+
+
धनराजको २५ महिना :

पोखराका मेयरको गिर्दो साख, रुष्ट छन् नागरिकसँगै अन्य दल पनि

‘मेयर साबले मिति तोकेरै बोलिदिइहाल्नु हुन्छ तर रिजल्ट देखिँदैन, कुरा मीठा गर्नुहुन्छ तर सहरमा काम त्यस्तो देखिँदैन ।’

पोखरा महानगरका विभिन्न संयन्त्रहरुमा आफ्नै पार्टीका व्यक्तिहरुलाई भर्ती गर्ने, स्वार्थ बाझिने गरी गतिविधि गरेको भन्दै मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको कार्यशैलीप्रति पनि नागरिकले प्रश्न उठाइरहेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असार १६ गते १०:२३

१६ असार, पोखरा । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्रमुख सहरहरु काठमाडौं, धरान, धनगढीसँगै धेरै ठाउँमा स्वतन्त्रहरुको लहर थियो, ती नयाँ अनुहारमा धेरै नागरिकले परिवर्तनको आभास खोजेका थिए ।

पुराना भनिएका पार्टीका नेता र तत्कालीन अवस्थामा राजनीतिक रुपमा परीक्षण भइसकेका नेताहरुको विकल्पमा पोखरेली नागरिकले पनि मेयर धनराज आचार्यलाई आशाको नजरले हेरेका थिए ।

नेकपा विभाजन पछिको एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउन कास्कीमा भूमिका खेलेका धनराजले नै ५ दलीय गठबन्धनबाट टिकट पाउँदा धेरैले उनलाई कुनै एक दलको उम्मेदवारका रुपमामात्र हेरेनन् । नेपाली कांग्रेस, माओवादी, तत्कालीन जनता समाजवादी, सानै भए पनि जनमोर्चाको जगमा पोखरेली जनताको लोकप्रिय मतका साथ धनराज पोखराको मेयरमा चुनिए ।

लामो समय एमालेकै बिताएको, गुट, पोखराकै मेयरमा परीक्षण भइसकेका कृष्ण थापाको विकल्पमा एमालेभित्रको मतसमेत तान्दै मेयरमा आचार्य निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी एमालेका थापाले भन्दा ६ हजार ४५ मत बढी ५८ हजार ८९३ मत पाएर १५ औं मेयर चुनिएका धनराजले पोखराको नेतृत्वमा झण्डै साढे २ वर्ष बिताइसकेका छन् ।

सुरुका वर्ष हुटहुटी भएको तर लय समाउन नसक्दा नतिजा देखिन बाँकी रहेको हुनसक्ने बुझेका पोखरेलीलाई अहिले भने मेयर आचार्यले निराश बनाएका छन् । आचार्यलाई मेयरमा जिताउन काँध हालेका तत्कालीन गठबन्धनका सबै दल पनि उनीसँग रुष्ट छन् । अवसर पाएका र उनीसँग नजिक रहेकाबाहेक उनकै दल एकीकृत समाजवादीका नेता पनि उनीसँग खुसी छैनन् ।

दैनानुदिन हुने विकास निर्माणका काम, सेवा प्रवाहबाहेक मेयर आचार्यले सहर बनाउने, दीर्घकालीन महत्व राख्ने र परिवर्तनको छनक दिने काम गर्न नसकेको उनकै राजनीतिक साझेदारहरुले पनि आलोचना गरिरहेका छन् ।

सुरुका दिनमा मेयर आचार्यको दौडधुप र कामको थालनीले धेरै जनाले आशा राखेका थिए । जस्तो, पार्किङ व्यवस्थापन, अन्डरग्राउण्ड खाली गराउने, ग्यारेज व्यवस्थापन, फिर्के खोला रेखांकन तथा संरक्षण, पोखराको मुख्य सहरमा हाइमास्ट लाइट जडान लगायतका काममा आचार्यको अग्रसरता थियो । तर, थालेका कुनै पनि काम सम्पन्न भएर पूर्णरुपमा कार्यान्वयनमा नआउँदा ती सबै आलोचनामा बदलिन पुगे ।

मेयर आचार्यलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस ।

‘मुख्य कुरा टिमवर्क हो । उहाँले प्रयत्न गर्नुभएको हो । फिर्के खोला, फेवातालका सन्दर्भमा उहाँले केही प्रयत्न गर्नुभयो । पोखरालाई उज्यालो बनाउने सन्दर्भमा पनि उहाँ देखिनुभयो । तर, कामले पूर्णता पाउन नसकेर आलोचना हुन पुग्यो,’ महानगरकै सल्लाहकार परिषद सदस्य तथा विज्ञ समूहका अधिवक्ता सुरेन्द्र थापा मगर बताउँछन् ।

सुरुका दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति बाधक बनेको पोखरा–१४ को ल्याण्डफिल साइट व्यवस्थापन नै मेयर आचार्यको प्रमुख चुनौति थियो । विमानस्थल सञ्चालनमा बाधक बनेको रिठ्ठेपानी डाँडो कटानमा समन्वय गर्नु पनि थियो ।

उनकै नेतृत्वमा पोखरा–१४ बाट ल्याण्डफिल साइट पोखरा–३२ लामेआहालमा सारे भने पोखरा–३३ मा स्थायी ल्याण्डफिल साइट बनाउने गरी व्यवस्थापन गरे । रिठ्ठेपानी डाँडा पनि काटियो । तर, अस्थायी ल्याण्डफिल साइटको समस्याले फोहोर नउठ्नेदेखि करोडौं खर्च हुने अवस्था बन्यो भने स्थायी ल्याण्डफिल साइटको टुंगो नै लाग्न नसक्दा फेरि पनि मेयरमाथि प्रश्नहरु उठिरहेका छन् । रिठ्ठेपानी डाँडा कटानमा राजस्व नउठाएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएपछि मेयर आचार्यमाथि अर्को प्रश्न उठिरहेको छ ।

फेवातालको मापदण्ड कायम गराउन सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन सुरुमा उनले मुद्दा खेपे तर अदालतले पनि मापदण्ड कायम गर्दै संरक्षण गर्नुपर्ने पक्षमै आदेश गर्दा पनि अगाडि बढ्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ ।

पोखरा महेन्द्रपुलमा भत्काउनै पर्ने महानगरका आफ्नै संरचनाहरु थिए, जुन उनले भत्काए । तर, पुस्तकालय, आर्ट ग्यालरी पनि भत्काएर व्यवस्थापन नगरिएको भन्दै उनको आलोचना भयो । त्यसमाथि मानिसहरुलाई सुस्ताउन आवश्यक पर्ने खुला ठाउँ, पुस्तक, पत्रपत्रिका पढ्ने ठाउँ आवश्यक परिरहेको मुख्य चोकमा झण्डा पार्क बनाएर मेयर आचार्यले अर्को आलोचना खेपे । अहिले सार्वजनिक शौचालय, फल्चा लगायतका संरचना निर्माण भएका छन् तर ती पनि पूर्ण प्रयोगमा आइसकेका छैनन् ।

नियमित कामबाहेक सहर सुधारको प्रयत्नसहित कतिपय काम थाल्ने तर पूरा नगर्ने, चर्चापछि बीचमै छाड्ने हुँदा मेयरमाथि प्रश्न उठिरहेको उनकै सल्लाहकार बताउँछन् । ‘उहाँको कार्यकालको सुरुआत तामझामका साथ वृक्षारोपणबाट गर्नुभयो । त्यही अनुसार अगाडि बढ्ला भन्ने आशा पनि थियो ।

भिजन भएको, विभिन्न संस्थाको नेतृत्व गरेको व्यक्ति भनेर बडो आशाको नजले हेरिएको थियो,’ मेयर आचार्यले नै गठन गरेको सल्लाहकार परिषदका सदस्य डा. अनिल सुवेदी भन्छन्, ‘सुरुआत गर्ने तर पूरा नहुने हुँदा आशा निराशामा बदलिए । फेवाताल, फिर्के संरक्षण, पार्किङ व्यवस्थापनमा पनि उहाँले आफूलाई प्रमाणित गर्न सक्नुभएन ।’

मेयर आचार्यलाई अधिकांशले भन्ने भनाइ एउटै हुन्छ, ‘मेयर साबले मिति तोकेरै बोलिदिइहाल्नु हुन्छ तर रिजल्ट देखिँदैन, कुरा मीठा गर्नुहुन्छ तर सहरमा काम त्यस्तो देखिँदैन ।’ यही भनाइ डा. सुवेदीले पनि दोहोर्‍याए । ‘उहाँको कुरा साह्रै मीठो छ । कुरा सुन्दा धेरै प्रगति भएको अुनुभूति हुन्छ तर बाहिर निस्किएर हेर्दा त उस्तै देखिन्छ,’ डा. सुवेदीले भने, ‘नियमित हुने कामबाहेक मेयरको दौडधुपले सहर सुधारको संकेत देखिनुपर्ने हो ।’

पोखराको मेयर भएलगत्तै पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षकोसमेत पदभार ग्रहण गर्दै मेयर आचार्यले १ महिनाभित्रै काम थालेर कम्तिमा ३ महिनाभित्र पोखराको सार्वजनिक जग्गाको लगत तयार गर्ने र संरक्षणको अभियान नै चलाउने बताएका थिए । हडपिएका पोखराका सार्वजनिक जग्गा फिर्ता ल्याउने निर्णय २०८० असारमा बसेको २० औं कार्यपालिका बैठकले गरेको थियो । तर, अहिलेसम्म सार्वजनिक जग्गा संरक्षणको सुरुआत भएको छनक मेयर आचार्यले दिएका छैनन् ।

पछिल्लो समय मणिपाल शिक्षण अस्पताललाई १९ करोड रुपैयाँ राजस्व छुट दिएर भवन निर्माणको सम्पन्ता दिने मेयर आचार्य नेतृत्वको कार्यपालिका बैठकले निर्णय नै गरेपछि चौतर्फी विरोध भयो । विरोधकाबीच मेयर आचार्यले ९ गते नगर सभामा सो निर्णय बदर गर्ने प्रस्ताव गर्दै मणिपालले तिर्नुपर्ने कर एकीन गर्न समिति नै बनाएका छन् ।

मेयर आचार्य आएपछि महानगरको राजस्व पनि आधाभन्दा बढी गुम्न पुगेको छ । आन्तरिक स्रोतको दायरा बढाउन नसक्दा र कर उठाउनसमेत नसक्दा पोखराले आधा पनि राजस्व उठाउन सकेको छैन ।

चालु आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८७ करोड २७ लाख रुपैयाँमात्र प्राप्त गर्न सकेको छ भने चालु आर्थिक वर्षमा ७ अर्ब ७ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएकोमा करिब ६० प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

घाट ठेक्का लगाउने र उठाउनुपर्ने कर पनि उठाउन नसक्दा पोखरा आन्तरिक स्रोतमा कमजोर भन्दै गइरहेको छ । राजस्वको स्रोत आधा पनि नउठ्दा महानगरले ७० प्रतिशतमात्र खर्च गर्दा पनि भुक्तानी गर्न नसक्ने अवस्था आउने महानगरकै वित्त महाशाखाले जनाएको छ ।

महानगरको कार्यसम्पादनमा पछिल्लो महालेखाको प्रतिवेदनले ठूलो रकम अनियमितता भएको, ९ करोडभन्दा बढी राजस्व नै नदेखिएको उल्लेख गरेपछि नेतृत्वमाथि चौतर्फी आलोचना भइरहेको छ । महानगरको बेरुजु बर्सेनि उकालो लाग्दै गइरहेको छ । मेयर आचार्य आइसकेपछिको अघिल्लो वर्षमा मात्रै ७९ करोड ४९ लाख रुपैयाँ बेरुजु देखिएको छ । त्यसमा अनियमित भएको र असुल गर्नेपर्नेको रकम ठूलो छ । अहिलेसम्मको ३ अर्ब ५० लाख बेरुजु पुगिसकेको छ ।

पोखरा महानगरका विभिन्न संयन्त्रहरुमा आफ्नै पार्टीका व्यक्तिहरुलाई भर्ती गर्ने, स्वार्थ बाझिने गरी गतिविधि गरेको भन्दै मेयर आचार्यको आलोचना भइरहेको छ । कर्मचारी नियुक्ति, व्यवस्थापन र कार्यसम्पादनमा पनि कमजोर देखिएका मेयर आचार्यसँगै प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको कार्यशैलीप्रति पनि नागरिकले प्रश्न उठाइरहेका छन् ।

मेयर आचार्य चुनावी घोषणा पत्र र निर्वाचनमा उनलाई जिताउन काँध हालेका गठबन्धनका दलहरु उनीसँग रुष्ट छन् । नेपाली कांग्रेस कास्कीले मेयर आचार्यलाई अहिलेसम्म २ पटक ध्यानाकर्षण गराइसकेको छ । माओवादी पनि आचार्यको कार्यशैलीप्रति खुसी छैन भने नेपाल समाजवादी पार्टीले पनि विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको छ ।

चुनावी प्रतिस्पर्धी दल नेकपा एमालेले पनि कार्यशैली सच्याउन र अहिलेसम्म देखिएको बेथिति न्यूनीकरण गर्न ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाइसकेको छ । राप्रपाले बेरुजु, राजस्वको छानबिन र कार्यशैली सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ भने बिहीबारदेखि महानगरपालिकामा घेराउ नै गर्दै आइरहेको छ ।

मेयर आचार्यलाई नकेपा एमाले ।

गत असार ४ गते पोखराका मेयर आचार्यलाई ज्ञापन पत्र बुझाउँदै १८ बुँदे ध्यानाकर्षण गराएको नेपाली कांग्रेसले ठूलो परिणाममा देखिएको बेरुजु रकम व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाटले भने, ‘पोखराले लिँदै आएका विभिन्न शीर्षकका करहरुलाई सर्वसुलभ र वैज्ञानिक प्रणाली अनुसार तय गर्न आवश्यक छ ।’

मेयर आचार्यले पदभार ग्रहण गरेसँगै निर्णय गरेको पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पूरा गरेका छन् । तर, पर्यटकीय राजधानी घोषणा गर्नुको आधार र सुविधा सुधारमा संकेत नदेखिएको भन्दै रानाभाटले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकिएको अवस्थामा आवश्यक पूर्वाधार निर्माणका लागि अगाडि बढ्न पनि ध्यानाकर्षण गराउँछौ ।’

पोखरा महानगरको कार्यपालिकामा कांग्रेसकै बहुमत छ, ३३ वटामध्ये कांग्रेसबाटै २३ जना विजयी वडाध्यक्ष छन् । तर, न कांग्रेसका वडाध्यक्षले महानगरलाई ठिक गतिमा हिँडाउने गरी भूमिका खेल्न सकेका छन्, न मेयर आचार्यले नै ।

नेकपा एमालेले त मेयर आचार्यलाई ३२ बुँदे ध्यानाकर्षण गराएको छ । ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको भए पनि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छैन,’ एमाले महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले भने, ‘तालको सीमामाथि भएको अतिक्रमण अस्वीकार्य छ । तालमाथि हुने अतिक्रमणलाई फौजदारी कसुर हुने गरी ऐन तर्जुमा गरियोस् ।’

तत्काल फोहोरमैला व्यवस्थापन गर्ने आधुनिक ल्याण्डफिल बनाउन पनि एमालेले मेयर आचार्यको ध्यानाकर्षण गराएको छ । नेपाल समाजवादी पार्टीले महानगरलाई कर्मचारी व्यवस्थापन र सुशासनमा जोड दिन आग्रह गर्दै ध्यानाकर्षण गराएको नेता टीकाराम पौडेलले बताए ।

मेयर आचार्यलाई ज्ञापन पत्र बुझाएपछि २ दिनदेखि महानगर घेराउ गर्दै आइरहेको राप्रपाले महानगर, नगर कार्यपालिकाको कार्यालयमा भइरहेका अनियमितता र मौलाउँदै गइरहेको बेथितिप्रति रोक्न गम्भीर नभएको आरोप नै लगाएको छ ।

पोखरा महानगरअगाडि नाराबाजी गर्दै राप्रपा ।

चुनावी गठबन्धनका दलहरुले मेयर आचार्यले साझा घोषणापत्र मार्फत जितेपछि त्यसको कार्यान्वयन गर्न, दलहरुसँग समन्वय गर्न सल्लाह लिन नसकेको भन्दै असन्तुष्ट छन् । अनियमितता रोक्न, नियमित गर्न, अनियमितताको बारेमा जवाफदेही हुन र आवश्यक प्रमाण पेश गरी बेरुजु फर्छ्यौट गर्न राप्रपा कास्कीले माग गरेको कास्की प्रवक्ता अरुण गिरीले बताए । नेतृत्व जवाफदेही नभएको खण्डमा जस्तोसुकै खालको आन्दोलन गर्न पछाडि नपर्ने बताउँदै अध्यक्ष नारायण गुरुङले मेयर आचार्यलाई सच्चिन चेतावनी दिएका छन् ।

एकीकृत समाजवादीकै केही नेता पनि मेयर आचार्य स्वेच्छाचारी हिसाबले हिँडेको र सल्लाहसमेत नमान्ने बताउँछन् । अधिकांश नेताले भने उनको बचाउ गरे पनि मेयरलाई सफल बनाउने बाटोमा सघाउने काममा लाग्न नसकेको देखिएको छ ।

के भन्छन् मेयर आचार्य ?

पोखराका मेयर आचार्यले कार्ययोजना बनाएर काम गरिरहेको बताउँदै सबै पोखरेलीको सकारात्मक साथले मात्र आफू सफल हुने बताउँछन् । बेरुजु आउनेबित्तिकै भ्रष्टाचार नै भयो भनेर नबुझ्न दलहरुलाई आग्रह गरे । यसअघिका योजनाहरु पनि निरन्तर रुपमा चलिरहेको भन्दै मेयर आचार्य झट्ट हेर्दा नदेखिए पनि सुशासन, विकास र नियमित गतिविधिमा धेरै सुधार भएको दाबी गर्छन् ।

मेयर आचार्य धेरै वर्षदेखि अड्किएको पोखराको भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० जारी गरेका छन् । दातृ निकायबाट ठूलो परियोजना भित्राएको दाबी गरिरहेका छन् । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधारको प्रयत्न गरिरहेको पनि मेयरको दाबी छ ।

‘राजस्वको विषयमा देशको परिस्थिति पनि होला, केन्द्र, प्रदेशको पनि सोचेअनुसार उठेन । महानगरको पनि अपेक्षाकृत उठेन,’ मेयर आचार्यले भने, ‘अहिले ठूलो परियोजना तत्काल अगाडि बढाउन सक्ने अवस्था छैन तर निरन्तर दीर्घकालीन महत्वको योजना अगाडि बढिरहेको छ ।’ फोहोरमैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिलको काम अन्तिम चरणमा पुगेको मेयर आचार्यको दाबी छ ।

पोखराका मेयर आचार्यले २०७९ जेठ १२ गते फूल रोपेर पदभार सम्हालेका थिए । पोखरा काम थालेको २५ महिना नाघ्दा उनले ‘रिजल्ट देखाउनतिरभन्दा कुरा गर्न सिपालु’ मेयरको परिचय बनाएका छन् ।

सुरुमा मेयर आचार्यले सुधारको संकेत गरे पनि बिस्तारै त्यो कामयाबी नभएको भन्दै उनकै सल्लाह परिषदका सदस्यहरु भन्छन्, ‘अझै पनि केही बिग्रेको छैन, विज्ञहरुको सल्लाह लिनुस् । जनताले प्रत्यक्ष महसुस गर्ने गरी एकपछि अर्को महत्वपूर्ण थालनीलाई समापन गर्दै जानुस्, सफल मेयर बन्ने अवसर अझै गुमेको छैन ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?