+
+

सर्वोच्चको आदेशले संसद फर्केका गण्डकीका फणीन्द्र फेरि मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते ९:०१

१६ असार, पोखरा । पदमुक्त गर्ने निर्णयकाविरुद्ध सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा आज गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त हुँदै छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी गरेका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए । माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।

माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गर्न नमिल्ने भएकाले गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । दुई वा दुईभन्दा बढी दलहरु मिलेर एउटै चुनाव चिह्नबाट विजयी भए पनि एउटै संसदीय दल हुने र जसको धेरै सदस्य हुन्छन्, त्यसैको दल बन्ने कानुनी व्यवस्थाअनुसार देवकोटा माओवादी संसदीय दलको सदस्य थिए ।

सर्वोच्चले देवकोटा आवद्ध नभएको राजनीतिक दल माओवादीबाट दल त्याग गरेको भनी निष्कासन गर्न पाउने अधिकार संवैधानिक र कानुनी व्यवस्थाले नदेखिएको बताएको थियो । चुनाव चिह्न माओवादीको भए पनि निर्वाचन आयोगबाट नेपाल समाजवादी पार्टीकै सांसदकै रुपमा राजपत्रमा प्रकाशित भएकाले उनलाई सम्बन्धित पार्टीले नै कारबाही गर्नुपर्ने सर्वोच्चको तर्क थियो ।

सर्वोच्चबाट मुद्धा जितेर फर्के पनि बिहीबार सभामुख धितालले रिट अध्ययन गर्न नपाएको भन्दै प्रदेश सभा बैठकमा रोक लगाएका थिए । देवकोटालाई सोही दिन मन्त्री बनाउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका थिए । देवकोटालाई आज साढे १० बजे मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री पाण्डेको छ ।

देवकोटाको नियुक्तिसँगै ४ सदस्य हुने मन्त्रपरिषदलाई बजेट पारित भएपछि मात्रै कांग्रेस र राप्रपालाई समेटेर पूर्णता दिने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?