+
+

रास्वपाको बैठकमा मोबाइल बन्देज गर्ने मुकुल किन माग्न थाले लाइभ ?

मुकुल ढकालको प्रश्न- ‘कांग्रेसले त लाइभ गर्न थाल्यो, हामीले किन नगर्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १२:३२

१६ असार, काठमाडौं । रास्वपा भर्खरै स्थापना भएको थियो । पार्टीभित्र प्रणाली बनिसकेको थिएन । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एउटा नियम ल्याए– बैठक पूर्ण गोप्य हुनुपर्ने । अचेल मोबाइलमा क्यामेरा, रेकर्डरसमेत हुने भएकाले बैठक स्थलमा सभापति र आफूले बाहेक फोन लैजान नपाइने ।

तिनै ढकालले बुधबारका लागि डाकिएको केन्द्रीय समिति बैठक लाइभ प्रसारण गर्न माग गरेका छन् । देश दौडाहापछि काठमाडौं फर्केर सभापति रवि लामिछानेलाई ३२ पाने प्रतिवेदन बुझाएका उनीबारे पार्टीभित्र कोणप्रतिकोणबाट टिप्पणी भइरहेको छ ।

केन्द्रीय सदस्यहरुले महामन्त्री ढकाल अनावश्यक उत्तेजनामा आउने र कडिकडाउ गर्ने भएकाले अलोकप्रिय भएको टिप्पणी गरिरहेका छन् ।

ढकालले भने ‘जो जे हो, त्यही रुपमा प्रकट होस्’ भनेर बैठक लाइभ हुनुपर्ने माग गरेको प्रष्टीकरण दिए ।

आफ्नो मागबारे आइतबार ढकालले भने, ‘पार्टीका बैठकमा फोकस हुन सकियोस् भनेर त्यस बेला फोन बैठकस्थलभन्दा बाहिर छाडौं भन्ने नियम ल्याइएको थियो । तर फोन जहाँ राखे पनि कापीमा टिपेर समेत मिडियामा दिइहाल्दा रहेछन् । अब चाहिँ म लाइभ गर्नुपर्छ भन्ने पक्षमा हो ।’

आफ्नो मागबारे सभापतिले जवाफ दिइनसकेको उनले बताए ।

पार्टीभित्र जुनसुकै कुरा पनि महामन्त्रीले बिगार्यो भन्ने भाष्य बनाउन लागिएको भन्दै उनले आपत्ति जनाए ।

‘कांग्रेसले त लाइभ गर्न थाल्यो, हामीले किन लाइभ नगर्ने ?’ उनले प्रश्न गरे ।

प्रतिवेदन सार्वजनिक नगरी बैठक नै बस्न नदिने अडान राखेका ढकाल किन आफ्नो माग पूरा नहुँदै सहमत भए त ?

ढकालले भने, ‘बैठक लाइभ होस् न । म त्यहीँ प्रतिवेदन पढिहाल्छु नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?