+

रोहितको त्यो आँशु र यो खुसी

२०८१ असार  १६ गते २०:०४ २०८१ असार १६ गते २०:०४
रोहितको त्यो आँशु र यो खुसी

१६ असार, काठमाडौं। सन् २०२३ नोभेम्बर १९ मा अहमदावादमा एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग ६ विकेटको हार पछिल्लो एक दशकमा भारतीय क्रिकेटले सामना गरेको सर्वाधिक पीडादायी र दु:खद क्षण हो । घरेलु मैदान, दर्शक र कन्डिसनमा शानदार क्रिकेट खेल्दाखेल्दै एक गल्तीको भारत कारण च्याम्पियन बन्न सकेन ।

फाइनलमा रोहित शर्मा अष्ट्रेलियाविरुद्ध ९.४ ओभरमा ४७ रनमा क्याच आउट हुँदा भारत ७६-२ को अवस्थामा थियो । तर, उनी आउट भएपछि आक्रामक क्रिकेट खेल्न नसक्दा भारत २४० रनमा अलआउट भएको थियो । ट्रविस हेडले १३७ रनको शतकीय इनिङ खेल्दै सहजै अष्ट्रेलियालाई जित दिलाएका थिए ।

रोहित, अरु खेलाडी, भारतीय क्रिकेट शुभचिन्तक र समर्थकलाई त्यो हार भुल्न धेरै समय लाग्यो । फाइनल सकिएको दुई तीन दिनपछि मात्रै आफूहरुलाई विश्वकप हारेको महसुस भएको रोहितले बताएका थिए । मैदानबाट ड्रेसिङ रुममा जाँदा रोहित निकै भावुक बनेका थिए ।

सन् २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग १९ रनको हार उनका लागि त्यति नै दुःखद थियो । किनभने भारतले त्यो विश्वकपमा ९ मध्ये ७ खेल जितेर फाइनलमा पुगेको थियो ।

उक्त विश्वकपमा रोहितले ५ शतक हानेका थिए । ९ जुलाइमा म्यान्चेस्टरमा २४० रनको लक्ष्य पछ्याएको भारतलाई जित्नका लागि १० बलमा २५ रन चाहिएको थियो । ४९ औं ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई मार्टिन गुप्टिलले डाइरेक्ट थ्रोमा रन आउट गरेपछि भारतको जितको आशा सकिएको थियो । त्यो क्षणमा पेभेलियनमा रोहितले आँशु रोक्न सकेनन् ।

सन् २०२२ को आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँगको १० विकेटको हार कप्तान रोहितका लागि अर्को कठिन क्षण थियो । शनिबार राति आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जित्न सफल भयो ।

उपाधि जितेसँगै मैदानमा रोहितले उत्कृष्ट सेलिब्रेसन गरे । अनि त्यति नै भावुक पनि देखिए । रोहित यसपटक पनि रोए । तर यो खुसीको आँशु थियो । १३ वर्षदेखि भारतले प्रतिक्षा गरेको विश्वकप ट्रफी जित्न सफल भए । 

सन् २०११ मा महेन्द्रसिंह धोनीको कप्तानीमा घरेलु मैदानमा श्रीलंकालाई हराउँदै भारतले एकदिवसीय विश्वकप जितेको थियो ।

भारतले आईसीसी ट्रफी नजितेको नै ११ वर्ष भएको थियो । च्याम्पियन्स ट्रफी २०१३ भारतको अन्तिम आईसीसी उपाधि थियो । विश्व क्रिकेटमा निरन्तर शानदार प्रदर्शन गरेपनि नकआउटमा पुगेर चुक्दै आएको थियो ।

‘हामीले एउटा ग्रुपको रुपमा यो प्राप्त गर्न कडा मिहिनेत गरेका थियौं । विगतमा राम्रो गर्दा पनि गलत भएको थियो । म साँच्चिकै एक-अर्का प्रति गर्व गर्दछु । किनभने सबै एकै ठाउँमा भएर प्रदर्शन गर्न आवश्यक थियो’, जितपछि रोहितले भने । यस पटक पनि भारतले हारको मुखबाट अविश्वसनीय पुनरागमन गरेको थियो ।

शनिबार राति १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका ब्याटर हेनरिक क्लासेनले १५ औं ओभरमा स्पिनर अक्षर पटेललाई समान दुई चौका र दुई छक्कासहित कुल २४ रन प्रहार गरेपछि भारतको जितको सम्भावना कम देखिएको थियो ।

त्यसपछि दक्षिण अफ्रिकालाई अन्तिम ५ ओभर अर्थात ३० बलमा मात्रै ३० रन चाहिएको थियो । १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्लासेनलाई ५२ रनमा ऋषभ पन्तबाट क्याच गराउनु भारतको जितको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसपछि बाँकी १७ बलमा १० रन जोड्दै २ विकेट गुमाएपछि अन्तिम ६ बलमा दक्षिण अफ्रिकालाई जित्न १६ रन चाहिएको थियो । हार्दिकको फुलटस बलमा ठूलो सट खेलेका डेविड मिलरको बल लङअफमा छक्का बचाउँदै सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि विश्वकप ट्रफी पक्का जस्तै बनेको थियो । त्यसपछि ५ बलमा १६ रन चाहिँदा दक्षिण अफ्रिकासँग क्रिजमा बलर थिए ।

विश्वकप जिताउन रोहितको कप्तानी र प्रदर्शन दुबै महत्वपूर्ण रह्यो । सुपर-८ मा अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न नदिन उनले ९२ रनको आक्रामक इनिङ खेलेका थिए । सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउन पनि अर्धशतक हाने ।

‘पछिल्लो केही वर्षदेखि मैले ग्रुपमा कुराकानी गर्दै भनेको थिएँ हामी सबैले जिम्मेवारी लिनुपर्छ । अनि स्वतन्त्र र बिना दबाब क्रिकेट खेल्नुपर्छ । नतिजा नआउदा पनि यो प्रक्रिया छाड्नु हुँदैन । गतवर्ष हामीले राम्रो खेलेपनि एकदिवसीय विश्वकप एउटा मात्रै खराब खेलले हार्‍यौं । अपराजित रहँदै यो विश्वकप जित्दा साँच्चिकै राम्रो अनुभव भएको छ’, रोहितले भने ।

त्यसैमा थपे, ‘यो सबैको योगदानले सम्भव भएको हो । एक–दुई व्यक्तिको कारणले मात्रै होइन । एउटा टिमको रुपमा यो ठूलो उपलब्धि हो ।’ सबै जनाले देखाएको बहादुरीको कारण ट्रफी सम्भव भएको उनी बताउँछन् ।

रोहितले सन् २००७ सेप्टेम्बरमा इंग्ल्यान्डविरुद्ध टी–२० आई र जुनमा आयरल्यान्डविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । भारतले २००७ को टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका स्पिन अलराउण्डर थिए ।

भारतबाट दुई टी–२० विश्वकप जित्ने उनी एक्लो खेलाडी हुन् । सन् २०११ को विश्वकप टोलीमा भने उनी पर्न सकेनन् ।

धोनीले बनाएका सफल ओपनर

रोहित पहिला भारतीय क्रिकेटमा तल्लोक्रममा ब्याटिङ गर्थे ।  धोनीले २०१३ को च्याम्पियन्स ट्रफीबाट उनलाई ओपनरमा ल्याए । त्यो नै उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो । त्यो समय भारतीय टोलीमा मुरली विजय र शिखर धवनले ओपनिङ गरेका थिए ।

रोहित चौथो नम्बरमा खेल्ने तयारी थियो । तर अभ्यासको क्रममा चौथो नम्बरमा दिनेश कार्तिकले दुई शतक हाने । रोहितले अभ्यासमा राम्रो गरेको हुँदा धोनीले बाहिर राख्न सकेनन् । त्यसैले मुरली विजयको स्थान लिँदै ओपनर बनेका थिए । उनको पहिचानै ओपनरबाट बन्यो ।

रोहितले २०१३ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध जयपुरमा १४१ र नोभेम्बरमा बेंगलोरविरुद्ध २०९ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । २०१४ नोभेम्बरमा इडेन गार्डेनमा श्रीलंकाविरुद्ध २६४ रनको दोहोरो शतकीय इनिङ खेले । ओडीआईमा एकै खेलमा एक ब्याटरले बनाएको त्यो उच्च स्कोर हो । २०१७ मोहलीमा श्रीलंकाविरुद्ध २०८ रनको दोहोरो शतकीय इनिङ खेले । रोहित ओडीआईमा तीन दोहोरो शतक हान्ने एक्लो खेलाडी हुन् ।

फुल सट विश्व क्रिकेटमा रोहितको पहिचान हो । टी–२० आईमा १५९ खेलमा ५ शतक र ३२ अर्धशतकसहित ४ हजार २३१ रन बनाएका छन् । उनीपछि अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले मात्रै टी–२० आईमा ५ शतक हानेका छन् ।

सन् २०२१ को टी–२० विश्वकपपछि कोहलीले कप्तानी छाडे । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई पाँच पटक उपाधि जिताएको हुँदा रोहितबाट भारतले ठूलो आशा राखेको थियो ।

दुर्भाग्य त्यसै वर्ष टी–२० विश्वकपमा भारत सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरियो । तर  भारतले उनीमाथिको भरोसा तोडेन ।

दुर्भाग्य यसै संस्करणमा मुम्बई इन्डियन्सले रोहितलाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । हार्दिक र मुम्बई निकै आलोचना परे । हार्दिकले विश्वकपबाट त्यो आलोचनालाई पक्कै अन्त्य गरेका छन् ।

भारतीय क्रिकेटमा थुप्रै युवा ओपनर अवसरको पर्खाइमा छन् । त्यसैले विश्वकप जितेसँगै रोहित र कोहलीले टी–२० आईबाट आधिकारिक रुपमा सन्न्यास नै लिए ।

अब ओडीआई र टेष्ट पनि खासै धेरै समय नखेल्ने देखिन्छ । सम्भव त रोहित र कोहली दुबैको लक्ष्य २०२५ को च्याम्पियन्स ट्रफी हुनेछ । २०२६ को टी–२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकपमा भारत युवा खेलाडीका साथ अघि बढ्ने तयारी गरेको छ ।

कपिलदेव र धोनीपछि भारतलाई उपाधि जिताउने रोहित भारतका तेस्रो कप्तान हुन् । एउटा विश्वकप ट्रफी भारतको सपना मात्रै नभएर अति आवश्यक बनेको थियो । किनभने भारतका खेलाडी र समर्थक त्यसका हकदार थिए ।

वेष्टइण्डिज र अमेरिकाको स्पिन सहयोगी कन्डिसनले पनि धेरै फाइदा गर्‍यो । अनि केही कुरामा भाग्यले पनि साथ दियो । त्यो भन्दा बढी भारतले साँच्चिकै राम्रो क्रिकेट खेल्यो । अनि रोहितले राम्रो नेतृत्व गरे । र रोहित अब हारको कारण फेरि रुनुपर्ने छैन । किनभने उनले आफ्नो उत्कृष्ट प्रदर्शनमा एउटा विश्वकप ट्रफी जित्न सफल भएका छन् ।

आईसीसी टी-२० विश्वकप भारत रोहित शर्मा
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय