+

द्रविडको ड्रिम बिदाइ

२०८१ असार  १६ गते ९:०७ २०८१ असार १६ गते ९:०७
द्रविडको ड्रिम बिदाइ

१६ असार, काठमाडौं । भारतले टी–२० विश्वकप उपाधिका साथ मुख्य प्रशिक्षक राहुल द्रविडलाई सफल बिदाइ गरेको छ । शनिबार राति आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको थियो ।

तीन वर्षको कार्यकालमा अन्तिम खेलमा उपाधिका साथ द्रविडको ड्रिम बिदाइ भएको हो । सिनियर क्रिकेट करिअरमा उनको यो पहिलो विश्वकप उपाधि समेत हो ।

भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी खेलाडीको रुपमा टोलीमा थिएनन् । उनले खेल्दा भारत २००३ को एकदिवसीय विश्वकप फाइनल अष्ट्रेलियासँग हार्न पुगेको थियो । ओडीआई र टेस्टका विश्वकै एक सफल ब्याटर उनी २०२१ नोभेम्बरमा रवि शास्त्रीको स्थानमा भारतको मुख्य प्रशिक्षक बनेका थिए ।

उनको मुख्य प्रशिक्षकमा भारत सन् २०२२ को टी-२० विश्वकपमा सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जिते पनि अन्तिममा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

२०२४ विश्वकपमा लगातार ९ खेलमा अपराजित रहँदै भारतले विश्वकप क्रिकेट खेलेको हो । त्यस्तै द्रविडको प्रशिक्षणमा भारतले २०२३ को एसिया कप उपाधि पनि जितेको थियो ।

उनको प्रशिक्षणमा भारतले ५६ ओडीआईमा ४१, ६९ टी२० आईमा ४८ तथा पाँच टेस्ट सिरिज जित, दुई बराबर र एक सिरिज हारेको थियो । भारतले उनको प्रशिक्षक र रोहित शर्माको कप्तानीमा तीनै संरचना टेस्ट, ओडीआई र टी२० आईमा उत्कृष्ट प्रदर्शन गरेको थियो । भारतीय टोलीमा आउनु अघि उनी यू–१९, भारत ए र नेशनल क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक थिए ।

भारतले उनको प्रशिक्षणमा २०१८ मा यू–१९ विश्वकप उपाधि जितेको थियो । २०१६ र २०२० को यू-१९ विश्वकपको फाइनलमा हार्न पुगेको थियो । उनले नेशनल क्किेट एकेडेमीमा रहेर भारतीय सिनियर टोलीको बेन्च स्ट्रेन्थ मजबुत बनाउने काम गरेका थिए । अव भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक गौतम गम्भीर बन्ने चर्चा छ ।

 

आईसीसी टी–२० विश्वकप २०२४ दक्षिण अफ्रिका भारत राहुल द्रविड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय