+

तीन खेलाडी जसले एक खेल नखेली विश्वकप जिते

२०८१ असार  १६ गते ८:०२ २०८१ असार १६ गते ८:०२
तीन खेलाडी जसले एक खेल नखेली विश्वकप जिते

१६ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जित्यो । भारतले प्रतियोगिताभर ८ खेलमा अपराजित रहँदै उपाधि जितेको हो । समूह चरणमा क्यानडासँग वर्षाको कारण अंक बाँडेको भारतले अन्य सबै खेलमा जित हात पार्यो ।

भारतले उपाधि जित्दा तीन खेलाडीले भने एक खेल पनि खेल्ने अवसर पाएनन् । युवा ओपनर यशस्वी जैसवाल, विकेटकिपर सञ्जु स्यामसन र लेग स्पिनर युजभेन्द्र चहल प्रतियोगिताभर एक खेल नखेली च्याम्पियन बने । भारतले ओपनरमा विराट कोहली र रोहित शर्मालाई निरन्तरता दियो । समूह चरण र सुपर–८ मा कोहलीको प्रदर्शन राम्रो हुन नसकेपनि भारतले उनलाई बाहिर गरेन ।

फाइनलमा भारतलाई उपाधि जिताउन कोहलीले ५९ बलमा ७६ रनको इनिङ खेल्दै प्लेयर अफ द फाइनल अवार्ड जिते । रोहित कप्तान हुँदा बाहिर हुने कुरै भएन । त्यसैले जैसवालले कुनैपनि खेलमा खेल्ने मौका पाएनन् । बायाँ हाते ब्याटर जैसवाल आक्रामक क्रिकेटका लागि चिनिन्छन् ।

तेस्रो नम्बरमा खेल्दै ऋषभ पन्तले राम्रो गरेपछि सञ्जु स्यामसनले पनि एक खेल खेल्ने अवसर पाएनन् । स्यामसनले इन्डियन प्रिमियर लिग(आईपीएल) मा राम्रो गर्दै विश्वकप टोलीमा स्थान बनाएका थिए । अर्का लेग स्पिनर युजभेन्द्र चहलले पनि एक खेल खेल्ने मौका पाएनन् । भारतले सुरुवातमा ब्याटिङ मजबुत बनाउन अक्षर पटेल र रविन्द्र जडेजालाई स्पिन अलराउण्डरको रुपमा खेलाएको थियो । पछि तीव्र गतिका बलर मोहम्मद शिराजलाई बाहिर राख्दै कुलदीप यादवलाई खेलाएको थियो । यस विश्वकपमा कुलदीपले ५ र शिराजले ३ तीन खेल खेले । अन्य सबै खेलाडीले समान ८ खेल खेलेका थिए ।

समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १–१ अंक बाँडेको थियो । सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

भारतको टी२० विश्वकप २०२४ विश्वकप जित्ने टोली :

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह, जस्प्रित बुमराह, युजभेन्द्र चहल, सञ्जु स्यामसन, मोहम्मद शिराज र यशस्वी जैसवाल ।

प्रशिक्षक र म्यानेजमेन्ट : राहुल द्रविड (मुख्य प्रशिक्षक), विक्रम राठोर (ब्याटिङ प्रशिक्षक), पारस म्हाम्ब्रे (बलिङ) र टी दिलिप (फिल्डिङ प्रशिक्षक)

 

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय