+

स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?  

२०८१ असार  १६ गते १६:१८ २०८१ असार १६ गते १६:१८
स्वास्थ्यलाई फाइदाजनक तेजपात प्रयोग कसरी गर्ने ?  

खानाको स्वाद र बास्ना बढाउन तेजपात अर्थात् तेजपत्ताको प्रयोग गर्ने चलन पुरानै हो । सामान्यतया चिया वा तरकारीमा स्वादको लागि मसलाको रुपमा उपयोग गरिने तेजपात स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक हुन्छ ।

सुगन्धित स्वाद हुने यसको पातमा आवश्यक पोषक तत्व र खनिज हुन्छ । तेजपातमा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । यसमा इन्जाइमहरू पनि हुन्छन्, जसले प्रोटिनलाई तोड्न र पाचन सुधार गर्न मद्दत गर्छन् ।

आयुर्वेदिक भाषामा यसलाई सिनामोम्मम् टमला भनिन्छ । नेपालमा रूखको पातलाई तेजपात र बोक्रालाई दालचिनी भन्ने गरिन्छ । दालचिनी भनेको फरक प्रजाति, सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो । यो तराईदेखि मध्यपहाडी क्षेत्रमा पाइन्छ ।

केकेका लागि उपयोगी हुन्छ ?

आयुर्वेदमा तेजपातलाई स्वादको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई ज्वरो, रुघाखोकी, अपच, कब्जियत जस्ता समस्यामा औषधिको रुपमा प्रयोग गरिन्छ । छालासम्बन्धी रोग र कपालका लागि पनि यो उपयोगी हुन्छ । त्यस्तै घरमा झिंगा र साङ्ला हटाउन पनि प्रयोग हुन्छ ।

चियामा दैनिक तेजपात राखेर खाँदा मोटोपनको समस्याबाट बचाउनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

आधुनिक अनुसन्धान अनुसार तेजपात मधुमेहमा पनि प्रभावकारी देखिएको छ । सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित शोधमा टाइप २ मधुमेहबाट पीडित व्यक्तिले तेजपात खानु उपयोगी हुने उल्लेख गरिएको छ । यसबाट बिरामीको रगतमा ग्लुकोजको मात्रा सामान्य बनाउन मद्दत गर्छ ।

त्यस्तै यसमा एन्टिहाइपरलिपिडेमिक इफेक्ट पनि भनिन्छ । यसले शरीरमा खराब कोलेस्टेरोल र अनावश्यक तरल पदार्थलाई घटाएर गुड कोलेस्टेरोल सुधार गर्न पनि मद्दत गर्छ ।

तेजपात एन्टिइन्फ्लेमेटरी गुणले भरपुर हुन्छ । यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ र दाँत दुखाइबाट पनि राहत दिन्छ । बाथरोगमा बिरामीलाई यसको तेल प्रयोग गर्न सकिन्छ, जसले जोर्नीको दुखाइ कम गर्छ ।

तेजपातमा भिटामिन ए र सीका साथै फोलिक एसिड पनि हुन्छ । यसले पेटसम्बन्धी समस्या मुक्त गर्न मद्दत गर्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपातले औषधिकै काम गर्छ ।

यसबाहेक हृदयरोगको जोखिम कम गर्न र माइग्रेनसँग लड्न तेजपातले महत्वपूर्ण भूमिका खेल्छ । यसले एसिडिटी, डन्डीफोर, निद्रा नलाग्ने समस्या हटाउनुका साथै क्यान्सर जस्तो रोगमा राहत पुर्‍याउँछ ।

कसले खान मिल्दैन ?

रगत पातलो गर्ने औषधि खाइरहेका व्यक्तिले तेजपात खानु हुँदैन । तेजपातको अत्याधिक प्रयोगले शरीर सुन्निने समस्या हुनसक्छ ।

कहिले खाने ?

तेजपातलाई बिहान र बेलुका खान सकिन्छ । मधुमेह, मोटोपन, कोलेस्टेरोलको लागि तेजपात बिहान खाली पेटमा चिया बनाएर वा पाउडर बनाएर एक चम्चा खानुपर्छ । त्यस्तै पेट फुल्ने, एसिडिटी तथा ग्यासको समस्या हुनेले खानापछि खानुपर्छ ।

कसरी प्रयोग गर्ने ?

खानासँगै पकाउँदा तेजपातको औषधीय गुण नष्ट हुन्छ । त्यसैले यसलाई खानेकुरा आधा पाकिसकेपछि वा पाक्न लागेपछि माथिबाट हाल्नुपर्छ । तर हामीकहाँ भने सुरुमा नै तेलमा हाल्ने चलन छ । स्वाद र बास्ना आउँछ तर त्यसमा भएको औषधीय गुण प्राप्त हुँदैन ।

आयुर्वेद डा. पुनेश्वर केशरी तेजपात
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय