+
+

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सर्वसम्मत नेतृत्व चयन कसरी सम्भव भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १६ गते १५:४२

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले २६ वर्षमा पहिलो अधिवेशन गरेको छ ।

२०५५ सालमा स्थापना भएको आदिवासी जनजाति संघले हाल महासंघ भएर पहिलो अधिवेशन सकेको हो ।

आदिवासी जनजाति संघको संस्थापक अध्यक्ष सूर्यमान गुरुङ र उनीपछि मूल नेतृत्व सम्हालेका आइबी गुरुङले अधिवेशन गराउन सकेनन् । दुई वर्षअघि पार्टीले ओमबहादुर घर्तीमगरलाई तदर्थ समितिको अध्यक्ष बनाएको थियो ।

पार्टी निकट १८ वटा जनजाति संस्थाबाट प्रतिनिधित्व रहने गरी हाल संघलाई महासंघ बनाइएको छ ।

कांग्रेसका भ्रातृ संस्थाहरू तदर्थमा चलिरहेका छन् । महाधिवेशन हुँदा निर्वाचन गरिने पद्धती थियो । तर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको हकमा भने निर्वाचन नगरी सर्वसम्मत तरिकाले नयाँ नेतृत्व चयन गरिएको छ ।

१३ असारमा सकिएको अधिवेशनले तदर्थ समितिका अध्यक्षलाई सोही पदमा दोहोर्‍याउने निर्णय लिएको छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा पार्टीबाट समन्वय गर्ने गरी खटिएका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले उदाहरणका रूपमा पेस गर्ने उद्देश्यले सर्वसम्मत गरिएको बताए ।

१८ जनजाति संस्थामध्ये सम्बन्धित जातीय संस्थाले सिफारिस गरेको आधारमा मात्रै केन्द्रीय तहमा उम्मेदवार हुन पाउने व्यवस्थाले गर्दा नयाँ नेतृत्व चयनमा विवाद देखिएन ।
‘अध्यक्षमा मेरो विरुद्धमा आउने आँट देखाउनु भएन । केहीले बार्गेनिङका लागि अध्यक्ष पदमा चासो देखाउनु भएको थियो,’ अध्यक्ष ओम घर्तीमगरले भने ।

महामन्त्री बनेका मनहरि श्रेष्ठ र जगतबहादुर बरामले अध्यक्षका लागि आकांक्षा देखाएका थिए । श्रेष्ठलाई संस्थापन पक्ष र बरामलाई नेता कृष्णप्रसाद सिटौला पक्षले अघि सार्न खोजेको थियो ।

समूहको हस्तक्षेप नहुँदा सर्वसम्मत नेतृत्व चयन हुन सम्भव भएको नवनिर्वाचित अध्यक्ष घर्तीमगरले जानकारी दिए ।

भ्रातृ संस्थामा माउ पार्टीको चासो र हस्तक्षेप हुँदै आएको छ । तदर्थ समितिमा भागबन्डा होस् वा महाधिवेशनमा समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

संस्थापन र इतर पक्ष होस् वा नेताहरूको चासो लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन देखिएन । ‘काम गर्ने साथीहरूलाई नयाँ समितिमा राख्ने र काम नगर्नेलाई स्थान नहुने भनेकाले समूहबाट आउने भन्ने कुरा भएन,’ घर्तीमगरले भने ।

१५ पदाधिकारीसहित १०९ सदस्यीय केन्द्रीय समितिमा समूह वा गुटका आधारमा नयाँ समिति नबनेको घर्तीमगरले दाबी गरे ।

अन्य भ्रातृ संस्थामा गुटअन्तर्गत यति संख्या भनेर किटान गर्न सकिने अवस्था छ । तर संस्थापन र इतर नेताले चासो देखाएकाले परेकाहरूको संख्या नगन्यप्राय रहेको मगर संघका अध्यक्ष दिनेश थापाले जानकारी गराए ।

महाधिवेशनबाट उपाध्यक्ष युवराज गुरुङ, मनमोहन बुढाथोकी छन्त्याल, विश्वदिप लिङदेन, महामन्त्री रामजी कोङरेन, मनहरि श्रेष्ठ, जगतबहादुर बराम, सहमहामन्त्री दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुति कुमाल, अभिशेष चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, खेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल नेतृत्वमा आएका छन् ।

सहमहामन्त्री भिष्मराज आङदेम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख दिलमान पाख्रिनलाई सहजीकरण एंव समन्वयको जिम्मेवारी दिइएको थियो ।

आदिवासी जनजाति विभागका प्रमुख पाख्रिन भने नवनिर्वाचित घर्तिमगरको ठाउँमा जगतबहादुर बरामको पक्षमा देखिएको महासंघमा सम्बद्ध एक नेताले जानकारी गराए ।

१६५ निर्वाचन क्षेत्रबाट १३२७ जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको थियो । केन्द्रीय सदस्य प्रदेशअनुुसार छनोट गरिएको छ । सात प्रदेशबाट हुने गरी १०८ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?