोल्ने मान्छे म होइन । यसमा केही भन्दिनँ ।

पार्टीका भ्रातृ संस्था लथालिंग छन् । विधान अनुसार सभापतिले गर्नुपर्ने कार्यहरू भएका छैनन् । तपाईं उपसभापति हुँदाको समयकै प्रवृत्ति अहिले पनि दोहोरिइरहेको हो ?

विभागहरू बनाउन ढिलो भइरहेको छ, यो नराम्रो भइरहेको छ । अधिवेशन गर्न नसकेर भ्रातृ र शुभेच्छुक संस्थाहरू लथालिंग छन् । नेविसंघको केन्द्रीय समिति सात सय बढीको बनाउन हुन्थेन । केही विभागमा मनोनित गरिएको छ । अरू पनि बनाउनुपर्दछ । विभागको संख्या बढाउने कुरा मलाई थाहा छैन ।

समयमा हुनुपर्ने हो । तर, भइरहेको छैन । यो चिन्ताको विषय हो । पार्टीमा सबैलाई पद चाहिएको छ । पार्टीभित्र गुट–उपगुट छँदैछन् । एउटा पक्षले नाम नदिंदा पनि निर्णय हुन सकिरहेको छैन । नाम माग्दा नदिने, निर्णय गर्‍यो भने एकलौटी गर्‍यो भन्नेहरू छन् ।

भ्रातृ संस्थाहरू त अधिवेशन गराउनै नसक्ने अवस्थामा छन् । यस्तै तरिकाले चलाउने हो कि नयाँ विकल्पमा जानुपर्दछ ?

अधिवेशन गर्न नसक्ने अवस्थामा छन् । यो गठन नै मलाई ठीक लागेको छैन । मैले यो कुरा सभापतिलाई भनिसकेको छु । यति ठूलो संख्यामा पनि केन्द्रीय समिति हुन्छ ?

भ्रातृ संस्थालाई भंग त किन गर्नु र ! अधिवेशन गराउनुपर्दछ । म्याद थप्दै आएकाले अब अधिवेशन त गराउनु पर्‍यो नि ! अब पनि अधिवेशन गराउन सकेनन् भने त्यो बेला सोच्नुपर्दछ । जुन समिति बनेको छ, त्यसलाई नै भंग नगरी महाधिवेशन गराउनेतिर लाग्नुपर्दछ ।

तर यही अवस्था रहिरहे पार्टीकै महाधिवेशन पनि चार वर्षमा नहोला नि ? के भन्नुहुन्छ ?

२०८२ मा महाधिवेशन हुने सम्भावना देख्छु म । राजनीतिक स्थिति र पार्टीको तयारीमा भर पर्दछ । एक वर्ष थप्न पार्टी विधानले दिएको छ ।

थप्न पाउने अवधि त प्रतिकूल वा असहज अवस्था भए मात्रै हो नि ? एक वर्ष अवधि थप्दा चुनावको नजिक महाधिवेशन गर्दा पार्टीभित्र झन् आन्तरिक द्वन्द्व होला नि ?

२०८२ मा महाधिवेशन भयो भने राम्रो कुरा हो । त्यो समय सकिएन भने एक वर्ष थप्ने व्यवस्था छँदैछ ।

१४औं महाधिवेशन अघि कांग्रेसका संस्थापक नेताहरू मध्येका तीन पुत्र (निधि, शशांक, प्रकाशमान) निरन्तर भेट्ने र उम्मेदवारी एक जनाले दिने भन्नुहुन्थ्यो । तर, उम्मेदवारी तपाईंहरू मध्ये दुई जनाको पर्‍यो । १५औं महाधिवेशन केन्द्रित रहेर पहिलेको संवादले निरन्तरता पाउने सम्भावना कति छ ?

त्यो कुरा त्यही बेला थाहा पाउनुहोला । १४औंमा हामीमध्ये एक जना सभापतिको उम्मेदवार बनाउन कोसिस गरेका हौं । त्यो बेला भएन । १५ औंमा के हुन्छ, त्यो बेलामा हेर्दै जाऔं न !

माओवादी केन्द्रसँग गठबन्धन कायम राख्न कांग्रेसले खोज्दाखोज्दै पनि सरकारका लागि नयाँ समीकरण बन्यो । तपाईंको बुझाइमा दुई दलको सम्बन्धमा दरार कहाँबाट आयो ?

नेपाली कांग्रेससँगको सरकारको एक वर्ष भइसकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्नुभएको थियो । त्यो कुरामा कांग्रेस र माओवादीमा सहमति बन्न सकेन । पुनर्गठन गर्न यदि कांग्रेसले सहयोग गरेको भए, गठबन्धन टुट्ने थिएन । कसकोबाट कमजोरी भयो म भन्दिनँ ।

महासमिति बैठकको एजेण्डामा यस्तो लेखियो, उस्तो लेखियो, त्यो कारण होइन । मेरो निष्कर्ष, मन्त्रिपरिषद् पुनर्गठन भएको भए गठबन्धन टुट्ने थिएन । अहिलेको गठबन्धनलाई पनि धेरै सहज छैन । अहिलेको गठबन्धन देश र लोकतन्त्रको हितमा छैन ।

नेपाली कांग्रेसका सांसदहरूले बीआरआई सम्झौतालाई लिएर संसद्मा पुनः आवाज उठाउनुभएको छ । चीनको यो परियोजना नेपालका लागि हितकर भए/नभएको बारे तपाईंको टिप्पणी के छ ?

चीनले बीआरआईको प्रस्ताव गरेको छ । यो नेपालको अर्थतन्त्र र लोकतन्त्रको हितमा छैन ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?